भर्खरै :

उत्तराखण्डमा लासको पहिचानमा कठिनाइ

नयाँ दिल्ली, १० फेब्रुअरी । भारतको उत्तरी पहाडी राज्य उत्तराखण्डमा आइतबार बिहान गएको हिमपहिरोका कारण प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहत कार्य भइरहेको छ ।
बाढी पहिरोमा पुरिएका मृत शरीरको पहिचानमा निकै समस्या भइरहेको उद्धारकर्मीहरूले बताएका छन् । हालसम्म ३२ भन्दा बढी लासहरू प्रभावित क्षेत्रबाट फेला पारिएको र तीमध्ये सात वटाको मात्र पहिचान हुन सकेको उत्तराखण्डका वरिष्ठ प्रहरी अधिकारीले भने ।
हिमपहिरोपछि आएको बाढी पहिरोका कारण १७४ भन्दा बढी मानिस बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा अधिकांश उत्तराखण्ड, उत्तरप्रदेश, पश्चिम बङ्गाल, बिहार, झारखण्ड र केही नेपालबाट पनि त्यहाँ काम गरिरहेका मजदुरहरू भएको बताइएको छ ।
ती मजदुरहरू त्यहाँका दुई वटा जलविद्युत् आयोजनामा काम गरिरहेका थिए । बेपत्ता भएका मानिसहरूका आफन्तहरू घटनास्थलमा नपुग्दासम्म तिनको सही पहिचान हुन नसक्ने बताइएको छ । मानिसहरू बगाएको क्षेत्र निकै अप्ठ्यारो भूगोलमा भएको बताइएको छ ।
“फेला परेका लासहरू कुनै पनि सद्दे छैनन्”, उद्धारमा परिचालित एक जना अधिकारीले भने ।
हिमपहिरो फुटेको उत्तराखण्डको माथिल्लो भागमा धेरै लास फेला परेको थियो । बेपत्ता भएका कतिपय मानिस १८०० मिटर लामो सुरुङभित्र अल्झेको हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *