भर्खरै :

वागीश्वरी माविमा बधाई तथा मार्गनिर्देशन कार्यक्रम

भक्तपुर, २९ माघ । वागीश्वरी मावि तथा कलेजको संयुक्त आयोजनामा वागीश्वरी माविबाट कक्षा ११ र १२ उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन कार्यक्रम बुधबार भयो ।
कार्यक्रम मानविकी र शिक्षा सङ्कायका विद्यार्थीका लागि माघ २६ गते, व्यवस्थापन सङ्कायका विद्यार्थीहरूलाई माघ २७ गते र विज्ञान सङ्कायका विद्यार्थीहरूलाई माघ २८ गते सम्पन्न भएको थियो ।
सबै कार्यक्रमका सभापति एवं विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले विद्यार्थीलाई मायाको चिनो प्रदान गर्दै चरित्र निर्माणबारेमा चर्चा गर्नुभएको थियो ।
त्रिविका उप – प्राध्यापक महेश पौडेलले मानविकीका विद्यार्थीहरूलाई सम्बोधन गर्दै एक्काइसौँ शताब्दी प्रतिस्पर्धाको युग हो र विद्यार्थीहरूले प्रतिस्पर्धामा सफलता प्राप्त गर्न हरेक विषयको सूक्ष्म अध्ययन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले वागीश्वरी कलेज बीए÷बीएसडब्लू र बीबीएसको शिक्षा प्रदान गर्न सक्षम भएको चर्चा गर्दै वागीश्वरी कलेजले दिने छात्रवृत्तिको बारेमा चर्चा गर्नुभएको थियो ।
विज्ञान सङ्कायका विद्यार्थीहरूलाई सम्बोधन गर्दै ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले सिभिल इन्जिनियरिङमा विद्यार्थीहरूको आकर्षण बढी रहेको जानकारी दिनुभयो । हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू जेनेरेसन जेडमा पर्ने र नयाँ पुस्ताका मानिसहरूमा आफ्नो उद्देश्य र पेशामा बढी चञ्चलता देखिएको कुरा उहाँले प्रस्ट पार्नुभयो ।
विद्यालय तथा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी मावि तथा कलेजका विद्यार्थीहरूले सद्भाव दूतको भूमिका निभाइरहेको स्मरण गर्दै यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
वागीश्वरी कलेजका शिक्षक नवीन प्रजापतिले व्यवस्थापनका विद्यार्थीहरूलाई मार्गनिर्देश गर्दै बीबीएसको विषयमा भएका भ्रम र यथार्थलाई प्रस्ट पार्नुभयो ।
कार्यक्रममा शिक्षकहरू ग्याहेन्द्रप्रसाद दाहाल, निरु ताल्चाभडेल, भानुभक्त हुमागाइ, राजन चौगुठीलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *