भर्खरै :

भक्तपुरमा श्वासप्रश्वास पुनस्र्थापन केन्द्रको उद्घाटन

भक्तपुर, २९ माघ । जापान इन्टरनेसनल मेडिकल टेक्नोलोजी फाउन्डेसन (जिम्टेफ) को प्राविधिक सहयोगमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने श्वासप्रश्वास पुनस्र्थापन केन्द्रको बिहीबार एक विशेष समारोहबीच उद्घाटन भयो । उक्त केन्द्रको भवनको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले गर्नुभयो । उपचार सेवा शुभारम्भ पनि बिहीबारदेखि नै सुरु भयो ।
भवन उद्घाटन तथा उपचार सेवा शुभारम्भको सो समारोहमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले श्वासप्रश्वास केन्द्र खोलेर दमखोकीका बिरामीहरूको स्वास्थ्य सेवामा जुटेका जापानी सरकार र जापानी जनतालाई धन्यवाद दिनुभयो ।
श्वासप्रश्वास पुनस्र्थापन केन्द्रको उद्देश्यअनुसार दमखोकीका रोगीहरूको स्वास्थ्य सेवा भए दुवै देशका जनता खुसी हुने विचार व्यक्त गर्दै उहाँले भन्नुभयो, “रोगीहरूको सेवा गर्ने काम भएको छ कि छैन बेलाबखत छलफल गर्नुपर्छ, चिन्ता लिएर अघि बढे काम राम्रो र सफल हुन्छ ।”
पुनस्र्थापन केन्द्रमा खटिने विज्ञ चिकित्सकहरूको सहयोग महत्वपूर्ण र फलदायी हुने विश्वास व्यक्त गर्दै अध्यक्ष रोहितले यो पुनस्र्थापन केन्द्र दुई देशका जनताको मित्रताको कसी हुने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिका घोषणा गर्नुअघि नै नगरका लागि आवश्यक पूर्वाधारहरू बनिसक्नुपर्नेमा जोड दिँदै उहाँले जनताको स्वास्थ्य सेवा देशभर हुनुपर्ने बताउनुभयो ।
नेपालमा कुन औषधि भित्याउन हुने र नहुनेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने विचार व्यक्त गर्दै उहाँले घूस नखाइकन राम्रो औषधि नेपाल भित्याउन नदिने कुनियतले गर्दा जनताले राम्रो स्वास्थ्य सेवा नपाएको बताउनुभयो ।
उहाँले नक्कली औषधिको आयातले बिरामीको स्वास्थ्य सेवा राम्रो नहुने र यसले चिकित्सकप्रति पनि नकारात्मक दृष्टिले हेर्ने विचार व्यक्त गर्नुभयो ।
नयाँ पुस्तामा नागरिक भावनाको विकास गर्न विद्यालयको पाठ्यक्रममा नागरिकशास्त्र राख्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले जनप्रतिनिधिहरू जनताको घर–घरमा पुगी स्वास्थ्य स्थितिबारे जानकारी लिनुपर्ने बताउनुभयो ।
दातृ राष्ट्रले गर्ने सहयोगलाई सदुपयोग गर्नुको सट्टा कमाउखाने धन्दातर्फ उन्मुख भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले भारतमा अपराध बढे त्यसको असर नेपालमा पनि पर्ने हुँदा सबै सचेत हुनुपर्ने बताउनुभयो ।
श्वासप्रश्वास पुनस्र्थापन केन्द्र नेपाली जनताको सेवा सम्झेर इमानदारीपूर्वक काम भए जापानको सहयोग खेर नजाने र मन सन्तोष हुने विचार पनि उहाँले व्यक्त गर्नुभयो ।
बाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले श्वासप्रश्वास पुनस्र्थापन केन्द्र स्वस्थ जीवनको आशासँगै स्वस्थ समाजको चाहना पूरा हुने यो एक सानो तर नयाँ पाइला हो भन्नुभयो ।
देशमा माफियाकरण, आर्थिक चलखेल र अनियमितता भइरहेको सन्दर्भमा यस केन्द्रले सेवामुखी भावनाले सेवा गरे स्वास्थ्य क्षेत्रमा फैलिएको विकृति अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।
हुनेखानेले मात्र स्वास्थ्य सेवा पाइरहेको देशमा यो केन्द्रको स्वास्थ्य सेवा सर्वसाधारण जनताको निम्ति सेवा हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले यो केन्द्र नेपाली जनताको स्वास्थ्य सेवा गर्ने केन्द्रको रूपमा विकास हुने विचार व्यक्त गर्दै प्राप्त सहयोग या लगानी फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
विकास गर्न र सुशासन सम्बन्ध कायम गरेर शान्ति स्थापनामा भनपा सफल भएको पनि उहाँले बताउनुभयो ।
जिम्टेफका अध्यक्ष एवं वरिष्ठ दमरोग विशेषज्ञ डा. हायासीको सन्देश वाचन गर्दै जिम्टेफका नेपाल प्रतिनिधि नोरिको माएडाले श्वासप्रश्वासका बिरामीहरूको सेवा गर्न हाललाई नगरकेन्द्रित कार्यक्रम ल्याएको जानकारी दिनुभयो । सास फेर्न कठिन भएका बिरामीहरूको जीवनयापन सहज र गुणस्तरीय जीवन बिताउन श्वासप्रश्वास केन्द्र स्थापना गरेको उहाँले बताउनुभयो ।
त्रिवि पूर्व विभागीय प्रमुख प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठले भक्तपुर मार्गनिर्देश गर्ने ठाउँमात्र होइन काम गरेरै देखाउने थलो भएकोले श्वासप्रश्वास पुनस्र्थापन केन्द्र खोल्न भक्तपुर नगर छानेको उल्लेख गर्दै नेपालीलाई स्वास्थ्य सेवा पु¥याउने सपना पूरा हुने बताउनुभयो ।
नेपालकै पहिलो नमुनाको रूपमा केन्द्रको विकास भए अन्यत्र पनि यस्तै सेवा केन्द्र विस्तार हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
हुनैनपर्ने, हाम्रो आफ्नै गल्ती या कमजोरीको कारण हुने दमखोकीसम्बन्धी यो रोग नियन्त्रण गर्ने उद्देश्य केन्द्रको हो, उहाँले बताउनुभयो ।
सोलिड नेपालका कार्यकारी अध्यक्ष डा. खेमबहादुर कार्कीले दमखोकीका बिरामीहरूको जीवनयापन सजिलो बनाउने उद्देश्य केन्द्रको हो, त्यो उद्देश्य पूरा गर्न दमखोकी रोग नियन्त्रणसम्बन्धी ज्ञान र सीप नेपाललाई हस्तान्तरण गर्न लागेको हो भन्नुभयो ।
श्वासप्रश्वास पुनस्र्थापन केन्द्र स्वास्थ्य सेवामा आशाको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै उहाँले केन्द्रको लागि आवश्यक ज्ञान, सीप, उपकरण र प्राविधिक सहयोग जिम्टेफबाट प्राप्त हुने र अन्य बाँकी काम भनपाले गर्ने बताउनुभयो ।
भनपाका प्रमुख एवं कार्यक्रमका सभापति सुनिल प्रजापतिले देशमा स्वास्थ्य सेवा निजीकरण र महँगो उपचार खर्च भइरहेको बेला स्थापना भएको यो केन्द्रले गुणस्तरीय सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य सेवामा कुनै कमी हुनेछैन । जनताको सेवा गर्नु नै हाम्रो उद्देश्य हो । जिम्टेफको उद्देश्य र विश्वास खेर जानेछैन । यो कदमले हामीमा हौसला र प्रेरणा मिलेको छ ।
समारोहमा उपप्रमुख रजनी जोशीले स्वागत मन्तव्य, भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रत्नप्रसाद प्रजापतिले भवन निर्माणबारे र भनपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रमको औचित्यताबारे भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले प्रकाश पार्नुभयो ।पुरमा श्वासप्रश्वास पुनस्र्थापन केन्द्रको उद्घाटन

Leave a Reply

Your email address will not be published. Required fields are marked *