भर्खरै :

आलङ्करिक राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिस मान्नु स्वाभाविक

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेपालको राष्ट्रपति अमेरिकाको जस्तो कार्यकारी नभएकोले प्रधानमन्त्रीले गरेको सिफारिसमा हस्ताक्षर गर्नु स्वाभाविक भएको बताउनुभएको छ ।
नेमकिपाको ४७ औँ स्थापना दिवसको अवसरमा संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को केन्द्रीय समितिद्वारा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष रोहितले आलङ्कारिक राष्ट्रपतिको व्यवस्था गर्नेले प्रमको सिफारिसअनुसार गरिएको काममाथि प्रश्न उठाउनुको कुनै औचित्य नभएको बताउनुभयो ।
अध्यक्ष रोहितले संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार हुने स्पष्ट पार्दै अन्यथा देशमा ठूलो सङ्कट आउँदा देश नजोगिने बताउनुभयो ।
उहाँले कसैले नेपाली काङ्ग्रेस र नेकपाजस्ता शासक पार्टीहरूको पछि लाग्नु गल्ति हुने भन्दै एउटै पार्टीका ५–६ जना प्रधानमन्त्री भएर पनि देश जहाँको त्यही छ भन्नुभयो ।
अध्यक्ष रोहितले देशको सन्तुलित विकासको निम्ति सबै क्षेत्र शिक्षा, स्वास्थ्य, बाटोघाटो, सञ्चारजस्ता आधारभूत सेवा पु¥याउनुपर्ने तर शासक पार्टीका नेताहरू राजधानी केन्द्रित भएको विचार राख्नुभयो ।
उहाँले आजका शासक दलहरूले नै ख्वप विश्वविद्यालयको विधेयक रोकेको भन्दै तल्लो वर्गलाई अगाडि बढ्न नदिन उनीहरू गलत राजनीतिक गरिरहेका छन् भन्नुभयो । उहाँले भन्नुभयो, “यो पक्षपात हो ।”
विद्यार्थीलाई नागरिक शास्त्र र राजनीति शास्त्रको ज्ञान दिनुपर्ने उल्लेख गर्दै उहाँले संसद्मा जस्तै विद्यार्थीबीच पनि बहस तथा छलफलको अभ्यास हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षक देश–विदेशका घटना तथा विचारबारे जानकार हुनुपर्छ ।” समाजवादले व्यक्तिगत स्वार्थलाई प्राथमिकता नदिने भन्दै उहाँले व्यक्तिगत स्वार्थलाई बढ्ता प्राथमिकता दिने काम पुँजीवादी पार्टीले मात्र गर्नसक्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् इसानका पूर्वअध्यक्ष सरोजराज गोसाईले व्यक्तिवाद, उपभोक्तावाद, देखावटी प्रवृत्तिजस्ता पुँजीवादी संस्कृतिले युवापुस्तालाई गलत दिशातिर लगिरहेको भन्दै युवा पुस्तामा सामूहिक स्वार्थको निम्ति काम गर्ने समाजवादी संस्कृतिको विकास गर्ने जिम्मेवारी शिक्षकको पनि भएको धारणा राख्नुभयो ।
समूहकार्य (प्रोजेक्टवर्क), फिल्डवर्क, हाइकिङ तथा समूह खेलले विद्यार्थीलाई सामाजिक बनाउन सहयोग गर्ने उहाँको धारणा थियो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सांसद सुरेन्द्रराज गोसाईँले नेमकिपाले देशको सार्वभौमिकता तथा अखण्डता रक्षाको निम्ति महत्वपूर्ण योगदान गरेको भन्दै नेमकिपाको गतिविधि तथा प्रस्तुतिबाट प्रतिनिधिसभा तथा प्रदेशसभाको इज्जत जोगिएको विचार राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले महिला राष्ट्रपति भएर पनि महिला बलात्कृत हुने क्रम नरोकिएको भन्दै पुँजीवादी व्यवस्थामा महिला पनि शोषित तथा पीडित हुने स्पष्ट पार्नुभयो । उहाँले हरेक विद्यालयमा शिक्षक तथा विद्यार्थीबीच राजनीतिक बहस तथा छलफल आवश्यक भएको धारणा राख्नुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नेमकिपाको सक्रियताको कारण भक्तपुरले शिक्षा क्षेत्रमा ठूलो फड्को मारेको भन्दै अझै पनि धेरै चुनौती कायम रहेको तर ती सबै पार लाग्ने बताउनुभयो ।
इसानका कोषाध्यक्ष उकेश कवांले सरकारको गलत शिक्षा नीतिको कारण निम्नआयका अभिभावकका सन्तानको निम्ति खोलिएका संस्थागत विद्यालय कोभिड–१९ को महामारीबाट बढी पीडित भएको विचार राख्नुभयो ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रभात अङ्ग्रेजी माविका बदनकेशरी प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *