भर्खरै :

लेनिनका जीवनका पानाहरू –५ / लेनिनको कार्यशैली

जून महिनाको सुरुमा लेनिन पेरिस आउनुभयो । आफू आउने सूचना दिदै मलाई निम्नलिखित पत्र पठाउनुभएको थियो ः
“मैले भर्खरै तपाईँलाई टेलिग्राफ पठाएको छु । अहिले टेलिग्राफ किन पठाएँ ? स्पष्ट गर्छु । मलाई एउटा कामले पेरिस बोलाइएको छ । पक्कै पनि मैले यस यात्रालाई मात्र त्यसै काममा नष्ट गर्न चाहन्न । यसैकारण एउटा रिपोर्ट पनि पढ्न चाहन्छु । विषय छ ः “तेस्रो अधिवेशन र त्यसमा स्वीकृत प्रस्तावहरू ।” विषयको आन्तर्य होः हाम्रो तथा मेन्सेभिकको प्रस्तावको तुलनात्मक विश्लेषण । उनीहरूले भर्खरै भएको आफ्नो सम्मेलनको बारेमा एउटा बयान जारी गरेका छन् । जसको विश्लेषण मैले गर्ने छु । मैले त्यो काम मङ्गलबारमात्र गर्नसक्छु (म सोमबार पुग्नेछु तर त्यस साँझ म व्यस्त हुनेछु र त्यसलाई मैले पक्कै एक दिनमा सकाउनुपर्छ । सम्भव भएमा, सबैभन्दा ठूलो हल भाडामा लिनुहोस् । त्यहीँ, जहाँ मैले स्त्रुभेविरुद्धको रिपोर्ट पढेको थिएँ । फितलोभ र अन्य साथीहरूलाई थाहा छ) धेरैभन्दा धेरै मानिसहरूलाई सूचना दिनुहोला । यदि तपाईँले अहिलेसम्म आफ्नो उत्तर टेलिग्राफद्वारा पठाउनुभएको छैन भने भोलिसम्म मलाई टेलिग्राफ पठाउनुस्, ता कि तपाईँले हल भाडामा लिनुभयो वा भएन जान्न सकूँ । सायद तपाईँसँग अहिल्यै मलाई एक्सप्रेस चिठ्ठी पठाउन समय पनि छ । ता कि त्यो मैले आइतबार बिहानभन्दा पहिला पाऊँ, तर यदि तपाईँले कुनै महत्वको कुरा भन्नु छ भने अवश्य टेलिग्राफ गर्नुहोला ।
“त्यसै रिपोर्टलाई मैले यहाँ पढिरहेको छु ।”
सादर अभिवादन
तपाईँको लेनिन
पुनश्च: “यदि रिपोर्ट पढ्न नसकिने भएमा सम्भवतः म नआउन पनि सक्छु । यसै कारण जवाफ अवश्य दिनुहोला ।”
हल भाडामा लिइयो । लेनिनले आफ्नो रिपोर्ट पढ्नुभयो । तेस्रो अधिवेशनसम्बन्धी रिपोर्टको अतिरिक्त उहाँ अरू कुन कामले पेरिस आउनुभएको थियो, त्यो मैले जान्दिन । यसपालि उहाँ कम्तीमा पनि तीन दिन पेरिस बस्नुभयो । पहिलो साँझमा त उहाँले पत्रमै उल्लेख गरेअनुसार कहाँ जानुभयो पत्तो पाइन । तर, त्यसपछिका दुवै खाली साँझमा उहाँ नाटक–घरमा जानुभयो । पहिलो साँझ उहाँ साथी फितालोभको सल्लाहले, जसले पेरिस राम्रोसँग चिन्नुभएको थियो, ग्रान्ड ओपेरामा कुनै ओपेरा हेर्न जानुभयो । तर, त्यो उहाँलाई खास लागेन । उहाँको विचारमा त्यो झन्झटिलो थियो । दोस्रो साँझ लेनिन, क्रासिकोभ र म फोली बेर्जियरमा गयौँ । त्यहाँ हास्य शैलीमा छोटा–छोटा दृश्यहरू प्रस्तुत गरिरहेको थियो । त्यसमध्ये एउटा मलाई सम्झना आउँछ । त्यसको नाम थियो ‘पेरिसको पाउ’ । यो दृश्यमा पर्दालाई घुँडाको उचाइसम्म उठाइएको थियो । मञ्चमाथि जीवनका विभिन्न क्षेत्र तथा सामाजिक स्थितिका मानिस हिँडे–डुलेका खुट्टा देखिएका थिए । त्यसमध्ये एउटा मजदुर थियो, एकजना सडकका बत्ती बाल्ने मानिस, एउटी श्रमिक युवती, एउटा पादरी, एउटा पुलिस, एउटा सानो दोकानदार, एउटा पेरिसको वीर तथा अन्य मानिसहरू पनि । अलग–अलग खुट्टाहरू यत्ति प्रतिकात्मक थिए कि उनीहरूको मालिकलाई बुझ्न सजिलै सकिन्थ्यो र हजुरले सजिलै ती व्यक्तिहरूमाथि धारणा बनाउन सक्नुहुन्थ्यो । त्यो हास्यजनक दृश्य थियो । लेनिन यस्तो मुग्धकारी ढङ्गले हाँस्नुभयो, त्यसरी हाँस्न केवल उहाँ जान्नुहुन्थ्यो । उहाँलाई वास्तवमा त्यस साँझ आनन्द लाग्यो ।
लेनिन जेनेभा फर्किनुभएपछि छिट्टै क्रासिकोभ तेस्रो अधिवेशन तथा मेन्सेभिक–सम्मेलनको सम्बन्धमा केही प्रवासी रुसी समुदायहरूबीच भाषण गर्ने भ्रमणमा जानुभयो । यता म केही दिनपछि रुस फर्किने मनसायका साथ जेनेभामा आएँ । निकोलायेभ निवासी एक युवती सार्रा युद्कोभ्ना देर्बारिन्दिकेरको नाममा पासपोर्ट बनाउन मलाई धेरै दिन लागेन । पासपोर्टको नवीकरण लगभग पाँच वर्ष पहिले नै सकिएको थियो । यसैकारण सीमामा जरिवानाको ठूलो रकम बुझाउनबाट बच्न मेरा साथीहरूले मलाई के गर्ने भनी सल्लाह दिए । त्यो सल्लाह थियो, मैले निकोलायेभमा आफ्नो कथित घरको कुनै नक्कली ठेगाना लेखाऊँ र पुलिसलाई दिऊँ अनि जरिवाना पनि त्यहीँ भुक्तान गर्नेछु भनी एउटा बयानमा हस्ताक्षर गरुँ ।
१९०५ को जुलाईमा म बर्लिन हुँदै रुसको लागि हिँडँे । मलाई आफूसँगै केही गैरकानुनी साहित्य लैजाने जिम्मेवारी सुम्पिएको थियो । कहीँ मेरो पासपोर्ट असफलताको कारण बन्ने त हैन ? भन्ने डरले मलाई सीमामा केही बेचैन भई समय बिताउनुप¥र्यो । तर, म सुरक्षित निस्किएँ र आफ्नो मातृभूमिमा फर्किएँ । प्स्कोभमा आफ्ना नातेदारहरूसँगको सङ्क्षिप्त भेटघाटपछि १९०५ को जुलाईमा म क्रान्तिकारी सहर पिटर्सवर्गमा पुगेँ ।
लेनिन कसरी काम गर्नुहुन्थ्यो ?
लेनिन सोभियत राज्य प्रतिरक्षाका सङ्गठक र नेता
एउटा छोटो लेखले पक्कै पनि लेनिनको काम गर्ने ढङ्गको बारेमा पूरा वर्णन गर्न सक्दैन । त्यसको लागि त विशेष खोजको आवश्यकता हुन्छ । यहाँ मैले जे पनि लेखिरहेकी छु, त्यसको उद्देश्य पाठकहरूलाई जनकमिसार परिषद्का अध्यक्ष लेनिनका केही तरिका र कार्य–शैलीको छोटो परिचय दिनुमात्र हो । साथ–साथै ती मुख्य मागहरूको परिचय दिन पनि वाञ्छनीय छ, जुन उहाँले सोभियत राजकीय कार्यालयका कार्यकर्ताहरूसँग गर्नुहुन्थ्यो । जसको महत्व आजसम्म पनि सकिएको छैन । यस लेखको उद्देश्य लेनिनका चरित्रका केही लक्षण देखाउनु पनि हो ।
एकातिर विदेशी हस्तक्षेपकारीहरूले रुसका प्रतिक्रान्तिहरूसँग मिलेर सोभियत सत्तालाई हतियारको बलमा उल्ट्याउने कोसिस गरिरहेका थिए । अर्कोतिर सोभियत राज्यको लागि कम्युनिस्ट पार्टी र सोभियत सरकारले लेनिनको नेतृत्वमा जनतालाई मातृभूमिको रक्षाहेतु लड्न जागृत गरिरहेका थिए, साथै सोभियत राज्यको प्रतिरक्षाको लागि सङ्गठित गरिरहेका थिए ।
सोभियत सरकारकाती कठिन वर्षहरूमा मैले लेनिनलाई प्रायःजसो आफ्नो कार्यालयको टेबलमा फैलाइएको नक्सामाथि गहिरो चिन्तनमा तल्लीन भएको देख्थेँ । उहाँले हाम्रा सैनिकहरूको स्थितिमा चिह्न लगाउनुहुन्थ्यो । शत्रु सेनाका गतिविधिहरूबारे जानकारी राख्नुहुन्थ्यो । पार्टी र सरकारका अन्य अग्रणी कार्यकर्ताहरूसँग मिलेर शत्रुलाई हराउन रणनीतिक योजनाहरू बनाउनुहुन्थ्यो । बनाइएका योजनाहरूमाथि विचार–विमर्श गर्नुहुन्थ्यो । लेनिनले मोर्चामा हुने सम्पूर्ण घटनाक्रममाथि लगातार सावधानीपूर्वक नजर राख्नुहुन्थ्यो । लडाइँको मोर्चामा र मोर्चाको पछाडि जे भइरहेको छ, त्यसको उहाँलाई आश्चर्यजनकरूपले पूरा–पूरा खबर हुन्थ्यो । उहाँ त्यत्रो विशाल देशमा समाजका सबै स्तरका आवश्यकता तथा भावनाहरूसँग पूर्णतः परिचित हुनुहुन्थ्यो । उहाँले प्रान्तहरू तथा केन्द्रका अग्रणी कार्यकर्ताका विवरण एवम् अन्य साधनहरूबाट आफ्ना सूचनाहरू प्राप्त गर्नुहुन्थ्यो ।
भ्लादीमिर इल्यीचले समस्त उपलब्ध तथ्यहरूको माक्र्सवादी विश्लेषण तथा मूल्याङ्कन गर्दै प्रतिरक्षा–सङ्गठनका प्रत्येक विवरणलाई बुझ्ने कोशिश गर्नुहुन्थ्यो । उहाँको दृष्टिबाट केही पनि ओझेल हुन पाउँदैनथ्यो । उहाँले सङ्क्षिप्त र सटिक रिपोर्टहरू तथा यथार्थ तथ्यहरूको माग गर्नुहुन्थ्यो । आफ्ना आदेशहरूको निरन्तर जाँच गरिरहनुहुन्थ्यो । उहाँले भोलोग्दाका केन्द्रोभलाई १९१८ मा लेख्नुभयो ः
“हजुर एकदम कम तथ्य दिनुहुन्छ । प्रत्येक अवसरको रिपोर्ट पठाउनुहोस् ।”
“कतिओटा मोर्चाहरू बनाइएको छ ?”
“कुन दिशामा ?”
“रेल्वे लाइनका कुन–कुन स्थानमा धराप थाप्नेहरू उपलब्ध छन्, ता कि जब ठुला–ठुला आँग्ल–फ्रान्सीसी सेनाहरू भित्र आउन थाल्छन् तब हामीले फलानो–फलानो ठाउँमा (एउटा विवरण अवश्य दिनुपर्छ, ठ्याक्कै कस्तो र कहाँ) पुलहरू, मिलहरू, लामा रेलका पट्रीहरू, दलदलयुक्त बाटोहरू आदिलाई जरैबाट उडाउन वा बर्बाद गर्न सक्छौँ ।
“के भोलोग्दालाई सेता गार्डहरूसँगको खतराबाट सुरक्षित बनाइएको छ ? यदि हजुरले यस मामिलामा कुनै कमजोरी वा लापरबाही देखाउनुभएमा त्यो अक्षम्य हुनेछ ।”
लेनिनले मोर्चाका नक्साहरूको अध्ययन धेरै सावधानीका साथ गर्नुहुन्थ्यो । उहाँसँग धेरै नक्सा थिए । उहाँको अध्ययन–कक्षको किताब राख्ने आल्मारीको तल्लो खाना नक्साले नै भरिएको हुन्थ्यो ।
लेनिनका युद्धसम्बन्धी पत्र–व्यवहार वास्तवमा असाधारणरूपले धेरै हुन्थे । क्रेमलिनस्थित आफ्नो अध्ययन–कक्षको टेलिग्रामबाट सीधैँ टेलिग्राफ र टेलिफोनबाट आफ्ना निर्देशन, आदेश र सल्लाहहरू देशका सबै भागमा पठाइरहनुहुन्थ्यो । तत्कालीन समस्याहरूलाई स्मरण गराइरहनुहुन्थ्यो । गल्ती, आवश्यकताभन्दा धेरै आशावादिता तथा शत्रुको शक्तिलाई कम अड्कल नगर्नु भनी चेतावनी दिइरहनुहुन्थ्यो । उहाँले विजयमा बधाई दिनुहुन्थ्यो । लालसेनाको वीरताको मुरी–मुरी प्रशंसा गर्नुहुन्थ्यो, स्मरण गराउनुहुन्थ्यो र सम्झाउ–बुझाउ गर्नुहुन्थ्यो । उहाँका पथ–प्रदर्शन र आदेशहरू सधैँ स्पष्ट, ठोस र सटिक हुन्थे ।
अधुरा तथ्यहरू तथा प्रकाशित दस्तावेजहरूका अनुसार लेनिनले गृहयुद्ध र विदेशी हस्तक्षेपका वर्षहरूमा(१९१८–१९२०) लडाइँका मोर्चाका विभिन्न स्थलहरूमा, कमान्डर, राजनीतिकर्मी, पार्टी र सोभियत सङ्गठनहरूसहित स्वतन्त्रताका ९७ केन्द्रहरूमा प्रतिरक्षा–समस्या तथा मोर्चाका विभिन्न भागलाई बलियो बनाउने सम्बन्धमा लगभग ५०० वटा पत्र तथा टेलिग्राफ पठाउनुभएको थियो । यसबाहेक सबै गुबेर्निया समिति तथा गुबेर्निया कार्यकारिणी समितिहरूको नाममा लेनिनका धेरै आदेश टेलिफोन वा व्यक्तिगत कुराकानीमार्फत दिइएको थियो ।
यी दस्तावेजहरूबाट वैदेशिक हस्तक्षेप र घरेलु प्रतिक्रान्तिविरुद्ध लडिएका युद्धमा सोभियत राज्यको प्रतिरक्षा सङ्गठन तथा सञ्चालनमा लेनिनको भूमिकाको अत्यन्त स्पष्ट विवरण प्राप्त हुन्छ । मोर्चाका कमानहरूलाई दिइएका लेनिनका सुझबुझपूर्ण आदेशहरूले अन्य धेरै महत्वपूर्ण फौजी कारबाहीहरूलाई सावधानीपूर्ण तरिकाले पूरा गर्नमा सहायता भयो । जब अक्टोबर १९२० मा, लाल सेना व्रांगेलविरुद्ध क्रिमियाको सीमामा लडिरहेको थियो, त्यस समय लेनिनले फ्रुन्जे(१) लाई निम्नलिखित टेलिग्राफ पठाउनुभयो ः
“तपाईँसँग र गूसेभबाट प्राप्त भएका प्रशन्नता भरिएका टेलिग्राफहरूले मलाई अत्यधिक आशावादीताको खतरा आभास भएको छ । ख्याल राख्नुस् तपाईँको लागि दुश्मनको पिठ्युबाटै क्रिमियामा प्रवेश गर्नु नै उपयुक्त छ, चाहे त्यसको कुनै मूल्य चुकाउन किन नपरोस् । क्रिमियामाथि कब्जा गर्न तैरिएर पार गर्न सकिने सबै घाटहरूको बारेमा अध्ययन गरियो वा गरिएन ?” धेरै गम्भीरतासँग तैयारी गर्नुस्, जाँच गर्नुस् ।
यी आदेशहरूले दुईतर्फी प्रहार गरेर व्रांगेललाई पराजित गर्ने योजनालाई अचुक बनाउनमा दक्षिणी मोर्चाका कमानलाई पथ–प्रदर्शन गरे । यो दुईतर्फी प्रहार एकातर्फ सिवाशको होँचो खाडीलाई तैरिएर र अर्कोतर्फ पेरेकोपका मोर्चाबन्दीहरूमाथि सिधा हमला गर्नु थियो । यस योजनालाई लालसेनाले सानदार ढङ्गले कार्यान्वयन गरे ।
नियमित लालसेना तथा लाल नौ सेनाको निर्माण, राष्ट्रिय प्रतिरक्षा तथा देशको आन्तरिक स्थितिलाई सुदृढ गर्नेसम्बन्धी सबै मुख्य र आधारभूत सूत्रहरूका बारेमा लेनिन आदेशहरू जारी गर्नुहुन्थ्यो । कम्युनिस्ट पार्टीको केन्द्रीय समिति, जनकमिसार परिषद्, मजदुर र किसानहरूको प्रतिरक्षा परिषद्(२) का नेताको रूपमा लेनिन सोभियत राज्यको प्रतिरक्षासम्बन्धी हरेक समस्या समाधानको लागि जिम्मेवार हुनुहुन्थ्यो । पार्टी अथवा साोभियत सरकारमा लेनिनको व्यावहारिक हिस्सेदारीबिना कुनै पनि ठूलो र महत्वपूर्ण फैसला गरिएन ।
लेनिनले हरेक सैनिकबाट लडाइँसम्बन्धी आदेशलाई पूर्णतः कार्यान्वयन गर्ने माग गर्नुहुन्थ्यो । उहाँको मान्यता थियो, कठोर अनुशासन र आदेशहरूको सही कार्यान्वयन लालसेनाको सैेनिक कार्यकुशलताको आधार हो ।
१९१८ को पतझर मौसममा, जब पूर्वी मोर्चाहरूमा हाम्रो प्रगति सुस्तायो र दक्षिणी मोर्चाहरूमा अनेक असफलता हात लाग्यो, रुसी कम्युनिस्ट पार्टी (बोल्शेभिक) को केन्द्रीय समितिले सबै पार्टी सदस्यहरूको नाममा (कमिसार, कमान्डर तथा लालसेनाका कमान्डरहरूको नाममा) एउटा चिठ्ठी जारी गरियो । त्यस चिठ्ठीको मूल पाठ तयार गर्नमा लेनिनले मद्दत गर्नुभएको थियो र त्यसमा भनिएको थियो ः
“…….यो नितान्त आवश्यक छ, ठूलादेखि साना सबै कमान्डरहरूलाई लडाइँका आदेशहरूलाई कार्यान्वयन गर्न कडा निर्देशन दिइयोस्, चाहे त्यसको जुनसुकै मूल्य चुकाउन किन नपरोस् । आज लालसेनाको अगाडि जुन महान उद्देश्य छ त्यसको पूर्णताको लागि जस्तोसुकै योगदानलाई अन्तिम सम्झनु हुँदैन… अनुशासन अथवा क्रान्तिकारी युद्ध भावनाविरुद्धका कुनै पनि अपराधलाई कदापि अदण्डित गर्नु हँुदैन ।”
लेनिन साहस, दृढता प्रस्तुत गर्दै मृत्युको अवज्ञा गर्ने शिक्षा दिनुहुन्थ्यो । उहाँले हरक्षण नियम उल्लङ्घन गर्नेहरू, आतङ्क फैलाउनेहरू, मोर्चाबाट भाग्नेहरू र मूर्खहरूसँग कठोरता अपनाइयोस् भन्ने माग गर्नुहुन्थ्यो । उहाँले बारम्बार सम्बन्धित मानिसले जानेर वा नजानेर कमजोरी, असमञ्जस र मूर्खता देखाउनुको नतिजा गद्दारी हुनसक्छ भन्नुहुन्थ्यो । युद्धको समाप्ति सैनिक र कमान्डरको साहस, त्यसको दृढता र त्यसको बफादारीतामा निर्भर हुन्छ भन्ने तर्क गरिरहनुहुन्थ्यो । हरेक मजदुर, हरेक सैनिक र कमान्डरको दिमागमा यस्तो चित्रण गरिदिन आवश्यक छ, भनिरहनुहुन्थ्यो ।
यसको साथसाथै लेनिनले लालसेनालाई अधिकतम समर्थन र घाइतेहरूको सहायताको लागि अपिल गर्नुभयो । २ जुलाईमा ‘रानेनी क्रास्नोआर्मेयेत्स’ (लालसेनाका घाइते जवान) पत्रिकामा लेनिनले लेख्नुभएको थियो, “मजदुर र किसानहरूको सत्ताको रक्षाहेतु आफ्नो रगत बगाउने लालसेनाका घाइते जवानहरूले जुन पीडा भोग्नु परेको छ , त्यसको तुलनामा हाम्रा सारा कठिनाइ र कष्टहरू नगन्य छन्…”
गृह–युद्ध र विदेशी सैनिक हस्तक्षेपका वर्षहरूमा सोभियत राज्यको प्रतिरक्षाका समस्याहरूसँग सम्बन्धित लेनिनद्वारा गरिएका समस्त कामहरूको सावधानीका साथ अध्ययन गर्दा उहाँ सोभियत सैन्य–विज्ञानका संस्थापक हुनुहुन्थ्यो भन्ने कुरा सिद्ध हुन्छ ।
प्रस्तुतिः आरम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *