पार्टी कार्यकर्ताहरूको मूल्याङ्कनबारे
- आश्विन ११, २०८३
कुरा २००५ सालको हो । झन्डै दस वर्षअघि विसं १९९७ सालमा राणाशासनविरोधी पर्चा छरेको भन्दै गिरफ्तार गरिएका टङ्कप्रसाद आचार्य, रामहरि जोशीलगायत नेपाल प्रजा परिषद्का नेताहरू जेलमै थिए । देशभित्र र बाहिर राणाशासनको विरोधमा जनमत बढ्दै थियो, गतिविधि पनि फैलिरहेको थियो । तर, जेलमा कैद उनीहरू कतिबेला छोडिने हुन्, कुनै टु·ो थिएन । ९७ सालकै काण्डमा मुछेर राणाशासकहरूले धर्मभक्त, दशरथ चन्द, गंगालाल र शुक्रराज शास्त्रीलाई ज्यान सजाय दिइसकेका थिए । जातले बाहुन भएकाले मात्र आचार्य र शर्मा ज्यान सजायबाट जोगिएका थिए ।
त्यही क्रममा राणाविरोधी गतिविधि गरेको अभियोगमा राणाहरूले बीपी कोइरालालाई जेलमा ल्याएयो । जेलमा उनलाई अलगै ठाउँमा राखिएकोले अन्य बन्दीहरूसँग उनको कुनै पनि खालको सम्पर्क थिएन । तर, जहाँ इच्छा, त्यहीँ उपाय भनेजस्तै कोइराला र टङ्कप्रसादहरूको गोप्य चिट्ठी पत्र भयो । चिट्ठी पत्रमार्फत बीपीले आफू अनसन बस्न लागेको सूचना टङ्कप्रसादलाई पठाए । बीपीले आफ्नो अनसनमा उनीहरूको पनि ऐक्यबद्धता खोजेका थिए । त्यहीँ मनसाय बुझेर प्रजा परिषद्का आठ जना बन्दीहरू पनि बीपीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै अनसन बसे ।
बीपीले भारतलाई नै आधार बनाएर राणाविरोधी गतिविधि थालेका थिए । त्यसकारण उनी काठमाडौँमा भन्दा बढी भारतकै विभिन्न सहरमा चर्चित थिए । उनलाई भारतको समाजवादी पार्टीका नेताहरूको साथ समर्थन थियो । विशेषतः जयप्रकाश नारायणसँग बीपीको राम्रो सम्बन्ध थियो । त्यसकारण भारतका विभिन्न राजनीतिक नेता र शक्तिको दबाबमा अनसन बसेको केही समयपश्चात् बीपी कैदबाट रिहा भए । उनी भारतको पटना रवाना भए । तर, त्यसरी रिहा भएर पटना जानेक्रममा उनले आफ्नो अनसनको ऐक्यबद्धतामा केही बन्दीहरू अझै अनसनमै रहेको कुरा भुले वा बेवास्ता गरे । उनको अनसनलाई टेवा दिन अनसन बसेका प्रजा परिषद्का बन्दीहरूले बीपी त रिहा भएर पटना पुगेको थाहा नै पाएनन् । पछि मात्र उनी पटना पुगिसकेको खबर पाए र उनीहरूले पनि अनसन तोडे ।
टङ्कप्रसादले बीपीको यस्तो व्यवहारप्रति गम्भीर आपत्ति जनाए ।
तर, टङ्कप्रसादलगायत प्रजा परिषद्का नेताहरू बीपीसँग झन् त्यत्तिबेला रिसाए जब उनले पटनामा गएर ‘नेपालमा राजबन्दीहरूलाई राणाहरूले सन्तोषजनक व्यवहार गरेको’ भनी विज्ञप्ति जारी गरे । टङ्कप्रसादभन्दा अघि राणाको विरोध गरेको भन्दै खड्गमान सिँहलाई वर्षौँदेखि जेलमा कोचिएको थियो । टङ्कप्रसादलगायतका नेताहरू नै पनि जेल बसेको आठ वर्ष भइसकेको थियो । आठ वर्षको अवधिमा उनीहरूले परिवारका कोही पनि सदस्यको अनुहारसम्म हेर्न पाएनन् । बाहिरी संसारमा के भइरहेको छ, कसैलाई सानो सुइको मात्र पनि थिएन । टङ्कप्रसादहरूले पटक–पटक कालकोठरीको सजाय भोगिसकेका थिए । त्यसकारण त्यहाँको अवस्था कदापि ‘सन्तोषजनक’ थिएन । बीपी आफै पनि जेलको अवस्था सुधारको माग गर्दै अनसन बसेका थिए । तर, रिहा भएर पटना पुगी त्यहाँबाट ‘सरकार राजनीतिकहरूप्रति सन्तोषजनक भावना राख्दछ’ भनी विज्ञप्ति दिनु अपाच्य हुनु स्वाभाविक थियो ।
टङ्कप्रसादले त्यही विषयलाई लिएर नेपाली राष्ट्रिय काङ्ग्रेसका विश्वेश्वरप्रसाद कोइरालालाई एउटा चिट्ठी जेलबाटै लेखे । टङ्कप्रसादकी श्रीमती रेवन्तकुमारी आफै पटना गएर त्यो पत्र बीपीको हातमा थमाएकी थिइन् ।
बीपीको नाममा लेखिएको पत्रमा टङ्कप्रसादले स्पष्ट शब्दमा यसरी आफ्नो असन्तोष पोखेका छन्ः
“तपाईँको कामले गर्दा हामी यति क्षुब्ध भएका छौँ कि त्यसको वर्णन गर्न सक्दैनौँ । यहाँ सरकारले राजबन्दीहरूप्रति गरेको अत्याचार थाहा भएर पनि तपाईँले भारत गएर ‘सरकार राजनीतिकहरूप्रति सन्तोषजनक भावना राख्दछ’ भनेर वक्तव्य दिने साहस कसरी गर्नुभयो ? फेरि ‘सरकार केही सुधार गर्न प्रयत्नशील छ’ इत्यादि कसरी भन्न सक्नुभयो ? तपाईँको यो कस्तो नीति हो ? बुझ्न बहुत गा¥हो भयो । कारागारको कठिन यातनाबाट मुक्त भएर बाहिर गएपछि आफ्नो इज्जत बचाउन त त्यसो गर्नुभएको होइन ? सरकारले गरेको अत्याचारको बयान गर्नु त कता छ कता, तपाईँले त उल्टै सरकारकै गुणगान गर्न लाग्नुभयो ।”
त्यो पत्रमा टङ्कप्रसादले प्रजा परिषद्का सदस्यहरूले बीपीलाई सुरुदेखि नै शङ्काको दृष्टिले हेर्ने गरेको प्रस्ट शब्दमा लेखेका छन् । प्रजा परिषद्का नेता–कार्यकर्ताहरू देशमा क्रान्ति गर्न कुनै विदेशी शक्तिको सहायता लिए भोलि त्यसैको दास भएर बस्नुपर्ने हुन सक्छ भन्ने मान्यता राख्थे । विसं १९९७ सालमा राणाविरोधी पर्चाबाजीपछि पनि साथीहरूले ‘हस्ताक्षर चिनेर गिरफ्तार गर्नसक्छन्’ भनी टङ्कप्रसादलाई भारतमा भाग्न पटक पटक आग्रह गर्दा पनि उनी मानेका थिएनन् । ( ती पर्चाहरू टङ्कप्रसादकै हस्तलिखित स्टेनसिनले छापिएको थियो ।) त्यही विचारको कारण भारतलाई नै आधार बनाएर नेपालको राणाशासनविरोधी गतिविधि गरिरहेका बीपीहरूप्रति उनीहरूलाई शङ्का लाग्नु स्वाभाविक थियो ।
फेरि पनि जेलभित्रको अनसनको घटनालाई उकाउँदै बीपीलाई लेखेको पत्रमा टङ्कप्रसादले लेखेका छन्ः
“अनसन सुरु गरेर तपाईँले सहयोग र सहानुभूतिका लागि यहाँ चिट्ठी लेखेर पठाउनुभयो । सो अनुसार यहाँ पनि आठ जनाले अनसन सुरु गरे । राणाहरूसँग चोचोमोचो मिलाएर आफू फुत्केर पटना पुगेपछि ‘अनसन चालु राख्ने कुनै आधार थिएन’ भनेर वक्तव्य दिनुभयो । आफ्ना अनसनकारी साथीहरूको वास्तै नराखी आफूमात्रै फुत्कने काम गर्नु लायक काम हो ? यहाँसँगै अनसनमा बस्नेहरूलाई तपाईँले आफ्नो हातका खेलौना सम्झनुभयो ? सरकारले त एउटा पनि माग पूरा गरेको छैन । राजनीति झुटमुटको व्यवहारमात्र होइन भन्ने कुरा राम्रोसँग बुझ्नोस् ।”
टङ्कप्रसादले बीपीको यस्तो धोखापूर्ण व्यवहारलाई लिएर बीपीलाई मात्र ठाडो पत्र लेखेका थिएनन् । बरु, बीपीका राजनीतिक सल्लाहकार मानिएका भारतको समाजवादी पार्टीका नेता जयप्रकाश नारायणलाई पनि अलग पत्र लेखेका थिए । हिन्दी भाषामा जेलभित्रैबाट लेखिएको त्यो लामो पत्र पनि भारतमा रेवन्तकुमारीले नै पु¥याएकी थिइन् । उनी पटनामा दस दिन कुरेर जयप्रकाशलाई भेटेर नै सो पत्र हातैमा बुझाएकी थिइन् ।
बीपी अनसन छोडेर पटना आएको विषयमा पत्रमा हिन्दी भाषामा लेखिएको थियो ः
“त्यो घटनाको केही दिनपछि श्री कोइरालाजीले पनि अनसन सुरु गर्नुभयो । अनसन सुरु गर्न दुई दिनअघि उनले हो वा उनका कोही मित्रले सहानुभूति र सहयोगको लागि यहाँ हामीलाई एउटा पत्र पठाउनुभयो । हामीले पनि त्यसको लागि प्रबन्ध मिलायौँ । यहाँ आठ जना व्यक्तिले पनि उनको सहयोगमा अनसन सुरु गरे । त्यत्तिबेला नेपाली राष्ट्रिय काङ्ग्रेसले जून महिनाको एक तारिखदेखि सत्याग्रह आन्दोलन गर्ने घोषणा गरेको थियो । अनसनको उन्नाइसौँ दिन सायद श्री कोइरालाको भेट श्री मोहन शमशेरसँग भयो । हामीलाई पछि मात्र थाहा भयो, श्री मोहन शमशेरले घोषित आन्दोलन बन्द गर्न उनलाई भनेका थिए । उनले पनि आफ्नो रिहाइ हुने देखेर आन्दोलन फिर्ता गर्न आफ्ना मित्रहरूलाई पत्र लेखेका थिए । त्यहीअनुसार आन्दोलन बन्द गरियो । आन्दोलन बन्द गराउनुको कारण बारे बताउँदै नेपाली राष्ट्रिय काङ्ग्रेसले आफ्नो अखबारमा ‘सरकार र नेपाली राष्ट्रिय काङ्ग्रेसबीच वार्ता हुन लागेको, त्यसको लागि शान्त वातावरणको आवश्यकता भएको, त्यही कारण केही दिनको लागि आन्दोलन बन्द गरिएको हो’ भनी वक्तव्य छापियो । रिहाइ हुनेबित्तिकै श्री कोइरालाजी पटनातिर गए ।
त्यहाँ पुगेर उनले के भने भने ‘नेपाल सरकार राजनीतिप्रति सन्तोषजनक भाव राख्दछ । आफ्नो रिहाइपछि मैले आफ्नो अनसन व्रत चालु राख्नुको कुनै आधार नै देखिनँ’ आदि ।”
टङ्कप्रसादले जयप्रकाशलाई बीपीको रिहाइ अघि र पछि राजबन्दीहरूमाथि राणाशासनले गरिरहेको दुव्र्यवहारमा कुनै अन्तर नआएको पत्रमा लेखेका छन् । बीपीको तीखो शब्दमा आलोचना गर्दै उनले लेखेका छन्, “अब भन्नुहोस्, ३१–३–४९ (सन् १९४९ मार्च ३१) को दिन राजबन्दीहरूले भोगेको मार र सरकारले उनीहरूमाथि अझै जारी राखेको दुव्र्यवहार, त्यसबारे सबै कुरा जानेर पनि त्यहाँ पुगेर जब उनले यस्तो वक्तव्य जारी गर्छन् भने उनको बारेमा मैले कसरी बुझ्ने ? के उनलाई अनसन जारी राख्ने कुनै आधार थिएन ? जब कि सरकारले न उनको एउटा माग (जुन माग बोकेर उनले अनसन थालेका थिए) पूरा गरेका थिए न उनको सहानुभूति र सहयोगमा अनसन गरेका आठ जना व्यक्तिलाई खबर नै गरेका थिए । उनीहरूलाई केही नभनी नै उनी त्यतातिर लागे ।”
रेवन्तकुमारीले काठमाडौँबाट बीपी, जयप्रकाश र जवाहरलाल नेहरूका नाममा टङ्कप्रसादले लेखेका पत्र बोकेर भारतको जोखिमपूर्ण यात्रा गरेकी थिइन् । पटनामा बीपीलाई भेटेर पत्र बुझाइन् । सम्बन्धित व्यक्तिको हातैमा पत्र दिने दृढता बोकेर त्यहाँ पुगेकी रेवन्तकुमारीलाई जयप्रकाश र नेहरूका नाममा लेखिएका पत्र आफैले बुझाइदिने भनी बीपीले पटक–पटक मागेको तर आफूले नदिएको रेवन्तले आफ्नो संस्मरणमा लेखेकी छिन् । आफूले बरोबर भन्दा नमानेकाले बीपीले कृष्णप्रसाद भट्टराईलाई समेत पत्र माग्न लगाएका थिए । तर, अन्ततः रेवन्तकुमारीले आफ्नो योजनाअनुसार नेहरू र जयप्रकाशलाई भेटेर नै पत्र बुझाएकी थिइन् ।
जयप्रकाश र बीपीको नाममा लेखिएको पत्र जेम्स एफ फिसरले लेखेको ‘ज्युँदा सहिदहरू’ पुस्तकमा समावेश छन् भने नेहरूलाई दिइएको पत्र भने फेला परेको छैन ।
रेवन्तकुमारीबाट आफ्नो नाममा आएको पत्र बुझिलिएपछि जयप्रकाशले एकै बसाइमा टङ्कप्रसादको लामो पत्र पढिसिध्याएका थिए । त्यसपछि उनले रेवन्तकुमारीलाई ‘टङ्कप्रसाद कति पढेका छन् ?’ भनी प्रश्न सोधेका थिए ।
लिओ ई रोज र मार्गरेट एफ फिसरले लेखेका पुस्तक ‘पोलिटिक्स अफ नेपाल’ मा उत्तरबाट चीनले तिब्बतलाई मुक्त बनाएपछि आत्तिएको भारतले हतार हतार सन् १९५१ मा नेपालमा प्रजातान्त्रिक शक्तिको हातमा सत्ता दिने तर पुरानो संरचनालाई पनि भत्काइ नहाल्ने रणनीतिअन्तर्गत मोहन शमशेरको नेतृत्वमा नेपाली काङ्ग्रेस र राजाका मान्छे राखेर नयाँ मन्त्रिमण्डल गठन गरिएको थियो । त्यसपछि सन् १८५४ (राजा सुरेन्द्रले ज·बहादुर राणाको नाममा सनदपत्र जारी गरेको साल) यता सि·ो नेपालको राजनीतिको केन्द्र बनेको राणाशासन भत्कियो । २००७ साल माघ १० गते टङ्कप्रसादसहित राजबन्दीहरू रिहा भए । तर, नेपाली काङ्ग्रेस र बीपीप्रतिको उनीहरूको बुझाइ भने सधैँ सन्देहास्पद नै रह्यो । इतिहासका बाङ्गाटिङ्गा बाटाले बीपीलाई राजनीतिका अनेक उचाइमा पु¥यायो । तथापि, इतिहासको कुनै दोबाटोमा घटेको यो घटनाले भने उनीप्रति सधैँ प्रश्न उठाई नै रहने पक्का छ ।
सन्दर्भ पुस्तकः ‘ज्युँदा सहिदहरू’ नेपाली क्रान्तिमा व्यक्तिहरूको भूमिका–जेम्स एफ फिसर, नेपाली अनुवाद–अरबिन्द रिमाल
Leave a Reply