पार्टी कार्यकर्ताहरूको मूल्याङ्कनबारे
- आश्विन ११, २०८३
नेपाल मजदुर किसान पार्टीको छैटौँ काठमाडौँ जिल्ला सम्मेलनको सहयोगार्थ शनिबार नेमकिपा काठमाडौँ जिल्ला समितिको आयोजनामा वनभोज र पार्टी कार्यकर्ता भेला भयो । भक्तपुरको सल्लाघारीमा भएको कार्यक्रममा काठमाडौँ जिल्लाका पुराना तथा नयाँ पुस्ताका पार्टी कार्यकर्ता र समर्थकहरूको सहभागिता रह्यो । कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टी कार्यकर्ताहरू विचार र राजनीतिक सिद्धान्तको आधारमा कामदार जनताको सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले राजधानी काठमाडौँ केन्द्रित जनसङ्घर्षले जनविरोधी सरकारलाई थप दबाब हुने भएकोले काठमाडौँका जनताबीच सङ्गठन विस्तार गर्न आवश्यक भएको बताउनुभयो ।
“नेमकिपाले बहुसङ्ख्यक कामदार जनताको हित र समाजमा आमूल परिवर्तनको निम्ति काम गर्छ । राजनीति विचार र सिद्धान्तको सङ्घर्ष गर्ने थलो भएकोले कुनै पनि दललाई टाउको गन्तीको आधारमा मूल्याङ्कन गर्नु ठीक होइन”, उहाँले भन्नुभयो ।
राजनीतिक कार्यकर्तासँग राजनीतिशास्त्र, अर्थशास्त्र र समाजशास्त्रबारे ज्ञान हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले राजनीतिशास्त्र अध्ययन नगरेका सांसदहरू चुनिएर आउँदा संसदीय मर्यादासमेत पालन हुननसकेको बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले भारतीय संसद्मा ५३ प्रतिशत सांसदहरू अपराधी मनोवृत्ति भएजस्तै नेपालमा पनि आपराधिक मनोवृत्तिका सांसदहरू बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
ख्वप विश्वविद्यालयको स्वीकृतिको लागि नेमकिपा निरन्तर लागिरहने चर्चा गर्दै उहाँले विश्वविद्यालय स्वीकृति नदिनुले व्यापक जनताप्रति शासकहरूको मनसाय ठीक नभएको प्रस्ट गर्छ भन्नुभयो ।
समसामयिक राजनीतिक परिस्थितिबारे बोल्दै उहाँले भन्नुभयो, “संसद् विघटनसम्बन्धी मुद्दा संसद्मा विचाराधीन छ । ‘अहिलेको समयमा निर्वाचन हुनसक्दैन’ जस्ता भनाइले अदालतलाई प्रभाव पार्छ । संसद् पुनःस्थापना गर्नु भनेको देशलाई झन् सङ्कटमा पु¥याउनु हो ।”
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवालले माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ्ग विचारधारा पार्टीको निर्देशक सिद्धान्त भएको र नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत रहेको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा राजवीर डंगोल, श्यामकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply