भर्खरै :

भागरथी हत्या प्रकरण ः हत्यारा नजिक पुगेको प्रहरीको दाबी

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृत फेला परेको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा स्थानीय लवलेक जङ्गलमा भागरथीको शव फेला परेको थियो ।
दश दिन बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । अनुसन्धानकै क्रममा रहेको अझै पनि बताइरहेको छ । दोषी पत्ता लाग्छ भन्ने कुरा ढुक्क हुन सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको भनाइ छ तर कहिलेसम्म पत्ता लाग्ने भन्ने कुरा खुलाउन चाहनु भएन । उहाँले भन्नुभयो, “हिजो–अस्तिकोभन्दा अनुसन्धान साघुरिँदै गएको छ, छिट्टै दोषी पत्ता लाग्छ ।”
घटनाको बृहत् र सूक्ष्म अनुसन्धानपछि अपराधी पत्ता लगाउने कुराको नजिक पुगेका छौँ, उहाँले भन्नुभयो । घटनास्थलमा भेटिएका विभिन्न प्रमाणका आधारमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । भागरथीले प्रयोग गरेको मोबाइललगायतका प्रमाणले अनुसन्धानमा सहज भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अनुसन्धान साघुरिँदै गएको छ, हामी छिट्टै अपराधीलाई सार्वजनिक गर्छौं ।” घटना भएको १० दिन भएको भए पनि अझै भागरथीको अन्तिम दाहसंस्कार हुन सकेको छैन । भागरथीका आफन्तले हत्याराका पत्ता नलाग्दासम्म शव नबुझ्ने अडान लिएका छन् । परीक्षण सम्पन्न भएको भए पनि शव अझै जिल्ला अस्पतालमै रहेको छ । आफन्तले शव बुझ्न नमान्दा अस्पतालमा शव सुरक्षित राख्न समस्या भएको छ । अस्पतालमा शव सुरक्षित राख्ने ‘मर्चरी’ नहुँदा समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । घटनास्थल तथा भागरथीको शवबाट अनुसन्धानका लागि चाहिने आवश्यक प्रमाण सङ्कलन भइसकेकाले शव बुझ्न प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “आवश्यक प्रमाण सबै सङ्कलन भइसकेको छ, शव सुरक्षित राख्न निकै समस्या छ ।” घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदी नेतृत्वको टोलीले गरिरहेको छ । उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाँखुसहित प्राविधिक रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *