भर्खरै :

महिलाहरूले मनाए नेमकिपा स्थापना दिवस

“कामदार वर्गका महिला राजनीतिकरूपमा सचेत र सङ्गठित हुन नसके नयाँ पुस्ताले अझ दुःख भोग्नुपर्ने हुन्छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले नेमकिपाको स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार भएको महिला कार्यकर्ता भेलामा राख्नुभएको हो ।
अध्यक्ष रोहितले प्रजग कोरिया र भियतनामका महिलाहरूबाट शिक्षा लिएर अगाडि बढ्नुपर्ने धारणा राख्दै भन्नुभयो, “कोरियाली क्रान्ति र भियतनामी क्रान्तिमा महिलाहरूले निभाएको भूमिका गौरवशाली छ । उहाँहरूको जीवनी अध्ययनले महिला कार्यकर्तालाई उत्साहित बनाउँछ ।”
कार्यकर्ताहरूले पार्टी निर्देशन र अनुशासनलाई अक्षरशः पालना गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “पार्टी अनुशासन पालना नगर्ने कार्यकर्ताले दुःख पाउने निश्चित छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले जनताको दुःख पूर्वजन्मको पाप नभई शोषकहरूको शोषणका कारण हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “महिलालाई वैदेशिक रोजगारी होइन, स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्छ ।”
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले ठूला पार्टीले युवा पुस्तालाई विकृित र विसङ्गतिमा फसाइरहेको छ भन्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले राजनीतिक कार्यकर्ताले व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई प्राथमिकता दिई कार्य गर्नुपर्ने बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सृजना सैंजूको सभापतित्वमा भएको कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य सुनकेस्रा शाही, सरस्वती सिंख्वाल र गङ्गा वैद्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *