भर्खरै :

रोग र भोकले मान्छे मरेको छैन भन्नु भ्रममात्रै

सुखी नेपाली समृद्ध नेपाल सरकारको नारा हो । यो नारा कति वर्षमा पूरा हुन्छ भन्ने कुनै कार्यक्रम छैन, नीति छैन । प्रत्येक निर्वाचित सरकारको आयु ५ वर्षको हुन्छ । त्यस अवधिभित्र सुखी नेपालीको समृद्ध देश बन्नुपर्छ । के नेपाल सरकार यस उद्देश्य प्राप्त गर्न लागिपरेको छ ? के अब दुई वर्षभित्र नेपाल समृद्ध बन्छ ? सबै नेपाली सुखी हुन्छन् ? सुखी नेपाली समृद्ध नेपाल बनाउने सरकारको कुनै नीति तथा दृष्टिकोण नभएको हुँदा त्यो नारा कागजमा मात्र सीमित हुनेमा शङ्का छैन । त्यो नारा सपनामात्रै हुनेछ । सपनामा मात्र सीमित हुने यो नारा जनताको मन तान्ने, जनताको विश्वास जित्न सरकारले अघि सारेको हो ।
प्रम ओलीले पटक–पटक भने, नेपालमा कुनै नेपाली रोग र भोकले मर्नुपर्ने छैन । कुनै नेपाली रोग र भोकको कारण मर्नुपर्ने छैन भन्ने प्रमको यो भनाइ के व्यवहारमा लागू भइरहेको छ ? रोगको कारण कुनै मान्छे मर्न नदिन सरकारले स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्नुपर्छ । देशमा निःशुल्क स्वास्थ्य उपचारको बन्दोबस्त छैन । रोगको उपचार गर्न नसकेरै या महँगो उपचारको कारण मरेका नेपालीहरू असङ्ख्य छन् । उपचार गर्न नसकेरमात्र होइन जनस्वास्थ्य केन्द्र र अस्पतालसम्म पु¥याउन नसकेर रोगीहरू मरिरहेका छन् । कति बिरामीले घर–खेत बेचेर उपचार गरेका छन् । कतिको घर–खेत सकेर पनि उपचार खर्च नपुगेर मृत्यु हुनुपरेको घटना नभएको होइन । के सरकारले रोगका कारण मृत्यु हुनेहरूको तथ्याङ्क लिएको छ ?
नेपालमा गरिबहरूको सङ्ख्या धेरै छ । भनिन्छ, नेपाल गरिबहरूको धनी देश हो । गरिबीकै कारण नेपालीहरू विदेश धाउँछन्, विदेश धाइरहेका छन् । परिवारको खानपिन गर्न नसकेर आफ्ना सन्तानसहित खोलामा हामफालेका घटनाहरू नभएका होइनन् । कति अभिभावकहरू बेसहारा भई, कति खान नपाई आँसु पिएर जीवन निर्वाह गरिरहेका छन् । भोक र रोगले कुनै मान्छे मर्नुपरेको छैन भन्ने कुरा सत्य होइन । भोक, रोग र शोककै कारण मान्छेको ज्यान गइरहेको छ । सरकारले गरिबको लागि, रोगीको लागि के व्यवस्था गरेको छ र ¤ सरकारले न गरिबको लागि जीवन सुनिश्चित हुने व्यवस्था गरेको छ न त सबै रोगीको लागि निःशुल्क औषधि उपचारको व्यवस्था गरेको छ ।
भ्रष्टाचारको देश नहुने प्रम ओलीको भनाइ अर्को झूटको खेती हो । भ्रष्टाचारकै कारण देश बदनाम भइरहेको छ । देश भ्रष्टाचारको सूचीमा परेको छ । भ्रष्टाचार गरेर नै कति नेता, मन्त्री, सांसद, जनप्रतिनिधिहरू धनी भएका छन्, राजधानीमा महल ठड्याएका छन् । नेता, मन्त्री र सांसदहरूमात्र होइन कति उच्चपदस्थ व्यक्तिहरूले सात पुस्ताको लागि कमाएका छन् । पदको दुरूपयोग गरेर अकुत सम्पत्ति कुम्ल्याएका छन् । सत्तारूढ दलका नेता र मन्त्रीहरू नै भ्रष्टाचार, अनियमितताको सूचीमा परेका छन् । भ्रष्टाचार र अनियमिततामा आरोपित सत्तारूढ दलका नेता र मन्त्रीहरूको छानबिन भइरहेको छैन । एकातिर प्रम देशमा भ्रष्टाचारशून्य बनाउने कुरा फुक्छन् भने अर्कोतिर भ्रष्टाचारको आरोप लागेका व्यक्तिहरूको छानबिन नगरी आफै न्यायाधीश बनेर उनीहरू भ्रष्टाचारमा नफसेको उद्घोष गर्छन् । अनि कसरी भ्रष्टाचार अन्त्य हुन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *