भर्खरै :

माटो निकालेर फेवातालको आयु लम्ब्याइने

पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदै छ । यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ । पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ ।
तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो (ग्रेगान) कारण तालको आयु घट्दै गएको जनाउँदै यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो । सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकोले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताउनुहुन्छ । “फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ”, उहाँले भन्नुभयो ।
उहाँले यस विषयसम्बन्धी निकायको ध्यानाकर्षण गरेर नागरिकस्तरबाट पनि माटो फाल्नका लागि पहल गरिने उहाँले जानकारी दिनुभयो । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पनि तालको सौन्दर्य अभिवृद्धिको लागि अहिले तालमा बगेर आएको माटोलाई फाल्नुपर्ने धारणा राख्नहुन्छ । “अहिले सही समय हो जनस्तरबाट पनि माटो फाल्नुपर्छ भन्ने कुरा आएको छ, हामी पनि त्यस कुरामा साथ दिन तयार छौँ,” उहाँले भन्नुभयो । उहाँले अहिले फेवाताल वरिपरि रहेको फोेहरमैला व्यवस्थापन गर्ने, फेवातालभित्र रहेको मलिलो माटो झिकेर सही सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरण गर्न पोखरा महानगरपालिकालाई समन्वयनका लागि आग्रह गरिएको बताउनुभयो ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको माटो निकाल्ने विषयमा विज्ञको रायसुझाव लिएरमात्र निर्णय गरिने जानकारी दिनुभयो  । “अहिले बाँध निर्माणका लागि फेवातालको पानी घटाइएको छ, सिरानबाट आएका ग्रेगानले तालको लगभग नौ मिटर पुरिसकेको अवस्था रहेकोले यसलाई निकै चासोको रूपमा महानगरले लिएको छ”, उहाँले भन्नुभयो ।
उहाँले तालको माटोलाई कसरी निकाल्न सकिन्छ र कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे पहिला सरोकारवाला विज्ञसँग परामर्श गरेर अघि बढ्ने बताउनुभयो । “फेवातालले लामो समयदेखि आफ्नो आकार बनाएको छ, माटो फाल्दा ताल सुक्ने पो हो कि ? माटो अध्ययन नगरी डोजर लगाउन भएन, माटो फाल्दा पोखरी सुकेका धेरै उदाहरण छन्”, उहाँले थप्नुभयो । बाँध बनाउन डेढ दुई महिना लाग्ने भएकोले तत्काल फालिहाल्नु पर्छ भनेर दबाबले मात्र नभई ग्रेगान निकाल्दा जलचर र ताललाई कम असर हुने उपायको खोजीबाट अघि बढ्ने उहाँले जानकारी दिनुभयो । तालको आयु दिनप्रतिदिन घटिरहेको अवस्थामा तालको आयु बढाउन सरोकारवालासँग छलफल गरिने उहाँको भनाइ छ ।
ताल संरक्षण तथा प्राधिकरणका प्रमुख अनुप गुरूङले तालको फोहर व्यवस्थापन र तालमा थुप्रिएको माटो निकाल्न अहिले उपयुक्त समय रहेको बताउनुभयो । “अहिले सही समय देखिएको छ, यसबारेमा महानगरले विज्ञको राय सल्लाह लिएर अघि बढ्दा राम्रो हुन्छ । महानगरसँग समन्वय गरेर सुकिसकेको माटो निकाल्न मिल्छ”, उहाँले भन्नुभयो । महानगरबाटै यसको अगुवाइ गर्नुपर्ने उहाँको भनाइ छ ।
वन विज्ञान अध्ययन संस्थानका पोखराका प्राध्यापक राजन सुवेदी यतिबेला ताल छेउमा देखिएका फोहर र थुप्रिएको माटो निकाल्न सहज हुने बताउनुहुन्छ । उहाँले पानीको सतह घटाउँदा जलचरलाई एक किसिमको असर परिसकेको र अब माटो निकाल्दा कम क्षति हुने तरिकाबाट निकाल्न सकिने बताउनुभयो । “अहिले नै जलचरलाई असर त परिसकेको छ, अब वरिपरिको फोहर व्यवस्थापन र माटो निकाल्दा कम क्षति हुने गरेर सफा गर्न सकिन्छ”, जलाधार विज्ञ उहाँले भन्नुभयो । उहाँले थुप्रिएको माटोको गहिराइसम्म नभई केही माथिबाट माटो निकाल्दा धेरै असर नपर्ने बताउनुभयो । “क्ले सोइल भयो भने पानी रहन्छ नत्र बलौटे माटोले पानी सोस्छ, फेवातालको भू–बनोट हेर्दा धेरै पहिलेदेखिको माटो थिग्रिएको छ अहिले दुई÷चार मिटर मात्रै निकाल्न सके पनि तालको आयु बढाउन सकिन्छ ।” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *