जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
- श्रावण ३, २०८३
भारतका गृहमन्त्री अमित शाहको अभिव्यक्ति भनी त्रिपुराका मुख्यमन्त्री विप्लव देवले सार्वजनिक गरेको भनाइ भारतका शासक वर्गको बलियो पकड जमाएर बसेको विस्तारवादी सोचको अभिव्यक्तिमात्र हो । भारतमा बेलायती उपनिवेशवादको शासन छँदा नेपाललाई आफ्नो नियन्त्रित राज्य (भेसल स्टेट) बनाएको थियो । विशेषतः राणाशासन आरम्भसँगै नेपाल राजनीतिकरूपमा स्वतन्त्र राज्य भए पनि व्यवहारमा बेलायतको नियन्त्रित राज्य थियो । सन् १९४७ मा भारत बेलायती उपनिवेशवादबाट मुक्त भयो । भारतीय जनताले बेलायती उपनिवेशवादबाट आफ्नो देशलाई मुक्त बनाउन लामो बलिदानीपूर्ण लडाइँ लड्नु परेको थियो । तर, उपनिवेशमुक्त भएपछि बेलायती उपनिवेशवादी शासकहरूसँग भएको विस्तारवादी सोच भने भारतीय नवोदित शासकहरूमा स्थानान्तरण भयो । भारतका ती शासकहरूले परिवर्तित विश्व राजनीतिक परिस्थितिको आधारमा नेपाललाई सार्वभौम छिमेकीको रूपमा हेर्न सकेनन् । बरु, उनीहरूले नेपाललाई हेर्ने आँखा बेलायती उपनिवेशवादी चिन्तनबाटै निर्देशित रह्यो ।
भारतीय स्वतन्त्रता सङ्घर्षमा आज सत्तासीन हिन्दूवादी शक्तिले बेलायती शासकहरूकै पक्षपोषण गरेका थिए । भारतीय स्वतन्त्रता आन्दोलनलाई कमजोर बनाउन धर्मको आधारमा जनताबीच विभाजन ल्याउने बेलायती मार्गचित्रलाई उनीहरूले मद्दत गरेका थिए । उनीहरूले जात व्यवस्थालाई टेवा दिंदा भारतीय स्वतन्त्रता आन्दोलन कमजोरमात्र भएन बरु स्वतन्त्रता आन्दोलनपछि पनि भारत समतामा आधारित समाज बन्न सकेन । नरेन्द्र मोदी र अमित शाह त्यही हिन्दूवादी शक्तिको विरासतमा हुर्केका नेताहरू हुन् । त्यसकारण उनीहरूमा पनि बेलायती उपनिवेशवादी शक्तिहरूले बोकेको उपनिवेशवादी चिन्तन हुनु अनौठो होइन ।
अमित शाहले त्रिपुरामा भाजपाको एउटा बैठकमा ‘भाजपाले भारतका सबै प्रान्तमा मात्र नभई नेपाल र श्रीलङ्कामा पनि भाजपा स्थापना गर्ने र भाजपाले चाहेको जस्तो सरकार गठन गर्ने’ बताएका थिए । त्रिपुराका मुख्यमन्त्री विप्लव देवले शाहको सो भनाइ अर्को एउटा सार्वजनिक कार्यक्रममा बोलेका थिए । यो भारतको शासक वर्गमा दिमागमा गडेर बसेको विस्तारवादी सोचको प्रष्टोक्ति हो ।
भारतीय शासक वर्गमा रहेको यस्तो आक्रामक सोचको नेपाली जनताले लगातार प्रतिरोध गर्दै आएका छन् । नेपाल भारतजस्तै स्वतन्त्र र सार्वभौम देश हो । नेपालको आन्तरिक मामिलामा भारतको हस्तक्षेप नेपाली जनतालाई कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । नेपालभित्रका सबै समस्याको समाधान नेपाली जनताकै विवेकमा आधारित हुनुपर्छ । नेपालमा भाजपाले चाहेको जस्तो सरकार र भाजपाको गठन नेपाली जनताको भावनाविपरीत र नेपालको सार्वभौमिकताको विरोधमा हो ।
अमित शाहकै नेतृत्वमा गत वर्ष कास्मिरले भारतको संविधानमा पाउँदै आएको विशेषाधिकार खारेज गरिएको थियो । विशेषाधिकार खारेजीपछि कास्मिरी जनताको अलग पहिचान आज सङ्कटमा परेको छ । शाहले शनिबार त्रिपुरामा दिइएको भनी प्रचार गरिएको भनाइ भाजपाको अतिक्रमणकारी नीतिको अर्को अभिव्यक्ति हो । विप्लव देवले अमित शाहको भनी प्रचार गरिएको अभिव्यक्तिलाई हलुकारूपमा लिने गल्ती नगरौँ । यसलाई नेपाल र दक्षिण एसियाली देशहरूमाथि भारतीय आक्रमणको तयारीको रूपमा हेरिन आवश्यक छ ।
नेपाली जनता सधैँ सिक्किमलाई भारतमा विलय गरिएको इतिहासप्रति सजग छन् । सिक्किमको भारतमा विलय एकै दिन भएको थिएन । दशकौँको तयारी र प्रपञ्चपछि त्यो अन्तिम निष्कर्ष थियो । नेपालमाथि भारतीय गिद्देदृष्टिबारे प्रमाणको कुनै कमी छैन । अमित शाहको पछिल्लो अभिव्यक्ति आफै पनि उसको आक्रामकताको अर्को प्रमाण हो । यसबारे नेपाली जनता र शासकहरू सजग बनौँ । देश रहे राजनीति, विकास र चुनाव सबै गरौंला । देशै नरहे उपनिवेशवादले नूर गिरेका रैतीबाहेक केही बन्न सक्दैनौँ ।
Leave a Reply