भर्खरै :

दीर्घ दमखोकीका बिरामीहरूलाई व्यायाम र पोषणयुक्त र स्वस्थकर खानासम्बन्धी जानकारी

परिचय
श्वासनली तथा फोक्सोमा समस्या उत्पन्न गरी श्वासप्रश्वासमा अवरोध पैदा गर्ने प्रमुख रोगहरूमध्ये दीर्घ दमखोकी एक हो । यस रोगको बारेमा बिरामी, बिरामीको परिवार तथा समुदायका व्यक्तिहरूले थाहा पाउन जरुरी छ । खासगरी यो कस्तो रोग हो ? यसको उपचार कसरी गर्न सकिन्छ ? दीर्घ दमखोकी रोगको पुनस्थापना भनेको के हो ? भन्ने जस्ता प्रश्नहरूको उत्तर थाहा पाउनुपर्छ । फोक्सो तथा श्वासप्रश्वास प्रणालीसम्बन्धी सामान्य जानकारी र कस्तो रोगले श्वासप्रश्वासमा अवरोध पैदा गर्छ तथा दीर्घ दमखोकी रोग पुनस्थापना कसरी गर्न सकिन्छ भन्नेबारे जान्नुपर्छ ।
फोक्सोको संरचना कस्तो प्रकारको हुन्छ ?
फोक्सो त्यस्तो अङ्ग हो जसलाई रगतलाई ताजा राख्न बाहिरी हावाबाट अक्सिजन लिने र शरीरमा जम्मा भएको कार्वोनडाइअक्साइडलाई बाहिर फाल्ने काम गर्छ । मानिसको शरीरमा दाहिने र देव्रे गरी दुईवटा फोक्सो हुन्छ । यसमा श्वासनलीमार्फत हावा आवतजावत हुन्छ ।
फोक्सोमा अङ्गुरको गुच्छा आकारका स–साना हावाका थैलीहरू हुन्छन्, जसलाई एल्भीओली भनिन्छ । बाहिरको हावा श्वासनलीमार्फत एल्भीओलीमा प्रवेश गर्दछ जहाँ हावामा भएको अक्सिजन रगतमा जान्छ र रगतमा भएको कार्वोनडाइअक्साइड बाहिर निस्कन्छ । फोक्सोले सास फेर्नका लागि श्वासप्रश्वासमा संलग्न मासंपेशीको पनि महत्वपूर्ण भूमिका हुन्छ । यस्ता मांसपेशीहरूमध्ये डायफ्राम (पेटको माथिल्लो भाग र छातीको तल्लो भागको बीचमा रहेको मांसपेशी) को अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ ।
कुन कुन रोगहरूले श्वासप्रश्वासमा अवरोध पैदा गर्दछन् ?
दीर्घ दमखोकी श्वासप्रश्वासमा अवरोध पैदा गर्ने प्रमुख रोग हो । यसका साथै ब्रोन्कायल आज्माले पनि श्वासप्रश्वासमा कठिनाइ पैदा गर्दछ ।
दीर्घ दमखोकी
यदि तपाईं लामो समयदेखि धूमपान सेवन गर्दै आउनुभएको छ वा तपाईं प्रदूषित हावामा सास फेर्नु हुन्छ भने यसले तपाईंको फोक्सोमा रहेको वायु थैली (एल्भीओली) मा हानि पु¥याएको हुन्छ । यसले गर्दा तपाईंको फोक्सोले पहिलेको दाँजोमा कम मात्रामा रगतको शुद्धीकरण गर्न सक्दछ । यसका साथै तपाईंको श्वासनली पनि साँघुरिदै जान्छ र खकार श्वासनलीमै अड्किने समस्या पैदा हुन्छ । यसले गर्दा हावालाई फोक्सोको वायु थैली (एल्भिओली) सम्म पुग्नबाट रोक्दछ र फोक्सोको सास बाहिर फाल्ने क्षमतामा पनि ह्रास आउँदछ । अन्ततः यसले तपाईंको श्वासप्रश्वासमा कठिनाइ उत्पन्न गराउँदछ ।
ब्रोन्कायल आज्मा
श्वासनलीमा हुने विभिन्न खालका एलर्जिका कारण श्वासनली साँघुरिदै जान्छ र सास लिन र फाल्नमा कठिनाइ उत्पन्न गराउँछ । यस्तो अवस्थालाई ब्रोन्कायल आज्मा भनिन्छ । दीर्घ दमखोकी र ब्रोन्कायल आज्मामा भिन्नता हेर्ने हो भने दीर्घ दमखोकीका बिरामीहरू केही काम गर्दा वा शारीरिक क्रियाकलाप गर्दा छिटो थाक्ने तथा सास फेर्नमा असहज महसुस गर्दछन् भने ब्रोन्कायल आज्माका बिरामीहरूमा भने एक्कासि समस्या देखापर्दछ । यस्ता बिरामीहरूमा एक्कासि समस्या देखा परे तापनि बिरामीको फोक्सोका वायुथैलीहरू नबिग्रिसकेको हुनाले केही समयपछि यो समस्या बिस्तारै कम हुँदै जान्छ ।
फोक्सोमा हुने अन्य समस्याहरू
फोक्सोमा हुने अन्य समस्याहरूमा निमोनिया (फोक्सो सुन्निने), ब्रोन्काइटिस (श्वासनली सुन्निने), क्षयरोग आदि पर्दछन् । बिरामीहरूमा सास फेर्न गाह्रो हुनुका साथै ज्वरो आउने, पहेँलो खकार आउने जस्ता समस्याहरू पनि हुन्छन् । निमोनिया तथा ब्रोन्काइटिसको समस्या एक्कासि देखापर्दछ भने क्षयरोगको लक्षण देखा पर्न अलि समय लाग्दछ । फोक्सोको रोगका अतिरिक्त मुटुसम्बन्धी रोगहरूका कारण पनि श्वासप्रश्वासमा समस्या आउन सक्दछ ।
दीर्घ दमखोकी रोगको उपचारका लागि के कस्ता विधिहरू उपलब्ध छन् ?
दीर्घ दमखोकी रोगको उपचारका लागि श्वासनलीलाई खुलाउने औषधिहरू उपलब्ध छन् । जसमा इन्हेलेन्ट (सुँघेर लिइने औषधि) एक प्रमुख औषधि हो । यद्यपि, औषधि उपचारले मात्रै दीर्घ दमखोकीका बिरामीहरूलाई आराम दिलाउन तथा श्वासप्रश्वासमा हुने कठिनाइलाई कम गर्नसक्दैन । यसका लागि श्वासप्रश्वास व्यायाम पनि त्यत्तिकै महत्वपूर्ण छ । यस व्यायामले श्वासप्रश्वासमा संलग्न मांसपेशीहरू जस्तैः डायफ्राम तथा करङ्गलाई चलाउन मद्दत गर्छ । साथै श्वासप्रश्वास व्यायामले श्वासनलीमा अड्किएर बसेको खकारलाई बाहिर निकाल्न पनि प्रभावकारी भूमिका खेल्दछ ।
दीर्घ दमखोकीका उपचार विधिहरू
धूमपान त्याग्ने
सर्वप्रथम यदि तपाईं ध्रुमपान गर्नुहुन्छ भने यी उपचार सुरु गर्नु अगाडि धूमपान त्याग्न अत्यन्त जरुरी हुन्छ ।
दीर्घ दमखोकीका बिरामीहरूका लागि श्वासप्रश्वास व्यायाम
श्वासप्रश्वास व्यायामको उद्देश्य दीर्घ दमखोकीका बिरामीहरूलाई सास फेर्न सहज बनाउनु तथा बिरामीहरूको दैनिकीलाई आरामदायी बनाउनु हो । यसअन्तर्गत निम्न क्रियाकलापहरू पर्दछन् ।
– आरामदायी अवस्थामा बसाउने ।
– श्वासप्रश्वास व्यायाम ।
– खकार निकाल्ने विधि ।
– मासंपेशीको व्यायाम ।
– दैनिक जीवनमा गरिने क्रियाकलाप ।
माथि उल्लेखित क्रियाकलापहरू बिरामीको अवस्था र अनुकुलन हेरेर सिकाउनु पर्दछ ।
आरामदायी अवस्थामा बसाउने
आरामदायी अवस्थामा बसाउनुको उद्देश्य बिरामीलाई प्रभावकारी तथा सहजरूपमा श्वासप्रश्वास गराउनु हो । यसअन्तर्गत बिरामीहरूलाई आरामदायी अवस्थामा बसाउने, श्वासप्रश्वास अभ्यास सिकाउने, छातीको लचकतामा सुधार ल्याउने व्यायामका साथै श्वासनलीमा अड्किएको खकारलाई बाहिर निकाल्ने विधिहरू पर्दछन् ।
अ) बसाइको अवस्था मिलाउनुहोस् ।
लक्ष्यः मानसिक तथा शारीरिक तनावलाई कम गर्ने ।
प्रक्रियाः आरामदायक अवस्थामा बस्ने ।
सुझावहरूः
– शान्त कोठामा बस्नुहोस्
– इजार अथवा बेल्टलाई खुकुलो पार्नुहोस्
– खुकुलो खालको कपडा लगाउनुहोस्
– उत्तानो पारेर पल्टिनुको साटो शरीरको माथिल्लो भागलाई चित्र नं. ६ अनुसार अलिकति उठाएर बस्नुहोस् ।
बिरामीअनुसार उसको आरामदायी अवस्था फरक हुन सक्दछ । त्यसैले आफूलाई सहज र आराम हुने आसनको पहिचान गरी सोही आसनमा बस्नुहोस् ।
आ) श्वासप्रश्वासमा प्रयोग हुने मासंपेशीहरूलाई तन्काउनुहोस् ।
लक्ष्यः श्वासप्रश्वासमा प्रयोग हुने मासंपेशीहरूलाई लचिलो बनाउने
प्रकृयाः
– घाँटीको अगाडिको भागलाई तन्काउन, मुखलाई माथितिर फर्काउँदै दायाँ र बायाँ गरी दुवैतिर ढल्काउने ।
– घाँटीको दायाँ र बायाँ भागलाई तन्काउन, मुखलाई तलतिर झुकाउँदै बिस्तारै दायाँ र बायाँ गरी दुवै तिर ढल्काउने ।
– घाँटीको पछाडिको भागलाई तन्काउन, दुवै हात टाउको पछाडि लैजाने र कुहिनोलाई बिस्तारै खुम्चाउँदै छातीको नजिक ल्याउने ।
– छातीको भागलाई तन्काउन, दुवै टाउको पछाडि लैजाने र कुहिनोलाई बिस्तारै पछाडि तिर लैजाने ।
सुझावहरू : श्वासप्रश्वासमा प्रयोग हुने मांसपेशीहरू तन्काउँदा सास नरोकीकन आफुलाई सहज हुने आसनमा करिब १५ सेकेन्ड सम्म तन्काइ राख्ने ।
श्वासप्रश्वास व्यायाम
लक्ष्य : सास फेर्दा हुने कठिनाइलाई कम गरी प्रभावकारीरूपमा श्वासप्रश्वास गराउने ।
प्रक्रिया : श्वासप्रश्वास अभ्यासमा मुख्य गरी दुई प्रकारका विधिहरू छन् । एक ओठ चुच्चो गरी सास फेर्ने र अर्को पेट फुलाउँदै सास फेर्ने ।
अ) ओठ चुच्चो गरी सास फेर्ने विधि यसरी गर्न सकिन्छ ।
नाकबाट सासभित्र लिने र ओठलाई चुच्चो पारी बिस्तारै सास बाहिर फाल्ने । यस प्रकारले सास फेर्दा सास लिने समय र फाल्ने समयको अनुपात १ः३ देखि १ः५ को हाराहारीमा हुनुपर्छ अर्थात् सास लिने समत्न्दा सास फाल्ने समय तेब्बर लामो हुनुपर्छ । एक मिनेटमा लभगभ १० पटक श्वासप्रश्वास व्यायाम गर्नुपर्दछ ।
आ) पेट फुलाउँदै सास फेर्ने विधि यसरी गर्न सकिन्छ –
– शरीरलाई सजिलो हुने गरी सुत्नुहोस् । मांसपेशीहरूलाई खुकुलो छोड्नुहोस र चित्र नं.१३ देखाए जसरी घुँडालाई खुम्च्याउनुहोस् ।
– एउटा हात पेटमा राख्नुहोस् र अर्र्को छातीमा राख्नुहोस् ।
– अब नाकबाट बिस्तारै सास भित्र लिनुहोस् ।
– ओठलाई चुच्चो पार्दै बिस्तारै सास बाहिर फाल्नुहोस् ।
सुझावः पेट फुलाउँदै श्वास फेर्दा कम तागतको प्रयोगमै श्वासप्रश्वास गर्न सकिन्छ । यदि यो प्रक्रियाबाट सास फेर्न गाह्रो भएमा ओठ चुच्चो गरी सास फेर्ने विधिको मात्र अभ्यास गर्नुहोस् ।
इ) छाती÷करङ वरिपरिको मांसपेशीको व्यायाम
लक्ष्य : छाती÷करङको व्यायामको उद्देश्य छातीको मांसपेशीलाई खुकुलो गरी श्वासप्रश्वासमा सुधार ल्याउनु हो ।
प्रक्रिया : यसको लागि छातीको लचकतामा सुधार ल्याउन तयार पारिएको पोस्टर हेर्नुहोस् ।
– यी व्यायाम हरेक दिन १ देखि ३ वटासम्म गर्नुपर्छ र हरेक व्यायाम १० देखि १५ मिनेट सम्म गर्दा उपयुक्त हुन्छ ।
– व्यायाम गर्दा सास नरोकीकन सुचारूरूपले सास फेर्नुपर्छ ।
– धेरै समय व्यायाम गर्दा सास फेर्न गाह्रो हुने हुँदा आफू नथाक्ने गरी ठीक मात्रामा व्यायाम गर्नु जरुरी छ ।
– आफ्नो शरीरलाई समस्या हुने गरी व्यायाम गर्नु हुँदैन ।
सुझावहरूः
– सही आसनमा बसी व्यायाम गर्ने ।
– व्यायाम गर्दा सास नरोक्ने (बिस्तारै श्वास फेरिराख्ने) ।
– समय – समयमा आराम लिँदै नआत्तिकन व्यायाम गर्ने ।
– हतार नगरी आफ्नो गतिमा व्यायाम गर्ने ।
श्वासनलीमा अड्किएको खकार निकाल्ने
खकारले दमखोकीका बिरामीहरूलाई श्वासप्रश्वासमा थप कठिनाइ उत्पन्न गराउँदछ । श्वासनलीमा अड्केको खकार निकाल्न धेरै पटक खोक्नुपर्ने र शरीरको शक्ति खर्च गर्नुपर्ने हुँदा बिरामी छिट्टै थाक्छ र उसको दैनिकीमा असहज हुन्छ । श्वासनलीबाट खकार निकाल्ने विधिमा खोक्ने, जोडले फोक्सो देखिका हावा बाहिर फाल्ने (हाफिङ्ग) तथा श्वासप्रश्वासको सक्रिय चक्र अवलम्बन गर्ने आदि पर्दछन् ।
लक्ष्य : फोक्सो तथा श्वासनलीमा अड्किएको खकार निकाली श्वासप्रश्वासलाई सहज बनाउने ।
प्रक्रिया : खोक्ने, हफिङ्ग गर्ने तथा श्वासप्रश्वासको सक्रिय चक्र अवलम्बन गर्ने ।
अ) श्वासप्रश्वासको सक्रिय चक्र सामान्य श्वासप्रश्वास, गहिरो श्वासप्रश्वास, हफिङ्ग र खोक्ने विधिहरूको संयोजन हो । श्वासनलीमा अड्किएको खकार निकाली श्वासप्रश्वास गर्न सहज बनाउने यो एक प्रभावकारी विधि हो ।
सर्वप्रथम ४÷५ पटक सामान्य रूपमा सास फेर्नुहोस्, त्यसपछि २÷३ पटक गहिरो सास फेर्नुहोस्, फेरि ४÷५ पटक हफिङ्ग गर्नुहोस् र अन्त्यमा २÷३ पटक खोक्नुहोस् । यो अनुक्रममा एक पूर्ण चक्र समावेश छ ।
श्वासप्रश्वासको सक्रिय चक्रको अभ्यास गर्नुअघि मनतातो पानी पिउनुहोस् तथा गल्ल गल्ल गर्नुहोस् । यसले खकार निकाल्न सहज बनाउँदछ । खोक्दा श्वासनलीमा हावाको प्रवाह बढ्छ, जसले गर्दा खकारलाई बाहिर निकाल्न सजिलो हुन्छ ।
मांसपेशी बलियो बनाउने व्यायाम
मांसपेशी बलियो बनाउने व्यायाम सिकाउनुअघि बिरामीको अवस्थाको जाँच गर्नुपर्छ । तपाईंले कस्तो खालको क्रियाकलाप गर्न सक्नुहुन्छ र कस्तो खालको क्रियाकलाप गर्दा दम बढ्छ भन्ने कुरा जाँचेरमात्र तपाईंंलाई कस्तो खालको व्यायाम उपयुक्त हुन्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ । उदाहरणका लागि यदि तपाईंलाई हिँड्दा, भ¥याङ चढ्दा वा ओर्लँदा दम बढ्छ भने तपाईंले खुट्टाको व्यायाम गर्नुपर्छ र यदि तपाईंलाई केही ग¥हौ सामान बोक्दा दम बढ्छ भने तपाईंले पाखुराको व्यायाम गर्नुपर्छ ।
आफूलाई उपयुक्त हुने व्यायाम रोजेर अभ्यास गर्नुहोस्
लक्ष्य : कमजोर मांसपेशीलाई बलियो बनाउने
प्रक्रिया : तलका चित्रमा देखाइएको प्रत्येक व्यायामलाई लगभग १० पटक जति गर्नुहोस् । व्यायाम गर्दा आफू अलिकति थकित हुने अवस्थासम्म गर्नुपर्दछ ।
सुझाव : व्यायाम गर्दा श्वास नरोकी गर्ने र ओठ चुच्चो गरी श्वासप्रश्वास गर्ने विधि अपनाउने ।
चित्र १९ : पाखुराको मासपेशी बलियो बनाउने व्यायाम
मासपेशी बलियो बनाउने शारीरिक व्यायाम
भुइँमा सुतेर गरिने शारीरिक व्यायाम
– सर्वप्रथम घुँडा खुम्च्याउने र घुँडा सीधा पारेर पालैपालो गरी दुवै खुट्टा उचाल्ने
– कुम र खुट्टाको आड लिएर शरीरलाई माथि उचाल्ने
– दुवै घुँडा खुम्चाउने र दुवै हातले टाउको अड्याइ शरीरको माथिल्लो भाग दायाँ र बायाँ गर्दै पालैपालो मोड्ने
बेन्च अथवा टेबलमा बसेर गरिने शारीरिक व्यायाम
– दुवै घुँडालाई पालैपालो तन्काउने
– दुवै घुँडा पालैपालो खुम्च्याई माथि उचाल्ने र यसो गर्दा खुट्टाले भुइँ छुनु हुँदैन ।
– दुवै खुट्टा सीधा पारी माथि उचाल्ने र कम्तीमा १० सेकेन्डसम्म त्यही अवस्थामा राख्ने ।
उभिएर गरिने शारीरिक व्यायाम
– दुवै खुट्टा पालैपालो फराकिलो गरी अगाडि टेक्ने (यसो गर्दा एउटा हातले भित्ताको सहारा लिन सकिन्छ ।
– दुवै घुँडा खुम्च्याई कम्मरलाई बिस्तारै तल झार्ने (यसो गर्दा दुवै हातले भित्ताको सहारा लिन सकिन्छ ।)
– पालैपालो एउटा खुट्टामा उभिई बिस्तारै उठबस गर्ने (यसो गर्दा एउटा हातले भित्ताको सहारा लिन सकिन्छ ।
माथि उल्लेखित मासपेशीको अभ्यासले मासपेशीलाई बलियो बनाउनुको साथै दम–खोकीका बिरामीहरूको अवस्थामा सुधार ल्याउँछ ।
दैनिक जीवनमा गरिने क्रियाकलाप
आफ्नो दैनिक जीवनमा गरिने क्रियाकलापहरूमा केही परिवर्तन गरी श्वासप्रश्वास सहज बनाउनुहोस् र आरामदायी जीवन बिताउनुहोस् । प्रायःजसो पाखुरामा बल पर्ने काम, पेटमा बल पर्ने खालको काम, धेरै शक्ति लाग्ने शारीरिक काम तथा सास रोक्नुपर्ने कामहरू गर्दा दम बढ्न सक्छ । तालिका नं. १) । श्वासप्रश्वासलाई पर्याप्त समय दिँदै आफ्नो शारीरिक क्रियाकलापलाई बिस्तारै र सजिलो गरी गरेमा सास फेर्न सजिलो हुन्छ । प्रायःजसो बिरामीहरूले शारीरिक गतिविधि गर्दा मात्र श्वासप्रश्वासमा ध्यान दिन्छन् तर शारीरिक गतिविधि सुर गर्नुअघि नै श्वासप्रश्वासमा ध्यान दिनु जरूरी हुन्छ र शारीरिक गतिविधि गर्दा पनि ओठ चुच्चो पारी गरिने श्वासप्रश्वास विधि अपनाउनुपर्छ । साथै काम गर्दा एकोहोरो रूपमा नगरी बीचबीचमा आराम लिँदै गर्नुपर्छ र धेरै बल पार्ने खालका कामहरू गर्नुहुँदैन ।
दैनिक जीवनको क्रियाकलाप सम्बन्धी तालिका ः
अ) ओछ्यानबाट उठ्ने तरिका
– ओछ्यानबाट उठ्दा ओठ चुच्चो पारी श्वास फेर्दै बिस्तारै उठ्नुहोस् । झट्ट उठ्ने बानी नगर्नुहोस् । ओछ्यानबाट उठ्नेबेला दम बढेको छ भने बिस्तारै कोल्टो पर्नुहोस् र कुइनोको सहायताले बिस्तारै शरीरलाई उठाउनुहोस्
आ) हिँड्ने तरिका
– आफ्नो हिँड्ने गति र श्वासप्रश्वासको गतिलाई मिलाउनुहोस् ।
– हिँड्नु अगाडि सास लिने र बिस्तारै श्वास फाल्दै पाइला चाल्नुहोस् ।
इ) भ¥याङ चढ्ने तरिका
– समथर जमिनमा भन्दा भ¥याङ चढ्दा बढी परिश्रम लाग्ने र थाकिने हुँदा आफ्नो हिँड्ने गतिलाई कम गर्नुहोस् ।
– भ¥याङ चढ्ने गति र श्वासप्रश्वासको गतिलाई मिलाउनुहोस् ।
– समय–समयमा आरामा लिनुहोस् ।
ई) कपडा लगाउने तरिका
– कपडा लगाउँदा सर्वप्रथम आफूलाई सहज हुने गरी बस्नुहोस् ।
– अगाडि टाँक वा टुना भएको लुगा लगाउनुहोस् । यसो गर्दा हात माथि उठाउनु पर्दैन र दम बढ्ने समस्या कम हुन्छ ।
– यदि तपाईं पाइपद्वारा अक्सिजन लिनुहुन्छ भने अक्सिजन पाइप नहटाई लुगा लगाउन सुरू गर्नुहोस् । पाइप हटाउनु परेमा सास फाल्दै पाइप निकाल्नुहोस् अनि फेरि लुगा लगाउने बित्तिकै तुरून्त पाइप लगाउनुहोस् ।
उ) सुरूवाल, मोजा तथा जुत्ता लगाउने तरिका ः
– निहुरिन नपर्ने गरी मेच, बेन्च वा खाटमा बस्नुहोस् ।
– ओठ चुच्चो पारी श्वास प्रश्वास गर्ने विधि गर्दैै सुरूवाल, मोजा आदि लगाउनुहोस् ।
चित्र २५ ः सुरुवाल, मोजा तथा जुत्ता लगाउने तरिका
ऊ) मुख धुने तथा दाँत माझ्ने तरिका
– दाँत माझ्दा कुर्सीमा बसी दुवै कुइनोलाई टेबलमा वा मुख धुने ठाउँ वा बेसिनमा अड्याइ बिस्तारै सास रोकी माझ्नुहोस् ।
– मुख धुँदा ओठ चुच्चो गरी सास फाल्दै धुनुहोस् ।
ए) खाना खाने तरिका
– एकैपटक धेरै मात्रामा नखानुहोस् । यसको साटो थोरै थोरै गरी धेरै पटक खानुहोस् ।
– खाना खाँदा छाती तथा पेटमा दबाब नपर्ने गरी सीधा बस्नुहोस् ।
– खाना खाँदा टेबल र कुर्सीको प्रयोग गर्दा खाना खान सजिलो हुने भएकोले सकेसम्म टेबल–कुसीको प्रयोग गर्नुहोस्
ऐ) लुगा सुकाउने तरिका
– लुगा सुकाउने डोरी अलि तल राख्नुहोस् ।
– पाखुरालाई कुमभन्दा माथि उठाउँदा दम बढ्न सक्ने हुँदा लुगा सुकाउँदा सकेसम्म पाखुरा माथि नउठाउनुहोस् ।
ओ) सामान उठाउने तरिका
– ओठ चुच्चो पारी सास फर्ने विधि प्रयोग गर्दै चित्र नं. २९ मा देखाए जसरी बिस्तारै सामान उठाउनुहोस् ।
औ) दिसा बस्ने तरिका
– दिसा बस्दा सास नरोकी सास फाल्दै दिसा गर्नुहोस् ।
– दिसा बसी सकेपछि श्वासप्रश्वासलाई यथावत राख्दै सफा गर्नुहोस्
– सकेसम्म आधुनिक चर्पीको प्रयोग गर्नुहोस्
चित्र ३० ः दिसा बस्ने तरिका
अं) नुहाउने तरिका
– सर्वप्रथम आरामदायी तरिकाले कुर्सीमा बस्नुहोस् र लगाएका कपडा खोल्नुहोस् ।
– नुहाउँदा पनि कुर्सीमा बसेर बिस्तारै श्वासप्रश्वास विधि अपनाउँदै नुहाउनुहोस् ।
– नुहाउँदा पाखुरालाई धेरै चलाउन नपर्ने गरी लामो रूमालको प्रयोग गर्नुहोस् ।
अः) दम बढेको अथवा सास फेर्न गा¥हो भएको अवस्थामा अपनाउनुपर्ने आसनहरू
दैनिक जीवनका क्रियाकलापहरूमा परिवर्तन ल्याई तथा श्वासप्रश्वास विधिहरू प्रयोग गरेर दमको समस्यालाई कम गर्न सकिन्छ । तर यसका साथसाथै दमका बिरामीहरूले आफ्नो खानपिन तथा दम बढ्ने अवस्थामा कस्तो आसनमा बस्दा श्वास फेर्न सजिलो हुन्छ र शरीरलाई आराम मिल्छ भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । जस्तै ः
– पल्टेको अवस्थामा टाउको पछाडि तकिया राख्ने र घुँडा खुम्चाई कम्बललाई घुँडामुनि राखेर बस्दा आराम महसुस हुन्छ ।
– बसेको अवस्थामा आफ्नो दुवै कुइनो वा हातलाई टेबल अथवा आफ्नै घुँडामा अड्याएर राख्दा आराम महसुस हुन्छ ।
– यदि बस्ने ठाउँ छैन र उभिनुपर्ने अवस्था छ भने आफ्नो दुवै हातलाई कुनै आड लिने ठाउँमा अड्याउनुहोस् । यदि आड लिने ठाउँ पनि छैन भने भित्तामा अडेस लगाउने र आफ्नो शरीर स्थिर नभएसम्म सोही आसनमा बस्नुहोस् ।
– यी मध्ये जुनसुकै आसन अपनाए पनि एक पटक आफ्नो शरीर स्थिर अवस्थामा आएपछि आफ्नो हात–खुट्टालाई खुला छोड्नुहोस् र ओठ चुच्चो पारी गरिने श्वासप्रश्वास विधि अभ्यास गर्नुहोस् ।
दीर्घ दमखोकी के हो ?
श्वासनली तथा फोक्सोका कोषहरू नष्ट भएर श्वासप्रश्वास प्रणालीको कार्यक्षमता घट्न गई सास फेर्न अति कठिन हुने दीर्घ प्रकृतिको रोगलाई दीर्घ दमखोकी भनिन्छ ।
यो रागेमा सास फेर्न अति कठिन हुने हुनाले छातीको मांसपेशीहरू बढी सक्रिय हुन्छन् जसको कारण ती मांसपेशीहरू कमजोर हुदै जान्छन् । अर्कोतिर दमखोकीका कारण खाना खाँदा सास बढ्ने, पाचन प्रणाली कमजोर हुने, खानामा रुचि नहुने जस्ता विभिन्न कारणहरूले बिरामीलाई आवश्यक पौष्टिक तत्वहरूको अभाव हुन्छ । दमखोकीका बिरामीहरूले लामो समयसम्म पर्याप्त मात्रामा खाना नखाँदा शरीर शिथिल हुनुको साथै रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन जान्छ र पटक–पटक सङ्क्रमणहरू भइरहन सक्छ । तसर्थ दमखोकीका रोगीहरूले पोषणयुक्त खानेकुराहरू सामान्य अवस्थाका व्यक्तिहरूले भन्दा बढी खानुपर्दछ । त्यस्तै दम बढ्ने कारणले हिँड्डुल गर्न नसक्दा वा नगर्दा दमका बिरामीहरूमा यदाकदा वजन बढ्न जान्छ । यसबाट बच्न सन्तुलित आहारको अतिरिक्त हल्का व्यायामहरू गरिराख्नु पर्दछ ।
दीर्घ दमखोकीका बिरामीहरूको तौल किन घट्नु हुन्न ?
दमखोकीका कारण हुनुपर्ने सामान्य तौल भन्दा १० प्रतिशत तौल घट्दा ३० प्रतिशतले आयु घट्ने कुरा विभिन्न देशहरूमा गरिएको अध्ययनहरूबाट पुष्टि भएको छ । यस रोगका रोगीहरूमा कुपोषणका कारण श्वासप्रश्वाससम्बन्धी मांसपेशीहरू पातलो भई सास फेर्न कठिन हुने, दम बढ्ने आदि हुनाले उपचारको लागि अस्पतालमा लामो समयसम्म बस्नुपर्ने हुन्छ । यसकारण, आवश्यक मात्रामा पोषणयुक्त खानेकुराहरूको उचित प्रबन्ध मिलाई रोगीको पोषण स्थितिमा सन्तुलन कायम राखी स्वास्थ्य स्थितिमा शीघ्र सुधार ल्याउन आवश्यक छ । पोषण स्थितिमा सन्तुलन हुँदा व्यक्तिमा प्रतिरक्षा शक्ति पनि बढ्छ, जसको कारण सङ्क्रमणबाट बच्न मद्दत पुग्दछ ।
दीर्घ दमखोकीका बिरामीहरू मोटो भएमा के हुन्छ ?
दमखोकीका बिरामीहरू मोटो भएमा वा भुँडी लागेमा सास फेर्न कठिन हुन्छ । थोरै हिँडे पनि दम बढ्ने मात्र नभई मुटु तथा फोक्सोले बढी काम गर्नुपर्ने हुन्छ । मोटोपनले गर्दा अक्सिजनको आवश्यकता बढनुको साथै रक्तचाप, मुटुसम्बन्धी समस्याहरू तथा मधुमेह हुने खतरा पनि बढ्न जान्छ । तसर्थ, स्वस्थकर खाना खाई शरीरको तौल सन्तुलित राख्न पनि उत्तिकै जरुरी छ ।
दीर्घ दमखोकीका दुष्चक्र
– खानामा रुचि घट्ने
– तौल घट्ने
– शारीरिकरूपमा अशक्त हुने
– शरीरका मांसपेशीहरू कमजोर हुने
– दमखोकी बढ्ने
यदि बिरामीले आवश्यक मात्रामा खान सकेन भने बिरामीको मांसपेशीहरू कमजोर हुँदै जान्छन् जसले गर्दा अलिकति हिँड्ने बित्तिकै दम बढ्ने थकाइ लाग्ने हुन्छ । अन्ततः हिँड्डुल कम हुन्छ, खानामा रुचि घट्दै जान्छ, तौल पनि घट्दै जान्छ र बिरामीले च्याप्छ ।
दीर्घ दमखोकीका बिरामीहरूलाई पोषणसम्बन्धी सल्लाहहरू
अ) पर्याप्त मात्रामा शक्तिवद्र्धक खानेकुराहरू खाने ।
यदि बिरामीहरूले पर्याप्त मात्रामा खानेकुराहरू खाएनन् भने शरीरका लागि आवश्यक शक्ति प्राप्त हुँदैन । सामान्य व्यक्तिहरूको दाँजोमा दमखोकीका बिरामीहरूमा सास फेर्नका लागि छाती र गर्धनका मांसपेशीहरू बढी प्रयोग हुन्छन् । जसले गर्दा शरीरमा जम्मा भएको शक्ति बढी खर्च हुन्छ र शरीर कमजोर हुन्छ । यसर्थ उपयुक्त मात्रामा शक्तिवद्र्धक खाना खाने सल्लाह दिनुहोस् ।
आ) आवश्यक मात्रामा चिल्लो पदार्थ भएको खानेकुरा खाने ।
विभिन्न श्रोतहरूबाट पाइने चिल्लो पदार्थ शक्तिको उत्तम श्रोत हो । आवश्यक मात्रामा चिल्लो पदार्थ भएका खानेकुराको प्रयोगले शरीरको लागि आवश्यक ऊर्जा प्राप्त हुनुको साथै शरीरमा कार्बनडाइअक्साइड कम जम्मा हुन गई सास फेर्न सजिलो हुन्छ । तसर्थ खाना पकाउँदा आवश्यक मात्रामा तेल प्रयोग गर्ने सल्लाह दिनुहोस् ।
खानामा चिल्लो पदार्थको मात्रा कसरी बढाउन सकिन्छ ?
– उसिनेको अण्डाको सट्टामा अम्लेट वा अण्डाको भुजुरी बनाउन सकिन्छ ।
– सादा रोटीको सट्टामा ठीक मात्रामा तेल प्रयोग गरेर पराठा बनाउन सकिन्छ ।
– सादा भातको सट्टामा पुलाउ, भुटेको भात, मकै वा चामलको पुवा आदि बनाउन सकिन्छ ।
– गहुँ, जौ, सुजी आदिको हलुवा बनाउन सकिन्छ ।
नोट ः पशुजन्य श्रोतबाट प्राप्त हुने चिल्लोबाट रगतमा कोलेस्टेरोल बढ्छ । त्यसैले, चिल्लो पदार्थ खाने निहुँमा बोसोयुक्त मासुको परिकार, भित्री अङ्गको मासु, नौनी, घ्यू, वनस्पति घ्यू आदि खानु हुँदैन । दमखोकीका बिरामीहरूलाई उच्च रक्तचाप वा मधुमेहजस्ता दीर्घ रोगहरू पनि भए चिल्लो पदार्थ खान प्रोत्साहित गर्न हुँदैन ।
इ) पर्याप्त मात्रामा प्रोटिन भएको खानेकुरा खाने
प्रोटिन हाम्रो शरीरको मांसपेशीहरू बनाउन चाहिने अत्यावश्यक पौष्टिक तत्व हो । कठिन ढङ्गले सास फेर्दा श्वासप्रश्वास प्रणालीका मांसपेशीहरू च्यातिने वा बिग्रने सम्भावना बढी हुन्छ र तिनीहरूको पुनःनिर्माण गर्न प्रोटिनयुक्त खानेकुराको आवश्यकता पर्दछ । दाल, गेडागुडी, माछा, मासु, अण्डा, भटमास, दूध तथा दूधजन्य पदार्थ आदि प्रोटीनका राम्रा श्रोतहरू हुन् । यी खानेकुराहरूलाई नियमित प्रयोग गर्न सल्लाह दिनुहोस् ।
खानामा प्रोटीनको मात्रा कसरी बढाउन सकिन्छ ?
– दाल, गेडागुडी, दूध, अण्डा, मासु आदि विभिन्न प्रकारले प्रयोग गर्न सकिन्छ ।
– पीठोमा चना वा भटमासको पीठो मिसाउन सकिन्छ ।
– रोटी बनाउँदा पीठो मुछ्न दूध वा दहीको प्रयोग गर्न सकिन्छ ।
– सादा दूधमा फलफुल, धूलो दूध, बदाम वा प्रोटीन पाउडर मिसाउन सकिन्छ ।
– अण्डा, मासु, माछा, तोफु, पनिर, न्युट्रेला आदि प्रयोग गरेर विभिन्न परिकारहरू बनाउन सकिन्छ । जस्तैः अण्डाबारा, किमा रोटी, पनिरको मोमो, अण्डाचिउरा आदि ।
– पाउरोटीमा पिनट बटर लगाउन सकिन्छ ।
– तरकारी, गुन्द्रुक पकाउँदा गेडागुडीहरू मिसाउन सकिन्छ ।
ई) पर्याप्त मात्रामा झोलिलो खानेकुराहरू खाने
पर्याप्त मात्रामा झोलिलो खानेकुराहरू खानुहोस् । शरीर सुन्निएको छैन, पिसाब राम्ररी हुन्छ भने दैनिक ६ देखि ८ गिलास पानी पिउनुहोस् । यसो भएमा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । पानीको मात्रा कम भएमा कफ बाक्लो हुन्छ र सास फेर्न कठिन हुन्छ ।
खानामा आवश्यक मात्रामा नुनको प्रयोग गर्नुहोस् । बढी नुन तथा नुनिलो खानेकुरा प्रयोग गर्नाले शरीरमा, खासगरी फोक्सोमा पानी जम्न गई सास फेर्न कठिन हुनसक्दछ र रक्तचाप पनि बढन सक्दछ ।
उ) खाना तथा खाजा गरी प्रतिदिन कम्तीमा ४ पटक खाने
दमखोकीका बिरामीहरू शारीरिकरूपमा कमजोर हुने र एक पटक धेरै खाना खान नसक्ने हुनाले पटक–पटक गरी खाना खाइरहनुपर्छ । सामान्यतया यस्ता दमखोकीका बिरामीले दिनमा कम्तीमा खाना र खाजा गरी चार पटक खान जरुरी छ । यदि भोक लागेको छैन भने पनि थोरै थोरै पोषिलो खाना खाइराख्नु पर्दछ ।
क) खानामा रुची कम भएमा निम्नानुसार गर्न सकिन्छ ।
– खाना खाँदा सर्वप्रथम आफूलाई मनपर्ने तथा प्रोटीन बढी भएका खाना जस्तैः मासु, माछा, अण्डा, पनिर, तोफु वा बाक्लो दालबाट सुरु गर्ने ।
– एकैचोटि खाना खान सकिएन भने थोरै–थोरै गरी पटक–पटक गरी खाने ।
– बीचबीचमा केही न केही खानेकुराहरू जस्तैः पोषिलो हलुवा, पोषिलो जाउलो, खिर, सर्वोत्तम पिठोको लिटो वा सातु, क्वाटी आदि खाने ।
– यदि बिरामीले नियमित खान सक्दैन भने अतिरिक्त पोषण खान लगाउने ।
ख) दम बढेर खाना खान कठिन भएमा निम्नानुसार गर्न सकिन्छ ।
– विशेषगरी बिहान सबेरैको नास्ता राम्ररी मिलाएर खाने ।
– थोेरै खानाबाट बढी शक्ति प्राप्त हुने खानेकुराहरू जस्तैः अण्डा, दूध रोटी, आलु सातु, फलफुल आदि खाने ।
– खाने ठाउँको व्यवस्था खान सजिलो तथा निहुरिन नपर्ने गरिकन मिलाउने ।
– पाचन प्रणालीमा प्रयोग हुने मांसपेशीहरूले पनि पर्याप्त मात्रामा अक्सिजन प्राप्त गर्न सकोस् भन्ने उद्देश्यले यदि बिरामीले अक्सिजन मास्क वा केनुला लगाएको भए खाना खाँदा पनि मास्क लगाइराख्ने र समय–समयमा अक्सिजनको अवस्था जाँच गर्न सल्लाह दिने ।
– श्वासप्रश्वास व्यायाम नियमितरूपमा गर्न सल्लाह दिने ।
ग) थोरै खाना खाँदा पनि छिट्टै पेट टम्म हुन्छ भने निम्नानुसार गर्न सकिन्छ ।
– खाना खानुभन्दा अगाडि वा खाना खाँदा खाँदै गर्दा झोलिलो पदार्थ वा पानी नपिउने ।
– खाना खान बस्दा सर्वप्रथम मासु, माछा, अण्डाजस्ता प्रोटीनयुक्त खानेकुराबाट सुरुवात गर्ने ।
– थोरै खानाबाट धेरै पौष्टिक तत्वहरू पाउनको लागि विशेष परिकारहरू जस्तैः अण्डा चिउरा, आलुको टिकिया, सक्करखण्ड, बाक्लो दाल वा क्वाटी, बारा आदि छान्ने । दूधलाई पोषिलो बनाउन पाउडर दूध वा मह आदि मिलाउने ।
घ) खाना खाँदा थकाइ लाग्छ भने निम्नानुसार गर्न सकिन्छ ।
– खाना खानुभन्दा अगाडि वा खानाको बीचमा राम्ररी आराम गर्नुहोस् ।
– चाँडै थकाइ नलाग्नका लागि टेबुल र कुर्सीको उचाइ खाना खान सजिलो हुने गरी मिलाउनुहोस् ।
– दिनमा पटक–पटक खानुहोस् र बल नपर्ने गरी बिस्तारै खाना खानुहोस् ।
– नरम खाना खानुहोस् ।
ङ) कब्जियतको समस्या भएमा निम्नानुसार गर्न सकिन्छ ।
– दमखोकीका बिरामीलाई कब्जियतको कारण सास फेर्न अझ कठिन हुनसक्दछ । तसर्थ रेशादार खानेकुराहरूजस्तै सागसब्जी तथा फलफूल खाने ।
– नियमित हलुका व्यायाम गर्ने ।
– आवश्यक मात्रामा झोलिलो पदार्थहरू खाने ।
– कब्जियतले धेरै समस्या गरेमा चिकित्सकसँग सम्पर्क राख्ने ।
च) पेट फुल्ने, पेटमा वायु बढ्ने समस्या भएमा निम्नानुसार गर्न सकिन्छ ।
– खाना खानुभन्दा अगाडि पूरा आराम गर्ने । खाना नहतारिकन बिस्तारै खाने ।
– खाना खानुभन्दा अगाडि तथा खाना खाइसकेपछि मात्र झोलिलो पदार्थहरू पिउने ।
– खानेकुराहरू राम्ररी चपाएर बिस्तारै खाने ।
– वायु पैदा गर्ने खानेकुराहरू पहिचान गरी त्यस्ता खानेकुराहरू कम खानुहोस् । वायु पैदा गर्ने खानेकुराहरू निम्नानुसार हुनसक्छन् ।
– सुकेको गेडागुडी, काउली, ब्रोकाउली, प्याज, बन्दा, कुरिलो, कार्बोनेटेड पेय पदार्थहरू र दूधजन्य पदार्थहरू
दीर्घ दमखोकीका बिरामीहरूले पोषणका अतिरिक्त अन्य के के कुराहरूमा ध्यान पु¥याउनु पर्छ ?
अ) नियमित व्यायाम गर्नुहोस्
शरीरका मांसपेशीहरूलाई तन्दुरुस्त राख्न र भोक जगाउन नियमित व्यायाम एक प्रभावकारी तरिका हो । त्यसैले शरीरलाई तन्काउनुहोस् । दम नबढ्ने गरी मध्यम गतिमा हिँड्नुहोस् ।
श्वासप्रश्वास कार्य ठीक राख्न पेटबाट गरिने श्वासप्रश्वास प्रक्रिया प्रभावकारी हुन्छ । त्यसैले पेटको मद्दतबाट सास फेर्नुहोस् ।
पेटबाट गरिने श्वासप्रश्वास प्रक्रियाको अभ्यास कसरी गर्ने ?
निर्देश १
शरीरलाई सजिलो हुने गरी सुत्नुहोस् । मांसपेशीहरूलाई खुकुलो छोड्नुहोस र दुवै घुँडालाई खुम्च्याउनुहोस् ।
निर्देश २
एउटा हात पेटमा राख्नुहोस् र अर्को हात छातीमा राख्नुहोस्
निर्देश ३
अब नाकबाट बिस्तारै सास भित्र लिनुहोस् ।
निर्देश ४
मुखलाई चुच्चो पार्दै बिस्तारै सास बाहिर फाल्नुहोस् ।
यही प्रक्रिया अब उठेर दोहो¥याउनुहोस् । मुख चुच्चो पार्दै पेट खुम्चिने गरी सास बाहिर फाल्नुहोस् । पेट फुल्ने गरी नाकबाट श्वास भित्र लिनुहोस् ।
ध्यान दिनुपर्ने कुरा
– पेटमा राखेको हात लिँदा माथि र सास फाल्दा तलतिर जानुपर्छ ।
– उभिएर गर्न गाह्रो भएमा सुतेरै व्यायाम गर्नुहोस् र यो पक्रिया १० पटक सम्म दोहो¥याउनुहोस् ।
आ) आफ्नो दिनचर्यालाई नियमित गर्नुहोस्
खाना खाने समयलाई नियमित गर्नुहोस । आफ्नो दैनिकीमा विविधता ल्याउनुहोस् । उदाहरणका लागि कहिलेकाहीँ बाहिर जानुहोस् रुचिअनुसार मनोरञ्जन गर्नुहोस् ।
इ) घरधन्दाको योजना बनाउनुहोस्
घरायसी काम काज सहज तरीकाले गर्नुहोस् । जस्तैः लुगा होचो ठाउँमा सुकाउनुहोस्, लामो बिड भएको कुचो वा झाडुको प्रयोग गर्नुहोस्, भान्सा कोठामा हावा आवतजावत हुने व्यवस्था मिलाउनुहोस् ।
ई) के मैलो फोक्सोको मात्र हेरविचार गरे पुग्छ ?
– जाडो मौसममा आफूलाई सङ्क्रमणबाट बचाउनु जरुरी छ । तसर्थ, निमोनिया, इन्फलुएन्जाको खोप लिनु जरुरी छ ।
– यदि सुँघ्ने औषधि (इन्हेलर) प्रयोग गर्नुहुन्छ भने यसको लिने तरिका स्वास्थ्यकर्मीसँग सिक्नुहोस् ।
समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *