भर्खरै :

बलात्कार : जैविक वा सांस्कृतिक ?

महिलामाथि हुने गरेका हिंसा तथा बलात्कारबारे लेख्नुअगाडि भक्तपुरका कलेज तहमा विज्ञान विषयमा अध्ययनरत केही छात्राहरूसँग ‘महिलामाथिको यौन हिंसा के कारणले हुन्छन््’ भन्ने छलफल भयो २ फागुन २०७७ मा । बलात्कारमा जैविक कारण प्रधान हुनसक्छ वा यसका आर्थिक तथा सामाजिक कारण छन् ? आधुनिक सञ्चारमाध्यमको भूमिका कस्तो छ ? के महिलाले लगाउने उत्ताउलो कपडा दोषी हुन्छ ? पितृसत्ताले कत्तिको फरक पार्छ ? राजनीतिक कारण नि ? बहुआयामिक विषय हो यो । यसको अनेक कोणबाट विश्लेषण गर्नु जरुरी छ । विषवृक्षको फूल वा पात झारेर केही फरक नपर्ने बरु विषवृक्षको जरा नै काट्नुपर्ने छलफलको सार निस्कियो । सबभन्दा गा¥हो काम त्यही हो । किनभने, हजारौँ वर्षदेखिको अत्याचारको साङ्लो एकै प्रहारले चुँडिन्न, निरन्तरको प्रयास आवश्यक हुन्छ । यस्तो शोषण, अन्याय तथा अत्याचारविरुद्ध लड्ने उपाय के ? यी सबै प्रश्नको टुङ्गो लगाउनु आवश्यक छ ।
महिला र पुरुषमा जैविक भिन्नता
शारीरिकरूपमा पुरुष र महिलाको शरीरको संरचना ९५ प्रतिशत वा अझ बढी एउटै भएको मानिन्छ । शारीरिक तथा मानसिक क्षमतामा पनि महिला र पुरुषको बीच खास फरक पाइँदैन । यी सबै वातावरण र आवश्यकतासँग सम्बन्धित हुन्छन् । महिला र पुरुषबीच फरक भन्नु त प्रजनन अङ्ग नै मुख्य हो । महिलाको शरीरमा अन्डा उत्पादन गर्ने र बच्चालाई गर्भमा हुर्काउने, बच्चालाई दूध चुसाउनेलगायतका अङ्गहरूको प्रणाली हुन्छ भने पुरुषमा वीर्य उत्पादन प्रणाली हुन्छ । पुरुष र महिलाका केही स्वभाव छुट्याउने हर्मोनमा भिन्नता हुन्छ, एकले अर्कालाई आकर्षित गर्ने तत्व पनि त्यही हो ।
पुरुष र महिलाको सहभागिताबाट सन्तान उत्पादन हुन्छ । भाले र पोथीबीचको मैथुन क्रियाको मुख्य उद्देश्य नै सन्तान पैदा गर्नु हो । यो नै प्राकृतिक कुरा हो । यौनलाई अन्यथा प्रयोग गर्नु अप्राकृतिक कुरा हो । अन्य जनावरमा जबरजस्ती यौन क्रियाकलाप हुँदैन । के मानिसले पशुपक्षीबाट सिक्न सक्छ ?
पुरुषको शुक्रकीट उत्पादन सधैँजसो भइरहन्छ तर महिलाको डिम्ब महिनामा एकपटकमात्र बन्छ । महिला निश्चित समयमा मात्र सन्तान उत्पादनको निम्ति मानसिक तथा शारीरिकरूपमा तयार हुन्छन् । त्यसैले कुनै महिला शारीरिक तथा मानसिकरूपमा तयार नहुँदै गरिने अनिच्छित यौन सम्पर्कलाई बलात्कारको कोटीमा राखिन्छ । यही जीवविज्ञानको कारण समाजमा आचरण तथा व्यवहारसम्बन्धी विभिन्न नियम बनाइएका हुन् । समाजमा मूल्य तथा मान्यताको विकास त्यसैले भयो । ब्रतवन्ध, बेलविवाह, छेवर, गुफा राख्ने आदि सांस्कृतिक अभ्यास गरी यौन अनुशासनका नियम सिकाइन्छ । सामाजिक अनुशासन, संस्कृति तथा संस्कारले प्रकृतिसापेक्ष हुन उत्प्रेरित गरिरहेका हुन्छन् ।
पितृसत्ता र सम्पत्ति !
पितृसत्तामा पुरुषहरू उत्तम हुन्छन् र महिला पुरुषभन्दा निम्न र निकृष्ट हुन्छन् भन्ने धारणा राख्छ । पितृसत्ता अद्यापि सामाजिक प्रणालीको रूपमा स्थापित छ । पितृसत्ताले छोरा जन्मिँदा उत्सव मनाउँछ, छोरीको भ्रुण हत्या गर्छ । छोरा पाउने आशामा बग्रेल्ती छोरी जन्माउनु यही मानसिकताको उपज हो ।
मानव इतिहासको हजारौँ वर्षसम्म स्त्री र पुरुषबीच विभेद थिएन । निजी सम्पत्तिको विकास भएपछि भेदभाव सुरु भयो । आफ्नो शेषपछि सम्पत्तिको हकदारको खोजी भयो । त्यो समस्या समाधान गर्न विवाहको परिपाटी बस्न थाल्यो । किनभने, महिलाले मात्र आफ्नो सन्तान चिन्न सक्ने परिस्थिति थियो, महिलामार्फत नै पुरुषले आफ्नो बच्चा चिन्दथे । यसरी, विवाह प्रणालीसँगै महिलामाथि पुरुष नियन्त्रण सुरु भयो ।
छोरी अर्काको घर जाने, उसको लालनपालन वा शिक्षादीक्षामा किन खर्च गर्नु र ? भन्ने स्वार्थी विचारको विकास भयो । छोरीको विवाहमा दाइजो (दहेज) दिने योजनाले नै आमाबुबामा भाउन्न छुट्छ । तराईतिर विवाहित महिलालाई केही वर्षसम्म खेती काममा समेत लगाइन्न वा महिला आफै त्यस्तो काममा जाँदैनन्, घरको चुलोचौकोमै सीमित हुन्छन् भने तिनको आर्थिक महत्व स्वतः कम हुन्छ ।

यौन हिंसाको कुरा गर्दा महिलाको ‘छोटो कपडा’ पनि आलोचनाको विषय बन्छ । कपडाको मुख्य उद्देश्य शरीर ढाक्नु वा शरीरलाई सुरक्षित गर्नु नै हो । हिमालतिर बाक्लो कपडा लगाइन्छ, तराईतिर पातला । सामान्यतः वातावरणसापेक्ष हुन्छन् कपडा । तर, चिसो मौसममा पनि पातला र शरीर नढाक्ने कपडा लगाउनुको अर्थ के हो ? जिउमा टाँसिने कपडा नै सौन्दर्यको मानक बनाउने को हो ? के यसमा पनि पैसा कमाउने व्यापारी तथा उद्योगीको स्वार्थ गाँसिएको त छैन ? अथवा, उनीहरू आफ्ना उद्योगमार्फत वर्गीय विचारधारा निर्माण गर्छन् ।

काठमाडौँ उपत्यकाको कला र संस्कृतिको विकासमा महत्वपूर्ण योगदान दिएका राजा प्रताप मल्लका ३ सय वटी पत्नी थिए । राणा प्रधानमन्त्री जङ्गबहादुरका ४०–५० वटी पत्नी थिए, उनले कुनै सधवा, विधुवा भनेनन्, विवाह गरे । तिनलाई बडामहारानी, महारानी, रानी, सुसारे आदि विभिन्न पदवी दिए । के त्यो भोगविलासको मात्र विषय थियो ? राज्यमा आफ्ना सन्तानकै वर्चस्व कायम रहोस् भन्ने तिनको स्वार्थ थियो । सामन्त वा जमिनदारहरूले त्यसैगरी बहुविवाह गरे ।
वंश विकास कायम गर्न वा वैज्ञानिक भाषामा आफ्नो अणुवंश (जीन) सदा जीवित राख्न सन्तानोत्पादन गरिन्छ । जति धेरै सन्तान, उति धेरैमा आफ्नो जीन सर्ने सम्भावना हुन्छ । कोही सन्तान विवाहपूर्व मरिहाले पनि कोही न कोहीले आफ्नो ‘रगत’ जोगाउँछ भन्ने स्वार्थको कारण पनि धेरै सन्तान जन्माउने परिपाटी बसेको थियो । आजजस्तो आधुनिक औषधीविज्ञान नभएको बेलामा मानिस अकालमै मर्ने सम्भावना पनि बढी हुन्थ्यो ।
यसरी, सामन्तवादी समाजमा सन्तानलाई सम्पत्तिको रूपमा लिन थालियो । सन्तानले डाँडाकाँडा ढाक्नुपर्ने चिन्तन आयो । सामन्तहरूले सन्तानलाई नै कृषि उत्पादन बढाउनमा प्रयोग गरे । जति धेरै जमिन, उति धेरै सन्तानको आवश्यकता हुन गयो । महिलाको काम सन्तान उत्पादन तथा तिनको लालनपालनमा केन्द्रित भयो ।
पुँजीवादमा पितृसत्ता
पुँजीवाद भन्नु नै नाफाको खेल हो । यसमा नाफाको निम्ति शक्तिको प्रयोग हुन्छ । सयौँ वर्षदेखि वर्गीय उत्पीडनभित्र पनि उत्पीडित महिलामाथिको शोषण कायम गर्न पुँजीवाद अग्रसर भयो । महिलालाई प्रयोग गरी पुँजी विस्तार गर्ने काम भयो । धर्म र संस्कृतिको नाममा बाँधिएका नारी पुँजीपतिको सामान बिक्री गर्ने विज्ञापनको माध्यम बने । पुरुषले प्रयोग नगरे पनि सहज हुने सौन्दर्यका साधनमा पुरिन थालिन् नारी । सौन्दर्य उद्योग अर्बौँ डलरको उद्योग हो । अनि निश्चित मापदण्ड (गोरी, अग्लो कद, जिरो फिगर, उठेको वक्षस्थल, नितम्बिनी) भएका केटीलाई राम्रा भनी सौन्दर्य प्रतियोगिता गर्न थालियो । यसरी महिलाको बाहिरी व्यक्तित्व नै मुख्य हो भन्दै ज्ञान, क्षमता, विचारजस्ता भित्री व्यक्तित्वलाई गौण बनाउन थालियो । ‘फ्यासन सो’ मा महिला नै प्रयोग भए, त्यसको उद्देश्य नै मार्केटिङ्ग हो । मानिसलाई उपभोक्तावादी बनाउने, फ्यासनेबल बनाउने वा सुहाउने÷नसुहाउने गोलचक्करमा फसाउने काम भयो । चलचित्र त्यहीअनुसार बनाइए । चलचित्रमा अभिनेतृले लगाएको कपडा बजारमा माग बढ्न थाल्यो । चलचित्र उद्योग चलाउन महिलालाई सौन्दर्य साधनको रूपमा प्रस्तुत गरियो । कतै भोज वा सामाजिक जमघटमा जानु छ भने महिलाको निम्ति कुन कपडा र कुन गहना लाउने भन्ने चिन्ता हुन्छ अचेल । यो पनि पुँजीवादभित्रको पितृसत्ता हो ।
विश्वमा प्रत्येक दिन एक अर्ब महिलामाथि हिंसा र प्रत्येक चार सेकेन्डमा एक महिलामाथि बलात्कार हुन्छ भन्ने तथ्याङ्क छ । ‘पोर्नाेग्राफी’ ले यौनजन्य अपराध बढाएको विभिन्न अनुसन्धानले बताएको छ । त्यसैबाट इन्टरनेट प्रदायक कम्पनीहरूले थप कमाउन पाएका छन् । यसरी, पुँजीवादले मानिसको मनमस्तिष्कमा इन्द्रीय सुखभोगवाद र स्वच्छन्द यौनाचारवादको मन्दविष छरिदिएको छ । पुँजीवादले पितृसत्तालाई अझ बलियो बनाएको छ । अधिकांश महिला त्यसैमा रमाइरहेका छन् ।
परिधान कि मानसिकता ?
कुनै पनि जनावर कपडा लगाउन्नन्, खै बलात्कार हुन्न त ! के मानिस पशुभन्दा अविवेकी भएको हो ? आफ्नै नातेदारमाथिको यौनहिंसा के पहिरनले नै भड्काएको हो ? यी तर्क थिए, विद्यार्थीका !
यौन हिंसाको कुरा गर्दा महिलाको ‘छोटो कपडा’ पनि आलोचनाको विषय बन्छ । कपडाको मुख्य उद्देश्य शरीर ढाक्नु वा शरीरलाई सुरक्षित गर्नु नै हो । हिमालतिर बाक्लो कपडा लगाइन्छ, तराईतिर पातला । सामान्यतः वातावरणसापेक्ष हुन्छन् कपडा । तर, चिसो मौसममा पनि पातला र शरीर नढाक्ने कपडा लगाउनुको अर्थ के हो ? जिउमा टाँसिने कपडा नै सौन्दर्यको मानक बनाउने को हो ? के यसमा पनि पैसा कमाउने व्यापारी तथा उद्योगीको स्वार्थ गाँसिएको त छैन ? अथवा, उनीहरू आफ्ना उद्योगमार्फत वर्गीय विचारधारा निर्माण गर्छन् ।
पहिरन पनि समाजले ‘पचाएको र नपचाएको’ हुन्छन् । एक समय नेपाली महिला प्यान्ट लगाउन्नथे, समाजले पचाएको थिएन । आज प्यान्ट सर्वसुलभ, सजिलो र सरल पोसाक भएकैले समाजमा स्थापित भएको छ । किनभने, साडी, हिल चप्पलजस्ता पहिरनले आपतकालीन अवस्थामा दगुर्न, कसैको आक्रमणको प्रत्याक्रमण गर्न असजिलो बनाउँछ । तर, समाजले बिस्तारै पचाउँछ भन्दैमा वातावरण वा प्रकृतिप्रतिकूल पहिरन उपयुक्त हँुदैन ।
युरोपमा नयाँ साथीबीच पनि चुम्बन वा आलिङ्गन स्वाभाविक मानिन्छ, के नेपाली समाज त्यसो गर्न तयार छ ? पश्चिमाले जे ग¥यो, त्यही सभ्यताको मानक मान्दा नेपाली समाजमा अनेकौँ विकृति देखापरेका हुन् । कुनै पनि व्यक्तिको व्यवहार समाजको मूल्य र मान्यता तथा संस्कृतिले निर्धारण गर्ने पक्ष पनि हो । ‘छोटो कपडा’ मै महिला स्वतन्त्रताको आधार देख्नु पितृसत्ताकै उपज हो । यसैमा पुँजीवादले आफ्नो स्वार्थ पूरा गर्दछ ।
अबको बाटो
निर्मला पन्तको बलात्कारी अझै पक्राउ भएको छैन । भागरथीमाथि न्याय हुनेमा पनि शङ्का छ । बलात्कारको शिकार हुने आर्थिकरूपमा कमजोर तथा तल्लो जात वा तल्लो वर्गका बढी भेटिन्छन् । प्रहरी तथा प्रशासन शोषक वर्गकै पक्ष लिन्छ । सत्ताधारी वर्गले तल्लो वर्गलाई न्याय दिन्न भन्ने कुराको यी ज्वलन्त नमुना हुन् ।
पुँजीवादी आर्थिक तथा सामाजिक बन्दोबस्त तत्कालै फाल्न सकिन्न । यसको निम्ति तल्लो वर्गीय जनताको आन्दोलन तथा सङ्घर्षको आवश्यकता हुन्छ । व्यवस्था नै पल्टाउने आन्दोलन सफलताको निम्ति एक ऐतिहासिक युग लाग्छ ।
तर, महिला शारीरिक तथा मानसिकरूपमा बलियो हुनु जरुरी छ । शिक्षा र अधिकारले महिलालाई सशक्त बनाउँछ । आजकल महिलाको निम्ति आत्मरक्षाको तालिम पनि सञ्चालन हुन थालेको छ । खेलकुद गतिविधिमा बालिकाहरूलाई सहभागी गराउनु जरुरी छ । खेलकुदले महिलाको आत्मबल बढाउँछ । आफ्नो अधिकारप्रति सचेत नागरिकमा आत्मविश्वास पनि बढ्छ । पुँजीवादी संस्कृतिका भ्रम नचिरिएसम्म महिलामाथिको हिंसा रोकिने छैन । तर, त्यस्तो वातावरण र स्रोत पुँजीवादी प्रणालीमा सम्भव छैन । समाजवादी व्यवस्थामा मात्र जनताको अभिभावकत्व राज्यले ग्रहण गर्छ, त्यहाँमात्र पूर्ण नारी स्वतन्त्रता सम्भव छ । सरकार, राजनैतिक दलहरू, सामाजिक अभियन्ताहरूले आजसम्म गरेका गतिविधिहरूलाई यही विचारको आधारमा हेर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *