भर्खरै :

नेकाको कुन नेताको भनाइ आधिकारिक ?

नेपाली काङ्ग्रेसको वैचारिक र राजनीतिक अस्पष्टता कुनै नयाँ प्रसङ्ग होइन । शनिबार नेकाले विभिन्न जिल्लामा आयोजना गरेका सभाहरूमा नेताहरूले बोलेका कुरा एकापसमा बाझिनु त्यसकारण कुनै आश्चर्यको कुरा होइन । एकातिर नेका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगलाई चुनावी कार्यतालिका घोषणा गर्न माग गरिरहेका थिए भने अर्कोतिर अन्य केही केन्द्रीय नेताहरू ‘प्रतिनिधिसभा पुनःस्थापना भएपछि प्रधानमन्त्रीलाई झापा पठाउने’ हुँकार गरिरहेका थिए ।
प्रधानमन्त्रीले संसद् विघटन गरेर चुनाव घोषणा गरेपछि देशको राजनीति यतिबेला विभाजित बनेको छ । सरकारले घोषणा गरेको चुनाव अथवा विघटित प्रतिनिधिसभा पुनःस्थापनामध्ये कुन बाटो लिने ? प्रधानमन्त्रीले चालेको कदम संविधानअनुरूप हो वा होइन ? यावत् प्रश्नमाथि चर्को बहस चलिरहेको बेला देशकै जेठो पार्टीमध्येको नेका भने दुवै धार भएको तरबार बोकेर हिँडिरहेको देखिन्छ । काङ्ग्रेसले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै विज्ञप्ति पनि जारी गरेको छ । तर, विशेषतः नेका सभापति देउवालगायत केही नेताहरू भने प्रतिनिधिसभा पुनःस्थापनामा भन्दा चुनावको तयारीमा बढी जोड दिइरहेका छन् । रामचन्द्र पौडेल र गगन थापाजस्ता नेताहरू भने प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा उभिएका छन् । जनता अन्योलमा परेका छन् – नेकाको खास नीति के हो ?
२०४७ सालको राजनीतिक परिवर्तनयता नेका लामो समय देशको सत्तारुढ दल रह्यो । लामो समय सत्ताको संसर्गको कारण सत्ताबिनाको राजनीति काङ्ग्रेसका नेता र कार्यकर्ताको लागि कल्पना बाहिरको कुरा बन्यो । अनि कुनै दिन जनताले आफूलाई सत्ता बाहिर बस्ने जिम्मेवारीमा पु¥याउन सक्ने कुरामा कल्पनामा पनि सोचेनन् उनीहरूले । परिवर्तनशीलता राजनीतिको पनि आधारभूत चरित्र हो । नेकालाई अघिल्लो चुनावमा जनताले प्रतिपक्ष बेन्चमा बस्ने आदेश दियो । सधैँ सत्तापक्षमा बस्ने बानी लागेका नेका नेताहरूलाई प्रतिपक्ष बेन्च असजिलो लाग्नु स्वाभाविक थियो । खासमा प्रतिपक्षको भूमिकामा काङ्ग्रेस अपरिपक्व र कच्चा देखियो । तल कार्यकर्तादेखि माथि नेतासम्म सबै काङ्ग्रेसलाई कसरी सत्तारुढ बनाउने भन्ने ध्याउन्ना व्याप्त भएको उनीहरूका हतास अभिव्यक्तिबाट प्रस्ट सङ्केत गर्छ ।
सत्ताकै रापले चलेको पार्टी भएकोले नेका अझै लामो समय सत्ता बाहिर बस्नुपर्दा सङ्गठन अझ ख्याउटे बन्ने पीर नेताहरूलाई लागिसकेको छ । नेका जतिसक्दो चाँडो चुनावबाट सत्तारुढ बन्न खोजिरहेको छ । ओलीले पाँच वर्षको अवधि पुरा नगर्दै चुनाव घोषणा गर्नुलाई नेकाले आफू सत्तामा उक्लिने मौकाको रूपमा लिएको छ । त्यसकारण, नेका नेताहरू चुनावको पक्षमा पनि बोल्दैछन् । तर, अर्कोतिर सर्वोच्च अदालतले कदाचित प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे फेरि पनि नेकपाभित्रको विभाजनको फाइदा उठाएर आफ्नो सरकार बनाउने ताकमा नेकाकै नेताहरू लागिरहेका छन् ।
राजनीतिलाई लाभकै खेलको रूपमा मात्र लिने हो भने नेका यतिबेला लाभको स्थानमा छ । तर, राजनीतिमा लाभभन्दा माथि हुन्छ – राजनीतिक विचारधारा । राजनीतिक विचारधारामा प्रष्टता नभएपछि राजनीतिक दल पतनको बाटोमा अघि बढ्छ । नेका यतिबेला लाभको राजनीतितिर लागिरहेको छ । यसले उसलाई क्षणिक लाभ हुन सक्ला । तर, दीर्घकालीन हिसाबमा नेकाको राजनीतिक स्वास्थ्यमा यो अन्योलले खराब असर पार्नेछ । २००७ सालयता नेका नेताहरूलाई राजाले कतिबेला बोलाउलान् र प्रधानमन्त्री बनाउलान् भनी स्वार्थको राजनीति गर्दा प्रजातन्त्र मास्ने राजाको लक्ष्यलाई टेवा पुगेको थियो । आज नेका फेरि पनि राजनीतिक अन्योललाई टेवा पु¥याउने विचारहीनताको स्थानमा उभिँदा देश अर्को लामोको लागि दुर्घटनाग्रस्त हुने होइन ? सजग हुने विषय हो ।
नेकाले आफ्नो राजनीतिक मत के हो, स्पष्ट पार्न ढिला नगरोस् । माछा आए भित्र हात, भ्यागुता आए बाहिर हातको दोहोरो नीति राजनीतिक नैतिकता कदापि होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *