भर्खरै :

विद्यालयमा ‘जङ्क फुड’ निषेध

भक्तपुर, ४ फागुन । सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फूड’ खुवाउन निषेध गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले सोमबार सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको छ । केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो ।
सरकारले विद्यार्थीलाई दिवाखाजाका लागि रूपैयाँ सात अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयहरूमा पठाइसकेको कार्यक्रममा जानकारी दिइएको छ । सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइनेछ । सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु. २० र अन्य क्षेत्रका विद्यार्थीलाई रु. १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *