भर्खरै :

उहान गएको टोली स्वतन्त्र टोली हो – विश्व स्वास्थ्य सङ्गठन

विश्व स्वास्थ्य सङ्गठनले कोभिड–१९ को उत्पत्ति पत्ता लगाउन चीनको उहानमा पठाइएको अन्तर्राष्ट्रिय विज्ञ टोली स्वतन्त्र समूह भएको र त्यसको कहीँ पनि आबद्धता नभएको बताएको छ ।
“धेरै पटक मैले विश्व स्वास्थ्य सङ्गठनको अध्ययन वा अनुसन्धानबारे कुरा सुनेँ । मैले जे कुरा सुनेँ, खास कुरा त्यसो होइन”, जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. टेड्रोस अधानम घेब्रिसिएसले भने । उनले सो अध्ययन दस वटा विभिन्न सङ्गठनबाट आएका स्वतन्त्र व्यक्तिहरूको स्वतन्त्र समूह भएको पनि बताए ।
पत्रकार भेटघाटमा उहानमा परिचालित अन्तर्राष्ट्रिय विज्ञ टोलीका प्रमुख डा. पिटर बेन इम्बारेकले टोलीको प्रतिवेदन ‘सहमतिको दस्तावेज’ हुने बताए ।
“अन्तर्राष्ट्रिय टोली र चिनियाँ समकक्षीहरूबीच प्रतिवेदनको सार संक्षेपमा सहमति भइसकेको छ”, उनले भने ।
अन्तर्राष्ट्रिय समुदायबाट १७ र चीनको तर्फबाट १७ जना गरी बनेको विज्ञ टोलीले अन्तरिम संयुक्त प्रतिवेदन प्रकाशनको तयारी गरिरहेको छ । त्यसमा उनीहरूले भविष्यको लागि अध्ययनको निम्ति सिफारिस गर्नेछन्”, टोली नेताले भने ।
उनले केही पूर्वानुमानबारे अध्ययन गर्न र भाइरसको उत्पत्तिबारे समझदारी अझ परिपक्व बनाउन लामो अध्ययनको खाँचो रहेको बताए ।
विश्व स्वास्थ्य सङ्गठन आपतकालीन कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले पूर्णतः सहमतिमा प्रतिवेदन सार्वजनिक गर्न गाह«ो हुने बताएका छन् ।
“सबै बुँदामा पूर्ण सहमति हासिल गर्न विज्ञानमा सम्भव छ । हाम्रोअघि भएका प्रमाणका आधारमा निष्कर्षमा पुग्ने हो”, उनले भने ।
अघिल्लो साता अन्तर्राष्ट्रिय टोलीले उहानमा आफ्नो महिना दिन लामो अध्ययन टुङ्ग्याएको थियो । उनीहरूले आफ्नो प्रारम्भिक निष्कर्ष चीनमा आयोजित पत्रकार भेटघाटमा सार्वजनिक गरिसकेका छन् । उनीहरूले कोभिड–१९ भाइरस कुनै प्रयोगशालाबाट आएको हुन सक्ने सम्भावनालाई नकारेका छन् । विश्व स्वास्थ्य सङ्गठनको स्रोतले यसै साता प्रकाशन गर्ने गरी प्रतिवेदनको सार खिच्ने काम भइरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *