भर्खरै :

माफियाहरूको गिद्धेदृष्टिमा फर्पिङ् स्कुल

फर्पिङ्स्थित त्रिभुवन आदर्श आवासीय माध्यमिक विद्यालयको भौतिक पूर्वाधारमा यतिबेला माफियाहरूको गिद्धे दृष्टि परेको छ । यस्तै अवस्था रहेमा छिटै यो विद्यालयमा विशाल भवन बन्नेछन्, जग्गा टुक्राटुक्रा पारेर कतिले पचाउने छन् र विद्यालयको अस्तित्व सकिनेछ ।
विद्यालयको जग्गामा आँखा लगाउने को–को हुन् ?
क) पहिला नेपाल ट्रष्टका कर्मचारीहरूको कुरा गरौँ ¤ ट्रष्टका कर्मचारीदेखि पदाधिकारीले कहिले एक हप्ताभित्र कहिले एक महिनाभित्र सो स्थान खाली गरिदिन विद्यालयका पदाधिकारीलाई धम्की दिने गरेका छन् । नेपाल ट्रष्टको ऐनमा नै ट्रष्टको आम्दानी शिक्षा र स्वास्थ्य क्षेत्रमा खर्च गरिने उल्लेख छ । ट्रष्टको आजको करोडौँ रकमको आम्दानी शिक्षा वा स्वास्थ्य क्षेत्रमा खर्च गरिएकै छैन । उल्टै शैक्षिक संस्था नै विस्थापित गर्न उनीहरू घुँडा धसेर लागेका छन् । तत्कालीन राजा त्रिभुवनले आफ्नो ‘समर प्यालेस’ विद्यालय सञ्चालनको निम्ति दिनुभएको थियो । राजपरिवारले विद्यालयबाट कहिल्यै पनि आम्दानी लिएन न त माग्यो । ट्रष्टले सो जग्गा भाडामा लगाउन चाहेको बुझिएको छ । त्रिभुवन आमावि निजी विद्यालय होइन, यो सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित विद्यालय हो । त्यसको आम्दानी कुनै एक व्यक्तिले एकलौटी खल्तीमा राख्न सक्दैन ।
ख) दक्षिणकाली नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको गिद्धेदृष्टि पनि विद्यालयमै परहेको छ । नपाका दुईवटा निकाय यहीँ ल्याइसकेका छन् । विद्यालयका चार वटा भवनमा नगरपालिकाका शाखाहरू सञ्चालन भइरहेका छन् भने नपाले थप भवन मागिरहेको छ । विद्यालयलाई केही आर्थिक स्रोत उपलब्ध गराएर अगाडिको जग्गामा भवन बनाउने योजना बनाइएको छ । विद्यालयको जग्गामा एस्काभेटर, बस लगायत थन्काउने ठाउँसमेत बनाइएको छ ।
ग) गुम्बा र जग्गा कारोबारीहरूले बाटो निर्माण गर्न सोही विद्यालयको दक्षिणतर्फको जग्गा प्राप्त गर्न अनेक दाउपेच गरिरहेका छन् । जबकी सो जग्गाको एक कित्ता दक्षिणतर्फ पक्की सडक कायम नै छ । तर उनीहरूलाई त्यो सडक होइन विद्यालयको जग्गा नै चाहिएको छ ।
घ) सेन्ट जेभियर्स कलेजले डिम्ड विश्वविद्यालय निर्माण गर्न पनि यही विद्यालयमा आँखा गाडेको छ । सो जग्गा प्राप्तिका लागि कलेजले विद्यालय परिवारलाई दबाब दिन लगाउने काम गर्दै आएको छ ।
ङ) कुष्ठरोगीका लागि जग्गा माग्दै अर्काे एक संस्थाले पनि नियमितरूपमा पत्राचार गरिरहेको छ ।
त्रिभुवन आमावि सत्यनारायणबहादुर श्रेष्ठले स्थापना गर्नुभएको हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभएका उहाँले चाहेको भए उतिबेला मन्त्री लगायतका प्रमुख पदमा पुग्न सक्नुहुन्थ्यो तर ती सबै छाडेर विद्यालय स्थापना गर्नुभयो । नेपालको पहिलो आवासीय विद्यालय मानिने सो विद्यालय कुनै व्यक्तिको होइन, समुदायको हो । कुनै बेला धेरै विद्यार्थीको आकर्षणको केन्द्र रहेको सो विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन दक्षिणकाली नगरपालिका र नेपाल ट्रष्टका कर्मचारी तथा पदाधिकारी लाग्नुपर्नेमा कमाउधन्धामा लाग्नु दुःखद् पक्ष हो । यसको निन्दा गरिनुपर्दछ र सबैले विद्यालय बचाउन सहयोग गर्नुपर्दछ ।
बहादुर शाह नजरबन्दमा परी निधन भएको बोखा दरबार रहेको सो स्थान ‘स्वर्गको बगैँचा’ नामले पनि चिनिन्छ । पछि तत्कालीन राजपरिवार गर्मी मौसममा विश्रामका लागि जाने दरबारका रूपमा परिणत भएको थियो । २००८ सालमा राजा त्रिभुवनले सो दरबार विद्यालयलाई दिनुभएको थियो । विद्यालयका अधिकांश भवन पुराना र ऐतिहासिक बनेका छन् । तिनको मर्मत सम्भार वा जिर्णाेद्धार हुनसकेको छैन । बहादुर शाहलाई बन्द गरिएको सो कोठा अझै पनि छ । त्यसको संरक्षण गर्न सकिए मात्र आगामी पुस्तालाई हस्तान्तरण गर्न सकिन्छ ।
– प्रकृति अधिकारीको फेसबुकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *