भर्खरै :

सद्भावविनाको राजनीति डकैती हो

मानव समाज र सभ्यताको विकासको क्रममा एकातिर भौतिक एवम् विज्ञान र प्रविधिको विकास भयो भने अर्कोतिर झूट, जालसाजी, कुटिलता, पशुबल, अपराध, हिंसा र हत्यालाई पनि मानिसले व्यहोरे । विवेक र बुद्धिले मानिसलाई शान्ति, प्रेम, मित्रता, सांस्कृतिक जीवन, सद्भावना र सहिष्णुतालाई पनि आत्मसात् गर्न सिकायो ।
सरल मानिसले भौतिक एवम् प्राविधिक विकास गरेजस्तै समाजमा कटुता, द्वेष, इष्र्या, धोका, छलछाम र स्वार्थको भावनाको सट्टा प्रज्ञा, सहिष्णुता, शिष्टता र नम्रताको विकास भइदिएको भए मानिसले मानिसलाई सिध्याउने, एक समुदायले अर्को समुदायलाई घात गर्ने तथा एक देशले अर्को देशमाथि विजय गर्न रगतको खोलो बगाउने सोच सायद आउने थिएन होला ¤ तर, मानव समाजको विकासको क्रममै सम्पत्ति, वर्ग एवम् राज्यको उत्पत्ति भयोे । सम्पत्ति, वर्ग एवम् राज्य आ–आफ्नै ढङ्गले विकास भए । सम्पत्तिले नै बढी सम्पत्ति जम्मा गरायो, त्यही लोभले लुट्ने, शोषण गर्ने र आक्रमण गर्ने काम भए ।
वर्गविहीन आदिम साम्यवादी समाज सम्पत्तिकै कारण वर्गीय समाज बन्यो, विजयी र पराजित वर्ग सँगसँगै सामन्त र जोताहा किसान, मध्यम किसान र धनी किसानका वर्गहरू देखिए । विविध उत्पादनको वृद्धि एवम् सोअनुसार व्यापार, लेनदेन, कला–कौशलको विकासले समाजमा साहु–महाजन तथा पुँजीपति वर्गको विकास भयो । स–साना व्यापारी, कालीगढ, मजदुर र अनेक पेशाकर्मीहरू बने । भौतिक निर्माण र उत्पादनले वर्ग, पेशा र सोअनुसारको कला–कौशल, कडाइ–बुनाइ सँगसँगै साहित्य, कला एवम् बौद्धिक कर्म पनि मानव समाजको रङ्गमञ्चमा देखापरे ।
साम्राज्यहरूको विकासको निम्ति अत्याधुनिक हात–हतियार बनाइए । राज्यसत्ता झन्–झन् व्यवस्थित र अमानवीय हुँदै गयो । व्यापारकै निम्ति परदेशमाथि आक्रमण गरी राज्य विस्तार गरियो । यसैलाई राजनैतिक पराक्रम र पुरुषत्व ठानियो । नाफाकै निम्ति साम्राज्य विस्तार एक अनिवार्य उपाय मानियो । राज्य विस्तारको महत्वाकाङ्क्षा बढ्दै गयो र त्यसैको निम्ति नागासाकी एवम् हिरोसिमामा अणुबम खसालेर संरा अमेरिकाले आफूलाई सर्वश्रेष्ठ र सबभन्दा बलवान शक्ति ठान्यो । त्यसको कारण विवेक, सहिष्णुता, सहयोग, परोपकार र मित्रताको ठाउँमा विश्वासघात, थप प्रतिघृणा, पक्षपात, आत्म–वञ्चना, र आत्म–श्लाघाले ठूलो राष्ट्र अहङ्कारवादको भावना बढ्दै गयो । संरा अमेरिकाले ट्रम्पलाई अगाडि सारेर आफ्नो राम्रो परिचय दियो, ‘अमेरिका पहिलो’, ‘हामी नै ठूलो’ ‘अरू सबै हाम्रो’…भन्दै !
आफ्नै हितको निम्ति पूर्वी एसियादेखि अफगानिस्तान र अरब देशहरूसम्म भएका युद्ध विदेशीकै हितको निम्ति गरिएको ‘प्रोक्सी वार’ भनेमा फरक नपर्ला ¤ यसै कारण भारतको मोदी सरकारसमेत ट्रम्पको अँगालोमा बेरियो ! कसले भन्न सक्छ त्यो अँगालो ‘धृतराष्ट्रको भीमप्रतिको प्रेम’ नहोला भनी !
भारतीय चर्चित प्रगतिशील लेखिका अरून्धती रोयको ‘घृणाविरुद्ध प्रेमको लडाइँ’ को शीर्षकको ३० जनवरी २०२१ को दिन पुणेको स्वरगातीमा सम्पन्न एलगार परिषद्मा व्यक्त मन्तव्यले झन्डै संरा अमेरिका र साम्राज्यवादी देशहरूमा जस्तै भारत राज्यसत्ता आज कति अन्य धर्म, जात, भाषा–भाषी र संस्कृतिप्रति द्वेषी छ र अरू प्रतिको घृणा एवम् पक्षपात अवर्णनीय छ भन्ने देखाउँछ । यसको अर्थ नेपालको शासकवर्ग र शासनमा त्यो चरित्र छैन भन्ने होइन । सरुवा रोगले अमेरिका, भारत र नेपालको सीमा भन्दैन । शासक दलका बुद्धिजीवी र नेताहरूमा समेत सिद्धान्त, तर्क र हृदय परिवर्तन राजनीतिको सबभन्दा विनम्र गुण हो भन्नेबारे जानकारी हुँदो हो त हाम्रो नयाँ पुस्ताले त्याज्य गाली र दुर्वचनको पाठ सिक्ने छैन । समय अनन्त भएपनि राम्रो काम स्वयम् एक औषधी बन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *