भर्खरै :

धर्मपुत्रसम्बन्धी सामान्य जानकारी

आफ्नो छोराछोरी नभएका व्यक्तिले अरू कसैको छोरा वा छोरीलाई कानुनले निर्धारण गरेबमोजिम आफ्नो छोरा वा छोरीको रूपमा स्वीकार गरेको छोरोलाई धर्मपुत्र र छोरीलाई धर्मपुत्री भनिन्छ । धर्मपुत्रको कर्तव्य र कानुनी स्थिति प्राकृतिक पुत्र सरह हुन्छ ।
हिन्दु धर्ममा पुत्रलाई ज्यादै महत्वपूर्ण स्थान दिइएको पाइन्छ । ‘पु’ नाम गरेको नरकबाट पितालाई रक्षा गर्ने भएकोले स्वयम् ब्रम्हाले पुत्र भनेका हुन् भन्ने कुरा मनुस्मृतिको ९÷१३९ मा उल्लेख गरेको पाइन्छ ।
धर्मशास्त्रमा विभिन्न लोकको व्याख्या गरे तापनि नेपालको प्रचलित कानुनबमोजिम धर्मपुत्रले धर्मपिता र धर्ममाताको आफ्नै छोरा सरह अपुताली तथा सम्पूर्ण अधिकार प्राप्त गर्ने भएकोले धर्मपिता तथा धर्ममाताको स्याहारसुसार तथा रेखदेख गर्न धर्मपुत्र राख्ने प्रचलन रहेको पाइन्छ ।
नेपालमा सर्वप्रथम १९१० सालमा जारी भएको मुलुकी ऐनमा पनि धर्मपुत्र सम्बन्धमा कानुनी व्यवस्था भएको र सो ऐनमा धर्मपुत्र राख्दा रगतको सम्बन्धमा राख्न निर्देश गरेको पाइन्छ । विभिन्न समयमा उक्त ऐन संशोधन हुँदै आए तापनि १९१० सालको धर्मपुत्रको १ मा २०५८ सालमा भएको संशोधनबाट नजिकको नाताका मानिसलाई धर्मपुत्र राख्नुपर्ने प्रावधानमा लचकता ल्याएको देखिन्छ ।
“छोरा नभएको व्यक्तिले छोरास्वरूप अरू कसैको छोरा स्वीकार गरेको व्यक्ति धर्मपुत्र हो ।” त्यस्तै “छोरी नभएको व्यक्तिले छोरी स्वरूप अरू कसैको छोरी स्वीकार गरेको व्यक्ति धर्मपुत्री हो ।”
साविकमा मुलुकी ऐन २०२० को धर्मपुत्रसम्बन्धी महल तथा मुलुकी देवानी संहिता २०७४ को धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी व्यवस्थाअन्तर्गत धर्मपुत्र राख्ने कार्यविधि, धर्मपुत्र वा धर्मपुत्री राख्ने र बस्नेले पालना गर्नुपर्ने दायित्व, हकअधिकार तथा कर्तव्यका साथै धर्मपुत्र वा धर्मपुत्री बदर गराउन पाउने एवम् अन्त्य हुने कानुनी व्यवस्था गरेको पाइन्छ ।
मुलुकी देवानी संहिता २०७४ को दफा १७० बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्दा बालबालिकाको सर्वोत्तम हक र हित हुने गरी राख्नुपर्ने व्यवस्था गरेको पाइन्छ ।
आफ्नो छोरा हुनेले धर्मपुत्र र छोरी हुनेले धर्मपुत्री राख्न पाउँदैन । तर, भिन्न बसेको महिला वा पुरुषसँग आफ्नो छोराछोरीसँगै नबसेमा धर्मपुत्र वा धर्मपुत्री राख्न पाउने कानुनी व्यवस्था छ ।
धर्मपुत्र वा धर्मपुत्री राख्न साविकको मुलुकी ऐनबमोजिम रजिस्ट्रेसन पारित गर्ने अड्डा अर्थात् मालपोत कार्यालयबाट धर्मपुत्र वा धर्मपुत्रीसम्बन्धी लिखत पारित गर्नुपर्ने कानुनी व्यवस्था थियो भने हाल प्रचलित मुलुकी देवानी संहिता २०७४ बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्न चाहने व्यक्तिले बालबालिकाको पालनपोषण, स्वास्थ्य, शिक्षा तथा हेरचाहको व्यवस्था गर्नसक्ने आर्थिक हैसियत खुलाई निवेदन दिएमा र त्यस्तो निवेदन जाँचबुझ गर्दा निवेदकमा त्यस्तो हैसियत रहेको देखिएमा अदालतले निवेदकलाई धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति दिने व्यवस्था रहेको पाइन्छ ।
धर्मपुत्रको लिखत पारित नभएसम्म अर्थात् धर्मपुत्रको अनुमति प्राप्त गरी नलिएसम्म धर्मपुत्रको हैसियत ग्रहण गर्न मिल्दैन भन्ने सर्वोच्च अदालतको नजिर प्रकाशित छ ।
देहायका अवस्थाहरूमा कुनै व्यक्तिले बालबालिकालाई धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने व्यवस्था रहेको पाइन्छ :–
(क) विवाह भएको दश वर्षसम्म पनि छोरा वा छोरी नहुने दम्पती,
(ख) पैँतालीस वर्ष उमेर पूरा भएकी अविवाहिता, विधवा, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेकी छोरा वा छोरी नहुने महिला,
(ग) पैँतालीस वर्ष उमेर पूरा भएको अविवाहित, विधुर, सम्बन्ध विच्छेद वा न्यायिक पृथकीकरण गरी बसेको छोरा वा छोरी नहुने पुरुष ।
माथि जुनसुकै कुरा लेखिएको भए तापनि देहायका कुनै व्यक्तिले धर्मपुत्र वा धर्मपुत्री राख्न सक्ने छैन ः–
(क) होस ठेगानमा नभएको,
(ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएकोे,
(ग) नाबालकलाई पालनपोषण, स्वास्थ्य, शिक्षा, खेलकुद, मनोरञ्जन तथा हेरचाहको व्यवस्था गर्न सक्ने आर्थिक हैसियत नभएको ।
धर्मपुत्र बस्ने व्यक्ति सामान्यतया नाबालक हुनुपर्ने विद्यायिकाको मनसाय रहेको देखिन्छ । धर्मपुत्र वा धर्मपुत्री लिँदा वा दिँदा देहायका व्यक्ति अयोग्य हुने व्यवस्था रहेको पाइन्छ –
क) १४ वर्ष उमेर पूरा गरेको,
(ख) एउटामात्र छोरा वा छोरीको रूपमा रहेको,
(ग) एकपटक धर्मपुत्र वा धर्मपुत्रीको रूपमा लिइएको,
(घ) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिभन्दा माथिल्लो नाताको,
(ङ) गैरनेपाली नागरिक ।
तर, तीन पुस्ताभित्रको नाताको व्यक्ति वा पत्नीको पूर्वपतितर्फको छोरा वा छोरी भएमा चौध वर्ष नाघेको व्यक्तिलाई पनि धर्मपुत्र वा धर्मपुत्री राख्न सकिनेछ ।
त्यस्तै धर्मपुत्र वा धर्मपुत्री हुने र धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको उमेर कम्तीमा पच्चीस वर्ष फरक हुनुपर्ने व्यवस्था छ तापनि तीन पुस्ताभित्रको नाताको व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राख्दा उमेरको बन्देज लाग्ने छैन ।
हक र अधिकार
धर्मपुत्र वा धर्मपुत्रीको हक, अधिकार, दायित्व र जिम्मेवारी धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको छोरा वा छोरी सरह हुनेछ । कसैले कुनै व्यक्तिलाई धर्मपुत्र वा धर्मपुत्री राखिसकेपछि निजको छोरा वा छोरी जन्मिए पनि त्यस्ता धर्मपुत्र वा धर्मपुत्रीको छोरा वा छोरी सरहको हैसियतमा कुनै असर पर्ने छैन ।
धर्मपुत्र वा धर्मपुत्री भएको व्यक्तिले आफूलाई जन्माउने बाबु आमाको अंशमा दाबी गर्न पाउने छैन । तर, धर्मपुत्र वा धर्मपुत्री बदर भएकोमा निजले आफ्नो जैविक बाबु आमाको अंशमा दाबी गर्न पाउने अर्थात् जैविक बाबु आमाबाट अंश पाउने कानुनी व्यवस्था रहेको छ । धर्मपुत्र वा धर्मपुत्री हुँदाका बखत निजले अंश लिइसकेको भए निजले त्यस्तो सम्पत्ति समेत लिन पाउने व्यवस्था रहेको देखिन्छ ।
दायित्व र कर्तव्य :
धर्मपुत्र वा धर्मपुत्री राख्नेले निम्नबमोजिमको दायित्व बहन गर्नुपर्ने देखिन्छ –
(क) धर्मपुत्र वा धर्मपुत्रीलाई छोरा वा छोरीसरह आफ्नो इज्जत र क्षमताअनुसार पालनपोषण, स्वास्थ्य, खेलकुद, मनोरञ्जन तथा उचित शिक्षाको व्यवस्था गर्ने,
(ख) धर्मपुत्र वा धर्मपुत्रीको हक र हितको संरक्षण गर्ने ।
धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले यी दायित्व पूरा नगरेमा धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो अंश छुट्याई भिन्न हुन सक्नेछन् ।
धर्मपुत्र वा धर्मपुत्रीको दायित्व देहायबमोजिम हुने कानुनी व्यवस्था रहेको छ –
(क) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिलाई आफ्नो बाबुआमा सरह इज्जत तथा क्षमताअनुसार पालनपोषण, स्वास्थ्य तथा हेरचाहको व्यवस्था गर्ने,
(ख) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको सम्पत्तिको संरक्षण, हेरविचार तथा उचित व्यवस्थापन गर्ने,
(ग) धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिको हक र हितको संरक्षण गर्ने ।
धर्मपुत्रपुत्री बदर हुन सक्ने अवस्था :
धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले दफा १८१ बमोजिमको माथि उल्लेखित दायित्व पूरा नगरेमा कुनै धर्मपुत्र वा धर्मपुत्रीले धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछ । तर, त्यस्तो धर्मपुत्र वा धर्मपुत्रीले अंश लिइसकेको भए बदर गराउन सक्ने छैन ।
त्यस्तै धर्मपुत्र वा धर्मपुत्री राख्ने व्यक्तिले देहायका कुनै अवस्थामा धर्मपुत्र वा धर्मपुत्री बदर गराउन सक्नेछ ः–
(क) धर्मपुत्र वा धर्मपुत्रीले दफा १८२ बमोजिमको माथि उल्लेखित दायित्व पूरा नगरेमा,
(ख) धर्मपुत्र वा धर्मपुत्रीले आफूलाई घरबाट निकाला गरेमा वा पटकपटक शारीरिक वा मानसिक यातना दिएमा,
(ग) धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो सम्पत्तिको दुरुपयोग गरेमा,
(घ) आफ्नो मञ्जुरी नलिई तीन वर्ष वा सोभन्दा बढी समयसम्म आफूलाई छाडी धर्मपुत्र वा धर्मपुत्री अलग बसेमा ।
दिने दाताले चित्त नबुझी धर्मपुत्रले सर्त पूरा नगरेमा त्यस्तो धर्मपुत्रलाई बदर गर्न पाउने लिखतको आधारमा धर्मपुत्रलाई छोरा सरहको मानी जग्गाधनीलाई समेत नबुझी कानुनविपरीत जोत नामसारी गर्ने गरेको निर्णय अनाधिकृत हुँदा बदर हुने सर्वोच्च अदालतको नजिर नेकाप २०४३ अङ्क ११ मा प्रकाशित छ ।
यसरी धर्मपुत्रले आफ्नो जैविक आमाबाबुसँग सम्बन्ध त्यागेर धर्मपिता र धर्ममातासँगको नयाँ परिवारमा छोराको हैसियत पाउने सम्पूर्ण हक अधिकार पाउने तथा धर्मपिता र धर्ममाताले पनि धर्मपुत्रको रूपमा छोरा पाउँछन् ।
धर्मपुत्र वा धर्मपुत्रीले आफ्नो जैविक आमाबाबुसँगको सम्बन्ध त्यागेपछि जैविक आमाबाबुसँगको अन्य सम्पूर्ण हक अधिकार पनि समाप्त हुने र धर्मपिता र धर्ममातासँगको सम्बन्ध र हक अधिकार सृजना हुन्छ । कथंकदाचित धर्मपुत्रले धर्मपिताको तर्फबाट अंश तथा हक अधिकार पाएन भने जैविक आमाबाबुबाट पाउने हक सुरक्षित गरिएको पनि पाइन्छ ।

One response to “धर्मपुत्रसम्बन्धी सामान्य जानकारी”

  1. Punya Ram Sukupayo says:

    very informative, thank you Ram Pd sir.

Leave a Reply

Your email address will not be published. Required fields are marked *