भर्खरै :

‘बार्पाक’ को यात्रा

गत माघ महिनाको २० गते तनहुँको आँबुखैरेनीबाट बिहान सबेरै हामी गोरखा जिल्लाको बार्पाक जानको लागि तयार भयौँ । गोरखामा व्यापार गरेर बस्नुभएका जुम्लाका साथीहरूसँग उहाँहरूकै गाडीमार्फत हामी बार्पाकतर्फ लाग्यौँ । आँबुखैरेनी गोर्खा राजमार्ग हुँदै १२ किलोबाट छेपेटार बार्पाक सडक हुँदै दरौँदीको किनारैकिनार अघि बढ्यौँ । छेपेटार, चोरकाटे, भालुस्वाँरा, चनौटे, स्याङ्दीखोला हुँदै करिब ११ बजे अजिरकोट गाउँपालिकाको बालुवामा पुग्यौँ । त्यहाँ गुरुङ लवजमा गुरुङसेनी दिदीबहिनीहरूले हामीलाई न्यानो सत्कारका साथ खाना खुवाउनु भयो । अन्य ठाउँमा भन्दा त्यस ठाउँमा खाना सस्तै रहेछ । बार्पाक जाने मोटरबाटो सञ्चालनमा आएपछि बाटो छेउछाउ रहेका स्थानीयहरूले राम्रो रोजगारी पाएको हामीले महसुस ग¥यौँ । व्यापार–व्यवसायको निम्ति गाउँगाउँबाट सडक छेउमा बस्ती बसाल्नेहरू बढ्दै छन् ।
छेपेटारदेखि अजिरकोटको बालुवासम्म दरौँदीको किनारमा लोभलाग्दा धनहर खेत र सुन्दर फाँटहरू देखिन्छन् । दरौँदी किनारका यी सुन्दर फाँटहरू देखेपछि गोरखा जिल्ला जटिल भूगोल मात्र भएको ठाउँ हो भन्ने कुरा मिथ्या जस्तो लाग्यो । आलु, काउली, सागसब्जी लगायतका तरकारी बाली र धान, गहुँ, मकैजस्ता अन्न पनि मनग्ये फल्ने जमिन गोरखाको विशेषत हो । सरकारले राम्रो ध्यान दिन सके नदी छेउछाउका जमिनमा कृषि उत्पादन वृद्धि गरेर रोजगारी सृजना गर्न सकिन्छ । नेपाली युवाहरूले खाडी मुलुक धाउन बाध्य हुनुपर्दैन । गोरखा जिल्ला पनि अरूको भरमा नपरी आफै आत्मनिर्भर हुनसक्ने भूगोल हो ।
खाना खाइसकेपछि हाम्रो गाडी बालुवाबाट अगाडि बढ्यो । दरौँदी नदी छोडेर बार्पाक सडकतर्फ लाग्न थालेपछि ठूलो पर्वतले हामीलाई स्वागत गरेको महसुस भयो । अजङ्गको पहाडको घुमाउरो बाटो छिचोल्दै अगाडि बढ्दा कहिलेकाहीँ मन सिरिङ्ग हुन्थ्यो । भर्खरै डोजरको काँटछाँटबाट बनेको उकालो बाटो अलि असजिलै थियो । उकालोको अप्ठ्यारो साँघुरो घुम्तीमा मोड नपुगेर रोक्किँदा गाडी त भीरबाट खस्ने पो हो कि भन्ने डर पनि लाग्थ्यो । सधैँ ओहोरदोहोर गर्नेहरूलाई यस्तो बाटो सामान्य नै लाग्ला तर एकपटक जाने यात्रुलाई असजिलो महसुुस हुनु स्वाभाविकै हो । एकजना साथीले उक्त पहाडको एक ठाउँ देखाएर २०७२ सालको भूकम्पमा हिँड्दै गरेका १२ जना यात्रुहरू डाँडै खसेर पुरिएको बताउनुभयो । हामी त्यो विभत्स दृश्यको कल्पना पनि गर्न सक्दैनौँ । पहाडमा डोजर चलाएर, बम विस्फोट गराएर बाटो निर्माण गर्दा माटो कमजोर भई पहिरो जाने र दुर्घटना हुने भएकाले पहाडी भूभागमा रज्जुमार्ग
(रोपवे) सञ्चालन गर्नु उपयुक्त हुने विषय नेपाल मजदुर किसान पार्टीले बरोबर उठाएको सम्झना भयो । रोपवे भएको भए यात्राको समय छोट्टिनुको साथै त्रासरहित पनि हुन्थ्यो ¤
केही क्षणको अप्ठ्यारो यात्रापछि बार्पाकको भिरालो तर अलि सहज बाटोमा पुग्यौँ । गाउँका घरहरू पनि देखिन थाले । वरिपरि अग्लाअग्ला पहाड र हिमालहरू पनि देखिन थाले । प्रकृतिको अनुपम सुन्दरतालाई हामीले नजिकबाट नियाल्न थाल्यौँ । अलि चिसो ठाउँ भएकोले बाक्लाबाक्ला ऊन भएका भेडाहरू पनि देखिन थाले । बार्पाकी जनताले भेडाको ऊनबाट बख्खु बनाउँदा रहेछन् । करिव ३÷४ घण्टाको यात्रापछि हामी बार्पाकको मुख्य गाउँमा पुग्यौँ । पाहुना सत्कारको लागि होटल, रेस्टुरेन्ट, होमस्टे पनि व्यवस्थितरूपले सञ्चालन रहेछन् ।
गण्डकी अञ्चलको गोरखा जिल्लामा पर्ने ‘बार्पाक सुलिकोट’ गाउँपालिका डाँडोको शिरमै पर्दछ । ‘बार्पाक’ सदरमुकामबाट करिब ४७ किमी टाढा र समुद्र सतहदेखि १९५० मीटरको उचाइमा रहेको छ । गुरुङ र घले जातिको बाहुल्यता रहेको प्राचीन घनाबस्ती बार्पाकमा थोरै सङ्ख्यामा विश्वकर्मा, परियार र सुनार जातिको पनि बसोबास रहेको छ । यस गाउँमा घले र गुरूङ समुदायको सांस्कृतिक सम्पदा तथा ऐतिहासिकतालाई जोगाउन अन्य ठाउँका मानिसले जग्गा खरिदबिक्री गर्न नपाउने नियम बसालिएको रहेछ । त्यो सान्दर्भिक र अपरिहार्य पनि रहेको हामीले महसुस ग¥यौँ । सांस्कृतिक सम्पदा र ऐतिहासिकतालाई जोगाउन अन्य महत्वपूर्ण स्थानमा पनि यस्तो नियम आवश्यक छ जस्तो लाग्यो ।
भिरालो परेको जमिन, गुचमुच्च परेको बस्ती पर्यटकीय दृष्टिकोणले पनि प्रख्यात छ । १२÷१३ सय घरधुरी रहेको बार्पाकमा करिब ४५ सय जनसङ्ख्या रहेको जानकारी प्राप्त भयो । भिरालो परेको जमिनको कारण बार्पाकमा अन्न उब्जाउ राम्रो हुन्न । त्यहाँ धान, गहुँ, मकैको खेती राम्रो नहुँदो रहेछ । उवालगायतका केही खाद्य बाली लगाउने गरिएको सुनियो । पशुपालन र पर्यटन नै उक्त ठाउँको मुख्य आयस्रोतको माध्यम रहेछ । पहिलेपहिले तिब्बती जनता र काठमाडौँका नेवार समुदायको बीचमा नुनको व्यापार यही बार्पाकको बाटोबाट हुने गर्दथ्यो भनेर केही स्थानीयले बताए ।
पुरानो किंवदन्तीअनुसार एघारौँ शताब्दीतिर घले राजा चङ्केल सुर्तानले यहाँ राज्य गरेका थिए । द्रव्य शाहले छलकपट गरेर यहाँको राज्य हडपेको जनविश्वास छ । घले राजालाई युद्धबाट पराजित गर्न नसकेपछि द्रव्य शाहले सम्झौता गर्ने प्रस्ताव राखे र मित्रताको नाममा दरौँदी नदीको किनारमा मित्रभोज आयोजना गरे । उक्त भोजमा दुवैतर्फबाट बिनाहतियार सहभागी हुने सर्त थियो । तर, द्रव्य शाहले पहिले नै आफ्नो सेनालाई बालुवामा हतियार लुकाउन लगाए । द्रव्य शाहले घले राजा र उनको सेनालाई रक्सी पिलाएर मस्त बनाइसकेपछि बालुवामा लुकाएर राखेको हतियारले आक्रमण गरी सखाप पारेको भनाइ छ ।
बार्पाक दोस्रो विश्वयुद्धमा अङ्ग्रेजको तर्फबाट बर्मामा लडेर भिक्टोरिया क्रस विजेता गजे घलेको जन्मस्थल हो । बार्पाकका जनता विदेशी सेना र प्रहरीमा आबद्ध हुन रुचाउने रहेछन् । उनीहरूको पहिलो रोजाइमा बेलायती पल्टन पर्दछ भने त्यसपछि सिङ्गापुर सेना र भारतीय सेनामा भर्ती हुनु रहेको छ । बार्पाक बस्तीको सिरानमा सिङ्गापुर लाहुरेहरूको सहयोगमा ताक्ले नान (सिङ्गापुर चौतारा) निर्माण गरिएको रहेछ । त्यससँगै ताक्लेनान बुद्धपार्क पनि बनेको छ । यसबाट पनि बार्पाकी युवाहरू लाहुरेप्रति आकर्षित छन् भन्ने देखिन्छ । विदेशी सेनामा भर्ती भएर लाहुरे भएकाहरूलाई बार्पाकमा सम्मानका साथ हेरिँदो रहेछ । विदेशी सेना तथा प्रहरीमा भर्ती हुन नसकेकाहरू वैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुक पनि पुगेका छन् । बार्पाकलाई लाहुरे संस्कारले छपक्कै गाँजेको हामीले देख्यौँ । तर, विदेशी सेनामा भर्ती हुनुको अर्थ साम्राज्यवादी देशहरूले आफूले अन्याय, अत्याचार गरेका गरिब, स्वतन्त्र एवम् सार्वभौम देशका नागरिकको हत्यामा गोर्खालीलाई प्रयोग गरिँदै छ भन्ने यथार्थबारे पनि छलफल चलाउन ढिलाइ गर्न नहुने महसुस ग¥यौँ । ‘गोर्खा भर्ती केन्द्र’ खारेज गर्नुपर्नेबारे बरोबर छलफल चलिरहेकै छ ।
केही दिनअगाडि पत्रपत्रिकामा नेपालको सेना र प्रहरीबाट नेपाली युवाहरूले राजीनामा दिँदै गरेको समाचार प्रकाशित भयो । नेपाली सेना र प्रहरीमा पदोन्नती नभइ ३० वर्षसम्म एउटै पदमा बस्नुपरेको, सेवा सुविधा कम भएको र उच्च तहमा भ्रष्टाचार वृद्धि भई तल्लो तहकाहरू मारमा परेको समाचारमा उल्लेख थियो । बार्पाक लगायतका नेपाली युवाहरूमा विदेशी लाहुरे हुने मोह जाग्नुमा नेपाल सेना र प्रहरीमा भएको यो असमानता र बढ्दै गएको भ्रष्टाचार पनि एउटा कारण हो भन्ने चर्चा छ । सरकारले समयमै ध्यान नदिने हो भने लाहुरे संस्कार नेपालको लागि एक दिन अभिशाप सिद्ध हुने निश्चित छ ।
स्थानीयका अनुसार बार्पाकमा भूकम्पअघि सबै घर एकैनासका देखिन्थे । घले र गुरूङहरूको मौलिक शैली ढुङ्गा माटोको गारो, ढुङ्गाको छानोे भएको सुन्दर बस्ती थियो बार्पाक । भुकम्पपछि आधुनिक शैलीका घरहरू निर्माण भइरहेका छन् । ठूल–ठूला कङ्क्रिटका महलहरू खडा भएका छन् । आर्थिक अवस्था अलि कमजोर भएका बार्पाकीहरूको घर भने जस्ताको टहरामै सीमित देखिन्छ । हामीले एक स्थानीयसँग बार्पाकमा धनी र गरिबको अवस्था के छ ? भनेर सोध्यौँ । उहाँले “बन्दै गरेको घरहरू हेर्नुस न” भनेर जवाफ दिनुभयो । आर्थिक अवस्था कमजोर रहेका बार्पाकीहरूले ढुङ्गा माटोको गारोमाथि जस्ताको छानो हालेर बसेको प्रस्टै देखिन्छ । तर, अधिकांश बार्पाकीहरूले आधुनिक शैलीकै घर निर्माण गरिरहेका छन् ।
२०७२ साल वैशाख १२ गते गएको ७.६ म्याग्निच्युड्को भूकम्पको केन्द्रविन्दु थियो बार्पाक । त्यतिखेर बार्पाकमा ६८ जनाले जीवन गुमाए भने धेरै बार्पाकी जनता घाइते भए । बार्पाकको करिब १ हजार घर भत्किए भने ६ हजार जनता घरवारविहीन भए । भूकम्पको बेला बार्पाकमा सरकारले भन्दा धेरै गैरसरकारी संस्थाहरूले राहत वितरण गरेको त्यहाँका स्थानीय जनता बताउँछन् । गैरसरकारी संस्थाहरूले बार्पाकी जनतालाई देखाएर धेरै धन कुम्ल्याएको पनि केही स्थानीयले बताए । केहीले आफ्नो निहीत अभिष्ट पूरा गरे । क्रिश्चियन धर्मावलम्बीहरूसँग सम्बन्धित केही गैरसरकारी संस्थाहरूले राहतको नाउँमा चामलको बोराभित्र बाइबल राखेर वितरण गरेको समाचार पनि प्रकाशित भएको थियो । भूकम्पको समयमा पीडितलाई सहयोग गर्ने नाममा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आफ्नो स्वार्थ पूरा गर्ने खेल खेले । जसले नेपाल र नेपालीलाई अहित ग¥यो ।
बार्पाकमा केही घण्टाको बसाइ र केही स्थानीयहरूसँगको छलफलपछि करिब ४ बजे आँबुखैरेनीतर्फ लाग्यौँ र एकदिन बार्पाकको भूमिमा समाजवादी क्रान्तिको विजारोपण गरी छाड्ने कल्पना गर्दै काठमाडौँ फर्कियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *