भर्खरै :

१४ औँ जनसाहित्य सम्मेलन सम्पन्न

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा ‘आदर्श समाज निर्माणका लागि जनसाहित्य’ नाराका साथ १४ औँ जनसाहित्य सम्मेलन–२०७७ शुक्रबार टोखामा सम्पन्न भयो ।
कार्यक्रममा केन्द्रीय सदस्य प्रजापतिले जनताको पक्षमा लेखिने साहित्य जनपक्षीय साहित्य हुने बताउँदै जनताले बुझ्ने सरल भाषामा साहित्य लेख्नु आवश्यक भएको औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “शोषण, अन्याय, अत्याचारको विरोध र स्वाधीनता, सार्वभौमिकताको पक्षमा लेखिएका साहित्यले समाजको निम्ति प्रभावकारी भूमिका खेल्नेगर्छ । जनपक्षीय साहित्यले समाज र जनताको राजनैतिक चेतना उठाउने प्रस्ट छ ।”
चुनावले जनताको राजनैतिक चेतनास्तर उठाउने भएकोले न्यायप्रेमी जनताले निर्वाचनको उपयोग गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशघाती सन्धि–सम्झौता पारित गर्ने नेकपाको विरोध नेमकिपाले निरन्तर गर्दै आएको बताउनुभयो ।
कामदार वर्ग राजनीतिकरूपमा सचेत नभएसम्म पुँजीवादी शासन व्यवस्था परिवर्तन गर्न गा¥हो हुन्छ, त्यसैले व्यापक जनतालाई राजनीतिकरूपमा सचेत बनाउन साहित्य लेखनलाई निरन्तरता दिनुपर्दछ, उहाँले भन्नुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले नेमकिपाले भारतीय जनताको नभई भारतीय विस्तारवादको विरोध गरेको प्रस्ट्याउँदै कृषिमा विदेशी लगानी भित्याउने सरकारको निर्णय जनताको हितमा नभएको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतका साहित्यकारबाट प्रेरणा लिँदै प्रगतिशील साहित्यकारको जन्म गर्ने, कामदार जनताको पक्षमा साहित्य सिर्जना गर्नु जनसाहित्य समाजको उद्देश्य रहेको बताउनुभयो ।
उहाँले नेकपा सरकारले देश र जनताको हितमा काम गर्न नसकेको, व्यक्तिगत र पदको स्वार्थको आडमा राजनीति गरिरहेको बताउँदै संसद् पुनःस्थापनाले देश अस्थिरतातर्फ धकेलिने प्रस्ट छ भन्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेश सदस्य सृजना सैजूले आदर्श समाज निर्माणमा सहयोग गर्ने साहित्यको खाँचो औँल्याउँदै अन्धविश्वासमाथि विज्ञानले जीत निश्चित छ भन्नुभयो ।
उहाँले भीडको राजनीतिले देशलाई अन्यौलमा पु¥याउने बताउँदै विचार र सिद्धान्त विनाको राजनीतिक पार्टीले देशको भलो नगर्ने औँल्याउनुभयो  ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने पार्टीहरूविरूद्ध साहित्य लेख्न जरूरी भएको बताउँदै उहाँले नयाँ पुस्ताका साहित्यकारहरूले प्रगतिशील साहित्य लेखनमा जोड दिनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले पुँजीवादी गणतन्त्रले शोषणको अन्त्य नगर्ने बताउँदै समाजवादी व्यवस्था स्थापनाको निम्ति नेमकिपा प्रयासरत रहेको बताउनुभयो ।
कार्यक्रममा गणेश इङ्गलिश स्कूलका शैलेन्द्र डंगोल, जनसाहित्य समाजका भूतपूर्व अध्यक्ष शैलेन्द्र डंगोल, समाजका प्रभात सापकोटाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
आयोजक समितिका काशिलाल डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रमा समाजका सदस्य रमेश डंगोलले स्वागत गर्नुभएको थियो । कार्यक्रममा आशीष डंगोल, विष्णुमाया डंगोल, पार्वती डंगोल, शंखमाया महर्जन, ध्रव खनाल, समीक्षा डंगोल, रेनिसा नापित, सुरेन्द्र महर्जन, लक्ष्मी श्रेष्ठ, श्रमन डंगोल, न्हुछेमाया डंगोल, विशोक डंगोल, मदन श्रेष्ठ लगायतले पनि बोल्नुभएको थियो । साथै, कार्यक्रममा नेक्रामहिला सङ्घ र टोखा मुध्वाकाको तर्फबाट गीत प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *