भर्खरै :

कर्णालीमा एक वर्षमा ४९४ मानव अधिकार उल्लङ्घनका घटना

सन् २०२० मा कर्णाली प्रदेशमा ४८४ मानव अधिकार हननका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा प्रकाशित मानव अधिकार वर्ष पुस्तक २०२० का अनुसार कर्णालीमा मानव अधिकार संरक्षणको अवस्था चिन्ताजनक रहेको तथ्याङ्क पाइएको हो ।
वर्ष पुस्तकमा राज्य पक्षबाट भएका घटनाबाट ५८ जना र अन्य पक्षबाट ४३६ नागरिक मानव अधिकार हननका घटनाबाट पीडित बनेको उल्लेख छ । सन् २०२० मा कर्णाली प्रदेशमा ३२ को हत्या भएको छ । यसमा राज्य पक्षबाट एक र र अन्य पक्षबाट ३१ जना छन् । सन् २०१९ मा प्रदेशमा ४१३ नागरिक मानव अधिकार हननका घटनाबाट पीडित बनेका थिए । इन्सेक प्रदेश संयोजक नारायण सुवेदीले कर्णालीमा बर्सेनि मानव अधिकार उल्लङ्घनका घटना बढ्दै गएको बताउनुभयो ।
“हत्या, अपरहण, कुटपिटजस्ता गम्भीर घटनादेखि अभिव्यक्ति स्वतन्त्रता, भेला र सङ्गठित हुन पाउने अधिकारबाट वञ्चित भएका घटना वर्ष पुस्तकमा समावेश गरिएको छ,” उहाँले भन्नुभयो ।
इन्सेकले बलात्कार, हत्या, विप्लव समूहका गतिविधि, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, बाल अधिकार, महिला अधिकारका घटनालाई मानव अधिकार हननका प्रमुख घटनाका रूपमा लिने गरेको छ । वर्ष पुस्तकमा सन् २०२० मै रूकुम पश्चिमको सोतीमा भएको घटनालाई ज्यादतीपूर्ण मानव अधिकार हननको घटनाको रूपमा व्याख्या गरिएको छ ।
यसैबीच, मानव अधिकार वर्ष पुस्तक २०२० को विमोचन कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश नहकुल सुवेदीले मानव अधिकार संरक्षणमा न्यायालयको महत्वपूर्ण भूमिका हुने र पीडितलाई छिटोछरितो न्याय प्रदान गर्न प्रदेशमा आफूले नेतृृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य देवी ओली, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्त पन्त, मध्य पश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडिन पीताम्बर ढकाललगायतले कर्णालीको मानव अधिकारको अवस्थाबारे विचार व्यक्त गर्नुभएको थियो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *