सांसद किनबेच हुने सम्भावना
- फाल्गुन १६, २०७७
नेपाल मजदुर किसान पार्टीको ३१ औँ केन्द्रीय परिषद्को बैठक शनिबार भक्तपुरमा सुरु भएको छ ।
नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, पार्टी जिल्ला अध्यक्ष तथा प्रतिनिधिहरू, पार्टी जनवर्गीय तथा पेशागत सङ्गठनका अध्यक्ष तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ ।
शनिबारको बैठकमा नेमकिपाका अध्यक्ष बिजुक्छेँले नेमकिपाले क्रान्तिकारी संसद्वादको सिद्धान्तअनुसार संसद्मा सरकारका जनविरोधी नीति एवं कार्यको विरोध गर्ने काम गरिरहेको बताउँदै संसद्बाट समाजवाद आउँछ भन्नु पुँजीवादी दृष्टिकोण भएको स्पष्ट पार्नुभयो ।
उहाँले ट्रेड युनियनवादी दृष्टिकोणले क्रान्तिको भावना कमजोर बनाउने बताउँदै पार्टीलाई ट्रेड युनियनवादबाट अलग्ग राख्नुपर्ने विचार राख्नुभयो ।
मजदुर आन्दोलनलाई भत्ता तथा सुविधाका विषयमा मात्र केन्द्रित गर्न नहुने बताउँदै उहाँले भन्नुभयो, “ट्रेड युनियनवादीहरू पुँजीपति वर्गसँग मिलेर काम गर्छन् । निर्वाचनलाई आफ्नो फाइदाको निम्ति प्रयोग गर्छन् ।”
उहाँले सहकारी संस्थाहरूले आर्थिक समानताको निम्ति काम गर्नुपर्ने धारणा राख्दै सामन्तहरूसँग भिख मागेजस्तै ऋण लिनुपर्ने बाध्यताबाट किसानलाई मुक्त गर्न सहकारीको बन्दोबस्त विकास गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आजकलका सहकारी बैङ्कजस्ता भएका छन् । यसबाट नयाँ पुँजीपति वर्ग तयार भइरहेको छ ।”
मोबाइल, पम्प, पङ्खा, रेफ्रिजेरटर बिग्रिएको नाममा अर्बौँ रुपियाँ विदेशिएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले सहकारी संस्थाहरूले यस्ता सामानको मर्मत तालिम चलाउनुपर्ने विचार राख्नुभयो । यस्ता तालिमले रोजगारीको पनि सृजना हुने उहाँको धारणा थियो ।
कुनै व्यवसाय वा उद्योग सञ्चालनजस्ता आर्थिक गतिविधि गर्नु वा विवाह गर्नुअगाडि पार्टी कार्यकर्ताले पार्टीसँग छलफल गर्नुपर्ने बताउँदै उहाँले त्यसो गरिए गल्ती कम हुने धारणा राख्नुभयो ।
उहाँले नयाँ पुस्तालाई विभिन्न भाषा शुद्ध बोल्नेबारे तालिम दिनुपर्ने विचार राख्नुभयो । शनिबार बिहानदेखि साँझसम्म बसेको बैठकमा विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधि र जनवर्गीय तथा पेशागत सङ्गठनको प्रतिवेदन प्रस्तुत भयो । बैठक आइतबार पनि जारी रहने पार्टीले जनाएको छ ।
Leave a Reply