भर्खरै :

एतिन्ने गाब्रियल मोरेलीको आदर्श समाज

(मोरेली एक काल्पनिक समाजवादी थिए । उनको पूरा नाम एतिन्ने गाब्रियल मोरेली हो । उनको जन्म समाजवादी अक्टोबर क्रान्तिभन्दा ठीक २ सय वर्षअघि सन् १७१७ मा फ्रान्सको उत्तर–पश्चिम भेगमा पर्ने एउटा सानो गाउँमा भएको थियो । पेशाले उनी शिक्षक थिए । ६१ वर्षको जीवनकालमा उनले केही दार्शनिक कृति र काव्यको रचना गरे । सन् १७५३ मा उनले एक आदर्श समाजको कल्पना गरेर बासिलियाद नाउँको काव्य लेखेका थिए । त्यसको घोर आलोचना भयो । तसर्थ, २ वर्षपछि उनले ‘प्रकृतिको विधान’ ९ऋयमभ या ल्बतगचभ० लेखे र आफ्नो नाम लुकाएर प्रकाशित गरे । यसमा उनले आफ्नो समाजवादी विचारको दार्शनिक जगबारे चर्चा गरे । १८ औँ र १९ औँ शताब्दीका धेरै समाजवादीहरूमा उनको विचारको गहिरो छाप परेको पाइन्छ । मोरेलीलाई कामदार वर्गका शिक्षक एँगेल्सले ‘अठारौँ शताब्दीको फ्रान्सेली बौद्धिक जागरणका महान् दार्शनिक र समाजवादका प्रथम प्रतिनिधिहरू’ मा गन्नुभएको छ । निजी सम्पत्तिको उन्मूलन, हरेकबाट उसको क्षमताअनुसार र हरेकलाई उसको आवश्यकताअनुसार जस्ता कम्युनिस्ट सिद्धान्तहरू मोरेलीकै देन मानिन्छन् ।
औद्योगिक क्रान्तिले जरा गाड्दै गर्दा युरोपका सचेत विचारकहरूले पुँजीवादका नकारात्मक प्रभावबारे चिन्तन–मनन गरे । निजी सम्पत्तिको विरोध र सामूहिकताको पक्षमा लेख्ने यस्ता कवि, लेखक र दार्शनिकहरू तत्कालीन शासकका आँखाका कसिङ्गर बने । त्यसैले ती चिन्तकहरूले छद्म कार्यमार्फत शोषणमा आधारित समाजको विरोध चालु राखे । पुँजीवाद खोटरहित हुन्थ्यो । यसले मानव जीवनका समस्याहरू हल गर्ने लक्षण देखाएको हुन्थ्यो भने यस्तो सङ्घर्ष आवश्यक थिएन । माक्र्सवाद यिनै सङ्घर्षहरूको वैज्ञानिक अनुशीलन थियो ।
नेपाली समाज पुँजीवादी थिचोमिचोले आक्रान्त छ । दलाल पुँजीवाद राजनीतिक स्थिरताको बाधक हो । राजनीतिक अस्थिरताले नेपाली समाजको संवेदनशील समुदाय निराश हुनु स्वाभाविक छ । रूपैयाँ पैसाको पूजा हुने पुँजीवादी समाजमा मानवीय मूल्य–मान्यताको कदर हुँदैन । यसकारण, नेपाली समाज पैसामुखी र उपभोक्तावादी बन्दै छ । समाजमा तीव्र नैतिक स्खलन देखापर्दै छ । यसले समाजमा थप निराशा फिजाइरहेको छ । यो सङ्कटलाई चिर्न हामी वर्तमान व्यवस्थाप्रति आलोचनात्मक बन्नैपर्छ । यसै परम्परामा लेखक मोरेली आशाको किरणका रूपमा देखापर्छन् । फ्रान्सेली भाषामा झन्डै १५० पृष्ठ लामो मोरेलीको पुस्तक ‘प्रकृतिको विधान’ का घतलाग्दा अंशको उल्था यहाँ प्रस्तुत गरिएको छ । – सम्पादक)
ब्रह्माण्डमा मैले देखेको एउटै खोट भनेको लोभ हो । अरू सबै दुर्गुणहरू धेरथोर मात्रामा यसकै फरक रूप हुन् । लालच नै सम्पूर्ण (मानवीय) दुर्गुणहरूको उत्प्रेरक, अग्रदूत, आधार र वाहन हो । अहङ्कार, मूर्खता, घमण्ड, महत्वाकाङ्क्षा, दोहोरो चरित्र, पाखण्ड, बेइमानी आदिलाई केलाउनुस् । हाम्रा सारा मिथ्या आचरणहरूलाई ससाना टुक्रामा टुक्र्याउनुस् । ती सबै दोष एउटै मसिनो र घातक तत्वमा गएर टुक्रिन्छ । त्यो दोष हो – आफ्नो बनाउने भोक । रूचिहीनता वा उदासिनताको जरामा समेत तपाईँले यही दोष भेट्नुहुनेछ ।
के कुनै आहार अथवा थोरै भए पनि खतरनाक गन्ध (वा आड) नपाएको भए यो विश्वव्यापी महामारी, मन्द ज्वरो वा निजी स्वार्थ अस्तित्वमा रहने थियो ?
मलाई विश्वास छ, यस विचारमा कसैको दुईमत नहोला – सम्पत्ति नै नरहने हो भने यसका कुनै पनि घातक असरहरू बाँच्न सक्नेछैनन् ।
सम्पूर्ण राजनीतिक र नैतिक कार्यको वास्तविक माध्यम र सबै भाँडभैलोको प्राथमिक कारक
म ठोकेर भन्छु, मालसामानको समान वा असमान वितरण र समाजका सम्पूर्ण निजी सम्पत्ति (रोमन कवि) होरेसको भाषामा ‘उच्चतम दुष्टताका सामल’ हुन् । यस तथ्यलाई झन्डै गणितीय तवरले समेत पुष्टि गर्न सकिन्छ । सबै नैतिक र राजनीतिक घटनाहरू यही घातक कारकका परिणाम हुन् । यसबाट धेरै नियम र समस्याहरू व्याख्या गर्न सकिन्छ । विभिन्न आचार र अनाचार, अव्यवस्था र अपराधका उद्गम वा विकास, सम्बन्ध र समानताहरूलाई केलाउन सकिन्छ । असल र खराब कार्यका सक्कली उद्देश्य, मानव आकाङ्क्षाका सबै जटिलता वा सूक्ष्मता अथ्र्याउन सकिन्छ । जोसजाँगरको अभाव, आदेशको प्रभावहीनता र तिनलाई बाधा दिन बनाइने कानुनहरू एवम् ऐन–कानुनका प्राविधिक गल्तीको व्याख्या गर्न सकिन्छ । साथै, मन र बुद्धिको चञ्चलताबाट उत्पन्न हुने सम्पूर्ण राक्षसी (प्रवृत्ति वा) उपजहरूलाई माथिकै घातक कारकले व्याख्या गर्न सकिन्छ । म भन्छु, यी सम्पूर्ण दोषका जराहरू (सांसद, विधाता वा) विधि निर्माताहरूको सामान्य बहालीमा देख्न सकिन्छ । उनीहरूलाई बहाल गरेर समग्र मानव जातिको साझा सम्पत्ति हुनुपर्ने स्रोतसाधनको हडपलाई खुला छोडिन्छ र साराका सारा सामाजिकताका प्राथमिक कडीहरूलाई चुँडालिन्छ ।
मान्छेको मनबाट नैतिक दुष्टताको विचार जसले हटाउन सक्छ
यसकारण ‘असल व्यवहार पाउन असल व्यवहार गर’ भन्ने नैतिक नियम ‘आफूले नपचाउने व्यवहार अरूलाई पनि नगर’ भन्दा बढी चल्तीमा पाइनु स्वाभाविक छ । सम्पत्ति र त्यससँग जोडिएर आउने अन्धो र निर्दयी स्वार्थीपनालाई हटाउन चाहने हो भने तपाईँले सारा दुराग्रहहरू अजम्बरी छन् भन्ने आग्रह भत्काउनुहुनेछ । त्यसपछि मान्छेबाट आक्रामक वा रक्षात्मक दुवैखाले प्रतिकार हुनेछैन, कुनै किसिमको डरलाग्दो व्यसन, हिंस्रक कार्य, विचार वा नैतिक दुष्टता रहनेछैन । रहलपहल भयो वा कुनै अवशेष फेरि पलायो भने त्यो झिनो दुर्घटना अथवा सानोतिनो परिणाममात्र हुनेछ । मनोबलको तुच्छ प्रतिरोधले प्राकृतिक परोपकार भावको वर्चस्वलाई कमजोर तुल्याउनेछैन बरु मानिसहरूलाई त्यसको महत्वबारे झन् ठूलो चेतना दिनेछ । सारमा, समाजमा थोरैमात्र मनमुटाव हुनेछ । समाजले छिट्टै आफ्नो लय समात्नेछ र त्यस लयलाई जिउँदो राख्ने कार्यको दाँजोमा बिथोल्ने क्रम घट्दै जानेछ ।
प्रकृतिको मर्मलाई पुष्टि गर्ने कानुनको नमुना
मैले यहाँ परिशिष्टको रूपमा यस प्रकारको कानुनको रूपरेखा दिँदै छु । विडम्बना ¤ यस्तो गणतन्त्र निर्माण गर्ने कार्य अहिलेलाई असम्भव छ भन्ने कुरा साँचो हो ।
यो पाठ पढेर संवेदनशील पाठकले यी कानुनको अभ्यासले मानव जातिका कति धेरै पीरव्यथा हट्नेछन् भनी सजिलै ठम्याउन सक्नेछन् । लम्बेतान टिप्पणी दिन आवश्यक छैन । कानुनको ज्ञान नभएका विश्वका जनताका निम्ति कानुन लेख्ने प्रथम विधि निर्माताहरूलाई जस्तै मलाई सजिलो लागेको छ । मेरा प्रमाणहरू पूर्ण छन् भने मेरो उद्देश्य पूरा हुनेछ ।
मैले मानव समाजको सुधार गरेँ भनी स्वाङ पार्ने धृष्टता गर्दिनँ । तर, मैले सत्य बोल्ने झिनो हिम्मत गरेको दाबी भने गर्छु । सत्यलाई प्रकाशमा ल्याउनेहरूको चित्कारबाट नबिथोलिने मानिसहरू पनि हुन्छन् । मानव जातिलाई झुक्याउनु नै उनीहरूको खास चासो हुन्छ अथवा कम्तीमा आफूले सिकेका गल्तीहरूमा उनीहरू रुमल्लिरहन्छन् ।
समाजका सम्पूर्ण दुष्टता र दुर्गुणका जराहरू उखेल्ने पवित्र र मूलभूत कानुन
१. व्यक्तिका आवश्यकता, मनोरञ्जन वा दैनिक कार्यमा व्यक्तिले तत्काल प्रयोग गर्ने साधनबाहेक समाजमा निजी सामग्री वा किनबेचको साधनको रूपमा कुनै पनि चीज व्यक्ति विशेषको हुनेछैन ।
२. प्रत्येक नागरिक सार्वजनिक व्यक्ति हुनेछ । सार्वजनिक खर्चबाटै उसको पालनपोषण वा रेखदेख गरिनेछ र उसलाई आडभरोसा दिइनेछ ।
३. प्रत्येक नागरिकले सामाजिक गतिविधिमा आफ्नो क्षमता, प्रतिभा र उमेरअनुसार निश्चित योगदान दिनेछ । यिनै कुराको आधारमा वितरणको कानुनअनुरूप उसका कर्तव्यहरू निर्धारित गरिनेछ ।
वितरणसम्बन्धी कानुन वा आर्थिक कानुन
१. सबैथोक राम्ररी चलोस्, अन्योल र समस्या नहोस् भनेर प्रत्येक राष्ट्रलाई परिवार, कबिला र सहरमा विभाजित गरिनेछ । सहरहरूको सङ्ख्या ठूलो भएमा प्रान्तहरू पनि बनाइनेछ ।
२.हरेक कबिला बराबर सङ्ख्याका परिवारहरूबाट बनाइनेछ, हरेक सहर बराबर सङ्ख्याका कबिलाहरूबाट बनाइनेछ आदि ।
३. राष्ट्र बढ्दै जाँदा, कबिला र सहरहरू विस्तार गर्दै लगिनेछ । तर, पुराना सहरकै आकारका सहर थप्न मिल्ने हदसम्म जनसङ्ख्या बढेमा मात्र त्यसो गरिनेछ ।
४. सम्पूर्ण सार्वजनिक चीजबीज वा व्यक्तिलाई १० को अनुपातमा विभाजित गरिनेछ । अर्को शब्दमा भन्नुपर्दा, चीजबीचको सङ्ख्या, वर्गीकरण, तौल, नापो आदि सबै १० खण्डमा बाँडिनेछ ।
५. प्रत्येक पेशामा सबैथोक १० वा १०० को अनुपातमा हुनेछ । जस्तो ः– कामको जटिलताको अनुपातमा यति सय कामदार, सहरको आवश्यकता पूरा गर्न यति सय कामदार आदि । कामदारलाई लखतरान हुने गरी काममा लगाइनेछैन ।
६. प्रकृति र कलाका उत्पादनहरूको वितरणलाई नियमन गर्न कतिपय उत्पादन टिकाउ हुने कुरालाई सर्वप्रथम ख्याल गर्नुपर्छ । यसको अर्थ तिनलाई भन्डारण गर्न सकिन्छ र तिनलाई लामो समयका लागि उपयोग गर्न सकिन्छ । यस्ता उत्पादनहरू यसप्रकार हुन्छन् ः
(क) दैनिक र सामान्यतया प्रयोग हुने उत्पादन,
(ख) सामान्य स्थितिमा प्रयोग हुने तर सधैँ प्रयोग नहुने उत्पादन,
(ग) एकचोटिमा एक वा केही व्यक्तिले निरन्तर प्रयोग गरिरहने र लामो समयसम्म सबैजनाले प्रयोग गर्ने उत्पादन,
(घ) कहिल्यै निरन्तर वा सामान्य प्रयोग नहुने उत्पादन । यी पछिल्ला उत्पादनहरू निजी रूचिअनुसार विशेष सम्झौता गरेर बनाइनेछ । अब यी सबै टिकाउ उत्पादनलाई सार्वजनिक भन्डारमा जम्मा गरिन्छ र सबै नागरिकहरूमा वितरण गरिनेछ । अघिल्ला तीन किसिमका उत्पादनलाई दैनिक वा निश्चित अन्तरालमा वितरण गरिनेछ भने चौथो किसिमका उत्पादनलाई अनुरोधअनुसार वितरण गरिनेछ ।
७. प्रकृति र कलाका कतिपय उत्पादनहरू बिग्रने नियमलाई ध्यानमा राख्नुपर्छ । यी सामग्रीलाई सार्वजनिक स्थलमा ल्याइनेछ र त्यहाँबाट वितरण गरिनेछ । त्यस्ता वस्तुको उत्पादन वा निर्माणमा सहभागी हुनेहरूले नै तिनको वितरण गर्नेछन् ।
८. उत्पादनका विविध प्रकारको मात्रा पहिल्यै निर्धारित र विभाजन गरिनेछ । प्रत्येक सहरको जनसङ्ख्या वा विशेष उत्पादनको प्रयोग गर्ने जनसङ्ख्याको आधारमा यो तय गरिनेछ । टिकाउ उत्पादनहरूलाई यही नियमअनुसार सार्वजनिकरूपमा वितरण गरिनेछ र अतिरिक्त उत्पादनलाई भन्डारण गरिनेछ ।
९. अनुरोधका आधारमा उत्पादन गरिने, सामान्य वा विशेष प्रयोग हुने वस्तुको हकमा भन्डारको सामग्री सकिएको खण्डमा एकजना व्यक्ति पनि सो सामग्रीबाट वञ्चित हुने देखियो भने उत्पादनको समग्र वितरण रोकिनेछ वा अभाव पूर्ति नहुँदासम्म थोरै मात्रामा समान वितरण गरिनेछ । सामान्य प्रयोगमा आउने मालसामानको हकमा भने यस्तो खालको समस्या नआओस् भनी विशेष सतर्कता अपनाइनेछ ।
१०. प्रत्येक सहर वा प्रान्तको अतिरिक्त मालसामान ती सामग्रीको अभाव हुने खतरा आइलागेका स्थानहरूमा वितरण गरिनेछ । अथवा, भविष्यको खाँचो हेरेर भन्डारण गरिनेछ ।
११.पवित्र कानुनअनुसार नागरिकहरूबीच केही पनि किनबेच वा आदानप्रदान गरिनेछैन । उदाहरणको लागिः– हरियो सागपात, तरकारी वा फलफूल खोजिरहेको व्यक्ति सार्वजनिक चोक जानेछ । उब्जाउने व्यक्तिले यी चीजबीज त्यहाँ राखिदिएको हुनेछ । यी चीजबीज राख्ने बेला किसानले आफूलाई त्यस दिन चाहिने जति सामग्री लगेको हुनेछ । कसैलाई रोटी चाहियो भने ऊ रोटी बनाउने बेकरकहाँ जानेछ र निश्चित अवधिका लागि उसलाई चाहिने जति रोटी लग्नेछ । रोटी बनाउने व्यक्ति पनि सार्वजनिक भन्डारमा जानेछ र आफूलाई एक दिन वा केही दिनलाई रोटी बनाउन चाहिने जति पिठो लग्नेछ । लुगा सिउन चाहिने सामान खोजिरहेको व्यक्तिले ती सामान बनाउने व्यक्तिहरूबाट सम्पूर्ण सामान लिनेछ । लुगा बनाउनेले भने आफूलाई चाहिने धागोका लाछी तिनलाई उत्पादन गर्ने व्यक्तिबाट लिनेछ । धागो बनाउनेले त्यसको साटो सार्वजनिक भन्डारबाट कच्चा पदार्थ लिनेछ । सार्वजनिक भन्डारमा ती कच्चा पदार्थहरू सङ्कलन गर्ने र काट्ने व्यक्तिहरूले राखेका हुनेछन् । घरमूलीहरूबीच वितरण गर्ने सम्पूर्ण सामग्री, उनीहरू र उनीहरूका बालबच्चाको उपयोगको हकमा पनि यस्तै हुनेछ ।
१२. एउटा राष्ट्रले छिमेकी वा पराइ राष्ट्रलाई आफ्ना केही सामान पठाएर सघाउनेछ भने वा अरू राष्ट्रबाट यस्तो सहायता लिनेछ भने यो व्यापार आदानप्रदानका आधारमा हुनेछ । यस्तो आदानप्रदान ती नागरिकहरूको मध्यस्थताबाट हुनेछ जसको लेनदेन सार्वजनिक हुनेछ । तर, यस्तो व्यापारले गणतन्त्रमा निजी सम्पत्तिको लेशमात्र पनि नभित्याओस् भनी एकदम चनाखो हुनुपर्नेछ ।
कृषि कानुन
१. प्रत्येक सहरमा सम्भव भएसम्म अखण्ड र एकनासको खेतीयोग्य जमिन हुनेछ । त्यसलाई सग्लो वा खण्डितरूपमा कसैले पनि निजी सम्पत्तिको रूपमा राख्नेछैन । सहरवासीको भरणपोषणका लागि त्यो जमिन पुगिसरि हुनेछ ।
२. सहर सुक्खा क्षेत्रमा छ भने त्यहाँ कालिगढीमात्र गरिनेछ । त्यहाँका बासिन्दाको भरणपोषणका लागि चाहिने मालसामान छिमेकी सहरहरूले पूर्ति गर्नेछन् । तर, यस्तो सहरमा समेत अन्य समुदायमा जस्तै कृषि मजदुरको दस्ता हुनेछ । उनीहरूले आफ्नै सहरको सरहदभित्रका उपलब्ध खेतीयोग्य क्षेत्रमा काम गर्नेछन् । अन्यथा, छिमेकी सहरका कृषि क्षेत्रमा काम गर्नेछन् ।
३. कुनै शारीरिक अपाङ्गताले गर्दा अयोग्य नभएमा २० देखि २५ वर्षसम्मका प्रत्येक नागरिकले खेतीपाती गर्नैपर्नेछ ।
निर्माण कानुन
१. कबिलामा परिवारहरूको सङ्ख्या सीमित वा त्योभन्दा अलिकति बढी हुनेछ । त्यस्तै, सहरमा कबिलाहरूको सङ्ख्या पनि सीमित वा बढीमा एउटा कबिलामात्र थपिनेछ । यसकारण प्रत्येक सहरको जनसङ्ख्या झन्डै बराबर हुनेछ ।
२. सम्पूर्ण आपूर्तिको लागि सार्वजनिक भन्डार र सार्वजनिक समूह घरहरू निर्माण गरिनेछ । यस्ता घरहरूको बनोट एकनासको र सुन्दर हुनेछ । टोलको चौडा र जोडा किनार भएको चोकको वरिपरि यस्ता घरहरू बनाइनेछ ।
३. यो चारपाटे संरचनाको वरिपरि सहरका छिमेकहरू हुनेछन् । बराबर दुरीमा उस्तै आकारका यस्ता छिमेकहरू हुनेछन् । तिनलाई समान दुरीमा बनाइएका गल्लीले बाँडेको हुनेछ ।
४. प्रत्येक कबिलाले एउटा छिमेक ओगट्नेछन् र त्यसभित्र प्रत्येक परिवारको फराकिलो र सुविधाजनक आवास हुनेछ । यी सबै भवनहरू एकैनासका हुनेछन् ।
५. सहरका सबै छिमेकहरू कसरी बनाइएका हुनेछन् भने तिनलाई चाहिने बेला सेरोफेरोको संरचना नबिथोलिकन विस्तार गर्न सकिनेछ । यस्तो विस्तारले सीमा नाघ्नेछैन ।
६. सहरका छिमेकहरूभन्दा अलि पर प्रवेशद्वारहरू हुनेछन् । त्यहाँबाट सबै शारीरिक पेशाका ज्यासलहरूमा पुग्न सकिनेछ । ती ज्यासलमा १० को अनुपातमा बनेका कामदारहरूको दस्ताले काम गर्नेछन् ।
७. ज्यासलहरूको हाताभन्दा बाहिर खेतीकिसानी र त्यससँग सम्बन्धित पेशामा लागेका मानिसहरूको लागि भवनहरूको अर्को गोलो घेरा हुनेछ । यी भवनहरूले ती पेशामा सहरलाई चाहिनेजति ज्यासल, भकारी, भन्डार, गोठ र औजारभण्डारको समेत काम दिनेछन् ।
८. भवनका यी सबै लहरभन्दा अलि पर र सम्भव भएसम्म उपयुक्त स्थानमा खुला र सुविधासम्पन्न भवनहरू खडा गरिनेछ । त्यहाँ प्रत्येक नागरिकहरूलाई राखिनेछ र रेखदेख गरिनेछ ।
९. त्यसको नजिकै बुढापाका र अपाङ्ग नागरिकहरूका निम्ति आरामगृहहरू निर्माण गरिनेछ ।
१०. अझ अन्तै, एकदम उराठलाग्दो र बाँझो स्थानमा अग्ला पर्खालहरूले घेरिएका भवनहरू बनाइनेछन् । ती भवनलाई स–साना कोठामा विभाजित गरिनेछ र फलामका सूलहरूले घेरिनेछ । त्यहाँ समाजबाट केही समयलाई अलग्ग राख्नुपर्ने मानिसहरूलाई एकान्तवासमा राखिनेछ ।
पहरेदारी कानुन
१. हरेक पेशामा, वरिष्ठताको आधारमा पाका र सबैभन्दा अनुभवी व्यक्तिलाई पाँच–पाँच दिनको आलोपालोमा आफ्ना ५ वा १० जना मित्रहरूको निरीक्षण गर्ने जिम्मा दिइनेछ । यस्ता निरीक्षकले कुनै पनि रूपमा बाँकी साथीहरूले भन्दा कम काम गर्नेछैनन् ।
२. प्रत्येक पेशागत समूहमा हरेक १० वा २० कामदारहरूको एकजना खपिस हुनेछ र उसको काम कामदारहरूलाई निर्देशन दिने, निरीक्षण गर्ने र दस्ताका प्रमुखलाई आफ्नो काम वा क्रियाकलापको रिपोर्ट बुझाउनु हुनेछ । यस्ता खपिसको छनोट बर्सेनि हुनेछ । एकचोटि उस्ताद भएपछि ऊ जिन्दगीभरिलाई उस्ताद कहलिनेछ र पालो आउँदा आफ्नो दस्ताको प्रमुख बन्नेछ ।
३. कृषि सेवाको अवधि पूरा गरेर आफ्नो पुरानो पेशामा फर्केको एक वर्षभित्र कोही पनि उस्ताद बन्नेछैन । यसको अर्थ २६ वर्ष नपुग्दै कोही पनि उस्ताद बन्नेछैन ।
५. १० वर्षको उमेरमा प्रत्येक नागरिकले आफूलाई मनपर्ने र आफूलाई बढ्ता तनाव नदिई गर्नसक्ने पेशा सिक्न थाल्नेछ । १५ देखि १८ वर्षको उमेरबीच उसको बिहे हुनेछ । २० र २५ वर्षबीच उसले खेतीपातीसम्बन्धी कुनै एउटा काम गर्नेछ । २६ वर्षको उमेरमा ऊ पुरानो मन पर्ने पेशाको उस्ताद बन्नेछ । उसले पुरानै पेशामा फर्किने सोचेको खण्डमा मात्र यस्तो हुनेछ । उसले एकदम फरक पेशामा जाने निधो गरेमा ३० वर्ष ननाघी ऊ उस्ताद बन्नेछैन । ४० वर्षको उमेरसम्ममा कुनै पेशामा उस्ताद नबनेका हरेक नागरिकहरू खुला मजदुर बन्नेछन् । यसको अर्थ उनीहरू काम गर्नबाट मुक्त हुने छैनन् । तैपनि, उनीहरूलाई आफूले रोजेको वा खोजेको कामबाहेक अर्थोक गर्न दबाब दिइनेछैन । आफ्नो खाली समयको मालिक उनीहरू आफै हुनेछन् ।
७. हरेक पेशाका प्रमुखहरूले आराम र कामको अवधि तोक्नेछन् र कुन काम गर्ने भनी तय गर्नेछन् ।
८. प्रत्येक पाँचाँै दिन आरामको निम्ति सार्वजनिक दिन हुनेछ । यसका लागि वर्षलाई बराबर ७३ भागमा बाँडिनेछ । ३६६ दिने वर्षमा आरामको एक दिन थपिनेछ ।
९. सार्वजनिक पर्वहरू आरामको दिनमा सुरु हुनेछन् र सुरु भएको दिन जोडेर ६ दिनसम्म चल्नेछन् ।
१०. चाडपर्वहरू खेत जोत्न थाल्दाको दिन, बाली भित्याउन थाल्दाको दिन, विभिन्न फलफूल टिपिसक्दाको दिन र प्रत्येक वर्षको पहिलो दिनमा मनाइनेछन् । हरेक वर्षको प्रथम दिनमा सबै बिहेवारीहरू हुनेछन् र बर्सेनि नियुक्त हुने सहरका नगरप्रमुख र पेशागत प्रमुखहरूले जिम्मेवारी ग्रहण गर्नेछन् ।
किफायतसम्बन्धी कानुन
१. ३० वर्षको उमेरमा प्रत्येक नागरिकले आफ्नो चाखअनुसारको तर कम भड्किलो पहिरन लगाउनेछ । पहिलेजस्तै उसले परिवारभित्रै संयम र आवश्यकताअनुसार भोजन गर्नेछ । यी मामिलामा अचाक्ली भोग गर्नेहरूलाई कानुनबमोजिम सजाय दिने अधिकार सिनेटर (सांसद) र प्रमुखहरूसँग हुनेछ । उनीहरूले यस मामिलामा आफूलाई उदाहरणको रूपमा प्रस्तुत गर्नुपर्नेछ ।
२. २० र ३० वर्ष उमेरबीचका र एउटै पेशा गर्ने युवायुवतीले एकैखाले पोशाक लगाउनेछन् । त्यस्तो पोशाक सफा र पेशा सुहाउँदो हुनेछ । प्रत्येक दस्तालाई पेशा जनाउने उपयुक्त रङ वा बेग्लाबेग्लै चिन्हले छुट्याउन सकिनेछ ।
३. प्रत्येक नागरिकको काम गर्दा र बिदामा बस्दाको अलग्गै पोशाक हुनेछ । दुइटै पोशाक सौम्य र राम्ररी सजिएको हुनेछन् । पोशाकहरू गणतन्त्रले जोहो गर्नसक्ने भन्दा बढी सुन्दर हुनेछैनन् । व्यक्तिलाई अरूभन्दा बेग्लै देखाउने कुनै पनि गरगहना लगाउन अनुमति दिइनेछैन । अहङ्कार प्रकट हुने जुनसुकै व्यवहारलाई प्रमुख र परिवारका बाबुहरूले सम्झार्एर टोक्नेछन् ।

सबै निरङ्कुश दमनलाई रोकथाम गर्ने सरकार कायम राख्ने कानुन
१. परिवारका घरमुलीहरू ५० वर्षको उमेरमा सिनेटर वा सांसद बन्नेछन् । संसद्ले जोगाउनुपर्ने कानुनको मर्मअनुरूप काम गर्न समूचित र निर्णायक आवाज उठाउने छन् ।
२. घरमुली र पेशागत अन्य प्रमुखहरूसँग उनीहरूको कामलाई नियमित गर्ने बेला सरसल्लाह लिइने छ ।
३. कबिलाका सम्पूर्ण परिवारबाट आलोपालो कबिला प्रमुख लिइने छ । एकचोटि कबिला प्रमुख भएपछि जिन्दगीभरलाई उनीहरूलाई पदीय मर्यादाले बोलाइने छ ।
४. एकजनाले एक वर्षलाई गरेर कबिला प्रमुखहरू पालैपालो सहरको नगरप्रमुख हुनेछन् ।
५. प्रत्येक सहरले आफ्नो पालो आउँदा प्रान्त प्रमुख दिनेछन् । त्यो नियुक्ति एक वर्षलाई हुनेछ । सहरका कबिला प्रमुखहरूबाट यी प्रमुख दिइने छ ।
६. प्रत्येक प्रान्तले समग्र राज्यका निम्ति राज्य प्रमुख दिनेछन् । एकचोटि राज्य प्रमुख भएपछि व्यक्तिले जीवनभरिलाई त्यसको मान पाउने छ ।
प्रशासन र सरकारसम्बन्धी कानुन
१. प्रत्येक सहरका संसद्हरूको निर्णय र निर्देशनहरूको जाँचबुझ गर्नु र ती नीतिनिर्देशन राज्यको कानुनसँग तत्काल वा भविष्यमा बाझिन्छन् कि बाझिँदैनन् भनी हेर्नु सर्वोच्च संसद्को कर्तव्य हुनेछ । त्यसैगरी पहरेदारी वा अर्थतन्त्रको निम्ति अपनाइएका उपायहरू विवेकसम्मत र कानुनको मर्मअनुरूप छन् कि छैनन् भनी जाँच्नु पनि सर्वोच्च संसद्को कर्तव्य हुनेछ । यस्तो जाँचबुझपछि सर्वोच्च संसद्ले कुनै निर्देशनहरूलाई पूरै वा आंशिकरूपमा स्वीकार वा अस्वीकार गर्नसक्ने छ । एउटा सहरमा तय भएको कानुन अन्य
सहरमा पनि अङ्गीकार गरिनेछ । स्थानीय संसद्को अध्ययनपछि त्यसलाई लागू गर्न सकिने छ ।
४. बर्सेनि सहर वा प्रान्तको प्रमुखको रूपमा नियुक्त हुने व्यक्तिहरूले पदीय जिम्मेवारीमात्र हेर्नेछन् । आफ्नो कार्यकाल सकिएपछि उनीहरू आफूले चाहेको पेशामा लाग्न सक्ने छन् ।
५. देशको साझा हितमा लागेसम्म प्रत्येक सांसद, राजनीतिक प्रमुख, ज्यासल निरीक्षक र उस्ताद कालिगढलाई परिवारमा बाबुलाई बालबालिकाले आदर गरेझैँ सम्मान दिइनेछ र उनीहरूले भनेको मानिने छ ।
६. प्रत्येक सार्वजनिक नीतिनिर्देशनको सुत्र यस्तो हुनेछ – विवेकले जे चाहनेछ, कानुनले त्यो आज्ञा दिनेछ ।
सम्पूर्ण कुलत मेट्ने दाम्पत्य कानुन
१. बिहेको उमेर पुगेपछि सबै नागरिकको बिहे हुनेछ । प्रकृति वा स्वास्थ्यले बाधा नदिएसम्म कोही पनि अविवाहित रहनेछैन ।
२. वर्षको पहिलो दिन सार्वजनिकरूपमा विवाह समारोहहरू हुनेछन् । सहर संसद्को उपस्थितिमा दुलाहा र दुलहीलाई एक ठाउँमा भेला गराइने छ । प्रत्येक केटाले केटीको राजीखुसीमा आफूलाई मन पर्ने केटी छनोट गर्नेछ र उनलाई पत्नीको रूपमा अपनाउने छ ।
३. पहिलो बिहे १० वर्षसम्म भङ्ग गर्न पाइनेछैन । त्यसपछि मात्र एक वा दुवै पक्षको सहमतिमा पारपाचुके गर्न पाइनेछ ।
छोराछोरीप्रतिको अभिभावकको अन्धो मायाबाट उत्पन्न हुने समस्याहरू हटाउने शिक्षा कानुन
१. स्वास्थ्यले दिएसम्म आमाहरूले आफ्ना बालबच्चाको हेरविचार गर्नेछन् । त्यसो गर्न अक्षम भएको खण्डमा उनीहरूलाई त्यसो गर्न कर गरिनेछैन ।
४. प्रत्येक कबिलाभित्र ५ वर्ष नाघेका सबै बालबालिकालाई जम्मा गरिने छ । बालक र बालिकालाई अलग्गै घरमा राखेर लालनपालन गरिने छ । त्यसको लागि अलग्गै संरचनाहरू निर्माण गरिएको हुनेछ । उनीहरूको खानपान, लुगाफाटो र प्राथमिक शिक्षा देशैभर एकै प्रकारको हुनेछ । उनीहरूबीच भेदभाव गरिने छैन । यो सबै संसद्ले जारी गरेको नियमकानुनअनुसार हुनेछ ।
५. पाँच दिनको अन्तरालमा बालबालिकाको सुसार गर्ने अभिभावक समूहहरूको पालो फेरिने छ । उनीहरूले सबै बालबालिकालाई आफ्नैलाई जस्तोे स्याहार गर्नेछन् । यो काम कबिला प्रमुखको निगरानीमा हुने छ । अभिभावक समूहहरू आफ्नो काममा नरम, प्रेरणादायी र विनयी भएर प्रस्तुत हुने छन् । मनमुटाव, लापरबाही वा अनाचार देखिएमा उनीहरूले त्यसलाई रोक्न राम्ररी सम्झाइबुझाई गर्ने छन् वा हलुका सजाय दिने छन् । उनीहरूले सबै बालबालिकालाई एकदम समान व्यवहार गर्ने छन् ।
६. बालबालिकामा बुद्धि पसेपछि उनीहरूलाई देशको कानुनमा निर्देशित गरिने छ । उनीहरूलाई कानुनलाई सम्मान गर्न, आफ्ना आमाबुबा, प्रमुखहरू र अन्य बुढापाकाले भनेको मान्न सिकाइने छ । आफ्ना दौँतरीहरूसँग घुलमिल हुन, उनीहरूसँग मितेरी गाँस्न र झूटो नबोल्न व्यवहारद्वारा देखाइनेछ । उमेर सुहाउँदो क्रियाकलापमा सहभागी बन्न उनीहरूलाई निर्देशन दिइने छ । बेलाबेला उनीहरूको शरीर फुर्तिलो बनाउने र उनीहरूलाई परिपक्व कामको निम्ति तयार गर्ने खालका खेलकुदमा लगाइने छ । आफ्नै बुद्धिले नतानेसम्म उनीहरूलाई कुनै पनि काममा जबर्जस्ती लगाइने छैन । यी निर्देशनहरू त्यस कामका उस्तादहरूले बनाउनेछन् । बाल्यकालको पहिलो चरण पार गरेपछि बालबालिकालाई उस्तादहरूकै हेरचाह र जिम्मामा छोडिने छ ।
७. दस वर्ष नपुग्दै आफ्नो रूचिको पेशाका प्रथम सिद्धान्तहरू सिक्नमा प्रतिभा देखाउने बालबालिकालाई दिनको केही घन्टा सिकारु विद्यार्थीका रूपमा सार्वजनिक ज्यासलहरूमा पठाइने छ ।
८. दस वर्ष पुगेपछि सबै बालबालिकाले साझा अभिभावकको घर छोड्ने छन् र उनीहरू ज्यासलहरूमा जाने छन् । त्यहाँ उनीहरूको बसोबास, खानपान र लुगालत्ताको बन्दोबस्त हुनेछ । त्यहाँ उनीहरूलाई विभिन्न पेशाका उस्ताद र प्रमुखहरूले मार्ग निर्देशन गर्नेछन् । उनीहरूको कुरा बालबालिकाले आफ्ना आमाबुबाले भनेझैँ मान्ने छन् । प्रत्येक दस्ता र ज्यासलमा उनीहरूलाई समान व्यवहार गरिने छ । त्यहाँ केटा र केटीहरूलाई अलग राखिने छ र उनीहरूलाई सहाउँदो पेशामा खटाइने छ ।
९. प्रत्येक पेशाका उस्ताद र प्रमुखहरूले आफूले दिने प्राविधिक अभ्यासमा नैतिक निर्देशनहरू पनि थप्ने छन् । बालबालिकाको विवेकको विकास हुँदै जाँदा उनीहरूले दैवी तत्वबारे महसुस गर्न वा मान्छेले तिनका बारेमा कुराकानी गरेको सुन्न थाल्ने छन् । त्यसपछि उनीहरूले परलोकबारे प्रश्न गर्न थाल्ने छन् । यस्ता प्रश्नको उत्तरमा परमात्मा भनेको उनीहरूले प्रशंसा गर्ने वा उनीहरूलाई प्यारो र राम्रो लाग्ने हरेक चीजबीचको परोपकारी स्रोत भएको बताइने छ । उनीहरूलाई कुनै अवर्णनीय ईश्वरसम्बन्धी अमूर्त विचार नसुनाइयोस् भनी हेक्का राखिनेछ । साथै, उनीहरूलाई आफ्नो इन्द्रियहरूभन्दा परको कुरा सुनाएर ईश्वरको बखान गर्ने ढोङ गरिने छैन । यस्तो ढोङ गर्नेहरूले ईश्वरलाई परम असल र बुद्धिमान भन्छन् र उनलाई कुनै मरणशीलसँग तुलना गर्न नसकिने बताउँछन् । ब्रह्माण्डको लेखकलाई आफ्नै कामबाट चिन्न सकिन्छ भनी बालबालिकालाई साफ शब्दमा भनिने छ । केटाकेटीहरूलाई मानवमा रहेको सामाजिक भावना नै दैवी मर्मको झिल्को भएको महसुस गर्न लगाइने छ । यी भावनाहरूको अभ्यास गरेपछि नै ईश्वरलाई महसुस गर्न सकिन्छ भनी उनीहरूलाई सिकाइने छ । यिनै भावनालाई परिष्कृत पार्न र समाजको भलाईको निम्ति यी भावनाहरूलाई व्यवस्थित रूपमा लागू गर्न कानुनहरू बनाइएको उनीहरूलाई बताइने छ ।
१०. सम्पूर्ण आदेश, सिद्धान्त र नैतिक अनुभूतिहरू पवित्र र मूलभूत कानुनबाट निकालिने छ । यी सबैले सामाजिक एकता र सद्भावलाई सदा सम्मान गर्नेछन् । सम्पूर्ण आह्वान वा उपदेशले एक व्यक्तिको खुसी सबैजनाको भलाइसँग नङमासुजस्तै गाँसिएको कुरामा जोड दिने छन् । मान्छेलाई आफ्ना प्रयासहरू फलदायी होऊन् भनेर समकालीन नागरिकहरू र प्रमुखहरूप्रति असल र मैत्रीपूर्ण भावना राख्न उत्साहित गरिने छ ।
११. प्रमुख र सांसदहरूले सबैतिर बालबालिकाको शिक्षाको लागि बनाइएका नियमकानुनको पालना ठीक उस्तै र एकनासले भइरहेको छ भनी ध्यान दिने छन् । सबभन्दा ठूलो कुरा त के हो भने उनीहरूले निजी स्वामित्वको भूतको रूपमा विकास हुनसक्ने बाल्यकालिन दोषहरूलाई बुद्धिमत्तापूर्वक हटाइएको वा सुधारिएको कुरा पक्का गर्ने छन् । उनीहरूले कलिला मनहरूलाई व्यर्थका मिथक, कथा वा कल्पनाहरूमा रुमल्लिन पनि दिने छैनन् ।
मानव मनका सम्पूर्ण दोष र सबै अलौकिक तर्कनाहरूबाट बचाउने अध्ययनसम्बन्धी कानुन
१. ज्ञानविज्ञान र कलामा संलग्न कैयन व्यक्तिहरू शारीरिक काममा लागेका व्यक्तिहरूभन्दा अलि बढी समझदार, तीक्ष्ण, एकाग्र, मिहिनेती र प्रतिभाशाली हुनुपर्छ । ज्ञानका सबै शाखा र प्रत्येक सहरका निम्ति यस्ता व्यक्तिहरू ठूलो सङ्ख्यामा बटुलिने छ । यस्तो कामको लागि उपयुक्त नागरिकहरूलाई सानै उमेरदेखि निर्देशित गरिने छ । तैपनि उमेर पुगेपछि यस्ता व्यक्तिहरूलाई खेतीपातीमा लाग्नुपर्ने अवधिबाट छुटकारा भने दिइनेछैन । ज्ञानविज्ञान र कलाको क्षेत्रका उस्ताद र विद्यार्थीहरूबाहेक कसैलाई पनि ३० वर्ष नपुग्दासम्म ती काममा लाग्न दिइनेछैन । यस उमेरसम्ममा मान्छेले आफू पहिले लागेको पेशाभन्दा अलग भएर आफ्नो सुझबुझलाई खारेका हुन्छन् र आफ्नो झुकावलाई निश्चित खोजबिनतिर विकसित गरेका हुन्छन् । यसबेला उनीहरू कला वा विज्ञानमा प्रवेश गर्न सक्षम हुन्छन् ।
२. कानुनी व्यवस्थाभन्दा बाहिर कुनै पनि नैतिक दर्शन हुनेछैन । यस विज्ञानको परिपालन र आदेशहरू यिनै कानुनहरूको उपयोग र विवेकमा निर्भर हुनेछन्, रगत र मित्रताको नाताबाट पाइने सन्तुष्टिमा निर्भर हुनेछन्, परस्पर सेवा र नागरिकहरूलाई एकजुट बनाउने कुरामा निर्भर हुनेछन्, कामको उपयोगितामा, प्रेममा, सुव्यवस्था र उत्कृष्ट मेलमिलापका सम्पूर्ण सामान्य र विशेष नियमहरूमा निर्भर हुनेछन् । यस विज्ञानको अध्ययन सबै नागरिकको निम्ति अनिवार्य हुनेछ ।
३. सबै अभौतिक कुराहरू दैवी तत्वबारे माथि जे भनिएको थियो त्यसैमा सीमित रहनेछ । मान्छेको हकमा भने ऊसँग तर्कशक्ति निहीत रहेको कुरामा जोड दिइनेछ । यसैले उसलाई सामाजिक बनाउँछ । मानिसका क्षमताहरूको प्रकृति र तिनको कार्यविधिका प्राकृतिक नियमहरूबारे हामीलाई थाहा छैन । उही क्षमताको विचारशील प्रयोग गरेर खालि तर्कका प्रक्रियाहरू देख्न र पछ्याउन सकिन्छ । त्यसभित्र पनि हामीमा रहेको यस क्षमताको आधार र आहार केले बनेको छ भन्ने कुरा हामीलाई थाहा छैन । हामी मर्दा यो नियममा के हुन्छ भन्ने कुरा समेत हामीलाई थाहा छैन । यो उन्नत नियम जीवनपछि पनि चालु रहन्छ भन्न सकिन्छ होला । तर, प्रकृतिको लेखकले हामीलाई इन्द्रियले बुझ्नबाट वञ्चित गरेको अवस्थाको बारेमा जान्न खोज्नु व्यर्थ छ । यस्तो खालको अवलोकनको सीमा यहीसम्म तोकिएको छ ।
४. खासगरी प्रकृतिको रहस्य खोतल्ने उद्देश्यले अवलोकन र प्रयोगमा आधारित विज्ञानहरूमा वा समाजका लागि उपयोगी कलाहरूलाई परिष्कृत तुल्याउने तरिकाहरूमा मानव मस्तिष्कको बोध क्षमता र तीक्ष्णतालाई खुला छुट दिइनेछ ।
५.सबै विज्ञानहरूको निम्ति एक खालको सार्वजनिक विधान हुनेछ । अभौतिक वा नैतिक विद्यामा कानुनले तोकेको सीमाभन्दा बाहिर गएर केही पनि थपथाप गरिनेछैन । तर्क र प्रयोगले पुष्टि गरेका तथा भौतिक विज्ञान, गणित वा यन्त्र विज्ञानमा पत्ता लागेका नयाँ कुराहरू मात्र (सार्वजनिक) विधानमा थपिनेछ ।
६. प्रकृतिको नैतिक र भौतिक सौन्दर्य, विज्ञानका सामग्रीहरू तथा समाजमा बाँच्नुको आनन्द र सन्तुष्टिको सौन्दर्य र व्यवस्थालाई परिष्कार गर्न उल्लेखनीय योगदान पु¥याउने नागरिकहरूको गरिमा, यी सबैको भाषणकला, काव्य र चित्रकारिताबाट हर्षबढाइँ गरिनेछ ।
७. प्रत्येक स्थानीय संसद्ले सम्मानयोग्य प्रमुखहरू र नागरिकहरूका क्रियाकलापको लिखित विवरण राख्नेछन् । तर, यी इतिहासहरूमा बढाईचढाई, चिप्लो घसाई र मिथ्या लेखाई नहोस् भनेर सावधानी अपनाइनेछ । सर्वोच्च संसद्ले यी सबै इतिहासहरूलाई सङ्कलन गरेर सम्पूर्ण राष्ट्रको इतिहास लेख्नेछ ।
८. यी कानुनहरूको प्रत्येक पाठलाई आवश्यक स्तम्भहरूमा अलग्गै कुँदेर प्रत्येक सहरका सार्वजनिक चोकमा ठडाइनेछ । यी कानुनको मर्मलाई सधैँ शब्दको उचित, सीधा र सटिक अर्थअनुसार पालन गरिनेछ । यसमा अलिकति पनि तलमाथि हुन दिइनेछैन । कुनै पनि कानुनमा केही अस्पष्ट वा दुई अर्थी पाइएमा त्यसलाई अन्य कानुनहरूको मद्दतले व्याख्या गर्न खोज्नु आवश्यक हुनेछ । अथवा, यस कानुनको अर्थ सदासर्वदाका लागि निक्र्योल गर्न आवश्यक हुनेछ । त्यसो गर्दा पवित्र र मूलभूत कानुन का सिद्धान्तहरूको मर्मअनुसार गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *