भर्खरै :

जी २० सित मिलेर काम गर्ने जी ७ का नेताहरूको प्रतिबद्धता

विश्वका ठूला अर्थतन्त्र भएका देशहरू जी – ७ का सदस्य राष्ट्रहरूले जी – २० समूहसँग मिलेर काम गर्ने जनाएका छन् ।
ती देशहरूले विश्वका कैयौँ समस्याहरूसँगसँगै मिलेर काम गर्ने बताएका छन् । हाल विश्वमा देखा परिरहेको कोरोना भाइरसको महामारीका साथै अरु पनि कतिपय समस्याको समाधानमा लाग्ने बताएका हुन् ।
यस सङ्गठनको शुक्रबार भएको भर्चुअल बैठकमा कोरोना भाइरसको महामारी, जलवायु परिवर्तनका साथै अरु पनि धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा साथ साथमा मिलेर काम गर्ने जनाएका हुन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अध्यक्षता गर्नुभएको यस बैठकमा सहभागी भएका जी ७ का नेताहरूको सो धारणा शुक्रबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
जी ७ द्वारा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा भनिएको छ – जी ७ का हामी सदस्य राष्ट्रहरू सम्मिलित बैठक आज भर्चुअल विधिबाट बस्यो र यस बैठकमा हामी कोभिड १९ का साथै अरु पनि विभिन्न अन्तर्राष्ट्रिय समस्याहरूको समाधानका लागि सँगै मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छौँ ।
सो विज्ञप्तिमा भनिएको छ– हामीले आगामी दिनमा यस कोभिड १९को महामारीबाट मुक्त हुनुका साथै यसबाट सिर्जना भएको समस्याको समाधान गर्ने र यसले पु¥याएको क्षतिको पनि पुनर्निमाण गर्ने गरी मिलेर काम गर्नेछौँ ।
सो जी – ७ को सङ्गठनको अध्यक्षता यस वर्ष बेलायतले गरेको छ । शुक्रबारको सो भर्चुअल बैठकको अध्यक्षता पनि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गर्नुभएको थियो ।
सो बैठकमा हाल कोभिड १९ को विश्वव्यापी महामारीको नियन्त्रणका साथै आवश्यक सहयोग उपलब्ध गराउने कामको नेतृत्व विश्व स्वास्थ्य सङ्गठनले गरेकोले त्यस सङ्गठनलाई पनि आवश्यक सहयोग गर्ने बताइएको थियो ।
हाल विश्वमा कोरोना भाइरसको खोप वितवरण भइरहेको र त्यस खोप सबैलाई उपलब्ध हुन नसक्ने अवस्था आएमा कोभ्याक्सका माध्यमबाट दिने सहयोगका लागि पनि विश्व स्वास्थ्य सङ्गठनका माध्यमबाट सहयोग उपलब्ध गराउने सहमति सो बैठकमा भएको थियो ।
यस जि ७ मा क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त अधिराज्य र संयुक्त राज्य अमेरिका सदस्य रहेका छन् । यस सङ्गठनको बैठक शुक्रबार लन्डनबाट बेलायतका प्रधानमन्त्री जोन्सनले सञ्चालन गर्नुभएको थियो । (सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *