भर्खरै :

कम्युनिस्ट घोषणापत्रको १७३ वर्ष

आजभन्दा १७३ वर्षअघि बेलायतको राजधानी सहर लन्डनमा पहिलोपटक छापिएको थियो – कम्युनिस्ट घोषणापत्र । लेखक हुनुहुन्थ्यो – जर्मनीका समाजवादी दार्शनिकहरू कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्स । भौतिक आकारको हिसाबमा पुस्तक त्यति बाक्लो थिएन । तर, सन् १८४८ को फेब्रुअरी २१ मा प्रकाशित ‘कम्युनिस्ट घोषणापत्र’ ले विश्व इतिहासको गति नै परिवर्तन गरिदियो । ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भएलगत्तै युरोपेली देशहरूमा सामाजिक सोपानको सबभन्दा तल्लो तहमा बसेको सर्वहारा वर्ग विद्रोहको मसाल बोकेर क्रान्तिकारी इतिहास निर्माणको दौडमा उत्रियो । त्यो दस्तावेजले ‘संसारका मजदुरहरू एक होऔँ ¤’ को नारासँगै वर्गीय एकताको नवीन मुद्दामात्र उठाएन बरु सर्वहारा वर्गको सङ्घर्षको क्रान्तिकारी चरित्र पनि उद्घाटन गरिदियो । त्यसले समाज विकासक्रमका विभिन्न चरणको वैज्ञानिक व्याख्या गर्दै अन्तिम विजय सबभन्दा बढी शोषणमा पिल्सिएको क्रान्तिकारी सर्वहारा वर्गकै हुने निष्कर्ष प्रस्तुत ग¥यो । ‘वर्गीय मुक्तिको सङ्घर्षमा सर्वहारा वर्गसँग गुमाउनको निम्ति आफूलाई बाँधिएको सिक्रीबाहेक केही नभएको’ भन्दै जर्मनीका दुई जना क्रान्तिकारीहरूले युरोपका मजदुरहरूलाई वर्गीय मुक्तिको निम्ति क्रान्तिकारी सङ्गठन र सङ्घर्षमा आबद्ध हुन उत्साहित गर्नुभयो ।
समयान्तरमा ‘कम्युनिस्ट घोषणापत्र’ युरोपेली देश र मजदुर आन्दोलनको परिधि नाघेर संसारभर विद्रोहको फिलिङ्गो बोकेर विश्व दौडाहामा निस्कियो । विशेषतः पहिलो र दोस्रो विश्वयुद्धपछि त्यहीँ क्रान्तिकारी दस्तावेजले देखाएको बाटो पछ्याउँदै विभिन्न देशमा वर्गीय मुक्ति सङ्घर्ष र उपनिवेशवादविरोधी आन्दोलन अघि बढ्यो । ‘कम्युनिस्ट घोषणापत्र’ ले छरेको सङ्घर्षको फिलिङ्गोलाई विभिन्न देशका क्रान्तिकारीहरूले आ–आफ्नो परिस्थितिमा अनुवाद गर्दै संसारलाई मानिसबाट मानिसलाई हुने शोषणबाट मुक्त बनाउने लहर चलिरह्यो ।
२००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भयो । संसारभर फैलिएको परिवर्तनकारी लहरले नेपाली चेतनालाई पनि तरङ्गित नगर्न सम्भव थिएन । कम्युनिस्ट पार्टी स्थापनाकै सिलसिलामा सो कृतिको नेपाली भाषामा पनि अनुवाद भयो । क्रान्तिकारी र ऐतिहासिक कृतिको नेपाली भाषामा अनुवादसँगै नेपालमा पनि क्रान्तिकारी सङ्घर्षको वैचारिक आधार तयार बन्दै गयो ।
गत वर्ष सन् २०२० देखि संसारका क्रान्तिकारीहरूले ‘कम्युनिस्ट घोषणापत्र’ प्रकाशित भएको फेब्रुअरी २१ लाई ‘विश्व रातो पुस्तक दिवस’ को रूपमा मनाउन थालिएको छ । यो वर्ष संसारभरका विभिन्न देशका क्रान्तिकारीहरूले आ–आफ्नो भाषामा प्रकाशित ‘कम्युनिस्ट घोषणापत्र’ को सार्वजनिक वाचन गरेर सो दिवस मनाइएको छ । भेनेजुयलाका राष्ट्रपति एवम् समाजवादी नेता निकोलस माडुरोले ‘विश्व रातो पुस्तक दिवस’ को अवसरमा विशेष सन्देश दिँदै ‘पुँजीवादी सङ्कट गहिरिएसँगै संसारमा ‘कम्युनिस्ट घोषणापत्र’ को सान्दर्भिकता बढेको’ बताउनुभयो । संसारको इतिहासमा कोशेढुङ्गा सावित बनेको यो पुस्तकको महत्वबोध गर्न र विशेषतः युवाहरूलाई यो कृतिको महत्ताबारे जानकारी गराउन, अध्ययन गर्न–गराउन यो दिवस सान्दर्भिक बन्ने देखिन्छ ।
नेपालमा पनि ‘कम्युनिस्ट घोषणापत्र’ बारे गहन बहस र छलफल हुने गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहित केही अनुवादकहरूले यो कृतिको नेपाली भाषामा अनुवाद गरे । यो कृतिलाई नेपालकै अन्य भाषाहरूमा पनि अनुवाद हुनुपर्नेमा बौद्धिक छलफल भइरहेको छ । जबसम्म क्रान्तिकारी साहित्यको प्रचार र विकास हुँदैन, तबसम्म क्रान्तिकारी परिस्थितिको विकास हुन सम्भव हुँदैन । जुन देशमा ‘कम्युनिस्ट घोषणापत्र’ जस्ता क्रान्तिकारी कृतिको व्यापक चर्चा हुन्छ, त्यो देशमा क्रान्ति र परिवर्तन अझ नजिक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *