भर्खरै :

कोरोनिलबारे पतञ्जलीको दाबी झूट आईएमएले माग्यो स्वास्थ्यमन्त्रीसँग स्पष्टीकरण

नयाँ दिल्ली, २३ फेब्रुअरी (द वायर) । कोरोना भाइरसको उपचारको दावाका साथ पतञ्जली कम्पनीले बजारमा ल्याएको औषधि कोरोनिललाई भारतको आयुष (आयुर्वेदिक औषधिसम्बन्धी) मन्त्रालयले प्रमाण पत्र दिएको घटनालाई लिएर इन्डियन मेडिकल एसोसियसन (आईएमए) ले केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्षवर्धनसँग स्पष्टीकरण माग गर्दै झूटमा आधारित अवैज्ञानिक उत्पादन जारी गर्नु कति न्यायसङ्गत छ भनी प्रश्न गरेको छ ।
पतञ्जलीको कोरोनिल ट्याब्लेटलाई विश्व स्वास्थ्य सङ्गठनबाट प्रमाणपत्र मिलेको दाबीलाई पनि इन्डियन मेडिकल एसोसियसन (आईएमए) ले सरासर झूट भएको बताउँदै आश्चर्य प्रकट गरेको छ ।
पतञ्जलीले कोरोनिल औषधिले कोभिड–१९ लाई ठीक गर्नसक्ने दाबी गरेको छ त्यसका लागि कैयौँ भुक्तभोगी र साक्षीहरूलाई अगाडि सारेको छ ।
इन्डियन मेडिकल एसोसियसन (आईएमए) ले भने सोमबार अबेर एक वक्तव्य जारी गर्दै त्यसमा सत्यता नभएको र त्यस्तो नक्कली दाबी गर्ने कम्पनीको उत्पादन प्रवद्र्धनमा केन्द्रीय स्वास्थ्यमन्त्रीजस्ता जिम्मेवार पदाधिकारी संलग्न भएकोमा आपत्ति जनाएको छ । वक्तव्यमा भनिएको छ – देशको स्वास्थ्यमन्त्री हुनुको नाताले पूरै देशवासीका लागि झूटमा आधारित अवैज्ञानिक उत्पादनलाई जारी गर्नु कतिको न्यायसङ्गत छ ? के तपार्इँ यस कोरोनारोधी उत्पादनको तथाकथित क्लिनिकल जाँचको समयसीमा बताउनसक्नुहुन्छ ?
योगगुरु रामदेवले भने पतञ्जलीले विश्व स्वास्थ्य सङ्गठनको प्रमाणित योजनाअनुसार नै कोरोनिल ट्याब्लेट उत्पादन गरेर भारतको आयुष मन्त्रालयबाट कोचिड–१९ को उपचारमा सहायक औषधिको प्रमाण पत्र मिलेको दाबी गरेका थिए । तर, पछि पतञ्जलीका प्रबन्ध निर्देशक आचार्य बालकृष्णले ट्विट गरी भने – हामी यो स्पष्ट गर्न चाहन्छौँ कि कोरोनिलको लागि हाम्रो विश्व स्वास्थ्य सङ्गठनको प्रमाणित योजना अनुपालनसम्बन्धी प्रमाण पत्र त्यस सङ्गठनबाट नभई भारत सरकारको तर्फबाट जारी गरिएको हो । यो स्पष्ट छ कि विश्व स्वास्थ्य सङ्गठनले कसैलाई औषधिको अनुमति दिने गर्दैन । विश्व स्वास्थ्य सङ्गठन विश्वमा सबैको राम्रो भविष्य बनाउने उद्देश्यले काम गर्दछ ।
स्मरणीय छ, रामदेवले कोरोना भाइरसको सङ्क्रमण सुरुवात भएको बेलामा गोमुत्रले नै भाइरस नष्ट गर्नसक्छ र गोमुत्र कोरोनाको अचुक औषधि भएको झूटो दाबी गरेका थिए । रामदेवको त्यस्ता दाबीलाई भारतका इन्डियन मेडिकल एसोसियसन र राष्ट्रिय चिकित्सा आयोगले अवैज्ञानिक र झूटो दाबी भन्दै खारेज गरिदिएको थियो ।
सत्तासीन भाजपाका नेता र मन्त्रीहरू भने आफ्ना एक ठूला चन्दादाता पतञ्जलीका उत्पादनको प्रवद्र्धनमा आँखा चिम्लेर लाग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *