भर्खरै :

नेपाल क्रान्तिकारी किसान सङ्घको केन्द्रीय छैठौँ परिषद् सुरू

भक्तपुर, १२ फागुन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा नेपाल क्रान्तिकारी किसान सङ्घको छैठौँ परिषद् बुधबार सुरू भयो ।
उहाँले भारतीय मोदी सरकारले पारित गरेका विधेयकहरू गरिब जनताको हितमा नभई धनीहरूको हितमा भएकोले देशव्यापीरूपमा भारतीय किसानहरूले आन्दोलन गरिरहेको बताउनुभयो ।
सचिव सुवालले पुँजीवादी सरकारले किसानहरूको हकहित गर्न नसक्ने भएकोले किसान समस्या समाधान गर्न सङ्घर्ष गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले समाजवादी व्यवस्थामा मात्र किसानहरूको हित हुने बताउनुभयो ।
समाजवादमा मात्र उत्पादनका मुख्य मुख्य साधन र स्रोतहरू सामाजिकीरण हुनेहुँदा उहाँले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ भन्नुभयो ।
नेक्राकिसङ्घले आन्दोलन अगाडि बढाई किसानहरूबीच सङ्गठन गर्नु आवश्यक छ, उहाँले जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपालका शासक दलहरूले भारतीय विस्तारवादका गोटी भएर काम गरिरहेका छन् ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति डिल्लीप्रसाद काफ्लेले क्रान्तिकारी भूमिसुधारअनुसार भूमिविहीन किसानलाई जमिनको हक दिनुपर्ने धारणा राख्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले किसान आन्दोलनको चर्चा गर्दै वर्तमान समयमा पनि किसान आन्दोलन आवश्यक छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कमलमैया सुवालले ठूलठूला सहरी विकास आयोजनाले किसानहरू विस्थापित हुँदै छन् भन्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले किसान सङ्घको आवश्यकताबारे चर्चा गर्नुभयो ।
उद्घाटन समारोह पछि भएको बन्द सत्रमा नेमकिपाका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपाको चुनावी घोषणा पत्रअनुसार भनपाले कार्य गर्दै आएको जानकारी दिनुभयो ।
भनपाका जनता कोही पनि गरिबी र आर्थिक अभावको कारण उच्च शिक्षा हासिल गर्नबाट वञ्चित नहुने बताउँदै उहाँले भनपाले उच्च शिक्षा हासिल गर्ने विद्यार्थीलाई कम ब्याजदरमा शैक्षिक ऋण उपलब्ध गराउँदै आएको बताउनुभयो ।
उहाँले नेपाल सरकारले २०७६ चैत ११ गतेबाट लकडाउन गरे पनि भनपाका स्वयम्सेवक तथा जनप्रतिनिधिहरूले दमकलसरह राहत वितरण गर्नुका साथै बीस हजारको पास बाँडेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिका सम्पदाको सहरको रूपमा परिचित हुनुका साथै शिक्षा र स्वास्थ्यको केन्द्रको रूपमा पनि विकास हुँदै आएको प्रमुख प्रजापतिले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य विश्वनाथ प्रजापतिले वर्तमान समयमा भारतमा चलिरहेको किसान आन्दोलन सम्बन्धमा प्रशिक्षण दिनुभएको थियो । मोदी सरकारले पास गरेको किसानविरोधी विधेयकको विरोधमा भारतीय किसानहरूले देशभरि आन्दोलन चलाएको चर्चा गर्दै उहाँले नेपालका किसानहरूले पनि सिक्नुपर्ने बताउनुभयो ।
बन्दसत्रमा केन्द्रीय सदस्य तथा जिल्ला प्रतिनिधिहरूले प्रतिवेदन राख्नुका साथै आ–आफ्नो धारणा राख्ने क्रम चालू छ । बन्दसत्र बिहीबार पनि चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *