भर्खरै :

ख्वप कलेजमा ‘सामाजिक कार्य’ विषय अध्ययनरत विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण

भक्तपुर, १२ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा स्नातक तहमा ‘सामाजिक कार्य’ विषय लिई अध्ययनरत विद्यार्थीहरूको गत माघ १५ गतेदेखि २० गतेसम्म भएको ‘छिमेकी शिविर २०७७’ को रिपोर्ट प्रस्तुति तथा प्रमाणपत्र वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले सैद्धान्तिक र व्यवहारिक ज्ञानलाई प्राथमिकता दिई अध्ययन अध्यापन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । छिमेकी शिविरमार्फत विद्यार्थीहरूले भक्तपुरको शिक्षा, स्वास्थ्य, जनजीवन र विपद् व्यवस्थापनबारे ज्ञान हासिल गर्ने मौका पाएको उल्लेख गर्दै उहाँले “कुनै पनि विषयमा सय पटक पढ्नु र एक पटक हेर्नु बराबर हुन्छ” भन्नुभयो ।
उहाँले भन्नुभयो, भक्तपुरको शैक्षिक विकाससँगसँगै सामाजिक परिवर्तन र शिक्षामा छात्रा विद्यार्थीहरूको सङ्ख्या तुलनात्मकरूपमा बढिरहेको सकारात्मक पक्ष हो, विद्यार्थीहरूले अहम् भावना त्यागेर व्यवहारिक शिक्षा आर्जनमा जोड दिनुपर्छ ।
प्रमुख प्रजापतिले भक्तपुर नपाले राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्नसक्ने सक्षम नागरिक तयार गर्ने उद्देश्य राखेकोे बताउनुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले विद्यार्थीहरूको मागअनुसार ख्वप कलेजमा नयाँ– नयाँ विषयहरू थप गर्दै लगिरहेको बताउनुभयो ।
ख्वप कलेजका सहप्राचार्य राजेशकुमार श्रेष्ठले सामाजिक विषय अध्ययनको उद्देश्य समाजसँग प्रत्यक्ष सहभागिता जनाएर सामाजिक हितको निम्ति काम गर्नुपर्ने र विद्यार्थीहरू सामाजिक विकृतिविरुद्ध डटेर लाग्न अभिप्रेरित भन्नुभयो ।
कार्यक्रममा बीए र बीएएसडब्लुका इन्चार्ज कमिनिका न्याइच्याइँ र फिल्ड प्रशिक्षक सुन्दर श्रेष्ठले पनि बोल्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले ख्वप कलेजमा स्नातक तहमा ‘सामाजिक कार्य’ विषय लिई अध्ययनरत रिपोर्ट प्रस्तुतीकरण गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा भक्तपुर जिल्लास्थित भक्तपुर नपा, मध्यपुर नपा, सूर्यविनायक नपा र चाँगुनारायण नपाको सामाजिक कार्यबारे गरिएको शिविरको रिपोर्ट प्रस्तुतीकरण गरिएको थियो ।
सोही दिन बिहान नगर प्रमुख प्रजापतिले ख्वप माध्यमिक विद्यालयको २१ औँ, ख्वप कलेजको १९ औँ र शारदा क्याम्पसको २० औँ वार्षिक उत्सव कार्यक्रको अवसरमा आयोजित दौड प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *