भर्खरै :

मौलिक र परम्परागत घर पुनर्निर्माण गरेका पाङ्गावासीलाई कदर

कीर्तिपुर, १५ फागुन । पाँगा विकास सरोकार केन्द्रको आयोजनामा मौलिक र परम्परागत घर पुनःनिर्माण गर्ने घर धनीहरूलाई बिहीबार एक कार्यक्रम गरी पुरस्कृत गरियो । २०७२ सालमा गएको भूकम्पमा पाँगा क्षेत्रका धेरै घरहरू भत्केको र मानवीय क्षति भएको थियो ।
पाँगा पुरानो नेवार बस्ती हो । परम्परागत मौलिक बस्तीको जगेर्ना गरी पर्यटकीय गन्तव्य बनाउने लक्ष्यलाई सार्थक पार्न पाँगामा पुन ः निर्माण गरिने नयाँ घरलाई पुरस्कृत गर्ने आयोजकको तयारीबमोजिम १३ गते शुक्रबार कार्यक्रम तय भएको हो ।
पाँगाका १३ वटा टोलका २८ जना घरपरिवारलाई भूकम्पपछि भूकम्प प्रतिरोधी तथा मौलिक शैलीमा निर्माण गरेका घरधनीलाई कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
प्रमुख महर्जनले जनस्तरबाट मौलिक घर निर्माण कार्यमा सहयोगको भूमिका निभाउनुभएकोमा प्रशंसा गर्नुभयो । उहाँले हिजो इन्जिनियरिङ प्रविधि नभएको समयमा इन्जिनियरिङ प्रविधिअनुसार निर्माण हुने आज प्रविधिको विकास हुँदा इन्जिनियरिङ प्रविधिबाट हामी चुक्दैछौँ भन्नुभयो ।
उहाँले अहिलेको शिक्षा भक्तपुरको ५५ झ्याल उहिले कसरी बन्यो भन्दा पनि अमेरिकाको ट्वीन टावर कसरी बनायो भन्ने शिक्षा दिएको कारणले मौलिक निर्माण खस्कँदै गएको हो भन्नुभयो ।
सम्पदा अभियन्ता रवीन्द्र पुरीले ४० वर्षअघिको उपत्यकाको सम्पदा अहिले ९० प्रतिशत नष्ट भइसकेकोमा चिन्ता व्यक्त गर्नुभयो । सबै नगरपालिकामा मौलिक र परम्परागत घर निर्माण गर्नुपर्ने आवाज उठेकोमा सन्तोष व्यक्त गर्दै उहाँले भक्तपुरको पाँचतले मन्दिर तीनसय वर्ष पुरानो भए पनि पाँच पटकको ठूलो भूकम्पले पनि खासै क्षति नभएको स्मरण गर्नुभयो ।
समाजसेवी दिलिप महर्जनले मौलिक घर निर्माण गर्नेलाई भक्तपुरमा भनपाले आर्थिक अनुदान सहयोग दिएको शिक्षा कीर्तिपुर नपाले सिक्नुपर्ने बताउनुभयो । उहाँले कीर्तिपुर नगरवासीले सरकारले दिएको सहुलियत ऋण लिन नपाएकोमा दुःख व्यक्त गर्नुभयो ।
कार्यक्रममा केन्द्रका सदस्य एवं सहजकर्ता शेखर डंगोलले परम्परागत घर निर्माण तथा संरक्षणको अवधारणा र आधारहरूबारे प्रस्ट पार्नुभएको थियो ।
केन्द्रका अध्यक्ष प्रशान्त महर्जनको सभापतित्वमा भएको कार्यक्रममा विश्वजित महर्जन र सरवकुमार महर्जनले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा परम्परागत घर निर्माण गर्नुहुने तेह्र टोलका प्रथम पुरस्कारस्वरूप १३ जनालाई जनही रु. ६० हजार, द्वितीय हुने ६ जनालाई जनही रु. ८ हजार र तृतीय हुने ९ जनालाई प्रशंसापत्रबाट पुरस्कृत गरिएको थियो । आर्थिक सहयोग शेखर डंगोलमार्फत ग्लोबलरनर्स स्वीडेनबाट उपलब्ध भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *