भर्खरै :

लैङ्गिक हिंसाविरुद्ध कानुनी साक्षरता अभियान

भक्तपुर, १५ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा १ नं वडास्तरीय सामुदायिक प्रहरी समिति र नपली सिर्जनानगर सामुदायिक प्रहरी टोल समितिको संयुक्त आयोजनामा लैङ्गिक हिंसाविरुद्ध कानुनी साक्षरता अभियान कार्यक्रम एक समारोहबीच आज नपली, सिर्जनानगरमा सम्पन्न भयो ।
कार्यक्रममा अतिथि प्रजापतिले लैङ्गिक हिंसा जहाँ अज्ञानता र गरिबी छ त्यहाँ बढी हुन्छ भन्दै म्यानपावर कम्पनी एक प्रकारले मान बेचबिखन गर्ने अखडाको रुपमा विकास हुँदै गएको बताउनुभयो ।
उहाँले सभ्य र सुसंस्कृत समाज निर्माणको निम्ति सबै खालको अपराध न्यूनीकरण पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै समाज उत्थानको लागि हरेक तह र समुदायबाट सबैले हातेमालो गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवं भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले वडावासीहरूलाई सचेत गराउने उद्देश्यले लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गरिरहेको चर्चा गर्दै भनपाले वडा–वडामा महिलाहरूलाई आत्मरक्षासम्बन्धी तालिम गरिरहेको स्मरण गर्नुभयो ।
उहाँले १०८ रोपनी र हनुमन्ते खोलोको किनारमा बसी गाँजाको कुलतमा फसेका युवाहरूलाई रोक्ने प्रयास गरिरहेको बताउँदै युवाहरूलाई लक्षित गरी भनपाले विगतमा झैँ सहिद दिवसको अवसरमा फागुन २९ गतेदेखि चैत ३ गतेसम्म अन्तर नगर बुद्धिचाल प्रतियोगिता सञ्चालन गर्न लागिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा महानगरीय प्रहरी वृत्त जगातीका उपरिक्षक राजेश थापाले समाज अगाडि बढाउनको लागि शान्ति सुरक्षा अति आवश्यक विषय रहेको स्पष्ट पार्दै नेपाल प्रहरीको तर्पmबाट लैङ्गिक हिंसा, लागूऔषध तथा अन्य असामाजिक क्रियाकलाप न्यूनीकरणका लागि गाउँ–नगरका टोल–टोलमा कार्यक्रमहरू निरन्तर गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नपली सिर्जनानगर प्रहरी टोल समितिका संयोजक एवं नगर सभासद् सूर्यप्रसाद श्रेष्ठले पनि बोल्नुभएको थियो । औपचारिक कार्यक्रमपश्चात् दोस्रो चरणको कार्यक्रममा प्र.नि. सूर्यबहादुर शाहीले लैङ्गिक हिंसाविरुद्ध कानुनी साक्षरतासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *