भर्खरै :

कोभिड १९ भ्याक्सिन र थाइराइड रोगसम्बन्धी अभिमुखीकरण

भक्तपुर, १५ फागुन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिको आयोजनामा सदस्यहरूलाई कोभिड–१९ भ्याक्सिन र थाइराइड रोगसम्बन्धी जानकारी दिने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले साकोसले स्थापनाकालदेखि सामाजिक उत्तरदायित्व वहन गर्दै विभिन्न स्वास्थ्य गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
भक्तपुर अस्पतालका डा. सुनिल ढुङ्गेलले हाल नेपालमा वितरण भइरहेको कोरोना भ्याक्सिन बेलायतको अक्सफोर्ड विश्वविद्यालद्वारा खोज गरी भारतमा उत्पादन गरिएको र विश्व स्वास्थ्य सङ्गठनको स्वीकृतिमा औषधिको रूपमा वितरण भइरहेको जानकारी दिनुभयो । उहाँले सो भ्याक्सिन लिइसकेपछि ज्वरो आउनु तथा जीउ दुख्नु भ्याक्सिनको सामान्य लक्षण रहेको र भ्याक्सिन लगाइसकेपछि पनि ४ हप्ता सुरक्षाका उपायहरू अपनाउनुपर्नेमा जोड दिनुभयो ।
जनस्वास्थ्य सेवा केन्द्र, च्याम्हासिंहका डा. अमर प्रजापतिले थाइराइड रोगसम्बन्धी आफ्नो प्रस्तुति दिँदै थाइराइड रोग विशेषतः शरीरमा आयोडिन तत्वको कमीले हुने जानकारी दिनुभयो । “यो रोगले नाक, कान, घाँटीलगायत शरीरका विभिन्न भागहरूमा गम्भीररूपमा असर पार्न सक्छ”, उहाँले भन्नुभयो । उहाँले गर्भवती महिलामा विशेषतः थाइराइड रोगको जोखिम बढी हुने तथा यो रोग प्राणघातकसम्म हुनसक्ने भएकोले नियमितरूपमा थाइराइड परीक्षण गराउन जोड दिनुभयो ।
संस्थाका राजेन्द्र दुमरुले सहकारी संस्थाले सदस्यहरूलाई मालिकको अनुभूति गराउँदै गैह्र वित्तीय सेवामार्फत समाजको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले सहकारी अन्य वित्तीय संस्थाहरूको तुलनामा फरक छ भन्नुभयो ।
कार्यक्रम आयोजक उपसमितिका संयोजक विष्णुप्रसाद दुमरुको सभापतित्वमा भएको थियो । ४५ जना सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा आयोजक उपसमितिका सचिव राजेश जाकिबन्जारले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *