भर्खरै :

प्रजग कोरियाको जनसेनामा सुधारको बहस

प्योङयाङ, २८ फेब्रुअरी । कोरियाली मजदुर पार्टीअन्तर्गत आठौँ केन्द्रीय सैनिक आयोगको पहिलो विस्तारित बैठक हालै सम्पन्न भएको छ । कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजग कोरियाका राष्ट्रपति किम जोङ उनले सो विस्तारित बैठकको अध्यक्षता गर्नुभएको थियो ।
सो बैठकमा कोरियाली जनसेनाका अधिकारीहरूका सैनिक तथा राजनीतिक गतिविधि र नैतिक जीवनमा देखापरेका कमी कमजोरीबारे समीक्षा गरिएको थियो । त्यस्तै कोरियाली जनसेनाभित्र क्रान्तिकारी नैतिक अनुशासनको स्थापनाको विषयमा गम्भीर छलफल गरिएको थियो ।
“कोरियाली जनसेनाभित्र क्रान्तिकारी नैतिक अनुशासन स्थापना गर्नु प्राविधिक विषयमात्र होइन बरु कोरियाली जनसेनाको अस्तित्वसँग गाँसिएको अहम् महत्वको विषय हो । यो विषय सेना निर्माण र सैनिक गतिविधिसँग अन्योन्यास्रितरूपमा जोडिएको विषय हो”, नेता किमले भन्नुभयो ।
कोरियाली जनसेनाभित्रका समस्या समाधान गर्न जनसेनाका नयाँ पुस्ताका पदाधिकारीहरूलाई उचित राजनीतिक चेतना र नैतिक शिक्षा सघन बनाउन आवश्यक भएको उहाँको भनाइ थियो ।
बैठकले कोरियाली मजदुर पार्टीका सबै सङ्गठन र कोरियाली जनसेनाका राजनीतिक निकायले क्रान्तिकारी अनुशासन र नैतिक व्यवहार बनाउनुलाई आजको सन्दर्भमा महत्वपूर्ण जिम्मेवारी भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय समितिको नेतृत्व, प्रतिरोधी क्षमता अभिवृद्धि, क्रान्तिकारी सेनाको आदर्श भावना र नैतिक उच्चताको निम्ति क्रान्तिकारी अनुशासन र नैतिक व्यवहार अपरिहार्य भएकोमा बैठकले जोड दिएको छ ।
सो बैठकमा केही प्रमुख पदाधिकारीहरूलाई पदमुक्त बनाउने र केहीलाई नियुक्त गरिएको छ । कोरियाली मजदुर पार्टी केन्द्रीय सैनिक आयोगले किम सोङ गिललाई जलसेनाका कमान्डरमा नियुक्त गरेको छ । त्यस्तै किम छुङ इललाई कोरियाली हवाई सेना तथा विमानप्रतिरोधी बलको प्रमुखमा नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *