भर्खरै :

डायमन शमशेर राणाको “वसन्ती” या बेइमानी ?

हरेक साहित्य कुनै राजनैतिक उद्देश्यले प्रेरित हुन्छ र त्यो एक न एक वर्गको पक्षमा लेखिएको हुन्छ । डायमन शमशेर राणाको ‘बसन्ती’ उपन्यास पनि संसारमा गन्हाउने बेलायती साम्राज्यवादी षड्यन्त्र चोख्याउने र नेपालको इतिहासमा सधैँ कलङ्कितरूपमा सम्झिरहने बेलायती साम्राज्यवादका एक इमानदार नोकर जङ्गबहादुर राणालाई नैतिकवान, देशभक्त र राजभक्त साबित गर्ने र भीमसेन थापा, माथवर सिंह, गगन सिँहजस्ता साम्राज्यवादविरोधी देशभक्तहरूलाई अति महत्वाकाङ्क्षी, अहङ्कारी रवाफिला, भ्रातृहत्या गर्न नहिच्किचाउने, गैरकानुनी, ऐयासी, प्रेमिकाको निम्ति शत्रु सम्झेका बेलायतकै सामानले भड्किलो किसिमसँग घर–कोठाको सजावट गर्ने, असत्य र अन्यायको अगाडि पनि थरथर काप्ने, हत्यारा, षड्यन्त्रकारी, चाप्लुसी काजी र भारदार, आफ्नै साथीको स्वास्नीलाई हरण गर्ने र आफ्नो प्रेयसीलार्ई अरूको स्वास्नी दाबी गराएर बस्ने अनैतिक र कामुक, स्वार्थ र प्रेममा अन्धो भएर राजद्रोह गर्न खोज्ने, देशलाई खाडलमा खसाल्न खोज्ने र विदेश भाग्न खोज्ने पलायनवादी साबित गर्ने उद्देश्यले लेखिएको हो । एक सामन्तवादी देशमा विदेशी साम्राज्यवादीहरूले आक्रमण गरेर उपनिवेश बनाउन खोज्दा जनता दुई भागमा विभाजित हुन्छन्– एक देशभक्त र अर्को साम्राज्यवादी र उपनिवेशवादीहरूको दलाल । भारत र एसियामा बेलायती साम्राज्यवादीहरूको चकचकी बढिरहेको बेला नेपालका राजा–महाराजा, भाइ–भारदार र जनता दुई भागमा विभाजित थिए । पहिलो, बेलायती साम्राज्यवादीहरूको विरोधमा सङ्घर्ष गरेर आफ्नो देशको रक्षा गर्ने र तिनीहरूलाई एसियाबाटै हटाउने देशभक्त र अर्को थरी दरबार र देशमा शंका, षड्यन्त्र, हत्या र अशान्तिको वातावरण फैलाएर देशलाई बेलायती उपनिवेश बनाउन दिने साम्राज्यवादी दलालहरू । त्यसबेला भीमसेन थापा, माथवर सिँह र गगन सिँहहरू साम्राज्यवादविरोधी र देशभक्त तत्व थिए भने पाण्डे खलक जङ्गबहादुर र त्यस्तै विचार राख्नेहरू साम्राज्यवाद समर्थक र देशद्रोही तत्व थिए ।
डायमन शमशेर राणा त्यही साम्राज्यवादी र देशद्रोही परिवारकै व्यक्ति हुन् । उनलाई आफ्नो पुख्र्यौली बेइमानीदेखि घीन लाग्छ होला, यसकारण उनले जङ्गबहादुरलाई नैतिकवान, देशभक्त, राजभक्त र तर्कशील व्यक्ति बनाउन खोजेका छन् अथवा आफ्नो पुर्खाको निधारमा लागेको कलङ्कलाई मेट्न चाहन्छन् । तर कलङ्कलाई मेट्ने तरिका इतिहासलाई बङ्ग्याउने, बिगार्ने र उल्टो लेख्न खोजेर होइन । आफ्नो पुर्खाको धोखेबाजी, विश्वासघाती र बेइमानीलाई बिराम सम्झेर पश्चाताप गर्न खोज्ने हो भने आफ्नो पुर्खाको कुकृत्यको आलोचना गर्नुपर्छ, त्यसलाई मिटाउन ज्यू–ज्यानले जनतासँग मिलेर साम्राज्यवादविरोधी सङ्घर्षमा लाग्नुपर्दछ । एउटा उपन्यासमा इतिहासलाई बङ्ग्याएर, बिगारेर वा उल्टाएर नेपालको नक्सा फेरिँदैन न त करोडौँ जनताको रगतले लेखिएको संसारको साम्राज्यवादविरोधी इतिहास नै मेटिएर जानेछ । यस दृष्टिकोणले डायमन शमशेरको इतिहासलाई फेर्ने कोसिस एक घृणित र निन्दनीय दुस्साहस मान्नुपर्छ । लुगा फेर्दैमा मानिस फेरिन्न, किताब बदलिँदैमा इतिहास बदलिन्नँ । यसकारण भन्नुपर्छ, ‘बसन्ती’ उपन्यासले उपनिवेशवादीहरू र दलाल सामन्ती वर्गको पक्ष लिन्छ । यसकारण ‘बसन्ती’ उपन्यास नेपाली साहित्यमा निकृष्टताको एक उदाहरण हो ।
यो उपन्यास राजदरबारको चारैतिर घुम्छ । उपन्यासकारको भनाइमा राजदरबारको स्थिति यस्तो थियो–
‘जेठी महारानी साम्राज्यलक्ष्मीदेवी उदर रोग (पेटको रोग) ले पीडित थिइन्, जीवनसित आशा मारिसकेकी । उनको मनमा ‘आफ्नो शेषपछि युवराजाधिराज सुरेन्द्र शाहलाई पदच्युत गरेर कान्छी महारानीपट्टिका युवराज रणेन्द्र गद्दीको पहिलो उत्तराधिकारी (युवराजाधिराज) घोषित गरिएला भन्ने भविष्यका निम्ति चिन्ता प¥यो । यसले गर्दा उनी आफ्नो जीवनकालमै छोरा सुरेन्द्र विक्रम शाहलाई राजा भएको देख्न इच्छुक भइन् र महाराज राजेन्द्रविक्रम शाहलाई नाबालिग छोरा सुरेन्द्रविक्रम शाहका निम्ति राजगद्दी त्याग गर्ने कुरा ढिपी गर्न थालिन्, षड्यन्त्र र कुचक्र रचिन थाल्यो ।’ (पाना २२)
“श्री ५ राजेन्द्रकी कान्छी महारानी भीमसेन थापाको पक्षपाती थिइन् । तर, जेठी महारानीलाई कान्छी महारानीको विश्वासपात्र भीमसेन थापाको अभ्युदय कदापि सह्य थिएन र उसको सहानुभूति थापाको विरोधी पाण्डे खलकतिर ढल्कियो । जसले गर्दा उनी सम्पूर्ण थापा खलकको सर्वनास गर्न कटिबद्ध भइन् । उनी तर्फबाट युवराज सुरेन्द्र विक्रम शाहका साथै अरू दुई भाइ छोरा थिए । दुर्भाग्यवस एकदिन अचानक उनको तृतीय शिशु पुत्र देवेन्द्र शाहको मृत्यु भयो । भीमसेन थापाले जेठी महारानीको हत्या गर्न राजदरबारमा पठाएको विष आमालाई नपरेर पुत्र देवेन्द्रलाई परेको भनियो । असत्य आरोप जेठी महारानीको कुप्रयासले गर्दा महाराजमा पत्यार पर्न गयो । मुख्यमन्त्री भीमसेन थापा जेल परे । जेलमा उनले आज उनकी पत्नीलाई नाङ्गै पारेर सहर घुमाउने कुरा सुने । आफ्नी पत्नीको त्यो दुर्दशा देख्नुभन्दा आत्महत्या गर्नु उचित ठानेर थापा सेरिएर मरेका थिए ।” (पाना–१४) “…त्यसबेला शासनको सम्पूर्ण बागडोर महाराजबाट जेठी महारानी साम्राज्यलक्ष्मी देवीलाई सुम्पिनु परेको थियो ।” (पाना–१५)

डायमन शमशेर


‘भीमसेन थापाको पतन गराएर रणजङ्ग पाण्डेको अभ्युदय भएको थियो । किन्तु, कुनै उपायले पनि जेठी महारानी र मुख्यमन्त्री पाण्डे महाराज राजेन्द्रविक्रम शाहलाई राजत्याग गराउनमा सफल हुन सकेनन् । यही प्रयत्नमा लागेकी महारानी साम्राज्यलक्ष्मी देवी हेटौँडामा दिवङ्गत भइन् ।’ (पाना२२–२३)
‘…शासनको बागडोर पुनः राजेन्द्रविक्रम शाहको हातमा आयो, अब युवराजाधिराज सुरेन्द्र शाह र कान्छी महारानी लक्ष्मी देवीले पनि उपभोग गर्न लागे । तीनजनाको एकनासको र प्रायः विरोधी हुकुमद्वारा शासन चल्न लागेकोले सर्वसाधारण जनताको कष्टको सीमा रहेन । …फेरि सुरेन्द्र शाह अनौठो मानिस भएर निस्किए । …. राजेन्द्रविक्रम शाहले छोरामाथि नियन्त्रण राख्ने प्रयत्न गरेनन् । …यसरी परिस्थिति बिग्रेर चरम सीमामा पुगेको हुनाले एकदिन मुख्यमन्त्री फत्तेजङ्ग शाहको अध्यक्षतामा राज्यका ६७५ जना भारदार तथा नागरिकको एक बैठक बसियो, “… राजेन्द्रविक्रम शाहले यस आशयको घोषणा गर्नुप¥यो, सर्वसाधारणलाई विदित गरिन्छ कि आजदेखि तिनीहरू सबले महारानी लक्ष्मीदेवीको हुकुम मान्नु । मैले आफ्नो इच्छाअनुसार उनलाई निम्नलिखित अधिकार पनि दिएको छु ।
१. राजपरिवारका व्यक्तिबाहेक कसैलाई कारावास, अङ्गभङ्ग, देश निष्कासन, प्राणदण्ड, पदच्युतको आज्ञा दिनु ।
२. राजकर्मचारीलाई नियुक्ति गर्नु, खोस्नु, उपाधि र पदको परिवर्तन ।
३. चीन–भोट र ब्रिटेनसित राजकीय सम्बन्ध र
४. उपयुक्त विदेशी शक्तिहरूसित आवश्यकताअनुसार सन्धि–विग्रह गर्नु ।
म प्रतिज्ञा गर्छु कि स्वयम् म पनि उनको राय नलिई कुनै काम गर्ने छैन… यसरी राज्यको सम्पूर्ण अधिकार कान्छी महारानी लक्ष्मीदवीको हातमा आयो ।” (पाना २३–२४)
‘गगनसिँह काजी’ भयो ।
‘कान्छी महारानी राज्यको मुख्तियारी पाउनासाथ युवराजाधिराज सुरेन्द्रलाई पदच्युत गरेर उनको स्थानमा आफ्नो छोरा रणेन्द्र विक्रमलाई गद्दीको प्रथम उत्तराधिकारी तुल्याउने प्रयत्नमा लागिन् । किन्तु न महाराजाधिराज राजेन्द्रविक्रम शाह यो कुरा रुचाउँथे, न त प्रधानमन्त्री फत्तेजङ्ग चौतरिया, जसलाई कान्छी महारानीको सिफारिसमुताविक रणजङ्ग पाण्डेलाई हटाएर प्रधानमन्त्री नियुक्ति गरिएको थियो । झन् पाण्डेहरूको कुरै भएन, उनीहरू परम्परादेखि जेठी महारानीको चाकरी गर्ने भएकाले अहिले पनि उनीहरू खुलमखुला सुरेन्द्रविक्रम शाहकै पक्ष लिन्थे, उनकै चाकरी गर्दथे ।
यस अवस्थामा कान्छी महारानीलाई आफ्नो इच्छापूर्तिको लागि उनका पुराना समर्थक थापाहरूको सहायताको ठूलो आवश्यकता प¥यो । भीमसेन थापाको मृत्युपछि थापा खानदानमा माथवर सिँह जेठा–बाठा थिए, जो भीमसेन थापाको पतनपछि भारतमा शरण लिन पुगेका थिए ।
उनलाई महारानी लक्ष्मीदेवीको तर्फबाट ‘काठमाडौँ आउनु’ भन्ने बोलावट भयो । उनी काठमाडौँ आइपुगेको केही महिनापश्चात् फत्तेजङ्गको स्थानमा प्रधानमन्त्री नियुक्ति भए ।’ (पाना २४)
उपन्यासको भनाइमा त्यसबेला देशको सारा उथलपुथल र हेरफेर मात्र दरबारी झगडाको षड्यन्त्र थियो । सामन्ती समाजमा सामन्त र राजा–महाराजा र दरबारकै बीचमा झगडा, मनमुताव, लडाइँ र षड्यन्त्रहरू हुन्थे । तर, बेलायती साम्राज्यवादी आक्रमणविरोधी कालको नेपालको राजनैतिक हेरफेरमा त्यो एक पक्षमा मात्र थियो । त्यसबेलाको हेरफेर, झगडा र षड्यन्त्रको मुख्य स्रोत बेलायती साम्राज्यवाद र काठमाडौँस्थित बेलायती राजदूतावास थियो । बेलायती साम्राज्यवादीहरूले नेपालको सामन्ती व्यवस्थाको कमजोरीलाई आफ्ना दलाल पाण्डे र राणा खलकबाट मनग्य फाइदा उठाएका थिए । यस पक्षको इतिहासलाई खोतलखातल गर्नु आज पनि आवश्यक छ । नत्र, ‘बसन्ती’ जस्ता थुप्रै ‘बङ्ग्याइहरूले’ इतिहासलाई फोहर पार्न खोज्ने छन् । राजदरबारको भित्री सङ्घर्षबारे प्रो. ढुण्डिराज भण्डारीको ‘नेपालको ऐतिहासिक विवेचनॉ के भन्छ ? ‘नेपालका पराजय’ तथा ‘सुगौली सन्धि’ सम्बन्धी कार्यको दोषारोपण पनि भीमसेन थापामाथि मात्र थोपरियो । … षड्यन्त्रकारीहरूले राजाका समक्ष प्रतिज्ञा गरे कि उनीहरूमध्ये कसैले मुख्तियारीको पद प्राप्त गरेको खण्डमा नेपालले गुमाएका इलाकाहरू पुनः प्राप्त गर्न सकिन्छ । ११ साउन १८९४ को दिन बडामहारानी साम्राज्यलक्ष्मीदेवीतर्फका कान्छा अधिराजकुमार देवेन्द्र शाहको निधन भयो । षड्यन्त्रकारीहरूले कान्छा अधिराजकुमारको निधनलाई आफ्नो राजनैतिक स्वार्थ–सिद्धिको साधन बनाई उनको मृत्युको दोषारोपण भीमसेन थापामाथि थोपरे । भीमसेन थापा र उनका पक्षपातीहरू पक्राउ परे, तिनीहरूका खुट्टामा नेल ठोकियो र तिनीहरूको सर्वस्व पनि भयो । भीमसेन थापा र उनका समर्थकहरूमाथि आठ महिनासम्म मुद्दा चल्यो । सबै निर्दोष सावित भएर कारागारबाट मुक्त भए र सर्वस्व हरण फिर्ता पाए । राजेन्द्र विक्रम शाहले पनि अप्रत्यक्षरूपले पाण्डेहरूको नीतिको समर्थन गरेजस्तो लागेकोले मुख्तियार रङ्गनाथ गुरुज्यूले राजीनामा दिए । हालसालै चीनबाट फर्केका पुष्कर शाह मुख्तियारको पदमा आसीन भए । ब्रिटिश रेजिमेन्ट यिनीसित पनि भय खान्थ्यो । … तात्कालिक ब्रिटिस रेजिमेन्ट पनि भीमसेन थापाको स्वतन्त्रतालाई आफ्नो स्वार्थ सिद्धिको मार्गमा कण्टक सम्झन्थ्यो । … यता रणजङ्ग पाण्डेले आफू मुख्तियार भएको खण्डमा नेपाल राज्यका गुमेका इलाकाहरू फर्काउँछु भन्ने आश्वासन बराबर जारी गरेको हुनाले राजेन्द्रविक्रम शाहले उनलाई नै मुख्तियार बनाउने मनमा निश्चय गरे । … पुष्कर शाहको राजीनामा स्वीकृत भएपछि उनको स्थानमा दामोदर पाण्डेका छोरा रणजङ्ग पाण्डे मुख्तियार भए ।

माथिको ‘नेपालको ऐतिहासिक विवेचना’ अनुसार ‘बसन्ती’ का उपन्यासकार डायमन शमशेर राणाको दुई तर्क (१) भीमसेन थापा मारिनुमा दरबारी षड्यन्त्र थियो र (२) युवराज सुरेन्द्र शाहमा अनौठो स्वभाव विकास भएको र परिस्थिति बिग्रेर चरम सीमा पुगेकोले कान्छी महारानीलाई शासनको बागडोर सुम्पेको हो– असत्य हुन आएको छ । यहीनेर उपन्यासकारले बेलायती साम्राज्यवाद र उसका दलालहरूका सबै षड्यन्त्रलाई राजदरबारको गृहकलहमै लुकाउन खोजेका छन्, जसमा उनी सफल भएनन् ।

अब बेलायती साम्राज्यवादीहरू तिनीहरूका पिछलग्गू पाण्डे गुटले भीमसेन थापामाथिको मुद्दा उल्टाएर भीमसेन थापालाई आजीवन काराबासको दण्ड दियो । उनकी धर्मपत्नीलाई नग्न अवस्थामा सारा सहर घुमाइन्छ र उनले त्यस दृश्यलाई महलको पोखरीमा रहेर हेर्नुपर्छ भन्ने निराधार अफवाह कानमा पारी भावुक हृदयमा आत्महत्या गर्ने प्रेरणाको वातावरण उपस्थित गराई उनको समीप खुकुरी पु¥याई आत्महत्या गर्न दिए । भीमसेन थापाको टाउको नेपालस्थित तात्कालिक ब्रिटिश राजदूत हाग्सनले बेलायत पठाएका थिए । राजपरिवारको गृह कलहको षड्यन्त्रलाई पनि ‘राजपरिवारमाथि फ्याकेको हिलो निराधार तथा तथ्यहीन थियो ।’ बडामहारानी साम्राज्यलक्ष्मी देवी काशीवासका लागि नेपालबाट प्रस्थान गरिन् । उनको सवारी तराईसम्म पुग्यो । कम्पनी सरकारले श्री ५ बडामहारानीको काशीवासलाई शङ्काको दृष्टिले हे¥यो । (कम्पनी सरकार रणबहादुर शाह र राजराजेश्वरी देवीको कृत्रिम आडमा पनि राजनीतिक चाल देख्यो ।) … राजेन्द्र विक्रम शाहको हृदयमा दुवै महारानीहरूप्रति अगाध प्रेम थियो । उनी कसैको चित्त दुखाउन चाहँदैनथे । … अङ्ग्रेजहरूलाई नेपाल र एसियाकै भूमिबाट हटाउने हठ राजामा थियो र नारी सुलभ हठ दुवै महारानीमा । … गृहकलहको मूल जरैबाट नष्ट हुन सकिएन र समयको आँचमा पाकेर पुनः उम्रियो । श्री ५ बडामहारानी नेपालबाट पुनः प्रस्थान गरिन् तर यसपालिको यात्रामा औलोले सताएको हुनाले र साथै पुरानो रोग पुनः उब्जेकोले विसं १८९८ मा उनको स्वर्गवास भयो । … माथवर सिंह थापालाई एकाएक बोलाई मुख्तियारको पद प्रदान गर्दा अङ्ग्रेजहरू सशङ्कित हुन जाने भएकाले आफ्नो र आफ्नी कान्छी महारानी राज्यलक्ष्मी देवीको बीचमा गृहकलह उत्पन्न भएको अफवाह फैलाई र साथै दरबारमा भारदारहरूद्वारा पनि कान्छी महारानीको पक्ष ग्रहण गरेको स्थिति देखाई राजेन्द्रविक्रम शाहले विसं १८९९ मा शाही घोषणाद्वारा आफ्नो सम्पूर्ण अधिकार कान्छी महारानीलाई सुम्पे ।”
माथिको ‘नेपालको ऐतिहासिक विवेचना’ अनुसार ‘बसन्ती’ का उपन्यासकार डायमन शमशेर राणाको दुई तर्क (१) भीमसेन थापा मारिनुमा दरबारी षड्यन्त्र थियो र (२) युवराज सुरेन्द्र शाहमा अनौठो स्वभाव विकास भएको र परिस्थिति बिग्रेर चरम सीमा पुगेकोले कान्छी महारानीलाई शासनको बागडोर सुम्पेको हो– असत्य हुन आएको छ । यहीनेर उपन्यासकारले बेलायती साम्राज्यवाद र उसका दलालहरूका सबै षड्यन्त्रलाई राजदरबारको गृहकलहमै लुकाउन खोजेका छन्, जसमा उनी सफल भएनन् ।
यस ऐतिहासिक सन्दर्भमा हाम्रो के मत छ ? भीमसेन थापा बेलायती साम्राज्यवादीहरूलाई एसियाबाट धपाउन भारत र चीनका राजाहरूलाई समेत एक गर्न खोज्ने एक कूटनीतिज्ञ थिए । बेलायती साम्राज्यवादीहरूसँग भिडन्त गरेर आफ्नो देशलाई जोगाउन परम्परादेखि बेलायतको विरोधी भएर आएका फ्रान्सका अफिसरहरू ल्याएर नेपाली सेनालाई नयाँ ढङ्गले तालिम दिन लगाउने एक राजनीतिज्ञ थिए । बर्मा र अफ्गानिस्तानसित पनि कूटनैतिक सम्बन्धलाई कायम गरी बलियो एसिया बनाउने एक रणनीतिज्ञ थिए । यस्ता व्यापक दृष्टिकोण राख्ने देशभक्तसँग बेलायती साम्राज्यवादीहरू डराउनु स्वाभाविक थियो । भीमसेन थापाको रणनीति सफल भएको खण्डमा नेपालमा मात्रै होइन, एसियामै बेलायती उपनिवेशवादी नीतिले हार खानुपर्ने थियो । यसकारण बेलायती साम्राज्यवादीहरूले दरबारमा पहुँच भएका पाण्डे खलक र जङ्गबहादुर खलकजस्ता देशघातकहरूलाई उपयोग गर्न थाले । (१) ती देशघातक तत्वहरूकै षड्यन्त्रले भीमसेन थापाहरूमाथि राजकुमारको ज्यान मुद्दा लागेको हो । राजदरबारको घरेलु कलह भए पनि नभए पनि त्यो गौण थियो । बेलायती राजदूतावास नै त्यस षड्यन्त्रको मुख्य केन्द्र थियो । (२) भीमसेन थापाहरू निर्दोष साबित हुनासाथै बेलायती साम्राज्यवादीहरू झस्केर भीमसेन थापा फेरि सत्तामा आउने सम्भावना देखे । भीमसेन थापा सत्तामा आउनुको अर्थ बेलायती साम्राज्यवाद एसियाली युद्धमा फस्नु थियो । यसकारण, तिनीहरूले नयाँ कुचाल चाले– त्यो हो यदि रणजङ्ग पाण्डेहरू मुख्तियारीमा आएमा बेलायती साम्राज्यवादीहरूले नेपालको गुमेको जग्गा फिर्ता दिने झूटो आश्वासन दिनु । त्यसकारण पाण्डे गुट मुख्तियारीमा आयो । (३) बेलायती साम्राज्यवादीहरूको चाल अर्कै थियो– भीमसेन थापालाई सदाको निम्ति आफ्नो बाटोबाट पन्छाउनु । यसकारण रणजङ्ग पाण्डे मुख्तियारीमा आउनासाथै भीमसेन थापामाथिको मुद्दा दोहोरियो र आजीवन काराबासको दण्ड दिइयो । (४) शेरलाई मार्न सजिलो छ, तर समात्नु र थुन्नु खतरनाक हुन्छ । यही कुरो भीमसेन थापामाथि बेलायती साम्राज्यवादीहरूको विचार थियो । यसकारण, तिनीहरूले बन्दी बनेका भीमसेन थापालाई हत्या गरेर बेलायतमा उनको टाउको पु¥याएका थिए ।
भीमसेन थापाको आत्महत्याको कथा त भीमसेन थापाको व्यक्तित्वलाई फिक्का पार्ने र जनतामा उसको प्रभाव र समर्थनलाई खत्तम गर्न रचेको कुत्सित प्रचार हो । साम्राज्यवादीहरूले इतिहासमा थुप्रै देशभक्तहरूलाई हत्या गरेका उदाहरणहरू छन् । क) कम्बोडियामा फ्रान्सेली साम्राज्यवादीहरूले एक देशभक्त राजकुमारलाई विषालु उपचार गरेर मारेका थिए । ख) कङ्गोका देशभक्त प्रधानमन्त्री पेट्रिस लुमुम्बालाई बेल्जियम उपनिवेशवादीहरूले हत्या गरेर कारागारबाट भागी जङ्गली जातिहरूसँगको मुठभेदमा मरेको कथा रचेका थिए । ग) १८१०–११ तिर स्पेनियाली उपनिवेशवादीहरूले मेक्सिकोमा स्वतन्त्रता र दास मुक्तिको एक नेता हिडाल्गोलाई पनि बन्दी बनाए र पछि मारेर उनको टाउकोलाई प्रदर्शनीमा राखेका थिए, बेलायतीहरूले ब्रिटिस म्युजियममा भीमसेन थापाको टाउको राखेजस्तै (घ) त्यतिमात्रै होइन सुगौली सन्धिपछि नेपाल उपत्यकामा बिफर फैलिनुमा मुख्य कारण नै बेलायती साम्राज्यवादीहरूको ‘किटाणु युद्ध’ हुनुपर्छ । बेलायती साम्राज्यवादीहरूले आयरल्यान्डको युद्ध र अमेरिका विजय युद्धमा त्यहाँका आदिवासीहरूको विरोधमा बिफरको किटाणु भएको कम्बल र लुगाबाट गाउँ–गाउँमा रोग फैलाई हजारौँ–हजार विरोधीहरूलाई हत्या गरेका थिए । कोरिया र भियतनाम युद्धमा पनि अमेरिकी साम्राज्यवादीहरूले कोरियाली र भियतनामी जनताको विरोधमा किटाणु अस्त्र प्रयोग गरेका थिए । ‘सुगौली सन्धि’ को विरोधमा नेपाली जनमत तयार नहोस् भन्ने उद्देश्यले नेपालको ध्यान रोगमा जाओस् र जनसङ्ख्या घटेर नेपाल निर्बलियो होस् भनेर त्यो ‘किटाणु युद्ध’ सुरु गरेको हुनुपर्छ भन्ने हाम्रो अनुमान छ । त्यस रोगले जनतामात्रै भनेनन् बरु २० नोभेम्बर १८१६ इ. मा महाराजाधिराज गीवार्णयुद्ध विक्रम शाहको पनि मृत्यु भयो । ‘सुगौली सन्धि’ इतिहास बन्यो ।
भीमसेन थापाको हत्या नै बेलायती साम्राज्यवादीहरूको मुख्य उद्देश्य थिएन बरु उद्देश्य पूरा गर्ने बाटोमा देखिएको मुख्य बाधालाई निर्मूल गरेको मात्र थियो । तिनीहरूको मुख्य उद्देश्य त नेपाललाई पूर्णरूपले निलेर तिब्बत पुग्नु र पेचिङ्गको सरकारसँग नयाँ–नयाँ सन्धिहरूबाट थुप्रै सहुलियतहरू लिएर आफ्नो उपनिवेशलाई अझ बलियो बनाउनको निम्ति दबाब दिनु थियो । यसकारण भीमसेन थापाको लगत्तैपछि बेलायती साम्राज्यवादीहरूले रणजङ्गजस्ता देशद्रोहीहरूलाई भित्रभित्र राजा र रानीहरूको बदनामी गर्न लगाए । दुवै रानीको आपसको सौतिनेलाई चारित्रिक पतन, राजाको जोइटिङ्ग्रेपना तथा राजसिंहासनका भावी उत्तराधिकारी सुरेन्द्रविक्रम शाहको बहुलापन इत्यादि निराधार अफवाहहरू सर्वसाधारणको बीचमा फैलाउने प्रयत्न गराए । बेलायती साम्राज्यवादीहरूले राजदरबारप्रति जनताको विश्वासलाई खत्तम गरेपछि अथवा पुरानो सत्ताको विरोधमा लोकमत तयार गरेपछि नयाँ गोटी चाल्ने प्रयास गरे । नेपाली फौजमा रहेको भीमसेन थापाप्रतिको श्रद्धालाई खत्तम गर्न तिनीहरूले फौजमा नयाँ भर्ती गरे, तोप, गोला–बारुद र बन्दुकजस्ता युद्धका सामान तयार गर्न थाले, गुमेका इलाका फर्काउने हल्ला गरे तर त्यो झूटा थियो । वास्तवमा बेलायती साम्राज्यवादीहरू रणजङ्ग पाण्डेमार्फत आफ्नो हात बलियो पार्न चाहन्थे । नेपाली फौजलाई पनि राजाको विरुद्ध उभ्याउने योजना बनाएका थिए र यसका लागि फौजकोे तलब कम गर्ने चलन चलेको थियो । तर, त्यो सफल हुन सकेन । रणजङ्ग पाण्डेको ठाउँमा चौतरिया फत्तेजङ्ग आए । फत्तेजङ्ग र मन्त्री परिषद्का अन्य तीनजना सदस्यहरू योग्य थिएनन् । शक्तिशाली बेलायती साम्राज्यवादीहरूसँग सामना गर्न एक निर्भिक र योग्य व्यक्तिको आवश्यकता थियो । त्यो व्यक्ति थियो– भीमसेन थापाको काण्डबाट जोगिन लाहोरमा बसिराखेका देशभक्त माथवर सिंह थापा ।
माथवर सिँह थापा भीमसेन थापाजस्तै बेलायती साम्राज्यवादविरोधी थिए र भीमसेन थापाले उनलाई ‘अतिरिक्त राजदूतका रूपमा बेलायत पठाएका थिए, तर ब्रिटिस रेजिमेन्टले उनलाई बेलायत जान नदिई कलकत्ताबाटै फर्काएको थियो । उनीप्रति बेलायती साम्राज्यवादीहरू सा¥है सशङ्कित र शत्रुभाव राख्थे । लाहोरमा बसेका माथवर सिँहलाई तिनीहरूले महिनाको एक लाख तलब र ३५–३६ हजार फौजको मालिक बनाउने लोभ देखाएका थिए । तर, उनी बेलायती साम्राज्यवादीहरूको जालमा फस्दै फसेनन् । यस्तो बेलायती साम्राज्यवादविरोधी देशभक्तलाई मुख्तियारी पद दिनु राजाको निम्ति छिट्टै खतरालाई बोलाउनुजत्तिकै थियो । यसकारण राजाको गृहकलहको हल्ला फैलाई कान्छी महारानी राज्यलक्ष्मी देवीलाई शक्तिमा ल्याएका थिए । कान्छी महारानीले भीमसेन थापा र उनका समर्थकहरूप्रति लगाएको आधारहीन मुद्दालाई उल्टाइन् । सबै अपराधीहरू निर्दोष साबित भए, साँचा अपराधी षड्यन्त्रकारीहरूलाई सजाय भयो । माथवर सिँह इज्जतपूर्वक नेपालमा आएर मुख्तियार भए । माथवर सिँह सत्तामा आउनासाथै सेनामाथि ध्यान दिन थाले र तीन कम्पनी नयाँ सेना बनाए । यसले माथवर सिँहप्रतिको बेलायती साम्राज्यवादीहरूको आशङ्का विश्वासमा परिणत भयो । यसकारण तिनीहरूले दरबारसँग सम्बन्धित व्यक्तिहरू हातमा लिएर दरबारमा गृहकलह गराउने र माथवरसिंह थापालाई हत्या गराउने षड्यन्त्र गर्न थाले ।
राजा राजेन्द्रविक्रम शाह चाहि बेलायती साम्राज्यवादीहरूलाई सत्ताबाट अलग रहेको देखाउन चाहन्थे र उता तिनीहरूको विरोधमा तिब्बत, चीन, पर्सिया, बर्मा, अफगानिस्तान र भारतका प्रमुख राजा–रजौटाहरूसँग बेलायती साम्राज्यवादीहरूलाई एसियाबाटै लखेट्ने गुप्त पत्रहरू लेख्दै थिए । यसकारण इतिहासकारहरू राजा र रानी, राजा र युवराजाधिराज सुरेन्द्रविक्रम शाहको बीचको झगडा वास्तविक होइनन् भन्ने भन्दछन् । त्यो त बेलायतीहरूको आँखामा छारो हाल्ने काम थियो । कति राज्य र राजाहरू खाइसकेका बेलायती साम्राज्यवादीहरूलाई नेपाली राजाको चलाकी थाहा नहुने कुरा थिएनन् किनभने तिनीहरूसँग रणजङ्ग पाण्डे र जङ्गबहादुरजस्ता आफ्नो देशको गुह्य कुराहरू शत्रुलाई दिने देशघातीहरूको हातमा थियो । अब बेलायती साम्राज्यवादीहरूले जङ्गबहादुरलाई नै आफ्नो घोडा बनाउन लागे ।
जङ्गबहादुर को थिए ? ‘जङ्गबहादुर’ नाम गरेको वीरनर सिंह बालनरसिंहको छोरा थिए । बालनरसिँह राजा रणबहादुर शाहका अङ्गरक्षक थिए । राजा रणबहादुर र उनका भाइ शेरबहादुर शाहको झगडामा अङ्गरक्षक बालनरसिंहले शेरबहादुर शाहलाई दुई टुक्रा पारेर काटेका थिए । तर, रणबहादुर शाह पनि मरे । यसकारण, दुई भाइको झगडा चर्काउने र हानाहानमा बालनरसिंहको कतिको हात थियो, यो एक खोजबिनको विषय हो । तर, त्यसकै छोरो जङ्गबहादुर युवराज सुरेन्द्रविक्रमको अङ्गरक्षक बने । बेलायती साम्राज्यवादीहरू यस्तो ‘हतियार’ बाट किन वञ्चित हुन्थे ?
‘वसन्ती’ का लेखक गगनसिंहबाट जङ्गबहादुरबारे भन्छन्, “… यो बहुतै ठूलो कुलघरानाको मानिस हो, यसका पुर्खा चितौड (भारत राजस्थान) का राज खानदान थिए । भारत वर्षमा हिन्दुको पतन भएपछि यिनका पूर्वज गोरखामा शरणार्थी भई आएका हुन् ।”
“पृथ्वीनारायण शाहले गोर्खाबाट काठमाडौँ आक्रमण गर्न आउँदा ल्याएका गोर्खा फौजको प्रधानसेनापति रामकृष्ण भन्ने थिए । ती प्रधान सेनानी यो जङ्गबहादुरका पुर्खा हुन् । दैवको इच्छाअनुसार यो पल्टनको जताततै विजय भयो । पृथ्वीनारायण शाह नेपालको राजगद्दीमा चढे, उनको प्रतापले सानो नेपाल ठूलो भयो, सधैँ झगडा मच्चिने नेपालमा शान्ति फैलियो । त्यसबेलादेखि रामकृष्ण कुँवर (कैवर) का सन्तानको नेपालमा जग बस्यो, अनि दरबारको निगाहा र शान्तिप्रिय जनताको विश्वास यिनीहरूमाथि दिनप्रतिदिन बढ्दै गयो । ‘बालनरसिंहले महाराज रणबहादुर शाहका हत्यारा शेरबहादुर शाहलाई थलैमा दुई टुक्रा पारी काटेर आफ्नो इमानदारी र राजभक्ति देखाएका थिए, अरू पनि यस्तै वीरताको काम गरेकाले उनको नाम सर्वत्र प्रख्यात थियो, त्यस्ता नामी भारदारका छोरा जङ्गबहादुर’ थियो । ‘यिनका बाबु बालनरसिंह कुँवर पनि काजी भएका थिए । यो जङ्गबहादुर पनि लप्टन भएर दरबारभित्र काम गर्थे ।”
“अहिले के भएर यो (जङ्गबहादुर) यसरी बिग्रेछन् ?”
“विचरा ¤ यिनका दुवै बाबु छोरा अन्यायमा परेका थिए, यिनको केही दोष थिएन । भीमसेन थापाको शिरमा खसेका राजनैतिक बज्रले यिनलाई पनि घाइते पा¥यो ।”(पाना ६२–६३)
जङ्गबहादुरको पुर्खा भारतको चितौडबाट लड्न नसकेर भागेर आएका काँतर होस् वा गोर्खाको गोठाले, हुक्के, काजी र अङ्गरक्षकको पुर्खा होस्, भीमसेन थापाको काण्डमा फसेको होस् या नहोस्, तर भीमसेन थापाको काण्डमा परेका सबैले इज्जत र सर्वस्व फिर्ता पाएका थिए । उपन्यासकारले यहाँ भीमसेन थापासँग जङ्गबहादुरलाई जोड्नुको अर्थ उसलाई पनि देशभक्त बनाउनमात्र खोजिएको हो ।
तर, उपन्यासकार अगाडि भन्दै जान्छन्, “सर्वस्व हरणको दण्डमा परेकाले उनी सर्वत्र अविश्वासको पात्र हुन पुगे । राजदरबार पनि उनलाई बन्द थियो । यही प्रतिबन्ध हटाउनको लागि गगन सिँहमार्फत महारानीकहाँ पहुँच पु¥याउन सकिएला भन्ने उनको आशा भएकोले उनी गगनसिंहलाई भेट्ने प्रयत्नमा थिए ।” यहीँनेर जङ्गबहादुरको लोफ¥याईलाई उपन्यासकारले ‘समझदार मानिस’ मा पु¥याइदियो । उपन्यासकार जङ्गबहादुरबारे अझ थप्छन्, “देश विदेश घुमेर सभ्यताको शिखरमा नाचेका जङ्गबहादुर, माथवर सिंहको भानिज भएको नाताले गर्दा जङ्गबहादुरलाई अङ्ग्रेज दूतावासले बराबर स्वागत सत्कारको निमन्त्रणा गर्दथ्यो । उनको वीरत्वको जीवन कहानीसित राजदूतका सम्पूर्ण परिवार बहुतै प्रभावित भएका थिए । उनले मत्ता हात्ती समातेको, भालु छोपेको, बाघ मारेको, त्रिशुलीको पुलबाट घोडासहित हामफालेको घटनाको रोमाञ्चकारी बयान सुनेर राजदूतकी पत्नी उत्तेजित हुन्थी । राजदूतका दुई पुत्री जङ्गबहादुरलाई छोड्नै चाहँदिन थिई । … यस किसिमसित अङ्ग्रेजी दूतावासमा घनिष्ठ सम्पर्क भएका जङ्गबहादुरलाई अरू कुरा पनि थाहा थियो । जस्तैः “लाइनस्थित दूतावासमा भूतले तर्साउँथ्यो । राजदूतले धेरै पैसा खर्च गरेर त्यहाँ अनेक जातका फूल लगाए, त्यो ठाउँ गुल्जार भयो, भूत हरायो । यो सबै कुरा जङ्गबहादुरलाई थाहा थियो । दूतावासमा मालीले त्यहाँका असल बिरुवा चोरेर यत्रतत्र बिक्री गर्छन् भन्ने कुरा पनि उनलाई ज्ञान नभएको होइन ।”
यसरी जङ्गबहादुरको बयान गर्नुमा लेखकका केही उद्देश्यहरू छन्– (क) जङ्गबहादुर एक ‘राजखानदान’ का पुर्खा नेपाल विजयमा पृथ्वीनारायण शाहका प्रधानसेनापति खानदानका, रणबहादुरका हत्यारालाई मार्ने इमानदार, राजभक्त वीर र सर्वत्र प्रख्यात भारदारका छोरा, देश–विदेश घुमेका र समझदार, राजनैतिक बज्रले घायल (भीमसेन थापाजस्तै देशभक्त) त्यसबेलाका महाशक्ति बेलायतका राजदूतका परिवारसमेत उसको व्यक्तित्वले प्रभावित र त्यसभित्रका सबै कुरा थाहा पाउने व्यक्ति भएको हुनाले राजसत्ता हटाउने हक राख्ने र योग्य व्यक्ति हुन् भन्ने देखाउनु । (ख) उनले गरेका हत्या काण्डहरू देशभक्ति र राजभक्तिपूर्ण कार्यहरू हुन् भन्ने भ्रम दिनु, किनभने त्यसको खानदान नै इमानदार, राजभक्त भएर आएका हुन् । (ग) बेलायती दूतावासको सम्बन्ध उनका खान्दानी र बहादुरीको कारण हो न कि देशद्रोही, विदेशी दलाल र विश्वासघातीको रूपमा ।
माथवर सिंहलाई सत्तामा ल्याएको हुनाले बेलायती साम्राज्यवादीहरू सा¥है रिसाए र तिनीहरूले एकातिर, कान्छी महारानीको चारित्रिक दुर्बलता दर्शाउने, सौतिने झगडा देखाउने, युवराजाधिराज सुरेन्द्रविक्रम शाहलाई अर्ध विक्षिप्तको रूपमा चित्रण गर्ने र राजालाई जोइटिङ्ग्रेको रूपमा प्रचार गर्नु ‘साधारण दैनिक कार्य’ जस्तै गर्न थाले । अर्कोतिर माथवर सिँहलाई हत्या गराउन जङ्गबहादुरलाई ठिक्क पार्दै थियो ।
विसं १९०२ जेठ २ गतेका दिन बेलायती साम्राज्यवादीहरूको इसारामा जङ्गबहादुरले आफ्नै हातले साम्राज्यवादविरोधी देशभक्त प्रधानमन्त्री माथवर सिंहलाई गोली हानी हत्या गरे ।
यस ऐतिहासिक तथ्यलाई लुकाउन र हत्याकाण्डलाई जङ्गबहादुरलाई निर्दोष, पवित्र, इमानदार र राजभक्त साबित गर्न डायमन शमशेर ‘वसन्ती’ मा नयाँ–नयाँ कथाहरू रच्छन्–
“जङ्गबहादुर माथवर सिंहका भानिज भएकाले पहिले उनैकहाँ डेरा गरी बसेका थिए । एकदिन ‘महारानीलाई अपवाद बोल्यो’ भन्ने आरोपमा देवीबहादुरलाई मृत्युदण्ड हुने भयो ।
देवीबहादुर स्वयम् माथवर सिंह र जङ्गबहादुरका पनि सम्बन्धित थिए । उनले देवीबहादुरप्रति भएको अन्यायको चर्चा गर्दै माथवर सिँहलाई भने, “यदि हाम्रै सम्बन्धप्रति अन्यायमा तपार्इँ बोल्नुहुन्न भने बखत परेको खण्डमा म स्वयम् पनि तपाईँसित के आशा गर्न सक्दछु ?”
“महारानीको इच्छाविरुद्ध म केही गर्न सक्दिनँ” – माथवर सिंहको साफ–साफ जवाफ थियो यदि महारानीको हुकुम भएमा तिमीले मलाई र मैले तिमीलाई पनि मार्नुपर्दछ ।
“जङ्गबहादुर बहुतै निराश भएर माथवर सिँहको घरबाट निस्केका थिए, त्यस दिनदेखि मामा–भानिजको आवतजावत छुट्यो, बोलचाल बन्द भयो, कुनै नाता नभएको जस्तो भयो ।”
माथिको बयानमा लेखकको मुुख्य उद्देश्य हो– माथवर सिँहलाई एक शक्तिहीन र महारानीको अन्धभक्त देखाउनु र महारानीको हुकुम भएमा एकले अर्कोलाई अर्थात् भाञ्जाले मामालाई र मामाले भाञ्जालाई मार्ने कुराको समर्थक स्वयम् माथवर सिँह नै हुन् । यसकारण माथवरसिँहको हत्याका प्रथम मानसिक प्रेरणा स्रोत आफै माथवर सिंह हो, त्यसको दोषी जङ्गबहादुर होइन । ‘वसन्ती’ मा एकरात पानी नपर्दा पनि गगन सिंह जङ्गी पोशाकको माथि वर्सादी लगाएर दरबारबाट फर्केका थिए । वसन्तीले त्यसबारे प्रश्न गर्दा गगन सिँहले जवाफमा भन्छन्, “बाटोमा प्रधानमन्त्री माथवर सिंहको मानिसले मलाई चिन्लान् भनेर बर्सादी ओढेको ।”

बालकृष्ण समको शैलीको नक्कल गर्न खोजिएको छ भने कतै शेक्सपियरको उपमाको चोरी । समको ‘प्रेम पिण्ड’ (नाटक) का नायिका ‘सविता’ र नायक ‘नकुल’ कहाँ जाँदाको दृश्यलाई नक्कल ‘वसन्ती’ बुढीसँगै गगन सिँहलाई भेट्न काठमाडौँ भागिरहेको बेला उतार्न खोजिएको छ ।’ ‘वसन्ती’ को शैलीमा न त बालकृष्णको दर्शन, गम्भीरता र तर्क छ, न त शेक्सपियरको भावुकता र प्रवाह छ । अरूको नक्कल गर्न खोज्दा झन् विपात्र हुने कुरो उपन्यासकारलाई थाहै छैन । ‘वसन्ती’ मा हिन्दी भाषाको बाजारु र फोहर उपन्यासको प्रशस्त प्रभाव छ । यसले ‘सामाजिक र राजनैतिक’ उपन्यासको नैतिक घेरालाई मिचेर श्री ३ हरूको दरबारको फोहरी र भद्दा दृश्य उपस्थित भएको छ । त्यसमा भने उपन्यासकार सफल भएको देखिन्छ, सायद त्यो आफ्नै अनुभव भएर होला । यसमा नेपाली जनजीवन छैन–छ भने त्यसलाई कुरूप पार्न मात्रै खोजिएको छ । यसकारण ‘वसन्ती’ पत्यारलाग्दो, निर्जीव, जबरजस्ती लम्ब्याइएको र निरस छ । बीचबीचमा सिलसिला बिग्रेका, भाषा सलल नबग्ने भएकोले पनि नेपाली साहित्यमा यो सा¥है भद्दा र नकारात्मक साहित्यिक पुस्तक भएको छ ।

एकचोटि गगन सिँहले जङ्गबहादुरलाई आफ्नो विश्वासमा लिएर सोधे, “तपाईँलाई महारानीबाट माथवर सिँहलाई खत्तम गर भन्ने हुकुम भयो भने त्यसबेला के प्रतिक्रिया हुन्छ ?” जङ्गबहादुर घोरिएर अमर सिँह थापाको माथिकै भनाइ र शास्त्रानुसार चल्न लगाउँछ, ‘आत्मद्रोही छन् भने बन्धुहरूका साथ पनि युद्ध गरेर आत्मरक्षण गर्नु भन्ने नीतिमा पनि लेखिएको छ, महारानीको जे हुकुम हुन्छ त्यसलाई म तुरुन्त पालन गरिहाल्छु, त्यसो गर्नु हाम्रो कर्तव्य हो ।’
उपन्यासकार भन्छन्, ‘ढ्ुङ्गा खोज्दा देवता पाएको जस्तो गगन सिँहलाई सन्तुष्टिको अनुभव भयो, तर उसले मनको हर्ष मुखले प्रस्ट गरेन, कुरा अन्तै लग्यो– “अहो ¤ तपाईँले शास्त्र पनि पढ्नुभएको रहेछ ।” जङ्गबहादुरले भने– “काशीका पण्डितहरूको सरसङ्गतमा भएको बेलामा मैले गीताको पनि केही अध्ययन गरेको थिएँ ।”
माथिको वर्णनमा उपन्यासकारको के उद्देश्य हो ? (क) माथवर सिँह र गगन सिँहको बीचमा ज्यानको दुश्मनी देखाउनु र देशभक्तहरूको बीचमा आपसी स्वार्थको हिलोछ्याप्नु । (ख) माथवर सिँहको हत्यामा दोषी गगन सिँह हो, जङ्गबहादुर होइन भन्ने सिद्ध गर्न खोज्नु । (ग) जङ्गबहादुरलाई एक नीतिशास्त्रको ज्ञाता देखाउँदै उसको हत्या नीतिशास्त्र सम्मत छ भनी देखाउनु ।
उपन्यास अगाडि बढ्छ, “एक रात जङ्गबहादुर राजखोपीमा लगिए, जहाँ गगन सिँह पहिल्यै उपस्थित थियो ।
‘जङ्गे ¤’ महारानीले ठूलो विश्वासका साथ अधिकारपूर्ण स्वरले आज्ञा गरिन्, “माथवर सिँहले मलाई ठूलो धोका दियो । मेरो छोराको त्यति काम (सुरेन्द्रलाई पदच्युत गरेर रणेन्द्रलाई युवराजधिराज घोषित गर्ने) मिलाई देला भन्ने आशाले त्यसलाई हिन्दुस्तानबाट झिकाएर प्रधानमन्त्री बनाएँ, सम्पूर्ण पाण्डे खलकको नास गरियो । अहिले माथवरे मेरो कुराको वास्तै गर्दैन । अस्ति “म बाट यस्तो नीच काम हुनसक्दैन’ भनेर त्यो उल्लुले मलाई खरो जवाफ दियो । त्यो धोखेबाज माथवरे अचेल पूरा सुरेन्द्रको पक्षपाती भएको छ । लौ, त्यो बदमासलाई मारेर हाम्रो नुनको सोझो गर ।”…
“त्यो उल्लु (माथवर सिँह) लाई राम्रो काम गर्ला भनेर प्रधानमन्त्री दिएँ, त्यो उल्लु झन मेरो खेदो गर्दछ । मलाई राजपाट छोडेर काशीवास जान भन्छ । मैले के बिराएको छु ?”
“महारानीको शूल भएकोले आराम भएन, तुरुन्त आउनू” भन्ने राति बोलावट गएको रहेछ, उहाँ कुनै अनिष्टको आशङ्का नगरी आइपुग्नुभयो…।”
उपन्यासकी नायिका वसन्तीसँग उपन्यासकार सोध्न लगाउँछ, “हाम्रो काजी कहाँ हुनुहुन्थ्यो त्यतिबेला ?”
यहाँ काजीको मतलब गगन सिँह हो । जङ्गबहादुर घटनाको बयान गर्दै छ–
“उहाँ र म कालो पर्दाको आडमा लुकेर बसेका थियौँ, भरेका बन्दुक महारानीले मलाई बक्सियो । मामा कोठाभित्र पस्नु हुनेबित्तिकै दुई गोली खाएर लडिहाल्नु भयो ।”
“माथवर सिँहले सुरेन्द्रलाई उकासेर बाबु–छोराको झगडा लगाएको थियो भन्ने झूटा आरोप लगाएर महारानीले लोग्नेलाई माथवर सिँहको विरुद्ध आगो पारेको रहिछन्, जसले गर्दा सोझा नरेश रिसले चूर भएर माथवर सिँहको शवको मुखमा लात हानेर दा¥हा किटेका थिए, नाडी निमोठेर धुमधामसँग गाली गरेका थिए ।”
माथिका बयानबाट ‘वसन्ती’ का उपन्यासकारले के देखाउन चाहेको हो ? प्रस्ट छ । (क) गगन सिँह एक षड्यन्त्रकारी र माथवर सिँहको हत्या गराउने मुख्य व्यक्ति सावित गर्न खोज्छ । (ख) माथवर सिँह राजद्रोही हो भन्ने देखाउन खोज्नु र (ग) अन्तमा षड्यन्त्र र हत्याको स्रोत राजदरबार र महारानी हुन्, बेलायती राजदूतावास र जङ्गबहादुर होइन भन्ने सफाइ दिन चाहन्छ ।
इतिहासकारहरू भन्छन् कि त्यो नाटकीय घटना बेलायती इतिहासकारहरूले दरबारलाई कलङ्कित पार्न र आफ्नो स्वार्थी उद्देश्य पूरा गर्नमात्रै लेखेका हुन्, वास्तवमा कुरा त्यो थिएन ।
‘नेपालको ऐतिहासिक विवेचना’ भन्छ, ‘माथवर सिँह थापाको हत्यापछि जङ्गबहादुर नै प्रधानमन्त्री होलान् भन्ने विश्वास कम्पनी सरकार र जङ्गबहादुर दुवैलाई थियो । तर, चौतरिया फत्तेजङ्ग मन्त्री परिषद्का प्रधानमन्त्री नियुक्त भए । जङ्गबहादुर मन्त्रिपरिषद्का सदस्यमात्र हुन गए । माथवर सिँह थापाको हत्याले राजेन्द्रविक्रम शाहको आशामाथि पानी फेरिदिएको थियो । चौतरिया फत्तेजङ्गमा कूटनीति तथा कट्टरपनाको अभाव भएकोले… राज्यको प्रशासन व्यवस्था र परराष्ट्र नीतिमाथि गगन सिँहको अधिकार कायम भयो ।”
गगन सिँह कस्ता विचारक थिए ? ‘नेपालको ऐतिहासिक विवेचना’ भन्छ, ‘गगन सिँह पनि एक सहिद भीमसेन थापा, स्वर्गीय माथवर सिँह थापाको समान अङ्ग्रेजहरूका विरोधी थिए । यस तथ्यलाई कम्पनी सरकारका अधिकारी वर्गले राम्ररी बुझेका थिए । फलतः आफ्नो बाटो साफ गर्न यिनलाई पनि खतम गर्नु परमावश्यक थियो । अतः नेपालस्थित ब्रिटिस रेजिमन्ट र जङ्गबहादुरले आपसमा षड्यन्त्र गरी माथवर सिँह थापाको समान यिनलाई पनि मार्ने निश्चय गरे । अन्तमा, विसं १९०३ को आश्विन ३ गतेको रात पूजाकोठामा पूजा गरिरहेको बेलामा गगन सिँह लाल झाको गोलीबाट मृत्यु भए ।’ यसबाट थाहा हुन्छ कि गगन सिँह देशभक्त थिए र जङ्गबहादुर बेलायती साम्राज्यवादीहरूका दलाल । तर ‘वसन्ती’ का उपन्यासकार त्यस तथ्यलाई उल्टाउन कस्तो धृष्टता गर्छन् त हेरौँ–
१) उपन्यासको सुरुमै भारतमा बसिरहेका फत्तेजङ्ग शाह चौतरियाको चाकरी गर्ने, डम्बर बहादुरको स्वास्नी मिट्ठुसँग लहसिने एक गुण्डा र अनैतिक व्यक्तिको रूपमा गगन सिँहलाई प्रस्तुत गर्छ ।
२) दरबारको धाकले मिट्ठुलाई अविवाहिता भनेर कबुल गर्न लगायो । दरबारमा लाने षड्यन्त्र गरी डम्बर बहादुरको स्वास्नीसँग आफ्नो अवैध सम्बन्ध राखिरहने दाउ–पेची मानिसको रूपमा गगन सिँहलाई प्रस्तुत गरियो ।
३) “मलाई गाली गर्न कसको ताकत ? आफूलाई तोकेको मालिकलाई रिझाइ हालेको छु, फेरि कसको डर ?” ‘म कान्छी महारानीपट्टि खटिएको छु । …मलाई आफ्नै महारानीबाट धेरै निगाहा गरिबक्सिन्छ …तर अचेल जेठी महारानीको हातमा हुकुम बागडोर परेपछि हामी कान्छी महारानीका नोकर खोटो मोहरजस्तै भएका छौँ …हाल महाराज केटाकेटी होइबक्सिन्थ्यो, मौसूफ सरकारको नाममा भीमसेन थापाले हुकुम चलाउँथ्यो, हामीलाई सुख थियो … उसले पोहर आत्महत्या ग¥यो । …ऊ सेरिएर म¥यो । …श्री ५ राजेन्द्रकी कान्छी महारानी भीमसेन थापाको पक्षपाती थिइन् …।’ जेठी महारानीले सम्पूर्ण थापा खलकको सर्वनाश पार्न षड्यन्त्र गरिन् भनेर दरबारको गृह कलहले भीमसेन थापाको मृत्यु भएको हो भनेर गगन सिँहकै मुखबाट भन्न लगाउँछ, भीमसेन थापाको हत्यामा बेलायती साम्राज्यवादीहरू होइन, राजदरबार दोषी बनाउन लगाउँछ ।
४) भीमसेन थापामाथि गगन सिँहको मुखबाट अङ्ग्रेजीको सबभन्दा ठूलो तक्मा अडर अफ दि–गार्टर अङ्ग्रेजलाई एसियाबाट धपाउन खोज्ने अङ्ग्रेजको शत्रुलाई किन त्यत्रो ठूलो इज्जत गरेको भन्ने प्रश्न भन्न लगाउँछ– “उसले आफै लगाएको त्यो तक्मा ।… रसिया देशको एउटा जार बादशाह–तन दि टेरिवल अफ रसिया भन्ने नाम गरेकोले त्यो तक्मा आफूखुसी लगाएको थियो रे, भीमसेन थापाले उसकै नक्कल गरेको ।” यसरी उपन्यासकारले गगन सिँहमार्फत भीमसेन थापालाई निन्दा गर्न लगाउने षड्यन्त्र गर्छ वा गगन सिँहलाई भीमसेन थापाप्रतिको श्रद्धामा च्याखा हाल्छ ।
५) गगन सिँहको बैठकको बयान गर्छ, “भुईँमा बिछ्याइएका गलैँचा पनि कम मूल्यका थिएनन् । त्यो बेलायती गलैँचामा बहुतै उज्यालो र प्रकृतिले बुनेका जस्ता बुट्टामा सिँह र बाघ लेखिएका थिए । त्यो अत्यन्त राम्रो कालिगढीमाथि मानिसलाई झट्ट टेक्न सङ्कोच लाग्दथ्यो ।” बेलायती साम्राज्यवादको विरोध गर्ने गगन सिँहले गलैँचासमेत थुप्रै मूल्य जाने बेलायतकै किन उपभोग गर्छन् त भन्ने प्रश्न खडा गरिदिन्छ । यसमा उपन्यासकारले भन्न चाहेको छ (क) गगन सिँह देशभक्त होइनन्, बेलायत समर्थन नै हो अथवा (ख) उनले बेलायती साम्राज्यवादीहरूबाट कोसेली पाएका छन् अथवा घूस लिन्छन् । (ग) आफ्नो प्रेमिकालाई खुसी पार्न अनेक मूल्यवान अत्तर र सामानले ‘भड्किलो’ र ‘ऐयासी’ ढङ्गको सोख राख्ने भनी गगन सिँहलाई एक अराजनैतिक व्यक्ति सावित गर्न खोज्छन् ।
६) वसन्तीको बारे डम्बर बहादुरले उजुरी गर्दा दरबारको बयानले गगन सिँह महारानीको अगाडि थरथर काँप्ने कातर, गगन सिँह वसन्तीबारे बोल्न नसक्ने नादान, गगन सिँह फेरि अरू कुनै ठूला–बडा (महारानी) सँग प्रेममा फसेको र हुतिहारा देखाउँछ । यसको ठीक उल्टो जङ्गबहादुर नदब्ने, स्पष्ट वक्ता, समय हेरेर बुद्धि निकाल्न सक्ने, हाजिर जवाफी र सबैभन्दा इमानदार मानिस देखाउँछ ।
७) एउटी अवैध स्वास्नी वसन्तीको निम्ति, त्यो पनि जङ्गबहादुरको समेत कबुल गराउन तयार हुने, त्यसको निम्ति राज्यको प्रशासन र परराष्ट्र नीतिको त्यत्रो ठूलो जिम्मेवारीसमेत त्याग्न खोज्ने, वसन्तीको मायाले पोलेर ‘महारानीलाई औँसी–पूर्णिमा’ लाग्ने, ‘युवराज बिलकुल तरङ्गी’ र ‘बाबु–छोरा–आमा कसैको दरबारमा मिल्ती छैन’ भन्ने र राजारानी र दरबारकै निन्दामात्रै गर्ने होइन, त्यस ‘नाजुक परिस्थिति’ बाट फाइदा उठाउन खोज्ने, विद्रोहसमेत गरेर सत्ता हत्याउन खोज्ने महत्वाकाङ्क्षी र राजद्रोही, असफल हुने देख्नासाथै आत्महत्या गर्नसमेत तम्सिने, आफ्नो देशलाई ‘विवके नभएको’ भनेर तल खसाल्ने र वसन्तीको निम्ति देश छोडेर मुग्लान भासिन तयार हुने भनेर गगन सिँहलाई सा¥है पतित राजद्रोही र देशद्रोहीको रूपमा उभ्याइदिएको छ । यसको ठीक उल्टो जङ्गबहादुरलाई नैतिकवान, राजभक्त र देशभक्तको रूपमा देखाइयो ।
८) तल ‘च्यामेनी’ को रूपमा वसन्तीलाई उपस्थित गराउनु र माथि गगन सिँहको हत्या गराउनु, जङ्गबहादुरलाई बैठकमा राखेर उपन्यासकारले गगन सिँहलाई गिल्ला गर्नु र जङ्गबहादुरलाई निर्दोष देखाउन चाहेको थियो । तर कहिलेकाहीँ चोरको खुट्टा काट् भन्दा चोरले खुट्टा उचाल्नुजस्तै हुनेछ ।
९) त्यस्ता गगन सिँहको हत्या भएकोमा देशले कुनै पिर लिनु पर्दैन र जङ्गबहादुर त्यसको हत्यारा होइन भनेर देखाउनलाई नै उपन्यासकार डायमन शमशेर राणाले यत्रो जाल रचेका छन् ।
डायमन शमशेर यतिविधि गगन सिँहसँग रिसाउनुको कारण के थियो ?
‘नेपालको ऐतिहासिक विवेचना’ भन्छ, “गगन सिँहको मृत्युपछि पनि जङ्गबहादुरको हातमा प्रशासन व्यवस्थासम्बन्धी अधिकार पर्न सकेन । यसले गर्दा दुवै (अङ्ग्रेज र जङ्गबहादुर) आफ्नो स्वार्थसिद्धिका लागि अत्यन्त हतारिए ।” विसं १९०३ सालको आश्विन २ गते राति कोतमा ठूलो षड्यन्त्र रचिएको थियो । राजा राजेन्द्रविक्रम शाहलाई शङ्का लाग्नासाथै उनी त्यहाँबाट हिँडेर सोझै ब्रिटिस दूतावास पुगे “…त्यहाँबाट उनी प्रधानमन्त्री फत्तेजङ्गको घरमा लुक्न पुगे ।” जनरल अभिमान सिँह उम्कन खोज्दा षड्यन्त्र विफल हुने देखेर जङ्गबहादुरले त्यहीँ उनको हत्या गर्न लगायो । प्राण जानुभन्दा पूर्व नै उनले कराएर भने, “गगन सिँहको हत्यारा यही जङ्गे हो ।” त्यो आवाजले कोतमा उपस्थित सबै भातरदारहरूमा खलबली मच्चियो । तत्काल जङ्गबहादुरले ती सबैलाई हत्या गर्न दियो । तर, यो कुरो अब संसारलाई विदित भयो कि जङ्गबहादुर बेलायती साम्राज्यवादीहरूको दलाल हो र त्यो देशघातक गद्दार हो ।
गगन सिँहकै कारण बेलायती साम्राज्यवादीहरूले नेपाललाई उपनिवेश बनाउने योजना सजिलैसित सफल हुन नसकेको थियो र उनको हत्या गरियो । उनकै हत्याको कारणले गर्दा बेलायती साम्राज्यवादीहरू र जङ्गबहादुरको भण्डाफोर हुन गएको थियो । त्यो कलङ्क १०० वर्षपछि सम्म पनि राणा परिवारको पछि लागेको थियो । आफ्नो परिवारको स्वार्थको निम्ति देश र जनतालाई साम्राज्यवादीहरूको हातमा बेच्ने परिवारका केही व्यक्तिहरू, १०४ वर्षसम्म देश र जनतालाई चुसेर आफ्नो ढुकुटी भर्ने राणा खलकका डायमन शमशेरले आफ्नो तमाम बुद्धि र सीप लगाएर बेलायती साम्राज्यवादविरोधी देशभक्त गगन सिँहलाई कालो लगाउने र हिलोछ्याप्ने दुस्प्रयास किन नगर्नु ? तर, आजका जनता हिजोभन्दा अगाडि बढिसकेका छन् । यो जालझेल र बेइमानी चल्न सक्दैन ।
जङ्गबहादुरजस्ता बेलायती साम्राज्यवादको दलाल र देशघातकलाई उपन्यासकारले देशभक्तको रूपमा देखाउन खोजेका छन् । जङ्गबहादुर र डम्बर वसन्तवाग हिँड्दाको बम्बईको छलफलमा जङ्गबहादुरलाई बालकृष्ण समको ‘मुकुन्द–इन्दिरा’ मा कलकत्तामा पुग्दाको भवदेव बनाएको छ । १०४ वर्षसम्म देशलाई आधुनिक युग र विकासबाट टाढा राख्नमा मुख्य जिम्मेवार जङ्गबहादुरलाई त्यस अपराधबाट मुक्त गर्न उपन्यासले उसलाई एक अध्यात्मवादी बनाउन खोजेको छ । तर, अध्यात्मवादी जलप लगाउँदैमा जङ्गबहादुरको प्रतिक्रियावादी, रुढीवादी र कुकृत्य लुक्न सक्दैनथ्यो । त्यो त मुर्दा मान्छेलाई नयाँ लुगा लगाएर जिउँदो बनाउने मुर्खता हो । उपन्यास वा अरू किताबहरू लेखेर जङ्गबहादुरको देशद्रोही र साम्राज्यवादी दलालीलाई जनमानसबाट बिर्सन लगाउन खोज्नु र गुहुलाई चलाएर दुर्गन्धलाई हटाउने मूर्खता जस्तै हो ।
शैलीको हिसाबले पनि डायमन शमशेरको ‘वसन्ती’ सा¥है तल्लो दर्जाको छ । कतै–कतै बालकृष्ण समको शैलीको नक्कल गर्न खोजिएको छ भने कतै शेक्सपियरको उपमाको चोरी । समको ‘प्रेम पिण्ड’ (नाटक) का नायिका ‘सविता’ र नायक ‘नकुल’ कहाँ जाँदाको दृश्यलाई नक्कल ‘वसन्ती’ बुढीसँगै गगन सिँहलाई भेट्न काठमाडौँ भागिरहेको बेला उतार्न खोजिएको छ ।’ ‘वसन्ती’ को शैलीमा न त बालकृष्णको दर्शन, गम्भीरता र तर्क छ, न त शेक्सपियरको भावुकता र प्रवाह छ । अरूको नक्कल गर्न खोज्दा झन् विपात्र हुने कुरो उपन्यासकारलाई थाहै छैन । ‘वसन्ती’ मा हिन्दी भाषाको बाजारु र फोहर उपन्यासको प्रशस्त प्रभाव छ । यसले ‘सामाजिक र राजनैतिक’ उपन्यासको नैतिक घेरालाई मिचेर श्री ३ हरूको दरबारको फोहरी र भद्दा दृश्य उपस्थित भएको छ । त्यसमा भने उपन्यासकार सफल भएको देखिन्छ, सायद त्यो आफ्नै अनुभव भएर होला । यसमा नेपाली जनजीवन छैन–छ भने त्यसलाई कुरूप पार्न मात्रै खोजिएको छ । यसकारण ‘वसन्ती’ पत्यारलाग्दो, निर्जीव, जबरजस्ती लम्ब्याइएको र निरस छ । बीचबीचमा सिलसिला बिग्रेका, भाषा सलल नबग्ने भएकोले पनि नेपाली साहित्यमा यो सा¥है भद्दा र नकारात्मक साहित्यिक पुस्तक भएको छ ।
–समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *