भर्खरै :

परिषद्को सन्देश कार्यक्रम सम्पन्न

भक्तपुर, १९ फागुन । नेपाल मजदुर किसान पार्टी भक्तपुर नपा– ४ बोलाछेँ समितिको आयोजनामा मङ्गलबार देशको वर्तमान राजनैतिक अवस्था र नेमकिपाको ३१ औँ केन्द्रीय परिषद्बारे प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले ५० वर्षमा ८० करोड चिनियाँ जनतालाई गरिबीको रेखामुनिबाट माथि उठाएर छिमेकी देश चीनले गरिबी उन्मूलनमा पाएको सफलता विश्वका लागि उदाहरणीय रहेको बताउनुभयो । चिनियाँ मालसामान सस्तोमा पाएको हुनाले नेपाली जनतालाई जीवनयापनका लागि सहज भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सत्ताकेन्द्रित राजनीति गरेको कारण बहुमत पाएको नेकपाको सरकारले देश र जनताको निम्ति ठोस काम गरेर देखाउन नसकेको हो, ।”
सचिव सुवालले पुरानो राज्यसत्ता ध्वस्त नपारी नयाँ राज्यसत्ता कायम गर्न नसकिने विचार व्यक्त गर्नुभयो । उहाँले अगाडि भन्नुभयो, “संविधान जनताको हितमा नहुञ्जेल जलाउने र च्यात्ने काम भइरहन्छ । सेना पुँजीपति वर्गको स्वार्थमा प्रयोग हुनु हुँदैन, क्रान्तिको लागि जनताको सेना आवश्यक छ ।”
नेमकिपा भनसका सदस्य उपेन्द्र सुवालले पार्टीको केन्द्रीय परिषद्बाट पारित राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे बताउँदै शासक दलहरू विदेशीहरूको दलाल सावित भएको स्पष्ट पार्नुभयो ।
भनपा कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले नपा गतिविधिबारे प्रकाश पार्दै वडावासीहरूले समय – समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।
कृष्णगोविन्द दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा एच.एस.सुवाल, विश्वराम त्वायनालगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *