भर्खरै :

पश्चिमा देशहरूको नाकाबन्दी रुसलाई अस्वीकार्य

मस्को, ३ मार्च । रूसका विपक्षी दलका नेता अलेक्साई नाभाल्नीको विषयलाई लिएर रूसमाथि पश्चिमा देशहरूको नाकाबन्दी ‘पूर्णतः अस्वीकार्य हुने’ बुधबार क्रेमलिनले बताएको छ ।
“यी कदम पूर्णतः अस्वीकार्य हुने हामी विश्वास गर्छौंँ किनभने यसले त्यसै त खराब भइसकेको सम्बन्धलाई अझ खराब बनाउनेछ”, क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भने ।
रूसी विदेश मन्त्रालयले संरा अमेरिकी सरकारलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिँदै कुनै पनि बहानामा संरा अमेरिकी नाकाबन्दीलाई ‘नृशंस रूसविरोधी हमला’ मानिने भनिएको छ ।
“आफै अनेकन आन्तरिक जञ्जालमा फसेको संरा अमेरिकी सरकारले अझै बाह्य शत्रुको छायाको हल्ला पिट्न खोज्दै छ । हामीले यो अमेरिकी नीतिबारे पटक–पटक टिप्पणी गरिसकेका छौँ । यो नीति तर्कसङ्गत छैन । त्यसको कुनै तुक छैन । यसले दुई देशबीचको नीतिलाई अझ खराब मात्र बनाउनेछ”, मन्त्रालयले भनेको छ ।
रूसका विपक्षी दलका नेता अलेक्साई नाभाल्नीको मुद्दालाई लिएर संरा अमेरिका र युरोपेली सङ्घले मङ्गलबार रूसका विभिन्न व्यक्ति र संस्थाविरूद्ध नाकाबन्दी र निषेध घोषणा गरेको थियो ।
रूसका सात जना अधिकारी र पन्ध्र वटा संस्थाहरू संरा अमेरिकी नाकाबन्दीको क्रमावलीमा पारिएको छ । रूसी विदेशमन्त्री सर्गेई लाभ्रोभले यसअघि संरा अमेरिकाको कुनै पनि नयाँ नाकाबन्दीको मस्कोले प्रतिकार गर्ने चेतावनी दिएका थिए ।
युरोपेली सङ्घले रूसी अधिकारीहरू न्यायाधिवक्ता जनरल इगोर क्रास्नोभ, राष्ट्रिय रक्षक दलका प्रमुख भिक्टोर जोलोतोभ, रूसी अनुसन्धान समितिका अध्यक्ष अलेक्सान्द्र बिस्ट्रिकिन र सङ्घीय कारागार कार्यालयका अलेक्सान्द्र कालाशिनिकोभका युरोपमा रहेका सबै सम्पत्तिमाथि फ्रिज र निषेध गर्ने निर्णय गरेको हो ।
युरोपेली सङ्घका मन्त्रीहरूको निर्णयअनुसार ती रूसी अधिकारीलाई कुनै पनि रकम उपलब्ध नगराउन सूचना जारी गरेको छ ।
रूसी विदेश मन्त्रालयले भने प्रत्युत्तरको सिद्धान्तअनुसार रूसले ती कदमहरूको प्रत्युत्तर दिने र आफ्नो राष्ट्रिय हितको रक्षा गर्ने बताएको छ ।
रूसले संरा अमेरिकालाई रसायनिक हातहतियार ध्वस्त गर्ने आफ्नो जिम्मेवारी पूरा गर्न चेतावनी दिएको छ । रूसले वचनअनुसार सन् २०१७ मै रसायनिक हातहतियार ध्वस्त बनाइसकेको छ ।
“हातहतियार नियन्त्रण र निःशस्त्रीकरणको विषयमा भएका अन्तर्राष्ट्रिय सन्धि र सहमतिको संरा अमेरिका आफै उल्लङ्घनकर्ता भएको हुनाले उसलाई त्यो विषयमा बखान गर्ने कुनै नैतिक अधिकार छैन”, रूसले भनेको छ ।
चीनले पनि रूसमाथि पश्चिमा देशहरूको नाकाबन्दी र निषेधको विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नेभाल्नीको मुद्दा रूसको आन्तरिक मामिला भएको बताएका छन् ।
“सार्वभौम राज्यको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुनै पनि बाह्य शक्तिलाई अधिकार छैन”, चीनका अधिकारीले भने ।
“चीन सम्बद्ध देशहरूबीच आपसी समझदारी बलियो हुने र आपसी सरसल्लाह र संवादमार्फत् मतभेद सुल्झाउने आशा गर्दछ । एकपक्षीय नाकाबन्दी वा अन्तर्राष्ट्रिय सम्बन्धमा नाकाबन्दीको धम्की विकल्प हुन सक्दैन”, वाङले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *