भर्खरै :

खोपलाई शतप्रतिशत सुरक्षाको साधनको रूपमा लिनु सही छ र ?

विश्वमा कोरोनाको सङ्क्रमणको लहर टुङ्गिएको छैन, दक्षिण एसिया र नेपालमा पनि यही अवस्था छ । खुसीको कुरा विभिन्न देशका धेरै वटा अनुसन्धान प्रतिष्ठानहरूले कोरोनाविरुद्धको खोप तयार गरिसकेका छन् र ती खोप विभिन्न देशमा वितरण भई खोप लगाउने क्रम पनि चालू छ । जनसङ्ख्याको बहुसङ्ख्यकले खोप लगाएपछि हर्ड इम्युनिटी विकास भई महामारी हराउने विश्वास विज्ञहरूले व्यक्त गरिरहेका छन् । कोरोनाविरुद्धको खोप चाहे त्यो कुनै पनि कम्पनीले तयार गरेको किन नहोस् खोप लगाएको दुई हप्तादेखि तीन हप्तामा मात्र खोपले एन्टी बडी तयार गर्ने कुरा पनि बाहिर आएकै हो । तर, केही मानिसहरू खोप लगाउनासाथै अब यसको आवश्यकता छैन भनी मास्क फुकालेर फ्याक्ने र नलगाउने, सामाजिक दुरी पालन नगर्ने, ठूलो ठूलो भीड हुने गरी जुलुस गर्ने, बिहे व्रतबन्धको भोज खुवाउने कार्य विनाअवरोध चलिरहेको छ । के यसलाई स्वास्थ्य चेतना मान्न सकिएला ? संरा अमेरिका, दक्षिण अमेरिकी देशहरूमा कोरोना सङ्क्रमणबाट आज पनि प्रतिदिन दर्जनौँ मानिसको ज्यान गइरहेको समाचार आइरहेकै छन् । हाम्रै छिमेकी देश भारतमा दैनिक दस हजारभन्दा बढी सङ्क्रमित भइरहेका र करीब सय जनाको ज्यान गइरहेको छ । के हामी यस खतरालाई देखे नदेखेझैँ गर्नसक्छौँ ? के हामीले यस्तो असावधानीको मूल्य चुकाउन नपर्ला ? खोप लगाएपछि भाइरस सङ्क्रमण कम हुने सत्य हो तर के खोपलाई शतप्रतिशत सुरक्षाको साधनको रूपमा लिनु सही छ र ? फेरि खोप लगाएका मानिसको प्रतिशत कति पुगेको छ, र कति प्रतिशतले लगाउन बाँकी छ विचारणीय छैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *