भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – ९

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
सन् १९५३ को फेब्रुअरीमा स्तालिन ‘स्वान लेक’ गीति नाटक हेर्न बोल्शोई थिएटरमा जानुभयो । उहाँ आफ्ना अङ्गरक्षक किरिलोभसँग त्यहाँ जानुभएको थियो । प्रेक्षालयभित्र पाहुनाको लागि बनाइएको विशेष कक्षमा उहाँ एक्लै हुनुहुन्थ्यो । गीति नाटकको अन्तिम पर्दा नखस्दासम्म उहाँले विशेष कक्षमा एक्लै बसेर मज्जा लिनुभयो । नाटक समापन भए पछि उहाँले गीति नाटकका निर्देशकलाई आभार व्यक्त गर्नुभयो र सबै कलाकारहरूलाई त्यो साँझको विशेष प्रस्तुतिको लागि बधाई सुनाइदिन आग्रह गर्नुभयो ।
फेब्रुअरी २९ को साँझ दिनभरको व्यस्ततापछि स्तालिन र उहाँका ‘सहकर्मीहरू’ ले क्रेमलिनमा एउटा चलचित्र हेर्नुभयो । चलचित्र हेरेपछि उहाँ ‘डाचा’ मा फर्किनुभयो । उहाँसँगै बेरिया, मलेन्कोभ, ख्रुश्चेभ र बुल्गानिन पनि डाचा गए । अरू पार्टीका केन्द्रीय सदस्यहरू भने घरतिर लागे । डाचाभित्र टेबुलमा केही फलफुल राखिएको थियो । छलफलको क्रममा सबैलाई अङ्गुरको रस खुवाइयो । स्तालिनले आफूलाई मनपर्ने चिया बनाउनुभयो । सबैले उहाँले बनाउनुभएको चिया पिउनुभयो । उहाँहरूबीच मार्च १ को बिहान ४ बजेसम्म लगातार छलफल चल्यो । बैठक सकेपछि क्रुस्टालिओभले पाहुनालाई ढोकासम्म गएर बिदा गरे । सबै गएपछि स्तालिनले उनलाई भन्नुभयो, “म अब केही बेर सुत्छु । तपाईं पनि गएर सुत्नुहोस् ।”
स्तालिनले यसअघि कहिल्यै त्यस्तो निर्देशन दिनुभएको थिएन । उहाँको त्यो अस्वाभाविक निर्देशन सुनेर क्रुस्टालिओभ केही बेर हच्के । स्तालिन पहिलेजस्तै ठिकठाक देखिनुहुन्थ्यो । उहाँ आफ्नो पूर्ण क्षमताका साथ काम गरिरहनुभएको थियो ।
बिहान हामी सबैजना अरू बेलाजस्तै काममा लाग्यौँ । मध्याह्नसम्म पनि स्तालिनको कोठा र कार्यकक्षमा केही हलचल नदेखिएपछि हामी आत्तियौँ । त्यहाँ जे भइरहेको थियो, अन्य दिनको तुलनामा अनौठो भइरहेको थियो । तर, कसैले पनि हामीलाई स्तालिनको कोठामा जान निर्देशन दिएको थिएन । हाम्रा कमान्डरले पनि केही भनिरहेका थिएनन् । तर, सबैजना केही असजिलो भने अनुभव गरिरहेका थिए । साँझ त्यस्तै ७ बजेतिर मात्र हामीले स्तालिनको सुत्ने कोठा र कार्यकक्षमा बत्ती बलेको देख्यौँ । म सँगै सबैजनाले त्यो दृश्य देखेपछि सन्तोषको श्वास फे¥यौँ । स्तालिन सकुशल हुनुभएको कुराले हामीलाई हलुका बनाएको थियो । स्तालिनले हरेक साँझ गर्नुहुने काम, जस्तै–प्राप्त सूचनाबारे जाँचबुझ गर्ने, सामान ल्याउने र पठाउनेलगायत अन्य सरकारी काम गर्न उहाँले बोलाउनुहोला भनी म अरू दिनझैँ कुरेर बसिरहेँ । तर, स्तालिनको कार्यकक्षमा जान हामीलाई कुनै निर्देशन प्राप्त भएन । हामी फेरि आत्तिन थाल्यौँ किनभने जे भइरहेको थियो, ज्यादै अस्वाभाविक भइरहेको थियो । सप्ताहन्तको दिन पनि स्तालिन आफ्नो निर्धारित कार्यतालिकाअनुसार नै काम गर्नुहुन्थ्यो । तर, त्यो दिन मलाई सबै कुरा गलत र केही असामान्य अनुभव भइरहेको थियो । त्यसकारण म निकै आत्तिएँ । तथापि, माथिल्ला अधिकारीबाट आदेश नआई हामी स्तालिनको कार्यकक्षमा जान सक्दैनथ्यौँ ।
रातको १०ः३० बजिसकेको थियो । हामीले स्तालिनलाई अघिल्लो दिनको बिहान ४ बजे अन्तिम पटक देखेका थियौँ । अठार घण्टा बितिसकेको थियो । हाम्रा मुख्य कमान्डर लोज्गाचेभले सहकर्मी स्टारोस्टिनलाई स्तालिनको कार्यकक्षमा हेर्न पठाए । स्टारोस्टिन आफू दोस्रो वरियताक्रमको अधिकारी भएकोले जान अस्वीकार गरे ¤ स्तालिनको कार्यकक्षमा को जाने भन्ने विषयमा अलमल भइरहेको बेलामा पार्टी केन्द्रीय समितिको चिट्ठी त्यहाँ आइपुग्यो । स्तालिनको कार्यकक्षमा कहिल्यै ताला लाग्ने वा बन्द हुने गर्दैनथ्यो । तथापि पार्टी केन्द्रीय समितिको चिट्ठी आए पछि हामीलाई त्यही चिट्ठी लिएर कार्यकक्षमा पस्ने बहाना मिल्यो ।
दरिलो मन लिएर लोज्गाचेभ स्तालिनको कार्यकक्षमा सोभियत कम्युनिस्ट पार्टी केन्द्रीय समितिको पत्र बोकेर भित्र पसे । सुरूमा उनी स्तालिन चमेनागृहमा हुनसक्ने भन्दै त्यत्तातिर गए । त्यहाँ उहाँ नभेटिएपछि उनी कार्यालयतिर हानिए । तर, कार्यकक्ष पनि खाली थियो । कार्यकक्ष नजिकको एउटा सानो कक्षबाट प्रकाश बाहिर चुहिरहेको थियो । उनले कोठाभित्र नियाले र बाटोमै टक्क रोकिए ।
स्तालिन त्यहाँ एउटा कुर्सीमा बसिरहनुभएको थियो । उहाँ चिउँडोमा हात राखेर असजिलो पाराले बस्नुभएको थियो । उहाँको आडमै गोजी घडी र ‘प्राभ्दा’ पत्रिका थियो । टेबुलमा केही पानीका बोटेलहरू थिए र एउटा खाली गिलास पनि थियो । बोटेलको बिर्को भने खोलिएको थियो । स्तालिनले अझै श्वास फेरिरहेको जस्तो देखिन्थ्यो । किनभने, उहाँले आफ्ना हात उठाउन खोजिरहनुभएको थियो । तर, बोल्न भने सकिरहनुभएको थिएन । यो सब देखेपछि लोज्गाचेभ चिट्ठी टेबुलमा फालेर चिच्याउँदै दौडिनुभयो, “कमरेड स्तालिन ¤ तपाईँलाई के भयो ?”
जवाफमा उनले स्तालिनको ओठबाट ‘अँ…अँ…’ मात्र सुने ।
आन्तरिक टेलिफोनमार्फत लोज्गाचेभले स्टारोस्टिन, टेकोभ र डाचामा घरेलु काम गर्ने बुटुजोभालाई खबर गरे । लोज्गाचेभले स्तालिनलाई सोधे, “कमरेड स्तालिन, हामी तपार्इँलाई कुर्सीमा सजिलो गरी राख्न सक्छौँ ?”
स्तालिनले निकै शिथिल पाराले टाउको हल्लाउनुभयो । उनीहरू सबै मिलेर स्तालिनलाई उठाएर कुर्सीमा सजिलो गरी बसाए । कुर्सी निकै सानो थियो । उनीहरूले फेरि उहाँलाई उठाए र अर्को कोठामा लगेर अलि ठूलो कुर्सीमा बसाए । अर्को कोठामा लाने क्रममा सबैले स्तालिनको शरीर लल्याकलुलुक भएको अनुभव गरे । उहाँ पक्कै पनि धेरै घण्टादेखि त्यही अवस्थामा रहनुभएको हुनुपर्छ । बुटुजोभले उहाँले लगाउनुभएको लुगाको टाक फुकालिदिए । अनि उहाँलाई सिरक ओढाइदिए । लोज्गाचेभ चिकित्सकको प्रतीक्षामा स्तालिनको नजिकै बसिरहे ।
स्टारोस्टिनले तत्काल आफ्ना हाकिम इग्नाटेएभलाई टेलिफोन गरेर जानकारी दिए । सोभियत सङ्घको गुप्तचर विभाग केजीबीका प्रमुख इग्नाटेएभले उनले दिएको खबरलाई बेवास्ता गर्दै बेरियालाई फोन गर्न भने । प्रायशः अङ्गरक्षकहरू बेरियालाई घृणा गर्थे । त्यसकारण कोही पनि उनलाई फोन गर्न चाहँदैनथे । स्टारोस्टिनले त्यसपछि मलेन्कोभलाई फोन गरे । अपेक्षा गरिएजस्तै मलेन्कोभले पनि अन्टसन्टका कुरा गरेर टारे र त्यो अवस्थालाई गम्भीर रूपमा लिएनन् । आधा घण्टापछि मलेन्कोभले स्टारोस्टिनलाई फोन गरेर बेरियालाई भेटाउन नसकेको जानकारी दिए । उल्टै उनले स्टारोस्टिनलाई बेरियालाई खोज्न सल्लाह दिए । केही समयपछि बेरिया घटनास्थलमा आइपुगे र निर्देशन दिए, “स्तालिनलाई सञ्चो नभएको विषयमा अब कसैसँग पनि फोन नगर्न म निर्देशन दिन्छु ।”
यति सबै भइरहँदा त्यो गम्भीर अवस्थामा त्यहाँ न चिकित्सक आइपुग्यो न त स्तालिनका कोही ‘सहकर्मीहरू’ नै आइपुगे ।
तर, लोज्गाचेभले स्तालिनलाई छोडेनन् । उनी चिकित्सकलाई कुरिरहे । बिहान ३ बजेतिर एउटा गाडी आइपुग्यो । तर, त्यो एम्बुलेन्स थिएन । बरू ‘साथीहरू’ बेरिया र मलेन्कोभ आएका थिए । उनीहरू चिकित्सकलाई नल्याई नै त्यहाँ आएका थिए । चिम्से चिम्से चम्किला आँखा भएका बेरियाले सबैलाई गौर गरेर हेरे अनि मात्र भुईमा पल्टिरहनुभएका स्तालिनलाई हेर्न गए । नयाँ चुइके जुत्ता लगाएका मलेन्कोभले जुत्ता फुकाले र मुखबाट एक शब्द पनि ननिकाली पल्टिरहनुभएको स्तालिननेर गए । उनीहरूलाई आफ्नो आडमा देखेर स्तालिनले निधार खुम्च्याउनुभयो । उहाँ उठ्न खोज्नुभयो । अनि मधुरो नबुझिने स्वरमा केही बोल्नुभयो । फेरि भुईमा लड्नुभयो । अनि आँखा बन्द गर्नुभयो । बेरिया यो सब हेरिरहेका थिए । अनि चारैतिर नियाले । त्यसपछि लोज्गाचेभलाई चर्को स्वरमा भने, “ए तिमी ¤ किन सबैतिर के के न भएको जस्तै गरी हल्ला गरिरहेको ? स्तालिन मज्जाले निदाउनुभएको देखेनौ ? कसैले पनि उहाँलाई नबिथोल्नु । स्तालिनलाई एक्लै छोड्नु । कसैले पनि डिस्टर्ब नगर्नु ।”
तब लोज्गाचेभ कराए । उनले स्तालिनलाई तत्काल चिकित्सककोमा पु¥याउनुपर्ने भने । तर, बेरियाले ज्यादै भयानक तरिकाले उनलाई घुरे । अनि हातले इसारा गरेर स्तालिनका दुई ‘मित्रहरू’ त्यो कोठाबाट बाहिरिए । स्टोरोस्टिनलाई भेटेपछि बेरियाले उनलाई झाँटे, “कसले तिमीहरू जस्ता मूर्खहरूलाई स्तालिनको अङ्गरक्षक बनाएको हँ ? तिमीहरू सब यो कामको लागि नालायक छौ ¤ म यो कुरा पक्कै उठाउने । तिमीलाई कामबाट निकाल्न सकिनँ भने …”
अनि उनीहरू दुवै त्यहाँबाट बाहिरिए । समय घर्किरहेको थियो । तर, कोही पनि चिकित्सक आएको थिएन । बिहान ८ः३० बजे चिकित्सकहरू त्यहाँ आइपुगे ¤
“चाँडै नै औषधि आउँदै छ । हामी औषधि आउने प्रतिक्षामा छौं”, प्राध्यापक लुकोम्स्कीले भने ।
सबै चिकित्सकहरू निकै आत्तिएका थिए । उनीहरूका हात कापिरहेका थिए । यो सब देखेर हामी आश्चर्यमा थियौँ । किन यस्तो भइरहेको छ ? उनीहरूका हात कापिरहेकाले स्तालिनको लुगासमेत फुकाल्न गा¥हो भइरहेको थियो । त्यही भएर उनीहरूले स्तालिनको लुगा पनि कैचीले काटेका थिए ¤ स्तालिनको अवस्था अध्ययन गरेर उनीहरूले दिमागमा रगत जमेको निष्कर्ष निकाले । उनीहरूले स्तालिनलाई सुई दिए । अनि बेरियाको निर्देशनमा उनीहरूले अर्को केही वस्तुको कडा डोज स्तालिनलाई लगाए । त्यो लगाइएको सुई के थियो, हामीलाई थाहा थिएन । बेरियाले चिकित्सकहरूलाई तर्साएका थिए । त्यहाँ सहभागी सबैले उनको हप्कीढप्की सुनेका थिए ।
“के तिमी कमरेड स्तालिन बाँच्ने ग्यारेन्टी गर्नसक्छौ ?” बेरियाले चिकित्सकलाई भने ।
कोठामा बसिरहेका जीवित मानिसहरूले पनि के हुन्छ, के भएको थियो र बेरिया तथा मेलिन्कोभले के गर्छन्, केही निक्र्योल गर्न नसकेको अवस्थामा त्यस्तो प्रश्नको कसले पो उत्तर दिनसक्थ्यो र ? मार्च २ मा उनीहरूले स्तालिनकी छोरी श्वेतालान र छोरा भालिसीलाई बोलाए । भासिली आफ्नो बुबाको अवस्था देख्नेबित्तिकै चिच्याए, “सुँगुरहरू, कसले मेरो बुबालाई मा¥यो ?”
सरकारका केही सदस्यहरू भासिलीतिर हानिए । बेरिया पनि उनैतिर लागे । तर, सबभन्दा अघि सरेर भोरोशिलोभले भासिलीको काँधमा हात राखेर थप्थपाउँदै सम्हालिन भने, “भासिली, धैर्य गर्नुस् । हामी बुबालाई सजिलो बनाउन प्रयास गरिरहेका छौँ ।” भोरोशिलोभलाई स्तालिनको अवस्थाबारे सबभन्दा ढिलामात्र जानकारी गराइएको थियो । त्यसकारण उनी त्यहाँ सबभन्दा ढिलामात्र आइपुगेका थिए ।
बेरिया र मेलिन्कोभले जतिसुकै गोप्य राख्न खोजे पनि स्तालिन मर्न लागेको कुरा देशभर प्रचार भयो । मानिसहरू शोकमा फोन गर्दै थिए । प्रजातान्त्रिक देशका प्राध्यापकहरू फोन गरेर आफ्नोतर्फबाट विज्ञहरू पठाउन सकिने वा सहयोग गर्ने प्रस्ताव गर्दै थिए । एक जना प्राध्यापकले फोन गरेर के भएको हो, चिकित्सकलाई कति समयमा बोलाइएको थियो, कस्तो औषधि प्रयोग गरिएको थियो जस्ता प्रश्न गरिरहेका थिए । वास्तवमा उनका ती प्रश्न पेशागत दक्षताका प्रश्नहरू थिए । टेलिफोनमा यी प्रश्नहरूका उत्तर दिन बेरियालाई आग्रह गरियो ।
“तिमी को हौ ? के तिमी प्रोभोकेटर अथवा डाँका हौ ? तिम्रो नाम के हो ? म तिमीलाई ठेगान लगाउनेछु”, बेरियाले भने ।
अन्तर्राष्ट्रिय क्षेत्रमा निकै ख्याति कमाएका ती प्राध्यापक–डाक्टरले आफूले कोसँग कुरा गरिरहेको छु भनी थाहा पाएर फोन बिसाए !
त्यत्तिबेलासम्म पोलिटब्युरोका सदस्यहरू स्तालिनको वरपर जम्मा भइसकेका थिए । मार्च ५ मा स्तालिनको नाडीको गति धिमा बन्दै थियो । बेरिया स्तालिनको छेउमा गएर भने, “कमरेड स्तालिन ¤ केही बोल्नुहोस् । हेर्नुस् सबै पोलिटब्युरो सदस्यहरू यहाँ जम्मा भएका छन् ।”
स्तालिन केही भन्न निकै बल गरिरहनुभएको थियो । उहाँको अनुहारमा गहिरो बिस्मात् देखेर भोरोशिलोभ बेरियाको छेउमा आए । उनले बेरियालाई हात समातेर तानेर बाहिर लगे । अनि भने, “उहाँका अङ्गरक्षक र घरमा काम गर्ने साथीहरूलाई नजिक बस्न दिनुहोस् । स्तालिन उनीहरूलाई अझ आफ्नो नजिक मान्नुहुन्छ ।”
बेरियाको निर्देशनमा जसै अङ्गरक्षक र घरमा काम गर्ने सहयोगीहरू स्तालिनको छेउमा गए चिकित्सकहरूले उहाँलाई अर्को एउटा सुई दिए । स्तालिनको शरीर काँप्यो । अनि त्यसको पाँच मिनेटमा स्तालिनको निधन भयो । त्यो अन्तिम सुई स्तालिनको सबभन्दा नजिकका आफ्ना मान्छेहरू छोरी श्वेतलाना र छोरा भासिलीको निर्णयमा मात्र दिइनुपथ्र्यो । तर, उनीहरूसँग कुनै सहमति लिइएन । बेरियाले आफूखुसी निर्णय गरे !
त्यसलगत्तै मेलिन्कोभ, ख्रुश्चेभ र बेरिया माथिल्लो तल्लामा गएर तत्कालै सरकारी पद र जिम्मेवारीको बाँडफाँट गर्न थाले । मोलोतोभलाई पनि त्यहाँ बोलाइएको थियो । उनले यस्ता कुरा गर्नुभन्दा पहिला स्तालिनको अन्तिम संस्कारको विषयमा कुरा गर्नु उपयुक्त हुने आफ्नो मत व्यक्त गरे । अधैर्य भएका ख्रुश्चेभले मोलोतोभलाई कुइनाले घचेटेर मुखमै मुट्ठी उजाए । यो सब देखेर मोलोतोभ त्यहाँबाट बाहिर निस्के ।
नेपाली अनुवाद :बर्बरिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *