भर्खरै :

“कम्युनिस्ट सरकार हुँदो हो त क्रान्तिकारी भूमिसुधार गर्ने थियो”

भक्तपुर, २२ फागुन । नेपाल क्रान्तिकारी डकर्मी सङ्घ भक्तपुरको नवौँ वार्षिक डकर्मी भेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्र्रमुख आतिथ्यमा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले डकर्मीको सीप नभएका व्यक्ति डकर्मी हुन नसकेझैँ सरकारमा गएर देश र जनताको हितमा काम गर्न नसकेको दल राजनीतिक दल नहुने बताउनुभयो ।
नेकपा कम्युनिस्ट नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “नेकपा कम्युनिस्ट भएको भए सरकारमा गएको एक वर्षभित्र भूमिसुधार गरी जोत्नेलाई जमिन वितरण गर्नुपर्ने थियो ।”
उहाँले भन्नुभयो, “दास युगमा दास मालिकहरूले दासहरूलाई जाँड–रक्सी खुवाएर धेरै काम गराउँथे । जाँड–रक्सीको नशाले मानिसको होस कमजोर बनाउँछ ।”
विगत सम्झिँदै उहाँले भन्नुभयो, “म शिक्षक हुँदा अधिकांश शिक्षकका छोराछोरीको खुट्टामा जुत्ता थिएन ।”
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले डकर्मीको काम जोखिमपूर्ण भएकोले पेटी बाँध्ने, हेलमेट लगाउनेलगायत सुरक्षाका उपकरण प्रयोग गर्नु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जाँड–रक्सी, मद्यपान र धूमपानले स्वास्थ्यलाई हानि–नोक्सानी गर्ने भएको हुँदा डकर्मीहरूले यसको सेवन बन्द गर्नु जरूरी छ ।”
“ठूला–ठूला उद्योगीले सरकारलाई कर नतिर्ने धम्की दिएर आफ्नो पक्षमा निर्णय गराउँछन् । अमेरिकामा डेमोक्रेट र रिपब्लिकन दुईवटा पार्टीको पालैपालो सरकार भनिए पनि खर्बपतिहरूको एउटै पार्टीको सरकार हो । नेपालमा पनि त्यस्तै हुने सम्भावना बढ्दो छ”, सचिव सुवालले बताउनुभयो ।
नेकपाको सत्ताको निम्ति कुकुरझगडा भइरहेको स्पष्ट पार्दै उहाँले संसद्मा सत्ता पक्षमै बस्ने पार्टीको झगडा सत्ताकै निम्ति भइरहेको पुष्टि हुन्छ भन्नुभयो ।
सचिव सुवालले जोड दिनुभयो, “कोभिड–१९ रोकथामको खोप सबैले नपाएसम्म व्यक्तिगत दूरीमा बस्नु आवश्यक छ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले सहरलाई सुन्दर र व्यवस्थित सहर बनाउन डकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
डकर्मीहरू राजनीतिकरूपमा सङ्गठित हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “सङ्गठन एउटा शक्ति हो । पार्टीको निर्देशनअनुसार डकर्मी सङ्घलाई अगाडि बढाउनु आवश्यक छ ।”
सत्तासीन पार्टीले जसरी भए पनि चुनाव जित्ने गलत परिपाटी बसालेको कारण निर्माणलगायत विभिन्न क्षेत्रमा भ्रष्ट ठेकेदार, बिचौलिया, दलालहरूले प्रोत्साहन पाइरहेको हुँदा यस्तो गलत कामको विरोध गर्नु जरूरी रहेको उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले डकर्मीहरूले श्रम सम्झौता गरेरमात्र काम अगाडि बढाउँदा राम्रो हुने सुझाव दिँदैे डकर्मीहरूलाई स्वास्थ्य बीमाको घेराभित्र ल्याउनुपर्ने बताउनुभयो ।
विश्वराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्रामजदुर सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवाल, सूर्यनारायण फाँजू र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *