भर्खरै :

नेक्राविसङ्घ दैलेख जिल्ला भेला सम्पन्न

दैलेख, २२ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ दैलेखको जिल्ला भेला शनिबार चामुण्डा बिन्द्रासैनीस्थित मष्टामाण्डुमा भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले नेक्राविसङ्घले स्थापनाकालदेखि कामदार जनताका छोराछोरीलाई गुणस्तरीय र वैज्ञानिक शिक्षाको लागि सङ्घर्ष गरिरहेको बताउनुभयो ।
उहाँले व्यापक कामदार जनताको हित समाजवादी व्यवस्थामा मात्र सम्भव भएकोले नेक्राविसङ्घले देशव्यापी समाजवादी प्रचार अभियान थालनी गरेको धारणा राख्नुभयो ।
नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मीकुमार विकले देशका जनजीविकासँग सम्बन्धित हरेक सङ्घर्षमा नेक्राविसङ्घ सक्रिय रहेको बताउँदै नेपालको विद्यार्थी आन्दोलनमा नेक्राविसङ्घले वैचारिक नेतृत्व गर्नुपर्ने धारणा राख्नुभयो ।
भेलामा नेक्राविसङ्घका पूर्व केन्द्रीय सदस्य मदनकुमार भण्डारी, नेमकिपा चामुण्डा बिन्द्रासैनीका शिवराज जैसी, कृण ढकाल, किसान कार्यकर्ता डिल्लीप्रसाद खनाल, शिक्षक मनोज दाहाल, दीपककुमार शाही, नेक्राविसङ्घका केन्द्रीय सदस्य खेमराम दाहाललगायतले बोल्नुभएको थियो ।
नेक्राविसङ्घ दैलेख जिल्ला सदस्य बमबहादुर विष्टको सभापतित्वमा भएको कार्यक्रममा विनोदकुमार शाही, पार्वतीकुमारी सिजापतिलगायतले बोल्नुभएको थियो । भेलाले विनोदकुमार शाहीको संयोजकत्वमा १४ सदस्यीय नेक्राविसङ्घ दैलेख जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।
यसैबीच नेक्राविसङ्घ आठबीस नगर समितिको आयोजनामा विद्यार्थी भेला भयो । भेलामा नेमकिपा आठबीस नगर समितिका जयबहादुर बडुवालले समाजवादी व्यवस्था स्थापना गरी बहुमत कामदार जनताको हित गर्न राजनीतिक र वैचारिक सङ्घर्षलाई अघि बढाउनुपर्ने विचार राख्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष इन्द्रसरा बडुवाल, जानकी सिजापति, पार्वती सिजापतिलगायतले बोल्नुभएको थियो । भेलाले पार्वती सिजापतिको सभापतित्वमा एघार सदस्यीय समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *