भर्खरै :

नेमकिपा काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ, २४ फागुन । नेपाल मजदुर किसान पार्टी काठमाडौँ जिल्ला समितिको छैटौँ जिल्ला सम्मेलन सोमबार सम्पन्न भएको छ ।
सम्मेलनको बन्द सत्रमा प्रशिक्षण दिँदै पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “राजनीतिको अर्थ राम्रो काम गर्नु हो । गलत काम गर्नु बेइमानी हो । सरकारमा गएका पार्टीहरूले जनतालाई दिएको वचनअनुसार काम नगर्नु राजनीति होइन, बेइमानी हो ।”
राजनीति गुलाबको ओछ्यानजस्तो आरामदायी जीवन नभई तरबारको धारमा हिँड्नुजस्तो जोखिमपूर्ण रहेको चर्चा गर्दै सचिव सुवालले राजनीतिमा लागेकाहरूले जस्तोसुकै त्याग गर्न पनि तयार हुनु जरुरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “धन–सम्पत्ति भएमात्र प्रतिष्ठा हुने कुरा झूट हो, प्रतिष्ठाको लागि संस्कार आवश्यक छ । सिद्धान्तमा आधारित नभएको र भागबन्डामा केन्द्रित भएको हुँदा एमाले र माओवादीको दुईतिहाइ मतको सरकार असफल भयो ।”
प्रतिनिधिसभा पुनःस्थापनाले ‘संविधान र लोकतन्त्रको संरक्षण गरेको’ कुरा पञ्चायती भाषा भएको उल्लेख गर्दै सचिव सुवालले निर्वाचनलाई अस्वीकार गर्नु प्रतिगमन भएको धारणा राख्नुभयो ।
उहाँले साँच्चिकै क्रान्ति भएपछि सरकारमा गएर देश र जनताको विरोधमा काम गरेकाहरू फाँसीमा लट्किने बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सरकारमा गएका राजनीतिक दलहरूमा भारतीय शासक वर्गको प्रभाव बढ्दो छ । भारतकै निर्देशनमा प्रतिनिधिसभा पुनःस्थापना गरिएको समाचार देश र जनताको निम्ति घातक छ ।”
जिल्ला समितिमा निर्वाचित सदस्यहरूले पार्टी प्रकाशन अध्ययन र अन्तरक्रिया चालू राखी जनतालाई राजनीतिकरूपले शिक्षित र सचेत गर्नु जरुरी रहेकोमा उहाँले जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वोच्च अदालतले देशको परिस्थितिलाई मध्यनजर गरी निर्णय र फैसला गर्नुपर्नेमा जोड दिनुभयो ।
अहिलेको राजनीतिक परिस्थितिले सांसदहरूको खरिद–बिक्रीको अवस्था आउन सक्ने तर्फ उहाँले सचेत गराउनुभयो ।
सम्मेलनको बन्द सत्रमा नगर समिति, जिल्ला जनवर्गीय समिति, पेशागत सङ्गठन र जिल्ला समितिको साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । बन्दसत्रले नारायण महर्जनको अध्यक्षतामा २१ सदस्यीय काठमाडौँ जिल्ला समिति चयन गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जन, वैकल्पिक केन्द्रीय सदस्य नारायणबहादुर दुवाललगायतका अतिथिहरूले चुनिएका पदाधिकारीहरूलाई बधाई दिनुभएको थियो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले पनि प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *