भर्खरै :

अपराधीलाई संरक्षण दिने शासक दल बढ्दो अपराधको कारण

दैलेख, २५ फागुन । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देशका विभिन्न जिल्लामा महिला गतिविधि चालु छ । मङ्गलबार नेपाल क्रान्तिकारी महिला सङ्घ आठबीस नगर समितिको आयोजनामा राकम बजारमा जनसभा भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले चुनावमा भोज खुवाएर, तेलको पोका बाँडेर, पद र पैसाको लोभ देखाएर सरकारमा गएका शासक दलहरू विचलित भएर एकआपसमा आरोप प्रत्यारोपमा उत्रेको बताउनुभयो ।
भारतीय विस्तारवाद, संरा अमेरिकी साम्राज्यवाद तथा पुँजीवादी दलहरूविरुद्ध नेमकिपाले लगातार सङ्घर्ष गरिरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “नेमकिपा सुन हो, सुनमा खिया लाग्दैन । तर, दलाल पुँजीवादी दलहरू फलामजस्ता छन्, पटक – पटक खिया लागिरहेको हुन्छ ।”
उहाँले शासक दलहरूले जनहितविपरीत काम गरिरहेकाले चुनावमार्फत जनताबाट सजाय दिने अवसर आएकोमा सर्वोच्च अदालतको निर्णयले त्यो अवसर गुमेको बताउनुभयो ।
केन्द्रीय सदस्य काफ्लेले चीन र क्युवाजस्ता समाजवादी देशका चिकित्सकहरूले विश्वका विभिन्न देशमा निःस्वार्थ भावले कोभिड–१९ का बिरामीको सेवा गरेको बताउनुभयो । उहाँले एमसीसीको नाममा नेपाललाई संरा अमेरिकी साम्राज्यवादको नवउपनिवेशवाद बनाउने षड्यन्त्र भइरहेको धारणा राख्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पुँजीवादी व्यवस्थाले महिलाहरूलाई नाफा कमाउने वस्तु र सौन्दर्यको वस्तुको रूपमा हेर्ने गरेको उल्लेख गर्दै पुँजीवादी व्यवस्थाले श्रमिक जनतामाथि थोपरेका अत्याचारविरुद्ध कामदार महिला र पुरुषले हातेमालो गर्नुपर्ने विचार राख्नुभयो ।
उहाँले सन् १९१७ मा रुसमा भएको अक्टोबर समाजवादी क्रान्तिमा श्रमिक महिला पनि सहभागी बनेको कारण समाजवादी व्यवस्थाको स्थापनापछि महिलालाई समान अवसर प्रदान गरिएको बताउनुभयो ।
“छाउपडी प्रथा उन्मूलन गर्ने नाममा छाउगोठ भत्काउनुको सट्टा महिलालाई सुरक्षितरूपमा आवश्यक स्वास्थ्य उपचार सेवासहितको सामूहिक छाउघर बनाउन आवश्यक छ । छाउप्रथाको कारण निम्तिने अपराध र शोषणको विरोधमा सामाजिक चेतना जगाऔँ”, थापामगरले भन्नुभयो ।
उहाँले अपराधीहरूलाई राजनीतिक संरक्षण दिने शासक दलहरू नै अपराधको मूल कारण भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले शासक दलहरूले झूटको सहारामा नेपाली जनतालाई ठगिरहेको बताउनुभयो । “अहिलेको सरकार कामले पनि कम्युनिस्ट होइन, नामले पनि कम्युनिस्ट होइन”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैंया सुवाल, नेमकिपा दैलेख जिल्ला समितिका सदस्य धनबहादुर सिजापति, नेमकिपा आठबीस नगर समितिका जयबहादुर बडुवाल, नेमकिपा ठाँटीकाँधका प्रेम थापा, नेमकिपा दैलेख जिल्ला समितिका सचिव लक्ष्मी विक, नेक्राकिसङ्घका रतनबहादुर कठायत, शिक्षक जयप्रसाद तिमिल्सेना, नेक्राविसङ्घका तपेन्द्रबहादुर कठायत, निर्मलाकुमारी बडुवाल, रेश्माकुमारी सिजापतिलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जनकबहादुर विकले प्रगतिशील गीत प्रस्तुत गर्र्नुभएको थियो ।
श्रमिक महिला दिवसको अवसरमा प्रवचन
नेपाल क्रान्तिकारी महिला सङ्घ, सूर्यविनायक नगरसमितिको आयोजनामा मङ्गलबार सूर्यविनायक वडा नं. ९ काँक्राबारीमा प्रवचन कार्यक्रम भयो ।
१११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैजूले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको उद्देश्यबारे प्रस्ट पार्नुभयो । उहाँले महिलामा पनि शोषक र शोषित वर्ग हुने चर्चा गर्दै हामीले कामदार वर्गको निम्ति सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
कामदार महिलाले आफ्नो हकहितको निम्ति उठाएको आवाजलाई ओझेलमा पार्न धनी महिलाहरूले एनजीओ र आइएनजीओका भ्रामक कुराहरू अगाडि ल्याउँछन् उहाँले बताउनुभयो ।

महिला राष्ट्रपति भएकै समयमा सबभन्दा धेरै बलात्कार भएको उहाँले उल्लेख गर्नुभयो ।
बोक्सी, छाउपडी प्रथा, दाइजो प्रथाजस्ता कुरीति, कुसंस्कार, अन्धविश्वासलाई चिर्दै नेमकिपाको नीति निर्देशनअनुसार अगाडि बढेमात्र श्रमिक महिला दिवसको औचित्य हुन्छ, उहाँले भन्नुभयोे ।
मनशोभा त्वातीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्रामसङ्घ केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवाल, नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष न्हुछेभक्त फोजू, नेमकिपा सूनपाका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्रामसङ्घका केन्द्रीय सदस्य सुनकेशा शाही, प्रतिभा श्रेष्ठ र रामप्यारी न्हेम्हाफुकीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *