भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – १४

(स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन गर्दै जाने छ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
बितेका तीस वर्षमा पत्रपत्रिकामा स्तालिनलाई मार्ने प्रयासबारे सयौँ लेख र धेरै भनाइ आइसकेका छन् । ती कथित ‘सत्यहरू’ दन्त्यकथाबाहेक केही थिएनन् । स्तालिनका अङ्गरक्षक बनेका म र मेरा सहकर्मीहरूलाई खास घटना थाहा छ र यो नै इतिहास हो ।
सन् १९०४ मा भूमिगतरूपमा सक्रिय जर्जियाली क्रान्तिकारीहरू तिफलिसस्थित एक जना नाम चलेको बैङ्क मालिकको घरको भुइँ तलामा काम गर्ने गर्थे । त्यही शिलशिलामा उनीहरूले एक जना नयाँ कमरेडलाई कार्यकर्ताको रूपमा सङ्गठनमा भर्ती गर्ने निधो गरे । नयाँ कमरेडको नाम गोडिराड्ज राखियो । उनीहरूको सङ्गठन आरयुडीडब्ल्युपीको पहिलो बैठकमा एक जना युवक सहभागी बन्न आए । उनले आफूलाई ‘कोबा’ नामले चिनाए । उनले भने, “गोडिराड्जलाई सङ्गठनको सदस्य बनाउन केही समय कुर्नु उचित हुनेछ ।”
उनको यस्तो कुरा सुनेर सबै चकित परे । त्यसको तीन दिनपछि त्यही गोडिराड्ज बैठकमा सहभागी बने । उनीपछि कोबा बैठकमा आए । यो पटक भने कोबा गोडिराड्जलाई सङ्गठनको सदस्य बनाउनेमा सहमत भए । कोबाको यस्तो बदलिएको मनस्थिति देखेर अध्यक्ष एस. काभतोराड्जले कोठामा बलिरहेको टुकी उठाएर कोबाको मुखैमा हानिदिए । धन्न टुकी भित्तामा ठोकिएर बजारियो । तर, कोबाले निकै धैर्यताका साथ कति पनि नआत्तिकन पाइप सल्काए र भने, “यो ठीक भएन । त्यो बैङ्क मालिकले हामीलाई यो ठाउँ सित्तैमा दिएका थिए । हेर्नोस् त अहिले झन्डै यो ठाउँ आगोले जलेको !”
स्तालिनलाई मार्ने त्यो पहिलो प्रयास थियो । अर्को प्रयास अझ गम्भीर खालको थियो । सन् १९३३ बाट विरोधीहरूले ‘दरबार सत्ताविप्लव’ (प्यालेस कु) को योजना बनाउन थालिसकेका थिए । दक्षिणपन्थी–त्रोत्स्कीवादी समूहको एउटा घटनामा म पनि सामेल भएको थिएँ । त्यत्तिबेलाको अवस्थाबारे रेकोभले भनेका थिए, ‘दरबार सत्ताविप्लव’ को एउटा प्रयास । इनुकिड्ज यो षड्यन्त्रका मुख्य नेता थिए । यो योजनामा मुख्य भूमिका भने एगोडाले निभाएका थिए । त्रोत्स्कीवादीहरूको बहुमत भएको एउटा केन्द्र स्थापना गरिएको थियो । त्यसमा कामेनेभ, तैताकोभ, इनुकिड्ज आदि थिए । अनि म (रूप बदलेर), बुखारिन र तोम्स्की पनि थियौँ । तुखचेभ्स्कीले नेतृत्व गरेको समूह र यो केन्द्रबीच नजिकको सम्बन्ध थियो । (ए.वाई. भिशिन्स्की, अदालती कारबाही, पृष्ठ.४७७)
क्रिस्तिन्स्कीले आफ्नो बयानमा भनेका थिए, “सन् १९३५ को फेब्रुअरीमा पैताकोभले मलाई दक्षिणपन्थी–त्रोत्स्कीवादी र तुखचेभ्स्कीको समूहबीच सम्बन्ध भएको र उनीहरू सशस्त्र विद्रोहको लागि संयुक्त मोर्चा बनाउने समझदारीमा पुगेको बताए । अनि त्यसको जिम्मेवारी मलाई दिइएको थियो ।” (सोभियतविरोधी दक्षिणपन्थी–त्रोत्स्की मोर्चाको बयान, स्टेनोग्राफिक प्रतिवेदन, अध्याय.४५, पृष्ठ.२१८)
ग्रिन्को, राजेनगोल्डस, रडेक, बेसेननोभ र अरूहरूका बयानबारे यहाँ चर्चा गरिरहन आवश्यक छैन । उनीहरू हिटलरले कतिबेला सोभियत सङ्घमा हमला गर्छन् भनी कुरेर बसेका थिए । त्यसअघि नै उनीहरू जर्मनीलाई युक्रेन दिन चाहन्थे । जापानलाई उनीहरूले पूर्वको भूभाग दिने वाचा गरेका थिए । आज अधिकांश ‘विशेषज्ञ’ बनी टोपलेका मानिसहरू यसलाई झूटो भन्छन् । तर, अदालती पुर्पक्षले दोषी घुसपैठियाहरू एक आपसमा दोषारोपण गर्न थालेको र आफ्नो गर्दन जोगाउन सत्य पोलेको देखिन्छ । पुर्पक्षमा तपाईंले कोही एक जनालाई प्रभावित बनाउन सक्नुहोला । तर, अनुसन्धानमा तानिएका ३४ जनालाई त्यसो गर्न सम्भव हुँदैन । ती आरोपितहरू सत्य तथ्यमात्र बाहिर ल्याएनन्, बरु आफैले घटनासँग सम्बन्धित प्रमाण बोकेर आए ।
बाहिर नआइसकेका केही तथ्यबारे चर्चा गरौँ । बर्लिनको राजदरबार (इम्पेरल चान्सलरी)बाट सन् १९४५ को मे २ मा एक जना आँटिली महिला सिपाहींले मेरो नाममा एउटा पत्र लेखेकी थिइन्, “कमरेड किरोभको मलामीमा सहभागी बन्न लेनिनग्राडमा स्तालिन आउनुहुँदा सशस्त्र बल (लडाकुका केही हिस्सा) स्तालिनलाई मार्न तम्तयार थिए । तर, ठूलो सङ्ख्या र हातहतियारबाट सुसज्जित स्तालिनका अङ्गरक्षकहरू देखेर उनीहरू अघि सर्न हिम्मत गरेनन् । ती लडाकुहरूको लालसेनाको नेतृत्वसँग पनि नजिकको सम्पर्क थियो ।”
ओजीपीयू स्कूलका पूर्वविद्यार्थी र पछि स्तालिनको ‘डाचा’का कमान्डर आई. ओर्लोभले मलाई भनेका थिए, “सन् १९३६ को सुरुमा एगोडा, उनका सहायक अग्रानोभ, कमिस्सार पौकर, उनका सहयोगी भोलोभिट्च र कप्तान गिस्टिनले सिपाहींहरूको एउटा कमान्ड गठन गरियो । त्यो कमान्डमा मेरा सहपाठीहरू सेरेडा र युर्चिक पनि थिए । त्यसमा ६ फिट अग्ला, बलिया, सुरा र जिउडाल मिलेका सिपाहींहरू पनि थिए । उनीहरूले हामीलाई साम्बो सिकाए । साम्बो भनेको चक्कु र लठ्ठीले लडिने लडाई हो । हामी हातहतियारले सुसज्जित र सुविधासम्पन्न थियौँ । हामी जेर्झिन्स्की चोकमा खुलमखुला मार्च गथ्र्यौं । हामीलाई हामीले गरिरहेको कामबारे राम्रो हेक्का थियो । एगोडाले हामीलाई आफ्नो कार्यालयको झ्यालबाट हरेक समय निगरानीमा राख्थे । हाम्रो तालिम सकिएपछि उनीहरूले हामीलाई भवनभित्र लिएर गए र ओजीपीयुको चोकमा पु¥याए । एगोडा र अन्य उनीसँग समान विचार राख्ने मित्रहरूले हामीभन्दा माथिका अधिकारीहरूले दिएका सबै काम गर्न हामी तयार भएको निश्चय गरे । उनीहरूले हामीलाई क्रेमलिन कसरी कब्जा गर्ने र कसरी कमरेड स्तालिनलाई पक्राउ गर्ने जस्ता विषयमा तालिम दिइरहेका थिए । तर, ती सबै तयारी बेकार भयो ।” (लेखकको निजी अभिलेखालय)
एगोडा, अग्रानोभ, पौकर, भोलोविट्च, जिन्टललाई मेरै आँखाअघि पक्राउ गरियो । क्रेमलिनका कमान्डर त्कालुनले आत्महत्या गरे । उनी एगोडाले नेतृत्व गरेको कमान्डअन्तर्गत थिए । कमिस्सार डगेनलाई पनि पक्राउ गरियो । कमिस्सार कुत्स्र्कीले पनि आत्महत्या गरे । कप्तान चेर्तोकले सात तल्लामाथिबाट हामफालेर आत्महत्या गरे । उनी पनि एगोडाका पिछलग्गू थिए । पानोभ, तिखोनोभ, कोजलोभ र गोलुबेभ बेपत्ता भए । त्यो केन्द्रलाई झन्डै शून्यमा झारियो । तपाईंले सोध्न सक्नुहुन्छ, मे १ को दिन रेड स्क्वाएरमा हरेकलाई किन कम्तीमा ४–५ वटा पेस्टोलबाट सुसज्जित बनाइएको थियो ?

स्तालिनको हत्याको लागि बनाइएको हत्यारा दलको विघटनपछि त्रोत्स्कीले स्तालिन वा सोभियत सरकारमाथि कुनै खतरा तेस्र्याउन सकेनन् । तर, आजभोलिका पत्रपत्रिकाहरू स्तालिनविरुद्ध हत्या योजनाका सबै खालका भनाइले भरिपूर्ण छन् । उदाहरणको लागि, ‘प्राभ्दा’ (त्यसको मालिक आजभोलि एक जना ग्रीसका करोडपति छन्) ले एस. काभ्तोरेड्जले स्तालिन भित्र बसिरहेको बेलामा नै बोल्शोई थिएटरमाथि बम हमला गर्ने प्रयास गरेको लेखेको थियो । (प्राभ्दा, १९९१ अक्टोबर ८) बोल्शोई थिएटरको सुरक्षाको जिम्मेवारी मेरो थियो । प्राभ्दाले लेखेजस्तो त्यस्तो कुनै हमला भएकै थिएन । रकोभ, तुकोभ वा क्रुताशेभले पनि त्यस्तो हमलाबारे केही सुनेका थिएनन् ।
‘नैदेलिया–सनडे’ नामको पत्रिकाले बेरियाबारे छापेको एउटा लेखमा रित्सा तालमा स्तालिनमाथि ज्यान मार्ने प्रयास भएको लेखेको थियो । त्यहाँ बेरियाले बचाएको हुनाले स्तालिन जोगिन सम्भव भएको लेखिएको थियो । (सनडे, अङ्क.८, सन् १९८८) त्यहाँ उपस्थित तुकोभले भने, “बेरिया गोलीको सामु अरू जोसुकैलाई राखे पनि आफूलाई भने कदापि राख्न सक्दैनन् । त्यहाँ स्तालिनको ज्यानमाथि कुनै हमला भएकै थिएन । त्यस्तो समाचार प्रकाशित गर्नु त्यो पत्रिकाको पित्त पत्रकारिताबाहेक केही होइन । खास भएको के थियो भने तालमा मैले एउटा माछा समात्दा बेरियाले मलाई पानीमा धकेलेका थिए । त्यो देखेर बेरियादेखि स्तालिन रिसाउनुभएको थियो र त्यस्तो केटाकेटी व्यवहार गरेको भन्दै गाली गर्नुभएको थियो ।” (लेखकको निजी अभिलेखालय)
‘नैदेलिया–सनडे’ को अर्को एउटा अङ्कमा उनीहरूले फेरि पनि मुस्सेरमा स्तालिनमाथि अर्को हमला भएको लेखेका छन् । (सनडे, अङ्क.१४, १९८८)
मेरो कमान्डमा रहेको एक जना अङ्गरक्षक पोतेखिनले बढुवाको माग गरिरहेका थिए । एक रात उनी आफ्नो ड्युटीको क्रममा आफूले लगाइरहेको टोपी फुकालेर खम्बामा झुन्ड्याए, अनि त्यसमा प्वाल पारे । त्यही टोपीको प्वाल देखाएर उनले हामीलाई कोही स्तालिनको हत्या गर्न आएको भनी विश्वास दिलाउन खोजे । हामी तत्कालै सजग भयौँ । हामीले जङ्गल र झाडीमा खानतलासी ग¥यौँ । तर, हामीले एउटा गोलीको खोकाबाहेक केही पनि भेटाएनौँ । फेला परेको गोलीको खोकाबारे अनुसन्धान हुँदा पनि त्यही अङ्गरक्षकको बन्दुकको गोली भएको पुष्टि भयो । पोतेखिनले तत्कालै पदच्युत गरी सजाय गरियो ।
आई. स्टाडनुकको उपन्यास ‘युद्ध’ मा मस्कोको दोस्रो हभोज्ना बजारमा स्तालिनलाई मार्न चाहने एक जना पूर्व जमिनदार भएको एउटा भनाइ छ । तिनी पूर्व जमिनदारले आफ्ना सबै मौजा गुमाएका थिए । कुतुजोभ्स्की मार्गमा स्तालिन आउँदा उहाँको हत्या गर्ने उनको योजना भएको उपन्यासकारको दाबी थियो । यो कपोलकल्पित कथाका लेखकले त्यही अभियोगमा गिन्काको समूह पक्राउमा परेको लेखेका छन् । एनकेभीडी–केजीबीका हामीलाई त्यस्तो गिरफ्तारीबारे केही थाहा छैन जबकि त्यसरी मान्छे पक्राउ गरिएको भए त्यसको जिम्मेवारी हाम्रै थियो ।
सन् १९४२ को नोभेम्बर ४ मा भने स्तालिनको हत्या गर्ने वास्तवमै प्रयास भएको थियो । षड्यन्त्रकारीहरूले एउटा कुनामा लुकेर बसेर स्तालिन चढ्नुभएको गाडीहरूको लाममाथि राइफलले गोली हानेका थिए । लामको पहिलो गाडीमा गोली लागेको थियो । त्यसमा मिकोयान बसेका थिए । तर, कोही पनि घाइते भएको थिएन । अङ्गरक्षकहरूले हत्याको प्रयास गर्ने हमलाकारीलाई ठाउँको ठाउँ ग्रिनेडले हत्या गरेका थिए ।
रेबाकोभको उपन्यासकार ‘अरबतका केटाकेटी’ (चिल्ड्रेन अफ अरबत) मा स्तालिनलाई डरछेरुवा मान्छेको रूपमा चित्रण गरिएको छ । त्यसलाई पुष्टि गर्न उपन्यासकारले अरबत बजारमा हिँड्दा सुरक्षाकर्मीले बजारका सबै प्रवेशद्वार बन्द गर्ने गरेको लेखेका छन् । यसरी सडक बन्द गर्नु एक त मूर्खतापूर्ण कुरा हो भने त्यो सम्भव पनि हो ¤ अरबत सडक जाने आउने धेरै बाटा भएकाले सबै प्रवेशद्वार बन्द गर्नु असम्भव छ । स्तालिनको कारको गति कहिल्यै तीस किलोमिटरभन्दा बढी हुने गर्दैनथ्यो । अनि ढिला गरी चलाउँदा प्रतिघण्टा दस किलोमिटर हुन्थ्यो । स्तालिन कहिल्यै पनि मानिस र अँध्यारोसँग डराउँदैनथे । मैले यो विषयमा अघि नै लेखिसकेको छु । उनी एक्लै बस्न मन पराउँथे । धेरै पटक स्तालिनले आफ्ना अङ्गरक्षकहरूलाई आफूलाई एक्लै शान्तसँग हिँड्न दिन आग्रह गरेर हिँडेका छन् ।
धेरै मानिसहरू रक्सीले मात्तेको बेला वा गफ गर्दा आफ्ना साथीहरूलाई आफूले देशका नेताहरूलाई बमले उडाउन सक्ने ‘बहादुरी’ देखाउँछन् । एक जना जड्याँहाले यस्ता कुरा धेरै पटक धाक लगाएपछि उसको आफ्नै बुबाले उसलाई पक्राउ गर्न र नजिकको जेलमा थुन्न लगाएका थिए ।
अरू पनि ‘हत्या प्रयास’ हरू भएका थिए ! त्यसको खुलासाको निम्ति हामी आजका पत्रकारहरूका त्यो विषयका खोज समाचारको प्रतीक्षा गर्नेछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *