भर्खरै :

एसईईको थप कक्षामा विशेष ध्यान दिइयोस्

  • फाल्गुन २६, २०७७
  • –रामकृष्ण प्रजापति, सूर्यविनायक, भक्तपुर
  • पाठक विचार

कोरोनाकालमा विद्यालयको पाठ्यक्रममा विभिन्न पाठहरू समायोजन गरिएका थिए । शिक्षक – विद्यार्थीहरूले पाठहरू समायोजन हुँदा बेलैमा कोर्स सकिने भयो, कोरोनाले गर्दा कक्षा सञ्चालन नभए पनि धेरै पढ्न र पढाउन नपर्ने भयो भनी थोरै सन्तोष मानेका थिए । त्यसले विद्यार्थीको ज्ञानको मात्रामा क्षति पुग्ने त छँदै थियो । तापनि, शैक्षिक क्रियाकलापमा थोरै राहत महसुुस गरिएको थियो । तर, अहिले राष्ट्रिय परीक्षा बोर्डले एसईर्ई परीक्षामा पूरै पाठ्क्रमबाट प्रश्न सोधिने जानकारी दिएपछि शिक्षक विद्यार्थीमाथि पढाइको चाप थपिएको छ ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रमबाट प्रश्न आउने जानकारी दिँदै कोरोनाकालमा पढाउने कुराको सहजताका लागि कुनै पाठ विद्यार्थीले स्वअध्ययन गर्ने र कुनै पाठ शिक्षकले पढाउने भन्ने मात्र सङ्क्षेपीकरण गरिएको तर परीक्षाको लागि सङ्क्षेपीकरण नगरेको बताउनुभएको छ ।
गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनको आधारमा सहजै एसईई पार गरेको दृष्टान्तले गर्दा हालको १० कक्षाका विद्यार्थीहरूमा नकारात्मक प्रभाव परेको देखिएको छ । ‘नपढिकनै १० कक्षा उत्तीर्ण हुने’ गलत मानसिकता कलिला विद्यार्थीमा गत वर्षको नतिजाले पारेको छाप मेटाउन विद्यालयले यस वर्ष थप परिश्रम गर्नुपर्ने भएको छ ।
विद्यालयको नतिजाप्रति चिन्तित कतिपय स्कूलहरूले अहिले साँझ बिहान थप कक्षाहरू सञ्चालन गर्न थालेका छन् । विद्यार्थीलाई बिहान ६ बजेदेखि साँझ ६–७ बजेसम्म पढाउन थालेको देखिएको छ । यसरी विद्यार्थीहरूलाई आवश्यकभन्दा बढी पढाइमा दबाब दिइयो भन्ने पनि गुनासो नभएको होइन । तर, आफ्ना सन्तानको पढाइ र भविष्यप्रति चिन्ता लिने अभिभावकहरू भने थप कक्षाप्रति गुनासो नभएको बरु आफूहरूले नै माग गरेर कक्षाको व्यवस्था गरेको बताउँछन् । विद्यालयबाट साँझ ७ बजे घर फर्केको विद्यार्थीले घरमा कति समय पढ्न पाउँछन् ? किनकि भोलि बिहान ६ बजे पुनः स्कूलमा पुग्नु छ । कम्तीमा ६–७ घण्टा त आरामले निदाउनु पनि पर्नेछ विद्यार्थीको स्वास्थ्यको लागि ।
के आवश्यकताभन्दा बढी दबाब दिए जस्तो लाग्दैन ? भनी सोधिएको एक प्रश्नको उत्तरमा अभिभावकको जवाफ थियो, “घरमा टीभी हेर्ने, मोबाइलमात्र चलाएर बस्ने हुँदा स्कूलमा पढे पनि नपढे पनि स्कूल रहे कमसेकम अनावश्यक कुरामा त लाग्दैन भन्ने लाग्छ ।”
कोरोनाको त्रास पूर्णतः हटिनसकेको वर्तमानमा कक्षा १० का विद्यार्थीहरूमाथि थोपरिएको सघन शिक्षण विद्यार्थीको जति आवश्यक छ त्यो भन्दा बढी स्वास्थ्य सुरक्षामा ध्यान दिनु आवश्यक छ । यसतर्फ सम्बन्धित विद्यालयहरूले ध्यान दिनु आवश्यक छ । यसतर्फ सम्बन्धित विद्यालयहरूले ध्यान नदिए भोलि कुनै पनि बेला कोरोना सङ्क्रमणको दुर्घटना नहोला भन्न सकिँदैन । किनभने, अझै कोरोनाको खोप शिक्षक तहसम्म पुगेको छैन । कोरोना खोप छिटोभन्दा छिटो शिक्षकसम्म पु¥याउन हार्दिक अनुरोध गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *