भर्खरै :

स्तालिनका अङ्गरक्षकको संस्मरण – १६

(स्तालिनका अ·रक्षक ए.टी. रेबिनले लेख्नुभएको पुस्तक ‘नेक्स टु स्तालिन नोट्स अफ अ बडीगार्ड’ (Next To Stalin Notes of A Bodyguard) को पहिलो प्रकाशन रुसी भाषामा सन् १९९२ मा मस्कोको भेटेरान प्रकाशन गृहले गरेको थियो । सो पुस्तकको अङ्ग्रेजी अनुवाद नर्थस्टार कम्पास जर्नलका सम्पादक माइकल लुकासले गर्नुभएको थियो । नर्थस्टार कम्पास जर्नलले नै अङ्ग्रेजी अनुवादको प्रकाशन गरेको थियो । सो पुस्तक स्तालिनको व्यक्तित्व, निजी जीवनका विभिन्न आयाम र स्वभावबारे बुझ्ने सान्दर्भिक कृति हो । स्तालिनबारे पश्चिमा सञ्चारमाध्यमले फैलाइरहेका भ्रम र झूटको खण्डन गर्न यो पुस्तकको पठन उपयोगी हुने देखिन्छ । नेपालकै पनि केही वामपन्थी भनिने नेता र कथित बुद्धिजीवीहरू स्तालिनबारे भ्रममा छन् । पश्चिमा दुष्प्रभारको शिकार बनेका छन् । त्यस्ता पूर्वाग्रह र भ्रमको खण्डन गर्न यसअघि वर्कर्स पब्लिकेसनले नेपाली भाषामा प्रकाशन भएको ‘गोप्य दस्तावेज’ कृति नेपाली बौद्धिक जगतले निकै रुचाए । यो छलफललाई गहकिलो बनाउन आर टी रेबिनको यो पुस्तक मजदुर दैनिकमा धारावाही प्रकाशन आएका हौ“ । आशा छ, पाठकहरूको निम्ति यो रुचिकर र जानकारीमूलक हुनेछ–सम्पादक)
सोभियत कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशनको मञ्चबाट ख्रुश्चेभले ‘स्तालिन डराएर सधैँ फलामे पिंजडामा बस्ने गरेको’ बोलेका थिए । त्यही बेलादेखि स्तालिनबारे सबै खालका कपोलकल्पित कुराको बाढी नै आयो । उहाँमाथि अनेक थरी अतिरञ्जनाको भारी थोपरियो र झूटको लागि सबै ढोकाहरू खुला भए । उहाँ बस्नुहुने आवास ‘डाचा’का सबै झ्यालमा फलामे बार, गोलीले नछुने सिसा राखिएको भनाइसमेत व्यापक प्रचारमा थियो । मानौँ, उहाँको आवास कुनै सैनिक किल्ला थियो । स्तालिन त्यो सैनिक किल्लामा एक्लै बस्नुहुन्थ्यो भन्ने हल्ला पनि खुब चलाइयो । कतिसम्म पनि यसरी एक्लै बस्नुभएको स्तालिनलाई त्यहाँबाट बाहिर निकाल्न पोलिटब्युरो सदस्यहरूले त्यहाँ आगोको डल्लो फाल्नुपरेको थियो रे भन्ने भनी पनि प्रचार गरियो । त्यति गर्दा पनि स्तालिन बाहिर नदेखिनु भएपछि भित्र पस्दा स्तालिन मृत अवस्थामा फेला परेको भन्ने हल्ला पनि सुनियो ।
यस्ता झूटा हल्लालाई सधैँको लागि बन्द गर्न म यहाँ केही कुरा प्रस्ट पार्न चाहन्छु । सोभियत सरकारका चार वटा डाचाहरू थिए । (डाचा भन्नाले सामान्यतः रुख बिरुवा र बगैंचाको बीचमा बनाइएको काठको घर हो । त्यस्ता घर बढीमा दुई तलासम्मको हुने गरेका छन् । यसअघि डाचालाई हामीले काठे टहरा भनेका छौँ ।–अनुवादक) सोभियत कम्युनिस्ट पार्टी (वोल्शेविक) ले मुख्यतः गर्मीयाममा र अरू बेला पनि बैठकहरू बस्न ती डाचाहरूको प्रयोग गथ्र्यो । स्तालिन क्रेमलिनको सबभन्दा नजिकको डाचा प्रयोग गर्नुहुन्थ्यो । स्तालिनको सबभन्दा मनपर्ने डाचा थियो–कुनसिभोको डाचा । त्यो डाचा क्रेमलिनबाट सबभन्दा नजिक पथ्र्यो । त्यो डाचा सन् १९३१ मा बनाइएको थियो । त्यसको छानाको केही भाग खरले छाएको थियो भने केही भाग स्लेटको थियो । मस्कोमा जर्मनीले भीषण बमबारी भइरहेको बेलामा पोलिटब्युरोको बैठक यही डाचामा बस्थ्यो । जर्मनीहरूले कुन्नि कसरी हो, स्तालिन त्यहाँ बस्नुहुने कुरा थाहा पाएछन् अनि त्यहीं पनि बमबारी गरेको कुरा माथि पनि उल्लेख भइसकेको छ ।
उहाँ युद्धका वर्षमा मात्र होइन, युद्धअघि पनि रात दिन काम गर्नुहुन्थ्यो । धेरै उपलब्धि हासिल गर्नुपर्ने भएकोले स्तालिन निकै कडा मिहिनेत गर्नुहुन्थ्यो । उहाँको खुट्टा जहिल्यै दुख्थ्यो । त्यही भएर उहाँ काम गर्ने टेबुलको आडैमा न्यानो बनाउने चप्पल राखिएको हुन्थ्यो । डाचा स्वागत कार्यक्रम र भोजहरू हुँदा पनि उहाँ उही चप्पल लगाउनुहुन्थ्यो । कुनै छालाको बुटभन्दा त्यो चप्पल नै उहाँलाई सुविधाजनक लाग्थ्यो । माट्रिना बुटिजोभासहित सबै अङ्गरक्षकहरूले स्तालिनको चप्पल उध्रेको देखेपछि उहाँको लागि एउटा नयाँ जोर चप्पल सिलाउने निधो गरेका थिए । स्तालिन सुत्नुभएको बेला माट्रिनाले त्यो पुरानो चप्पल लिएर गइन् र त्यहाँ नयाँ चप्पल राखिदिइन् । अर्को बिहान स्तालिनले ओर्लोभलाई बोलाएर आफ्नो चप्पलबारे निकै हार्दिकतापूर्वक सोध्नुभएछ, “मेरो त्यो चप्पल कहाँ छ ?”
“कमरेड स्तालिन, तपाईं हाम्रो पार्टीको महासचिव हुनुहुन्छ । तपाईं सरकारको मुख्य कमान्डर हुनुहुन्छ ¤ तपाईं सधैँ जनता, विदेशी पाहुना र महत्वपूर्ण व्यक्तित्वहरूसमक्ष रहनुहुन्छ । त्यसमाथि सोभियत सङ्घको स्थापना दिवस पनि आउँदै छ”, स्तालिनले आफ्नो कुरा सुनिरहनुभएको ठानेर ओर्लोभले उहाँलाई चित्त बुझाउन सक्दो प्रयास गरेछन् ।
“तर, मलाई त्यही पुरानो चप्पल सजिलो लाग्छ । मेरा खुट्टालाई त्यसैमा आराम लाग्छ”, स्तालिनले आफ्नो उही पुरानो चप्पल फिर्ता गराउनुभयो र आफ्ना अन्तिम दिनसम्म उही चप्पल लगाउनुभयो ।
म फेरि पनि दोहो¥याउँछु– डाचामा कुनै फलामे ढोका थिएन । दुई वटा ढोका पनि थिएनन् । सबै ढोका काठले बनेका थिए । उहाँको कार्यकक्षमा पस्ने ढोका कहिल्यै बन्द हुन्थेन । कोठाभित्र ताजा हावा पसोस् भनेर ढोका कहिल्यै बन्द हुँदैनथ्यो । सजिलो गरी श्वास फेर्न उहाँलाई ताजा हावाको खाँचो पथ्र्यो । जब डाचाका सबै ढोका बन्द हुन्थे, तिनको साँचो सबै डाचाका सुरक्षा प्रमुखसँग हुन्थ्यो । त्यहाँ पस्ने अर्को कुनै साँचो थिएन । न कुनै गोप्य ढोका, फलामे ढोका वा कुनै लुक्ने ठाउँ नै थिए । आज झूटका बिस्कुन सुकाउनेहरूले भनेजस्तो त्यस्तो केही पनि थिएन ।
ख्रुश्चेभले संसारलाई खासमा शत प्रतिशत निराधार कुरा गरेका छन् । उनले लगाएका आरोप र खुलमखुला झूटलाई पुष्टि गर्ने कुनै आधार छैन । त्यसकारण म बारम्बार जोडका यो कुरा भन्न चाहन्छु । खु्रश्चेभले भनेका थिए,“एक दिन स्तालिन ढोका नभएको शौचालयमा पस्नुभयो । बाहिर आएर उहाँले आफ्ना अङ्गरक्षकलाई झपार्नुभयो । राम्ररी आफ्नो सुरक्षा नगरेको भन्दै स्तालिनले उहाँलाई खुब गाली गर्नुभयो । अङ्गरक्षक कुनै पनि बेला आफ्नो नजिक हुनुपर्ने उहाँको भनाइ थियो । यो घटना मैले आफ्नै आँखाले देखेको थिएँ ।” (एन.ख्रुश्चेभ, संस्मरण, अगोनोइक, अङ्क.३७, पृष्ठ.३१, १९८९) आफू शौचालय जाँदा आफूसँगै बस्न स्तालिनले अङ्गरक्षकलाई भनेको कुरा हामी उहाँका अङ्गरक्षकको लागि पूर्णतः हाँस्यास्पद कुरा थियो । स्तालिन एक्लै शौचालय पस्न डराउनुहुन्थ्यो भन्ने सोचाइ निकै बिरामी दिमागको सोचाइबाहेक केही होइन !

स्तालिन र उहाँको छोरासँग अ·रक्षक दलका नेता भ्लासिक (बीचमा)


स्तालिनलाई सोभियत जनता, विभिन्न सोभियत गणराज्यले दिएका धेरै उपहारहरू थिए । ती सबै स्तालिनको व्यक्तिगत प्रयोगका लागि प्रदान गरिएका थिए । जस्तै हातले बुनेका कार्पेट । अजरबैजानले उपहार दिएको यो निकै ठूलो कार्पेट झन्डै तीस जना शिल्पीहरूले तीन वर्ष काम गरेर तयार बनाएका थिए । स्तालिनले अरू उपहारजस्तै त्यसलाई पनि हस्तकला सङ्ग्रहालयमा पठाउनुभयो । उहाँले क्रेमलिनको कार्यालय वा डाचामा त्यो कार्पेट प्रयोग गर्नुभएन । स्तालिनलाई एउटा अरबी घोडा पनि उपहारस्वरूप प्राप्त भएको थियो । स्तालिनले जाडो महिनामा एक पल्टमात्र बग्गी तान्न त्यो अरबी घोडाको प्रयोग गर्नुभयो । अनि त्यो निकै सुन्दर घोडालाई पशु फार्ममा पठाउनुभयो । स्तालिनको ७० औँ जन्म दिनमा हजारौँ जनता, संस्था र विभिन्न देशले पठाएका सबै उपहारमध्ये एक जोर हातेपञ्जा र न्यानो बुटमात्र आफूसँग राख्नुभयो ।
धेरै तथाकथित विज्ञहरू स्तालिनको ‘दिमागी सन्तुलन ठीक नभएको’ भन्ने ख्रुश्चेभको तर्कलाई समर्थन गर्थे । स्तालिन सत्य जतिसुकै तीतो भए पनि सत्यकै मात्र समर्थन गर्नुहुन्थ्यो । जीवनका अन्तिम दिनसम्म स्तालिन सधैँ स्थिर स्वभाव, असाधारण स्मरणशक्ति, तीक्ष्ण बुद्धि, सजगताका धनी हुनुहुन्थ्यो । उहाँ जीवनका सबै विषयलाई गम्भीरतापूर्वक लिने गर्नुहुन्थ्यो ।
सङ्गठनकर्ताको रूपमा त उहाँ विशिष्ट हुनुहुन्थ्यो । जे काम गर्नुपर्ने हो, त्यो काम सूक्ष्म ढङ्गले हुनुपर्नेमा उहाँ जोड दिनुहुन्थ्यो । यदि काम विस्तारमा भए–नभएको उहाँ पक्का गर्नुहुन्थ्यो ।
अर्को झूट–यी आधुनिक ‘प्रजातन्त्रवादीहरू’ स्तालिनको मानसिक सन्तुलन खलबलिएको भन्ने प्रचारबाजीलाई जोड दिन्थे । उनीहरूको भनाइमा स्तालिन हरेक कौच, कुर्सी र पर्दा पछाडि आतङ्कवादी देख्नुहुन्थ्यो । उनीहरूको यो भनाइ यति झूट छ कि यो तुच्छताको म उत्तर समेत दिन सक्दिनँ । स्तालिन सधैँ झ्यालका पर्दा खोल्नुहुन्थ्यो किनभने जाडोयाममा झ्याल नजिकै हिटर हुन्थ्यो । मौसम निकै चिसो हुन्थ्यो । तर, स्तालिनको आवासमा कुनै अगेना वा तातो बनाउने प्रणाली पनि थिएन । स्तालिन आफैले ओर्लोभलाई भन्नुभएको थियो, “रातको समयमा झ्याल छोपेका पर्दाहरू विद्युतीय हिटरले न्यानो हुन्छन् कि ? कोठा तताउन ती पर्दा त्यहाँ नहुँदा पनि हुने हो कि ?”
त्यसपछि कोठाका सबै पर्दा सधैँ खुला राखिए । कोठामा तातो हावा पनि पस्ने भयो । ख्रुश्चेभ र उनका आधुनिक पक्षधरहरूले यो सत्यलाई बङ्ग्याउन जतिसुकै प्रयास गरे पनि यो सत्य सत्य नै रहनेछ ।
महान् देशभक्तिपूर्ण युद्धको क्रममा लडाइँ भीषण बन्दै गएको बेला सेमेनोभ्सी नजिकको अर्को सरकारी डाचा प्रयोग गर्ने निधो भयो । स्तालिन बिरलैमात्र यो डाचामा जानुहुन्थ्यो । तर, मस्कोबाट ११० किलोमिटर परको यो डाचा नजिकै दक्षिण–पश्चिम युद्ध मोर्चामा लडाइँ भइरहेको थियो । स्तालिनले त्यो ठाउँलाई अस्पताल बनाउन भन्नुभयो । त्यसको निम्ति उहाँ आफै धेरै पटक कुराकानी गर्न त्यहाँ जानुभयो । त्यहाँ उपचार गराइरहेका धेरै लालसेनालाई उहाँले भेटेर कुराकानी गर्नुभयो । ख्रुश्चेभ र बेरियाजस्ता नेताहरूले त जर्मनहरू नजिक आइपुगेकाले त्यो डाचालाई बमले उडाउने प्रस्ताव गरेका थिए । तर, त्यहाँको युद्धमोर्चाको नेतृत्व गरिरहेका जनरल जखार्निकोभले ओर्लोभलाई भने, “यदि त्यो डाचा बमले उडाउने उपयुक्त समय नआउँदै उडाए म आफै तपाईंलाई गोली हानेर उडाउनेछु । यदि तपाईंले त्यो जर्मनीको हातमा सुम्पिनुभयो भने म आफैं तपाईंलाई समातेर झुन्ड्याउनेछु । अब तपाईं आफै के गर्ने हो, निर्णय गर्नुहोस् ।”
सोलोभिएभ गुनासो पोख्न स्तालिनकहाँ गए । प्रधानसेनापति स्तालिनले मोर्चा जहाँ छ, त्यही रहने र एक कदम पनि पछि हट्न नहुने भन्नुभयो । लालसेना आफ्नो स्थानमा अडिग बस्यो र डाचा जोगियो । डाचासँगै ओर्लोभको ज्यान पनि जोगियो ।
स्तालिनको भावना र स्वभाव झल्काउने अर्को एउटा घटना । उहाँले एक पटक भन्नुभयो, “मित्र, यो रुखलाई हेर्नोस् त । यो पुरानो सल्लाको रुख हो । हुरी बतास आउँदा यो रुख कुनै पनि बेला ढलेर कटेरोमा खस्न सक्दैन र ?” “त्यसो भए त्यसलाई अहिले नै काटौँ”, सोलोभिएभले भने ।
“तर, त्यसो गर्दा पनि त कटेरोमा खस्ने सम्भावना रहन्छ”, स्तालिनले भन्नुभयो ।
“त्यसो भए त्यसलाई टुक्रा टुक्रामा काटौँ र त्यसै गर जलाऔँ”, रोचक पारामा सोलोभिएभले भने ।
“अँ, त्यसै गरौँ”, स्तालिनले भन्नुभयो ।
सोलोभिएभ त्यो बुढो सल्लाको रुख काट्न ज्यामीको खोजीमा लागे ।
रुख काट्ने आफ्नो निर्णयमा पछि पुनः विचार गर्दै स्तालिनले भन्नुभयो, “प्रिय मित्र, यो रुख हामी दुवै जनाको उमेर जोड्दा पनि अझ हामीभन्दा पाको होला । मेरो विचारमा यसलाई जोगाऔँ ¤ कसैलाई गल्ती गर्न दिनु मेरो पनि गल्ती हुन्छ । त्यो गल्तीको दोषी म पनि हुनेछ ।”
स्तालिन जो सुकैको अघि पनि आफ्नो गल्ती सजिलै स्वीकार्नुहुन्थ्यो ।
स्तालिन पाहुनाको राम्रो ख्याल गर्नुहुन्थ्यो । पोलिटब्युरो सदस्यहरूसँगको बैठकपछि उहाँ खानपिनमा सधैँ विशेष चासो राख्नुहुन्थ्यो । एक दिन उहाँ हामीलाई लिएर तालमा माछा मार्न जानुभयो । हरेक दिन लगातार तोप र गोलाबारी भइरहेको थियो । त्यसकारण तालमा माछा समात्न गाह«ो थियो । तर, सौभाग्यले त्यो दिन माछा समातियो । माछा समातिसकेपछि स्तालिनले माछाको सङ्ख्या पोलिटब्युरो सदस्यलाई पुग्दो छ–छैन भनी गन्नुभयो । एक, दुई, तीन… ख्रुश्चेभको नाम लिने पालोमा स्तालिनले सुस्केरा हाल्दै भन्नुभयो, “उनलाई त एक, दुई वटा पुग्दैन । पुरै भाँडै चाहिन्छ ।”
स्तालिनको निधनपछि उहाँको सुत्ने कोठाको सानो रात्रीकालीन प्रकाश दिने टेबुलभित्र स्टारोस्टिनले स्तालिनको एउटा बैङ्क पुस्तिका भेटाए । त्यसमा जम्मा ९ सय रुबलमात्र बचत थियो । त्यो बैङ्क पुस्तिका श्वेतलानाको हातमा ठम्याइयो ।
यो पुस्तक पढ्ने जो कोहीले मलाई कट्टर स्तालिनवादी मान्नेछन् । म सबै कुरामा स्तालिनलाई समर्थन गर्न सक्दिनँ । तर, मलाई उहाँको स्वभाव थाहा छ । मलाई पनि तत्कालीन परिस्थिति थाहा थियो । पोलिटब्युरोका केही थान अवसरवादीहरूको घेरामा स्तालिन पर्नुभएको थियो । स्तालिनले कुन परिस्थितिमा काम गर्नुभएको थियो, कुन अवस्थामा विचार गर्नुभएको थियो र देशको नेतृत्व गर्नुभएको थियो भन्ने कुरा इतिहासले हामीलाई आज देखाइरहेको छ । ती कष्टकर वर्षहरूमा शत्रुले भित्र र बाहिर दुवैतिरबाट सम्भव सबै तरिका अपनाएर समाजवादी बाटोबाट सोभियत सङ्घलाई पथभ्रष्ट बनाउन खोजिरहेका थिए । सोभियत सङ्घभित्र भइरहेका सबै घटनाबारे के स्तालिनलाई थाहा हुन सम्भव थियो ? स्तालिनको वरपर देशलाई नेतृत्व गरिरहेका, दिशानिर्देश गरिरहेका र समाजवाद निर्माण गरिरहेका नेताहरू रहेको कुरा जानेर केही प्रश्न गरौँ । के उनीहरूले मुखुण्डो लगाएका शत्रुलाई उदाङ्गो बनाउन मद्दत गर्नुपर्दैनथ्यो ? के उनीहरूले सच्चाइनुपर्ने गल्ती सच्चाउनुपर्ने थिएन ? यदि उनीहरू सच्चा वोल्शेविकहरू हुँदा हुन् त अहिले स्तालिनले गल्ती भनेर चिच्याइरहेका विषयहरूमा त्यत्तिबेला किन एक शब्द पनि बोलेनन् ?
स्तालिनको जीवन निकै जटिल र ज्यादै कठिन थियो । यी आधुनिक ‘प्रजातन्त्रवादीहरू’ स्तालिनवादबाट शिकार बनाइएका मानिसहरूको स्मारक बनाउने प्रयास गरिरहेका छन् । म उनीहरूलाई जनताका शत्रुहरूबाट शिकार भएका मानिसको स्मारक बनाउन सुझाव दिन चाहन्छु । पछिल्लो लडाइँमा मात्र हेर्नोस्, लिथुआनिया र लात्भियामा अन्धराष्ट्रवादीहरूले दस लाखभन्दा बढी मानिसको हत्या गरे । उनीहरू शिक्षक, पार्टी कार्यकर्ता र युवा कोमसोमोलहरू थिए । ततार राष्ट्रवादीहरूले क्रिमियामा दुई लाख हाम्रा देशभक्त मानिसहरूको हत्या गरे । अनि शत्रुले हत्या गरेका हाम्रा लालसेनाहरूलाई हामी कसरी भुल्न सक्छौँ र ? के ती मारिएका सबै मानिसहरूलाई आफ्नो नाममा स्मारक रहने हक राख्दैनन् ?
हामी सबै अन्तिम समयमा सत्यवादी बनौँ !
यो पुस्तक लेख्न थाल्दा मैले मेरोसामु राखेको काम यही थियो । मैले केही कुरा लुकाएको छैन । मैले कुनै पनि कुरालाई आफूखुसी रङ पोतेको छैन । मैले स्तालिनसँग २५ वर्षभन्दा लामो समय बिताएँ । उनै स्तालिनको विषयमा मैले सत्य कुरा लेख्ने प्रयास गरेको छु । मैले स्तालिनसँग अरू नेताहरूलाई पनि देखेको छु र म उनीहरूबीच तुलना गर्नसक्छु । एक छिनलाई मानौँ, हामी सबै जना ‘स्तालिनसँग डराउँथ्यौं’ भन्नेमा एकमत छौँ ! तर, आज त स्तालिन हामीसमक्ष हुनुहुन्न । उहाँको निधन भएकै पनि ४३ वर्ष बितिसकेको छ । आज हामीलाई कसले तर्साइरहेको छ त ? आज कतिपय मानिसले तथ्य र आफ्ना विचारलाई बङ्ग्याउन सक्छन् । तर, स्तालिनसँग काम गरेका हामीहरूको उहाँप्रतिको विचार र समर्पण आज पनि उस्तै छ, जस्तो उहाँ जीवित हुँदा थियो । वास्तवमा भन्ने हो भने हाम्रो विचार आज अझ बढी मूर्त र बलियो बनेको छ । समयसँगै सत्यप्रति हाम्रो निष्ठा अझ बलियो बनेको छ । तपाईं आफैले स्तालिनको नम्रता र आजका ‘प्रजातन्त्रवादी’ र पूर्व ‘बोल्शेविक’हरूको अवसरवाद, झूट, अतिरञ्जना र गद्दारीको तुलना गर्नसक्नुहुन्छ । स्तालिनको निधन भएको ४३ वर्षपछि पनि उनीहरू अझै पनि स्तालिनको विशिष्टतालाई ढाक्न सकिरहेका छैनन् । त्यसकारण, अझै लेखिरहेका छन् अनि लेखिरहेका छन् ।
त्यही भएर आफ्नो जीवनका अति उत्तम वर्षहरू स्तालिनसँग बिताएका हामी मानिसहरू तथाकथित ‘पढेलेखेका’ हरूविरुद्ध लेख्न थालेका छौँ र सङ्घर्ष गरिरहेका छौँ । ती ‘पढेलेखेकाहरू’ आज पुरानै गलत मनस्थिति फर्काउन चाहिरहेका छन् अथवा त्यसो गर्न सम्भव नभए समयबाट निरपेक्ष इतिहासको पुनः लेखन गर्न खोजिरहेका छन् । उनीहरू आजको काँचो वायुलाई सुहाउने खालको इतिहास लेख्न खोजिरहेका छन् । त्यही भएर हामी मिलेर कपोलकल्पित अतिरञ्जनामा विश्वास गर्नेहरूविरुद्ध प्रदर्शन गरिरहेका छौँ र लडिरहेका छौँ ।
प्रिय पाठकहरू, जागिरहौँ ।
समाप्त
नेपाली अनुवाद :बर्बरिक 

Leave a Reply

Your email address will not be published. Required fields are marked *