भर्खरै :

श्रमिक महिला दिवसको अवसरमा जुम्लामा सभा

जुम्ला, २९ फागुन । १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ जुम्ला जिल्ला समितिको आयोजनामा शनिबार जिल्ला सदरमुकाममा जनसभा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले जनताको मत लिएर जनताको अधिकार खोस्नेहरू जनविरोधी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जनमत लिएर चुनावमा जित्ने, अनि सरकारमा जान र सरकारलाई टिकाउन विदेशी शक्तिको पाउ मोल्नेहरू विदेशी दलाल हुन् ।”
“शासक पार्टीहरूले जनतालाई के दिए ? तिनले नदीनाला बेचे, उद्योगधन्दा निजी क्षेत्रलाई सुम्पे, नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा विदेशी भूमिमा दास बनाए । नेमकिपा जनतालाई झूटा आश्वासन दिएर ठूलो पार्टी हुनु छैन, उहाँले स्पष्ट पार्नुभयो ।
शिक्षा र स्वास्थ्य उपचार व्यापारीकरण गर्ने दल कम्युनिस्ट नहुने धारणा राख्दै केन्द्रीय सदस्य काफ्लेले कम्युनिस्टको देशमा जनता स्वाभिमानी हुन्छन्, आत्मनिर्भर हुन्छन् र देशभक्त हुन्छन् भन्नुभयो ।
साम्राज्यवादी शक्तिहरूले इसाई धर्ममार्फत नेपालका गाउँ–गाउँमा आफ्नो पञ्जा फिजाइरहेकोप्रति जनता सचेत हुनुपर्ने उहाँको कथन थियो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “एमसीसीको नाममा संरा अमेरिकाले नेपाललाई ५५ अर्ब अनुदान दिन्छ भनेर भ्रममा नपरौँ, नेपाललाई अमेरिकाको उपनिवेश बनाउँदै छ भन्ने कुरामा सचेत हुन जरूरी छ ।”
“हिजो हतियार नभएको र सेना नभएको नेमकिपा पार्टी नै होइन भनी ‘माओवादी’ भन्थ्यो । तर, आज हतियार बुझाउने, सेना बुझाउने र पार्टीको नाम, चुनाव चिह्न र झन्डासमेत बुझाउने पार्टी के हो त ?”, उहाँले प्रश्न गर्नुभयो ।
“सेना कमजोर भए देश जान्छ, प्रहरी कमजोर भए न्याय जान्छ । सेना र प्रहरीको रासनमा समेत ठेकेदारमार्फत भ्रष्टाचार हुन्छ भने शासक दलले कसलाई न्याय ग¥यो ?” उहाँले प्रश्न गर्नुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “हामीले पुर्खौँदेखि खेती गर्दै आएको जग्गामा विदेशी पुँजीपति वर्गले लगानी गर्छ । हामी नेपालीहरू बाउसेमात्र बन्छौँ । अनि, त्यही खेतबाट उत्पादित अन्न बेचेर नाफा खान्छ ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेमकिपा देशको भविष्य हो भन्ने कुरा कामदार जनताले देशभरि सन्देश दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “क्लारा जेट्किन, रोजा, क्रुप्सकायालगायतका क्रान्तिकारी महिलाहरूको अन्तर्राष्ट्रवादी आन्दोलनका उपलब्धिहरूको रक्षा गर्दै नेपालमा समाजवादी क्रान्तिलाई उचाइमा पु¥याउन हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौँ ।”
शासक दलका नेताहरू झूटा आश्वासन बाँड्दै श्रमिक जनतालाई ठगिरहेको चर्चा गर्दै केन्द्रीय अध्यक्ष थापामगरले शासक दलहरू ठग र अपराधी हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “कामदार महिलाहरू राजनीतिकरूपमा सचेत र वर्गीयरूपमा सङ्गठित भए भने जस्तोसुकै तानाशाहलाई पनि घुँडा टेकाउन सक्छ भन्ने इतिहास साक्षी छ ।”
शासक दलका नेताहरूले गाउँलाई जाँड–रक्सी मुक्त बनाउने अभियान चलाउनुको सट्टा चुनावमा भोटका लागि युवाहरूलाई जाँड–रक्सी खुवाउन लागेको हुँदा सामाजिक विकृति बढ्न गएको केन्द्रीय अध्यक्ष थापामगरले बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशका प्रधानमन्त्री र मन्त्रीहरू हाछ्युँ आउँदा पनि उपचारका लागि विदेश जान्छन् । तर, गरीब जनता सुत्केरीव्यथाले मर्न बाध्य छन् । गरीब जनतालाई स्वास्थ्य उपचार सेवा नदिने सरकार जनताको सरकार हुनैसक्दैन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भनपाले शिक्षा, स्वास्थ्य उपचार र सम्पदा पुनः निर्माणको लागि विशेष महत्व दिइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “गरिबका छोराछोरीलाई कम शुल्कमा डाक्टरी पढाउन ख्वप विश्वविद्यालय स्थापना गर्ने नेमकिपाको अभियानविरूद्ध ख्वप विश्वविद्यालय विधेयक नल्याउने शासक दल जनविरोधी हुन् ।”
कार्यक्रममा नेमकिपा कर्णाली प्रदेश समितिका सदस्य एवम् नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहरा, नेक्रामसङ्घका केन्द्रीय सदस्य रोशनमैयाँ सुवाल, नेमकिपा जुम्ला जिल्ला समितिका कार्यवाहक अध्यक्ष राजेश्वर देवकोटा, हस्तना खत्री न्यौपाने र सरिता पराजुलीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *