युद्ध अन्त्य र रोकिएको सम्पत्ति फुकुवा गर्न इरानको अमेरिकासँग माग
- बैशाख २८, २०८३
ब्राजिलमा सन् २०१८ मा हुन नसकेको चुनाव अर्को वर्ष हुनसक्ने सम्भावना छ । यो साता ब्राजिलका पूर्वराष्ट्रपति लुइस इनासिओ ‘लुला’ दा सिल्भाबाट खोसिएका राजनीतिक अधिकार पुनःस्थापना हुने गरी त्यहाँको एउटा अदालतले महत्वपूर्ण फैसला गरेको छ । अघिल्लो पटक लुलाले चुनावमा प्रतिस्पर्धा गर्ने अधिकार गुमाएका थिए । उनीविरुद्ध अपरेसन कारवास नामको एउटा भ्रष्टाचार काण्डमा कारबाही गरिएको थियो ।
गत मार्च ८ मा कुरितिबा जिल्लाका न्यायाधीशले गरेको एउटा फैसलाले आगामी वर्ष हुने निर्वाचनमा सहभागी बन्न लुलालाई मार्गप्रशस्त गरेको छ । कुरितिबाका न्यायाधीशले जुन अदालतले लुलामाथि कारबाहीको फैसला गरेको थियो, उसलाई त्यस्तो फैसला गर्ने अधिकार नभएको फैसला गरेको थियो । अब लुलाको मुद्दा ब्राजिलको सर्वोच्च अदालतमा पुगेको छ । सर्वोच्च अदालतले उनको मुद्दामा पुनरावलोकन गर्ने फैसला गरे मुद्दा ब्युँतिन सक्छ । लुलाले आफूविरुद्ध फैसला गरेका न्यायाधीशले निष्पक्षरूपमा फैसला नगरेको भनी पुनरावेदन गरेका थिए ।
कदाचित लुला निर्वाचनमा होमिए उनले वर्तमान दक्षिणपन्थी राष्ट्रपति जाएर बोल्सोनारोसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । लुला उम्मेदवार नबने बोल्सोनारोलाई चुनावी प्रतिस्पर्धा गर्न सहज हुने थियो । बोल्सोनारोले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोशको फाइदा उठाए । ब्राजिलका जनताले नेताहरूलाई भ्रष्ट देखे र विशेषतः सन् २०१४ पछिको गहिरो आर्थिक मन्दीबाट ब्राजिललाई निकाल्न असफल भएकोमा राजनीतिक नेतृत्वप्रति जनता निराश थिए ।
त्यस परिस्थितिमा बोल्सोनारोले आफूलाई तात्कालीन राजनीतिक नेतृत्वभन्दा बाहिरको व्यक्तिको रूपमा प्रस्तुत गरे । अनि ब्राजिलले त्यत्तिबेला भोगिरहेको दयनीय अवस्था र सन् १९६० दशकका सैनिक शासनका वर्षहरूमा ब्राजिलले हासिल गरेको आर्थिक वृद्धि र राजनीतिक व्यवस्थासँग तुलना गरेर जनतासमक्ष प्रस्तुत गरे । परिणामतः धेरै मध्यपन्थी र वामपन्थीहरूले बोल्सोनारोले प्रतिगमन गर्ने हुन् कि भनी चिन्ता माने । उनले आफ्नो सरकारमा सैनिक पृष्ठभूमिका व्यक्तिहरूलाई नियुक्त गरेपछि यस्तो संशय अझ झाङ्गिएको थियो ।
बोल्सोनारोले अधिनायकवादी सोच बोकेका भए पनि उनीमाथि आंशिक नियन्त्रण भयो । सञ्चार क्षेत्रभित्र आलोचनात्मक मत राख्नेहरूले राष्ट्रपतिसमक्ष आत्मसमर्पण गर्न मानेनन् । अनि उनीहरूले सरकारका गतिविधिको लगातार आलोचना गरिरहे । बोल्सोनारोलाई संसदको समर्थनबिना सरकार चलाउन पनि हम्मेहम्मे भयो । बितेको वर्षभरि उनले संसदमा मध्य–दक्षिणपन्थी राजनीतिक नेताहरूसँग सत्ता साझेदारी गरे । पहिले बोल्सानारो जनतालाई लोभलालच देखाएर मत लिने चलनको विरोध गर्थे भने अहिले उनी आफै त्यो काम गरिरहेका छन् ।
बोल्सोनारो सरकारको आधा समयावधि सकिसकेको छ । त्यसकारण आगामी वर्ष हुने चुनावमा उनले आफूलाई चोखो नेताको रूपमा पक्कै देखाउन सक्नेछैनन् । वास्तवमा लुलाले अब आफू सरकारमा छँदाका तथ्याङ्कहरू बोल्सोनारोविरुद्ध प्रयोग गर्नसक्छन् ।
तर, बोल्सोनारोको लागि त्योभन्दा पनि ठूलो चुनौती छ । कोभिड–१९ महामारीको व्यवस्थापनमा बोल्सोनारो सरकारले देखाएको अक्षमताको कारण उनको ब्राजिलभित्र र बाहिर कडा आलोचना भइरहेको छ । उनको मनसाय र व्यवहार दुवै संरा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको जस्तो थियो । बोल्सोनारोले गत वर्ष कोरोना भाइरसको नियन्त्रणको लागि चालिएका कदममाथि प्रश्न उठाएका थिए । उनले देशभर नगर प्रमुख र प्रदेश गभर्नरलाई कुनै पनि ठाउँमा लकडाउन नगर्न आदेश गरेका थिए । उनले आफ्नो स्वास्थ्य मन्त्रालयको कुरासमेत सुनेका थिएनन् । उनले आफ्ना समर्थकहरूलाई मास्क नलगाउन सल्लाह दिएका थिए । आफूलाई कोभिड–१९ सङ्क्रमण भएपछि पनि उनले आफ्ना समर्थकहरूलाई जुुलुस र सभा गर्न उत्साहित गरिरहेका थिए । आज ब्राजिल कोरोना भाइरसको कारण सबभन्दा बढी प्रभावित देश बनेको छ । १ करोड १४ लाख मानिस यो रोगबाट सङ्क्रमण भइसकेका छन् । हालसम्म २ लाख ७८ हजार मानिसको निधन भइसकेको छ । त्यहाँ भाइरसको नयाँ र थप प्रकारका प्रजाति पनि देखिएको छ ।
यद्यपि, बोल्सोनारोको आलोचनाका आफ्नै सीमा छन् । डाटाफोल्हा नामको मत सर्वेक्षण गर्ने संस्थाले गरेको एक मत सर्वेक्षणअनुसार झन्डै आधा मतदाताहरूले लगातार बोल्सोनारोको कामलाई गत वर्षको सुरुदेखि खराब भने पनि झन्डै दुईतिहाइ मानिसहरू महामारी सरकारको नियन्त्रणभन्दा पनि बाहिर रहेको र त्यसको लागि बोल्सोनारो दोषी भएकोमा थोरै जनाले मात्र विश्वास गरेका छन् । बरु, उनीहरूले स्वास्थ्य मन्त्रालय र प्रदेश गभर्नरहरूका खराब काममाथि दोषारोपण गरिरहेका छन् ।
आगामी निर्वाचनमा होमिन बोल्सोनारोलाई केही आत्मविश्वासको खाँचो छ । सन् २०२२ को मध्यतिर हुने चुनावको अभियान थाल्न अझै मनग्य समय छ । यद्यपि, उनको पक्षमा लगातार लागिपरेको तुलनात्मकरूपमा बलियो आधार क्षेत्रको पनि कमी छैन । राष्ट्रपति बनेयता एकतिहाइ इलेक्टोरियट उनकै समर्थमा लागिरह्यो । तीमध्ये धार्मिक कट्टरपन्थीहरू, ब्राजिलका दक्षिणी भेगका जनता र धनीमानीहरू बढी छन् । हालै गरिएको एक मत सर्वेक्षणको नतिजाअनुसार आगामी निर्वाचनको पहिलो चरणमा बोल्सोनारोको लागि झन्डै एकतिहाइ इलेक्टोरियटहरूले मतदान गर्नेछन् ।
बोल्सोनारोका जस्तै लुलाका समर्थक र विरोधीहरू पनि उत्तिकै कट्टर छन् । मत सर्वेक्षणअनुसार हाल लुलाको पक्षमा २० प्रतिशत जनता छन् । अन्य कोही पनि उम्मेदवारको तुलनामा उनी सबभन्दा अघि छन् । उनलाई ब्राजिलका सबभन्दा गरिब र कम शिक्षित व्यक्तिहरूले समर्थन गरेका छन् । उनका समर्थकहरू विशेषतः ब्राजिलको उत्तरी भेगमा बस्छन् । ब्राजिलमा धेरै अनुदारपन्थी र आर्थिकरूपमा धनी मानिसहरू लुलाका विरोधी छन् । उनीहरूले जस्तोसुकै अवस्थामा पनि लुलाको पक्षमा मत दिनेछैनन् ।
लुला पुनः राजनीतिमा फर्किने सम्भावनाको ढोका खुलेसँगै गत मार्च ९ मा ब्राजिलको शेयर बजार ओरालो लागेबाट उनीप्रतिको विकर्षण प्रस्ट भएको छ । केही मानिसहरू यसले बोल्सोनारोलाई आफ्नो आर्थिक नीति खुकुलो बनाउन सक्ने भनी चिन्तित छन् भने कोही भने लुलाको अर्को सरकार बन्नुले ब्राजिलको वित्त र अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भनी चिन्ता व्यक्त गरेका छन् ।
यद्यपि दुई कारणले यो विरोधाभासपूर्ण छ । पहिलो, सरकार अहिले नै घाटामा गइसकेको छ । गत वर्ष ब्राजिलको बजेट घाटा निकै बढेको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी) को ११ प्रतिशत बराबरको बजेट घाटा भएको थियो । त्यत्तिबेला ब्राजिलको संसद्ले महामारीको आकस्मिक सहायताका लागि दिएको दबाबसमक्ष सरकार झुक्न बाध्य भएको थियो । दोस्रो, लुला र उनका उत्तराधिकारी डिल्मा रुसेफ वामपन्थी मजदुर पार्टीका भए पनि उनीहरूका सरकारले अनुदार खालका आर्थिक नीति अङ्गीकार गरेको थियो । ती नीतिको व्यापारी वर्गले स्वागत र समर्थन गरेको थियो ।
वामपन्थी मजदुर पार्टीले लुलाको सरकारका आर्थिक हिसाबले राम्रा दिनहरूलाई आगामी वर्षको चुनावमा उपयोग गर्नसक्छ । साओ पाउलोका पूर्व नगर प्रमुख फर्नानान्दो हडाड तथा लुला सरकारका पूर्वशिक्षामन्त्रीको तुलनामा लुला निःसन्देह जनप्रिय उम्मेदवार बन्ने छन् ।
वामपन्थी मजदुर पार्टीको हातमा राष्ट्रपति पद जित्न एकै जनामात्र उम्मेदवार लुला हुनु पनि शुभ सङ्केत होइन । त्यो पार्टी मजदुर आन्दोलन र सामाजिक आन्दोलनबाट जन्मेको पार्टी हो । सन् १९८० को दशकमा सैनिक सरकारविरुद्ध उनीहरू लडेका थिए । तर, आज बोल्सोनारोलाई त्यही जनसमुदायले समर्थन गरिरहेका छन् । सन् १९८९ मा पहिलो पटक लुला राष्ट्रपतिको लागि उम्मेदवार बनेका थिए, त्यत्तिबेला वामपन्थी मजदुर पार्टीसँग उम्मेदवारको रूपमा प्रस्तुत गर्ने नेताहरू धेरै थिए । लुला पहिलो पटक उम्मेदवार बनेको तीस वर्ष बितिसकेको छ । अब ब्राजिलसँग उम्मेदवार उठाउन उपयुक्त मान्छे नै नहुनु भने दुःखद कुरा हो ।
(लेखक ब्रसेल्सको भेसालुइस कलेजका प्राध्यापक हुनुहुन्छ ।)
स्रोतः सीजीटीएन
नेपाली अनुवादः सुमन
Leave a Reply