‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
अक्सफोर्ड विश्वविद्यालय र बेलायतको औषधि कम्पनी एस्ट्राजेनेकाले बनाएको कोभिड–१९ प्रतिरोधी खोपको प्रयोगमाथि विभिन्न देशमा प्रतिबन्ध लगाएको छ । डेनमार्क, नर्वे, आइसल्यान्ड, इटाली, लिथुआनिया, लातभिया, लक्जेम्बर्ग, रोमानियासँगै एसियाली देश थाइल्यान्डले समेत सो खोपमाथि प्रतिबन्ध लगाएको छ । सो खोपले रगत जम्ने समस्या देखिएपछि ती देशहरूले यस्तो कदम चालेको बताइएको छ ।
भारतमार्फत नेपालले प्रयोग गरिरहेको खोप पनि अक्सफोर्ड र एस्ट्राजेनेका कम्पनीले आविष्कार गरेको खोप नै हो । सौभाग्यवश अहिलेसम्म नेपालमा सो खोप लगाएका कोही पनि व्यक्तिबारे कुनै दुःखद समाचार सुन्न परेको छैन । विश्व स्वास्थ्य सङ्गठनकी प्रमुख वैज्ञानिक डा.सोम्य स्वामिनाथनले रगत जम्ने समस्या खोपकै कारण आएको भन्न नसकिने बताएकी छिन् । विश्व स्वास्थ्य सङ्गठनले खोप लगाउन रोक्नैपर्ने कारण नभएको बताएको छ । त्यसकारण नेपालले तत्कालै चालू खोप अभियानलाई रोक्नुपर्ने अवस्था छैन । तर, खोपले नेपाली जनतामा कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयमा वैज्ञानिक अध्ययन–अनुुसन्धानको खाँचो छ ।
कोभिड–१९ प्रतिरोधी खोपले नेपाली जनतामा पारेको प्रभावबारे अध्ययन गर्न नेपालकै वैज्ञानिकहरूको परिचालनमा राज्यले ध्यान दिनुपर्छ । यसले नेपालको जनस्वास्थ्यबारे सरकारी तथ्याङ्क धनी हुनेमात्र होइन, भविष्यमा आइपर्ने चुनौती सामनाको लागि पनि हाम्रो जनशक्तिलाई अनुभवी बनाउनेछ । एस्ट्राजेनेका खोपले नेपाली जनतामा ‘रगत जम्ने समस्या’ भए–नभएको विषयमा अध्ययनको थालनी हुनुपर्छ । त्यसको निम्ति एस्ट्राजेनेकातिर नै भीक्षा पात्र फैलाइरहन आवश्यक छैन ।
एउटै कम्पनी वा देशबाट मात्र खोप ल्याउनु उपयुक्त नहोला । त्यसको निम्ति सरकारले अन्य उत्पादक देशका सरकारसँग पनि सम्बन्ध विस्तार गर्न जरुरी छ । नेपालका दुवै छिमेकी देशहरू आज खोपमा धनी छन् । यो नेपाली जनताको लागि सुखद विषय हो । हामीले धेरै टाढाको देशबाट खोप ल्याउनपरेन । आफ्नै छिमेकीसँगबाट खोप ल्याउन सक्ने भएका छौँ ।
संसारभर आज कोभिड–१९ प्रतिरोधी खोपलाई धनी र शक्तिशाली देशहरूले आफ्नो प्रभाव विस्तार गर्ने औजार बनाएका छन् । भारतले पनि कोभिड–१९ खोपलाई दक्षिण एसियामा विशेषतः पछिल्ला वर्षमा गुमाएको छवि पुनः हासिल गर्ने औजारको रूपमा प्रयोग गरिरहेको छ । कुनै पनि देशले खोपलाई आफ्नो राजनीतिक प्रभुत्व फैलाउने हतियार बनाउनु ठीक होइन । बरु यसलाई मानवीय वस्तुको रूपमा सर्वत्र उपलब्ध गराउनु उपयुक्त हो ।
विश्व स्वास्थ्य सङ्गठनले सम्भावित खोप राजनीतिलाई ध्यानमा राखी खोपको अनुसन्धान गर्दै गर्दा ‘कोभ्याक्स योजना’ अघि ल्याएको थियो । तर, विशेषतः पश्चिमा देशहरूको अहम् र प्रभाव विस्तारको लालसाले कोभ्याक्स योजनाले अपेक्षित सफलता हासिल गर्न सकेन । धनी देशहरूले बढी खोप किनेर राख्दा आज गरिब देशहरूमा महामारीविरुद्ध खोप अभियान धिमा बनेको छ । ब्राजिलजस्तो देशमा आज महामारीले अझ विकराल रूप लिइरहेको छ ।
प्रभावकारी खोप मानव जातिको लागि विज्ञानको बरदान हो भने कमसल खोप श्राप बन्न बेर लाग्दैन । अक्सफोर्ड र एस्ट्राजेनेकाले आफ्नो उत्पादनबारे आएका गुनासोको समाधान गर्न थप अनुसन्धान गरिरहेको बताएको छ । धेरै मानिसलाई पु¥याउने नाममा कमसल र मानव स्वास्थ्यमा अतिरिक्त दुष्प्रभाव पार्ने कुनै पनि खोप प्रयोगमा ल्याउन दिइनु हुन्न । आफ्ना नागरिकको स्वास्थ्यमा सबभन्दा बढी गम्भीर र संवदेनशील नेपाल सरकार नै बन्नुपर्छ । त्यसकारण हाल प्रयोगमा रहेका खोपका राम्रा–नराम्रा पक्षबारे सूक्ष्म निगरानी सरकारी निकायबाट नै हुनुपर्छ ।
Leave a Reply