भर्खरै :

इन्जिनियरिङ शिक्षा र ख्वप विश्वविद्यालयको सन्दर्भ

एउटा युगान्तकारी प्रयास
सुरुआतमा एउटा संवाद
– नेपालमा इन्जिनियर कति जना होलान् ?
– ५० हजार ! दर्ता भएका त त्यति नै हो ।
– तर, गलत !
– मेरो हिसाबमा नेपालमा लाखौँ इन्जिनियर छन् ।
– त्यो कसरी ?
– सयौँ वर्षदेखि हजारौँ मन्दिर, दरबार, पाटी, पौवा, बहाल, ढुङ्गेधारा (लोहँ हिटी), राजकुलो, झोलुङ्गे पुल, टाँगा, गोरुगाडा, पानीघट्ट, रोटेपिङ, कपडा बुन्ने तान, कोल आदि बनाउनेहरूको के हिसाब नगरौँ ?
– हो है !
– पाँचतले देवल बनाउने कर्मीहरू के आधुनिक इन्जिनियरभन्दा कम थिए होलान् ? विडम्बना, ती लाखौँ ‘इन्जिनियर’ हरूलाई देशले चिन्न सकेन, ती सबै गुमनाम रहे । महाकवि देवकोटाले भनेझैँ ‘शेक्सपियरहरू हलो जोतिरहेका छन्’ ।
नेपालका इन्जिनियरिङ कलेजहरूमा २०७७ सालको नयाँ भर्नाको काम धमाधम भइरहेको छ । यसै सन्दर्भमा नेपालको इन्जिनियरिङ शिक्षाबारे बुझ्न हालै केही अनुभवी मित्रहरूसँग अनौपचारिक छलफल भयो । आलेखको सिरानमै त्यसै वार्तालापको सार राखेको छु । यो लेखक इन्जिनियरिङको विद्यार्थी होइन तर सन् १९९० मा प्रवेशिका उत्तीर्ण गरी विज्ञान विषय पढ्न काठमाडौँ घण्टाघरको त्रिचन्द्र कलेजमा भर्ना भएका भक्तपुरका केही साथीहरू इन्जिनियरिङ कलेज पुल्चोकमा ओभरसियर पढ्न गएपछिको न्यास्रोपनले अझै पनि छोपिरहन्छ । पुल्चोक कलेजमा भर्ना हुन सजिलो थिएन । देशैभरमा इन्जिनियरिङको पढाइ हुने त्यही एउटा कलेज त थियो । त्यसबेला कलेजको यात्रामै ३ घण्टा समय बित्थ्यो भक्तपुरका विद्यार्थीको । तैपनि भक्तपुरका विद्यार्थीले पढेरै छाडे । तिनीहरू निपुण पनि भए । सन् ८० को दशकमा कोलम्बो प्लानअन्तर्गत स्नातक तहको इन्जिनियरिङ पढ्न मलेसिया गएका यो लेखकको मितदाइको बिदाइमा ‘उल्लास’ का कुरा भएका थिए । आज सम्झेर अनौठो लाग्छ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित इन्जिनियरिङ कलेजहरू (ख्वपको नाममा चर्चित) मा मात्र स्नातकोत्तर तहसम्म २०७७ फागुन १८ सय विद्यार्थी अध्ययनरत छन् भन्दा जोकोहीलाई पत्यार लाग्दैन । नेपालमा इन्जिनियरिङको विधिवत् पढाइ सुरु भएको दुई दशकपछाडि २०५८ सालमा भक्तपुरमा स्थानीय सरकार (नगरपालिका) ले कलेज स्थापना गर्नु एउटा युगान्तकारी प्रयास मानिन्छ । ख्वप इन्जिनियरिङ कलेजले त पूर्वाञ्चल विश्वविद्यालयकै सबभन्दा राम्रो कलेजको सम्मान पनि पाएको छ । पुल्चोक इन्जिनियरिङ कलेजपछाडि विद्यार्थीको रोजाइमा ‘ख्वप’ पर्दछ । तर, हरेक वर्ष भर्नाको सूचना आएपछि विभिन्न पार्टीका नौला नेता तथा कार्यकर्ताहरू ‘गोरु बेचेको साइनो’ लगाएरै भक्तपुरका नेता तथा कार्यकर्तालाई फोन कल गर्छन् वा भेटघाट गर्छन् । ‘मेरिट बेसमै मात्र नाम प्रकाशित गरिन्छ,’ ‘राम्रो विद्यार्थीले पहिलो प्राथमिकता पाउँछ, कुनै अनियमितता हुन्न’ भन्ने जवाफ दिएपछि ‘हो, त्यस्तै हुनुपर्ने हो, ठिक छ’ भनेर उनीहरू बिदा हुन्छन् । भक्तपुरका सर्वसाधारणले यो कुरा बुझिसकेकाले ‘भनसुन’ ठप्पप्रायः हुनु यहाँको नयाँ संस्कृति बनेको छ । ‘भाग्यवाद र विकास’ पुस्तकमा मानवशास्त्री डोरबहादुर विष्टले ‘राणाशासनको अवसानपछि चाकरी प्रथा औपचारिकरूपमा समाप्त भयो’ भने तर यसले नेपाली सामाजिक सङ्गठनको एक अभिन्न अङ्गका रूपमा जरा गाडिसकेको अवस्थामा ‘एकपटक भनी हेर्दा के फरक पर्दछ र ¤’ भन्दै ‘सस्तो तर राम्रो’ कलेजमा भर्नाको निम्ति भनसुन गर्ने प्रयास गरेको देखिन्छ । तर, यी कलेजहरूले निश्चित मापदण्ड, नियम तथा प्रावधानहरू पालना गरेकोले सबैको विश्वास र गुणस्तर कायम गर्न सकेका छन् भन्ने लाग्दछ ।
नेपालमा इन्जिनियरिङ शिक्षा
सङ्ख्याको हिसाबले नेपालमा इन्जिनियरिङ कलेज बढेका छन् । तर, गुणस्तर समयअनुसार बढ्न नसकेको गुनासो सर्वत्र सुनिन्छ । एकातिर विद्यार्थीको चापअनुसार सरकारी कलेजको सीट सङ््ख्या पुगिरहेको छैन भने अर्कोतिर सरकारी कलेज तथा विश्वविद्यालयप्रतिको विश्वास घट्दो क्रममा छ । इन्जिनियरिङ परीक्षाको सफलता ५० प्रतिशत पनि पुगेको छैन भने निजी कलेजको परिणाम १५–२० प्रतिशत नाघ्न सकेको छैन । निजी कलेजको पढाइ गुणस्तरहीन भएको कुरा नेपाल इन्जिनियरिङ काउन्सिलले बेलाबेलामा उठाउने गरेको छ ।
इन्जिनियरिङको स्नातक तहमा अध्ययनको निम्ति हालै त्रिभुवन विश्वविद्यालयलयले लिएको प्रवेश परीक्षामा करिब १३ हजार विद्यार्थी सहभागी भए तर सीट क्षमता ५ हजारमात्र छ । गुणस्तरको हिसाबले विद्यार्थीको पहिलो प्राथमिकतामा त्रिवि नै परिरहेको पाइन्छ ।
नेपालका ६ वटा विश्वविद्यालयका ५० वटा क्याम्पसमा इन्जिनियरिङ शिक्षा प्रदान भइरहेको छ । तीमध्ये आङ्गिक कलेज नौवटा मात्र छन् भने सम्बन्धनप्राप्त ३९ वटा छन् । सम्बन्धन प्राप्त कलेजमा लाखौँ रुपियाँ शुल्क तिर्नुपर्ने हुन्छ भने आङ्गिक कलेजमै पनि धेरै पैसा तिर्न विद्यार्थी बाध्य छन् ।
समयमा पढाइ नसकिने, पढाइ नियमित नहुने, भर्ना नपाइने आदि कारण देखाएर विदेश जाने विद्यार्थीमध्ये झण्डै ७५ प्रतिशत भारत जान्छन् । विदेश जाँदा नेपाली मुद्रा विदेशिनेमात्र होइन विदेशी खराब संस्कृतिसमेत भित्रिएको छ । भारतमा पढ्न जाने कतिपय विद्यार्थी ठगिएका पनि छन् । भारतमै मान्यता नपाएका कलेज नेपालमा आएर तारे होटेलमा बसेर परामर्श दिने र विभिन्न प्रलोभन देखाएर विद्यार्थी लैजाने गरिएको छ । सुरुमा सस्तो भनेर विद्यार्थी भर्ना गर्ने र पछि चर्को शुल्क असुलिएको पाइन्छ । कतिपय विद्यार्थीले नेपालमा समकक्षता (इक्विभ्यालेन्सी) नपाएर दुःख पाएका घटना पनि नसुनिएका होइनन् ।
नेपालमा ४ वर्षको पढाइ ५ वर्ष कसरी लाग्दो रहेछ ? भर्खरैको एउटा उदाहरण हेरौँ । पूर्वाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले २०७७ फागुन २५ गते चैत ३ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा स्थगित गरेको छ । त्यसको कुनै कारण खुलाइएको छैन । तर, शासक दलहरूका विद्यार्थी सङ्गठनहरूको अनावश्यक दबाबमा परेर यस्तो निर्णय गरिएको छनक पाइन्छ । राजनीतिक भागबण्डाको आधारमा उपकुलपति लगायतका उच्चपद भागबण्डा गर्ने, अनेक निहित स्वार्थवस बन्द वा हड्ताल गर्ने परिपाटी नै मुख्य रूपमा दोषी छन् । नेविसङ्घले काठमाडौँको पूर्वाञ्चल विविको परीक्षा कार्यालयमा तालाबन्दी गरेको छ भने अखिलले विराटनगरको परीक्षा कार्यालय । किन तालाबन्दी भयो भनेर यो पङ्क्तिकारले एक प्राध्यापकसँग सोध्दा ‘चोर्न पाउनु प¥यो’ भन्ने माग हो भने । उनीहरूले परीक्षा ‘होम सेन्टर’ मा हुनुपर्ने माग गरेका रहेछन् । ‘टाढा’ को परीक्षा केन्द्रमा पुग्न विद्यार्थीलाई तनाब भएको बहाना रहेछ । ‘कम्तीमा ब्याकपेपर दिनेलाई होम सेन्टर पार्न’ शासक दलका विद्यार्थी सङ्गठनहरू दबाब दिइरहेका छन् र यसैलाई निहुँ बनाएर पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा नै स्थगित गरेको छ । यसबाट विद्यार्थीमा पर्ने नकारात्मक प्रभाव र अन्ततोगत्वा देशलाई नै हुनसक्ने नोक्सानीबारे जिम्मेवार निकायको ध्यान गएको देखिन्न ।
पूर्वाञ्चल विश्वविद्यालयका कलेजहरूमा सीट क्षमताभन्दा कम विद्यार्थी भर्ना आवेदन पर्ने गरेको छ । परीक्षा सेन्टर आफूले भनेकै कलेजमा हुनुपर्नेजस्ता बेतुकका विषय अगाडि सारेर विद्यार्थीले आन्दोलन गर्नु विद्यार्थी राजनीतिकै कलङ्क हो । राजनीतिलाई फोहरी खेल बनाउने काम शासक दलबाटै भइरहेको यो एउटा दृष्टान्त पनि हो । यस्ता क्रियाकलापबाट विद्यार्थीमा राजनीतिप्रति नै वितृष्णा जागेको छ । यो सबभन्दा खतरनाक दुष्प्रभाव हो । यसको जिम्मा कसले लिन्छ ? राजनीतिक सङ्गठनहरू र अरू सरोकारवालाले सोच्नु पर्दैन ?
फेरि ख्वप विश्वविद्यालयको कुरा
भक्तपुर नगरपालिकाले विभिन्न इन्जिनियरिङ कलेजलगायत ६ वटा शैक्षिक संस्थाहरूको सफलतापछि ख्वप विश्वविद्यालय स्थापनार्थ विधेयक अगाडि सा¥यो । तर, विधेयक संसद् सचिवालयको दराजमा थन्किएको वर्षौँ भयो । संसदीय टोली भक्तपुर आई गरिएको छलफलमा सहभागी यो लेखकको सम्झना बेलाबेला गरिरहन्छ । त्यो दिन जिल्लाका प्राध्यापक, डाक्टर, शिक्षाविद्, राजनीतिक पार्टीका नेताहरू, बुद्धिजीवी, पत्रकार, व्यापारी, विद्यार्थीलगायतले ख्वप विश्वविद्यालयको सम्भाव्यता एवम् आवश्यकताबारे अध्ययन गर्न भक्तपुरमा आएको संसदीय टोलीसमक्ष एक मुखले बोलेका थिए – ख्वप विश्वविद्यालय चाहिन्छ, यसमा सबै जनताको समर्थन छ । ‘एक घर एक स्नातक’ र ‘भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने’ लक्ष्य निर्धारण गर्दा विभिन्न राजनीतिक दललगायत विभिन्न क्षेत्रमा क्रियाशील अगुवाहरूले यस्तै उत्साहजनक ऐक्यबद्धता जाहेर गरेका थिए । जनताको चाहनाअनुसार ढिलो–चाँडो विश्वविद्यालय स्थापना हुनेछ भन्ने जनविश्वास रहेको छ ।
प्रस्तावित ख्वप विश्वविद्यालय शासक वर्गको स्वार्थ, इच्छा र उद्देश्यअनुसार स्थापित नहुने देखेर ढिलासुस्ती भइरहेको छ । ख्वप विश्वविद्यालयले जनताको संरक्षण र जनताकै पहलमा जनताको इच्छा र उद्देश्य पूर्ति गर्नेछ । ख्वप विश्वविद्यालयले शिक्षालाई उत्पादन श्रमसँग जोड्ने नीति लिएर अगाडि बढ्ने हो भने नेपालको शैक्षिक विकासमा कायापलट नै हुनेछ । विद्यार्थीलाई उत्पादनमुखी कामको निम्ति योग्य बनाउन सकिएमात्रै देशले आर्थिक अग्रगमनको बाटो समात्नेछ । विश्वविद्यालय अब कारिन्दा तयार पार्ने वा बेरोजगारको सङ्ख्या बढाउने कारखाना हुन सक्दैन । ख्वप विविले श्रम र श्रमिकप्रति आदर गर्ने शिक्षा दिनेछ, शिक्षालाई जनताको आवश्यकतासँग जोड्नेछ, स्वार्थी मानसिकता होइन सामूहिक भावना जगाउने शिक्षा दिनेछ ।
प्रस्तावित ख्वप विविले स्थानीय र परम्परागत ज्ञानको अध्ययन र अनुसन्धान गरेर त्यसबाट जनताको आवश्यकता पूर्ति गर्दा जनताले समर्थन नगर्ने भन्ने कुरै आउँदैन । यहाँको काष्ठकला, मृतिकाकला, प्रस्तरकला, धातुकला, चित्रकलामात्र होइन कालो टोपी बनाउने सिप, कृषि प्रविधि, दही, मिठाइ, ह्यों थ्वं, चिउरा आदि बनाउने कला र आयुर्वेद परम्परामा सम्पन्न छ । यी विषयमा अनुसन्धान गरी विश्वलाई नयाँ ज्ञानको उपहार दिनसक्ने प्रचुर सम्भावना छ । परम्परागत र स्थानीय यस्ता ज्ञानलाई मान्यता दिएर ती ज्ञानीहरूलाई शैक्षिक प्रमाणपत्रले सुशोभित गर्दा ख्वप विवि विश्वको एक उदाहरणीय विश्वविद्यालय बन्नेछ । विद्यालय, कलेज र युनिभर्सिटीको औपचारिक शिक्षालाई मात्र ज्ञान ठान्ने पुरानो प्रचलनलाई चिर्दै ख्वप विवि अगाडि बढ्ने हो भने जनताले सधैँ साथ दिनेछन् । जनताको जीवनमा लालिमा ल्याउने हो भने जनताले विश्वविद्यालयलाई मलजल हालिरहने छन् । जनताको भावना र इच्छाले नै विश्वविद्यालयलाई जिउँदो जाग्दो बनाउनेछ ।
ख्वप विवि जनविश्वविद्यालय भएपछि आफ्नो राजनीतिक तथा आर्थिक स्वार्थ पूरा नहोला भन्ने एक खालका प्रतिक्रियावादीहरू सक्रिय छन् भन्ने कुरा विश्वविद्यालय विधेयकलाई दराजमै थन्काइएकोबाट बुझिन्छ ।
देशको निम्ति कस्ता इन्जिनियर तयार गर्ने भन्ने प्रश्न पनि स्वाभाविकरूपमा उठेको छ । देशको भूगोल र आवश्यकता बुझ्ने, देश र समाजप्रति जिम्मेवारीबोध भएका इन्जिनियर आवश्यक छन् भन्ने कुरामा विमति नहोला । हाम्रा पुर्खाले विकास गरेको प्रविधिलाई आत्मसात गरी अगाडि बढ्नसक्ने इन्जिनियरहरू देशलाई आवश्यक परेको छ । त्यसको लागि ख्वप विश्वविद्यालय एउटा प्रस्थानबिन्दु बनोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *